मेलबर्न- विश्व नम्बर एक नोभाक जोकोभिच साबिक विजेता स्टान वावरिन्काको कडा चुनौती पार लगाउँदै अस्ट्रेलियन ओपन टेनिसको फाइनल पुगेका छन्। उपाधिका लागि आइतबार सर्बियाली स्टारले ब्रिटिस खेलाडी एन्डी मरेको सामना गर्नेछन्।
जोकोभिचले साढे तीन घन्टा चलेको खेलमा वावरिन्कालाई ७–६, ३–६, ६–४, ४–६, ६–० को सेटमा हराएका थिए। जोकोभिच र छैटौं वरीयताका मरेले अस्ट्रेलियन ओपनको फाइनल खेल्न लागेको यो तेस्रोपल्ट हो।
जारी प्रतियोगितामा जोकोभिचलाई सबैभन्दा चुनौती सेमिफाइनलमा वावरिन्काले दिएका थिए। चौथो वरीयताका स्विस खेलाडी वावरिन्काले अन्तिम सेटबाहेक सबैमा उनलाई कडा चुनौती पेश गरे। जोकोभिच र वावरिन्काको अहिलेसम्म ग्रान्ड स्लाममा चारपटक भेट भएकोमा सबै खेल पाँच सेटसम्म चलेको छ। तीन खेले जोकोभिच जितेका छन्। गत वर्ष अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा भने वावरिन्काले जोकोभिचमाथि जित दर्ता गरेका थिए।
जोकोभिच पाँचौंपल्ट अस्ट्रेलियन ओपनको फाइनल पुगेका छन्। यसअघिका चारै फाइनलमा उनी विजयी भएका थिए। त्यसमध्ये सन् २०११ र २०१३ को फाइनलमा उनले मरेलाई हराएका हुन्। तर, मरे पनि यति बेला उच्च फर्ममा छन्। २०१२ मा युएस ओपन र २०१३ मा विम्बल्डन जित्दा मरेले फाइनलमा जोकोभिचलाई नै हराएका थिए।
फर्ममा रहे पनि जोकोभिचले सेमिफाइनलमा वावरिन्काविरुद्ध भने उच्च प्रदर्शन गर्न सकेनन्। 'म कति चलायमान हुन सक्छु प्रदर्शन त्यसमै निर्भर गर्छ। म निकै रक्षात्मक भएँ। त्यो पनि विशेषत दोस्रो र चौथो सेटमा,' जोकोभिचले भने, 'स्टानले स्तरीय प्रदर्शन गरे। खेललाई पाँचौं सेट लानुको श्रेय उनलाई जान्छ। अन्तिम सेटमा भने मैले राम्रो खेलंे। सर्भिस राम्रो गरें। जति बेला आवश्यक पर्यो , त्यो समय राम्रो खेलें। अघि बढ्न सफल भएकोमा खुसी छु।'
महिलातर्फ शनिबार हुने फाइनलमा अमेरिकी सेरेना विलियम्स र रुसी मारिया सारापोभाबीच प्रतिस्पर्धा हुनेछ। सन् २००४ पछि पहिलोपल्ट शीर्ष दुई वरीयताका खेलाडीबीच रोड लाभर एरिनामा फाइनल हुन लागेको हो। सेरेना पहिलो र सारापोभा दोस्रो वरीयताका हुन्।
प्रकाशित: १६ माघ २०७१ २२:३७ शुक्रबार





