१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

संगीत–वन्दना

'यस्तै रहेछ यहाँको चलन
हार्नेको आँसु–आँसु, जित्नेको हाँसो
अरू छैन केही हजुरलाई गुनासो'
चालीसको दशकमा रेकर्ड भएको यो गीत निकै चर्चित बन्यो। यादव खरेलको शब्द, शम्भुजित बास्कोटाको संगीतमा देविका बन्दनाले गाएको यो गीत अहिले पनि उत्तिकै सान्दर्भिक छ।
त्यस बेला रेडियो नेपालको स्वर परीक्षा पास गसिकेपछि मात्र गीत गाउन पाइन्थ्यो। बन्दना यसरी नै रेडियो नेपालको भट्टीमा खारिएपछि नेपाली सांगीतिक फाँटमा उदाएकी तारा हुन्। चालीसको दशकमा आएका कालजयी गीत गाउने गायक–गायिका अहिले पनि उत्तिकै चर्चित छन्। यही समय उदाएकी उनको मिठो स्वरबाट लोभिने धेरै छन्।
इलामको पशुपतिनगर जन्मेकी बन्दना जागिरे बुबा भारतमा भएकाले आमासँग उतै गएकी थिइन्। बुबा आर्मी भएकाले सरुवा भइरहने। एक ठाउँमा बसेर पढ्नै पाइनन् उनले। आर्मी सेन्ट्रल स्कुलबाटै आफ्नो अध्ययन सकेपछि उनी नेपाल फर्किइन्।
सानैदेखि गीत गाउने बन्दना स्कुलका कार्यक्रममा कहिल्यै दोस्रो भइनन्। उनी तीन दशकअघि काठमाडौं आएकी थिइन्। यहाँ आएपछि शिलाबहादुर मोक्तान नै संगीतको पहिलो गुरु बने। अरुणा लामा र तारा देवीको गीत गाउन मन पराउने उनले संगीतकार शम्भुजित बास्कोटा, संगीत प्रवीण, शारदा क्षेत्रीबाट धेरै सहयोग पाइन्। स्रोतहरू 'स्वरमा शक्ति छ' भन्थे। यसबाट उनमा संगीतमा केही गर्न सक्छु भन्ने आँट थपियो। संगीत सिक्दै गइन्। गीत एकाएक चर्चामा आउन थाले।
'एउटा परदेशी आइ, सोध्यो मेरो नाउँ
तर चाँडै छोडिगयो, यो रमाइलो गाउँ'
२०४४ सालतिर रेकर्ड भएको यो गीत अहिले पनि उत्तिकै चर्चित छ। रेडियो नेपालमा स्वर परीक्षा पास गरेपछि नै उनले यो गीत गाएकी थिइन्।
गीत गाउँदा गाउँदै व्यवसायी महेशमान सिंहसँग उनको नयाँ जीवन सुरु भयो। श्रीमान् र घरपरिवारको पूर्ण सहयोग पाएपछि निरन्तर साधनमा लागिरहन पाउनुलाई उनी आफ्नो 'भाग्य' ठान्छिन्। उनका एक छोरा बिबिएम पढ्दै छन्, अर्की छोरी डाक्टर। तर उनी छोराछोरीलाई संगीतमै लगाउनुपर्छ भन्ने ठान्छिनन्। भन्छिन्, 'पहिलो प्राथमिकता पढाइलाई दिऊन्, त्यसपछि उनीहरूकै इच्छा।'
कति कलाकार सांगीतिक फाँटमा आउँछन्, एक–दुई गीत गाएपछि हराउँछन्। सबैको सबै गीत कालजयी बन्दैन। तर बन्दना सांगीतिक दुनियाँमै टिकिरहेकी छिन्। स्रोताको आग्रहले नै उनी एल्बम निकाल्न बाध्य भइन्। गत हप्तामात्रै उनको भिडियो एल्बम सार्वजनिक भएको छ।
जीवनका भोगाइमाथि लेखिएका शब्दले उनलाई तान्छन्। 'यस्ता गीत स्रोताको भोगाइसँग पनि मेल खान्छन्,' उनले भनिन्, 'गीत सुनिसकेपछि स्रोताको मुखमा झुन्डिन सक्यो भने त्यो मेरो सफलता हो।'
आफूले सांगीतिक दुनियाँमा पाइला चाल्दै गर्दा ठूलो संघर्ष थियो। अहिलेका गीतलाई उनी 'सुन्ने होइन, हेर्ने' भन्न रुचाउँछिन्। 'हिजोआज त आज आएको गीत भोलिसम्म बज्छ, पर्सि हराउँछ,' उनी भन्छिन्, 'पुराना गीतमा जत्ति मर्म हुन्थ्यो, अहिलेका गीतमा पाउन गाह्रो छ।'
हालसम्म करिब छ सय गीतमा स्वर दिइसकेकी बन्दनाले विदेशसम्म गएर थुप्रै एकल साँझ गरिसकेकी छिन्। अबको कार्यक्रम 'एकल साँझ'कै हुने उनले खुलाइन्। यस्तो कार्यक्रममा उनी २५ भन्दा बढी गीत गाउने गर्छिन्। सयजति फिल्मका गीतमा उनको स्वर छ। पहिलो एल्बम 'लालिमा'देखि 'हिउँमा छर्केको चुलीमा पर्खेको'को म्युजिक भिडियोसम्म आइपुग्दा उनले १४ वटा एल्बममार्फत स्वर दिइसकेकी छिन्। आफ्नी सासूको आग्रहमा नेपाली आरतीको भजन पनि उनले बजारमा ल्याइन्।
देशका सामाजिक, सांस्कृतिक, खेलकुद, सञ्चार जगत्मा चिनिएका दुई सय मोडललाई समेटेर म्युजिक भिडियो पनि बनाइन्। भिडियो बनाउन डेढ वर्ष समय लागेको थियो। राष्ट्रकवि माधव घिमिरेको शब्द राजु सिंहको संगीतमा गाएको गीत भिडियोमा हेर्न सकिन्छ। उनले देशप्रेमले ओतप्रोत गीतलाई पनि समेटेकी छिन्। गत साल उनले पहिलोपटक तीजको गीत पनि गाइन्। त्यसबाट अवार्डसमेत हात पारेको उनी सुनाउँछिन्।
देविकाको पछाडि 'वन्दना' जोड्नुमा पनि अनौठो कथा छ। जब उनले संगीतलाई चिनिन्। शिक्षा वा संगीतकी देवी सरस्वतीको वन्दना उनले पढ्दै आएकी थिइन्। त्यही बेला वन्दनासँग अलि नजिकिइन् उनी। आफ्नो थर प्रधानलाई छोडेर देविका वन्दना बनिन्। 'सरस्वती माताको देनले म यहाँसम्म आएकी छु। त्यसैबाट मेरो नाम जोडेकी हुँ,' उनी भन्छिन्।
भित्ताभरि उनले पाएका प्रमाणपत्र, अवार्ड सजाएर राखेकी छिन्। भन्छिन्, 'संगीतमा लागेर पाएको एउटामात्र चिज स्रोतको 'माया' हो। उहाँहरूकै कारण टिकिरहेकी छु।' रियाजमा दैनिक बिहानको एक घन्टा बित्छ। साथीहरूसँगको सहकार्यमा 'मन्त्रदिव्य इन्टरटेन्मेन्ट' नामक प्रोडक्सन कम्पनी छ उनको। त्यसैबाट गीति एल्बम र म्युजिक भिडियो उत्पादन गर्छिन्।
प्रविधिले अहिले धेरै फरक पारिसकेको छ। संगीत, शब्द उच्चारणमा निकै ध्यान दिनुपर्थ्यो पहिले। 'अहिले प्रविधिका कारण जोसुकैले गाउन सक्छन्,' उनी भन्छिन्। तर, यो क्षेत्रमा टिक्न चाहनेले जसरी पनि सिकेर आउने उनको विश्वास छ। 'स्वर त जन्मँदै लिएर आउनुपर्छ। त्यसमाथि साधना गर्नैपर्छ,' नयाँ पिँढीलाई उनको सुझाव छ, 'सिकेर मात्र सांगीतिक क्षेत्रमा आउनुस्। रातारात हिट हुन्छु भन्ने नसोच्नुस्।'
तस्बिर : विजय राई

प्रकाशित: २९ फाल्गुन २०७१ १९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App