५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

विवाहको रिसिइबीमा युवक हत्या गर्ने पक्राउ

इटहरी- दुई साताअघि विवाहमा जन्ती जाँदा भएको झगडाको रिसिइबीलाई लिएर सुनसरी रामधुनी भासिका युवकको हत्या गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सबैलाई शुक्रबार कर्तब्य ज्यानमा मुद्दा चलाएको छ।
 आफ्नो जातीय परम्परा र संस्कृतिअनुसार जेठ १७ गते राति सुनसरी बक्लौरी-७ का बाबुराम चौधरी र रामधुनी भासी-३ की कमल चौधरीको विवाहमा युवाबीच झगडा र कुटाकुट भएको थियो।

कुटाकुटको रिसिइबीलाई लिएर विवाहको चार दिनपछि बेहुला पक्षीय युवा समूहले बेहुली पक्षका १८ वर्षीय सुन्दर चौधरीको हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।

प्रहरीले सुन्दर हत्या गर्ने मुख्य योजनाकार बक्लौरी-१ का रिमोद चौधरी, आशिष चौधरी, अर्जुन चौधरी, गयाराम चौधरी, सुरज चौधरी, अमित चौधरी, सुरज राई र विनय रोशन चौधरीलाई कर्तब्य ज्यानमा मुद्दा चलाएको हो। मुद्दा चलाएका १८ वर्षदेखि २२ वर्ष उमेर समूहका छन्।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक टीका कार्कीका अनुसार रिमोदलाई बेहुली पक्षका युवाले कुटपिट गरेको बदलामा योजनाबद्धरुपमा सुन्दरको हत्या भएको अनुसन्धानबाट खुलेको छ।

'रिमोद नेतृत्व टोलीले खुकुरी प्रहार गर्दा सुन्दरको मृत्यु भएको खुलेको छ,' कार्कीले भने, 'रिमोदले साथीहरु बोलाएर हत्या गरेको स्वीकारेका छन्।' सुन्दरलाई हत्या गर्ने आठै जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय इनरुवामा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्योख।

जेठ १७ गते बेहुला र बेहुली पक्षीय युवा समूहको झगडाले उग्र रुप लिने त्रासले दुवै पक्षका अभिभावकले विधि-विधान छोट्याएर विवाह गरेका थिए। तर, त्यही विवाहमा परेको झगडाको रिसिइबीले चार दिनपछि बेहुला पक्षका युवा समूहले बेहुली पक्षका युवक सुन्दरको हत्या भएको थियो।

जेठ २१ गते साँझ रामधुनी भासिका १८ वर्षीय सुन्दर चौधरी साथीसँग काम विशेषले बक्लौरीको गाउँमा गएको मौका पारेर बेहुला पक्षका युवाले आक्रमण गरी हत्या गरेका थिए। सुन्दरसँगै बक्लौरी पुगेका दुलार मियाँ, अनिल चौधरी र रामनारायण चौधरी भने भागेर बाँचेका थिए।

प्रकाशित: ४ असार २०७२ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App