११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

जाडोको च्वाइस

पर्दामा प्रायजसो चट्ट पहिरनमा देखिने अभिनेत्रीहरू बाहिर पनि आफूलाई सदैव सुन्दर देखाउने कोसिसमा रहन्छन्। सार्वजनिक कार्यक्रम होस् वा अन्यत्र, दर्शकले भेट्दा सेलिब्रिटीको पोसाकमा आँखा पुर्‍याइहाल्छन्।

यतिमात्रै होइन कतिपय पत्रकार कति बेला सेलिब्रिटीहरू खुल्ला वा छोटो कपडामा देखिन्छन् भनेर स्कूप मार्ने ध्याउन्नमा हुन्छन्। ‘हिरोइनहरू जाडो याममा समेत खुल्ला कपडा लगाएर हिँड्छन्!' शुभचिन्तकहरूको टिप्पणी विशेषगरी महिला सेलिब्रिटीमा बढी केन्द्रित हुने गरेको छ। 
के तपाईंहरूलाई जाडोको महसुस नै हुँदैन त?

Astha Raut 12
अभिनेत्री प्रियंका कार्कीको उत्तर छ, ‘जाडो त सबैलाई बराबर हुन्छ नि!'
उनलाई जाडोयाममा पातलो कपडा लगाउन कुनै अप्ठ्यारो लाग्दैन। ‘हाम्रो पेसा नै हरेक परिस्थितिको सामना गनुपर्ने हुन्छ,' उनी भन्छिन्, ‘जाडो त पचाउन सकिहालिन्छ।' फिल्मको सुटिङका बेला जाडो–गर्मी, घाम–पानी वा भोक–निद्रा पचाएरै काम गर्नुपर्छ। ‘जहिले पनि समर गेटअपमा हिँड्नुपर्ने हुन्छ। यसले पनि हामीलाई जाडो झेल्न बानी पारेको हुन सक्छ,' उनले भनिन्। 
सुटिङको कुरा फरक हो। औपचारिक कार्यक्रममा पनि उनी बाक्ला कपडाको आवश्यकता भने ठान्दिनन्। ‘कुनै इभेन्टमा टन्न कपडा लगाएर जान मिल्दैन। कुनै कार्यक्रममा ड्रेस कोड पनि हुन्छ,' भन्छिन्, ‘जाडो भन्दैमा तलदेखि माथिसम्म ढाकिएर जाँदा राम्रो हुँदैन।' 
कसैले जर्बजस्ती थोपरेको ड्रेस नभएर आफूखुसी लगाएको उनी स्पष्ट पार्छिन्। जाडो, गर्मी सबै सहनुपर्छ। विशेषगरी जाडोसँग शक्ति जुटाउनुपर्छ। कहिलेकाहीँ त गर्मीमा पनि ज्याकेट लगाएर सुटिङ गर्नुपर्ने अवस्था आउँछ। 
‘कसले के टिप्पणी गर्छ भन्नेपट्टि म लाग्दिनँ,' पत्रपत्रिकामा आइरहने ‘वार्डरोब मालफङ्सन'प्रति इंगित गर्दै उनी भन्छिन्, ‘कस्तो कपडा लगाउँदा कसले के भन्यो भन्नुभन्दा पनि आफ्नोबारेमा आफंै सचेत हुनुपर्छ।'
हरेक इभेन्टमा धेरैको आँखा पर्ने भएकाले फरक–फरक डे्रसअप गर्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछिन्। प्रायः अभिनेत्रीहरू एकपटक लगाएको ड्रेस अर्कोपटक लगाउँदैनन्। धेरैजसो कार्यक्रममा ड्रेस फर्मल कोड पनि हुन्छ। धेरै लुगा लगाएर जान मिल्दैन। ‘कार्यक्रमको आवश्यकताअनुसार ड्रेस लगाउने हो। आफ्नो धारणासँग अरू सहमत हुनुपर्छ भन्ने लाग्दैन,' उनी भन्छिन्। सेलिब्रिटीमाथि सबैको आँखा पर्ने भएकाले आफू सचेत रहने गरेको उनी बताउँछिन्। 
फिल्म उद्योगसँगै फेसन उद्योग पनि उत्तिकै बढिरहेको छ। प्रशस्त फेसन डिजाइनर बढिरहेछन्। बुटिक प्रशस्तै खुलेका छन्। जसले गर्दा अभिनेत्रीहरूलाई पहिरनका लािग निकै सजिलो भएको छ। 
प्रियंकाका अनुसार आफू जाने इभेन्टको माहोल अनुमान गरेर बुटिकसँग सम्पर्क बढाउनुपर्छ। त्यसको लागि आफूले पनि आवश्यक तयारी गर्नुपर्ने उनी बताउँछिन्।
उनी आफ्नो शारीरिक बनावटअनुसार फेसन डिजाइनरहरूको सहयोगमा पोसाक तयार गर्छिन्। अहिले त नयाँनयाँ खालका भिडियो, इन्टरनेटबाट पनि आफूलाई सुहाउँदो डे्रस रोज्न उनलाई निकै सजिलो भएको छ।
उनी धेरैजसो डिजाइनर शुभेच्छा भडेल र स्वर्णिम राईले तयार पारेका पोसाक लगाउँछिन्। आधुनिक खालको गाउन उनको मनपर्दो पोसाक हो। ‘रेडिमेड डे्रसचाहिँ कहिलेकाहीँ मात्र लगाउँछु,' उनी भन्छिन्, ‘स्थान, कार्यक्रमको आवश्यकताअनुसार पोसाक तयार हुने भएकाले रेडिमेड धेरै प्रयोगमा आउँदैन।' उनको नजरमा पूर्व मिस नेपाल माल्भिका सुब्बा र सहाना बज्राचार्य फेसनेबल लाग्छन्। 
...
‘सेलिब्रिटीलाई जाडो हुँदैन?' यो प्रश्न अभिनेत्री ऋचा शर्माका लागि अस्वाभाविक लाग्छ। किनकि चिसो बढी नै लाग्छ। गर्मी ठाउँमा जन्मेहुर्केकी उनलाई जाडो मौसमको काठमाडौंले निक्कै ठण्डीको महसुस गराउँछ। 
‘तराईको गर्मीमा हुर्केकी भएर होला। गर्मीको उति वास्ता हुँदैन तर चिसोले मलाई निके समाउँछ,' उनी सजग छिन्, ‘चिसो छेक्ने विकल्प त कपडा नै हो।'
तातो हुन कपडा नै लगाउनुपर्छ। एक छिनको देखावटीका लागि खुल्ला लुगा लगाउँदा रुघाखोकी लाग्ने चिकित्सकहरू सुझाव दिइरहेका हुन्छन्। उनी पनि तातो कपडामै ध्यान दिने बताउँछिन्। ‘कार्यक्रममा जाँदा एसी छ भने सोहीअनुसारको हुन्छ। नभए म तातो लुगा नै लगाउँछु,' उनी दाबी गर्छिन्, ‘इभेन्ट जाँदा होस् वा अघिपछि खुल्ला कपडा लगाउँदिनँ।'
यसपालिको जाडोमा न्यानो पातलो ज्याकेट, फूलबुट्टे प्रिन्ट बुट्टा, उलनको फेसन चलेको छ। उनी ओभरकोट र ज्याकेट लगाउँछिन्। बुटिक, रेडिमेड दुवै खालका पोसाकमा उनको मोह छ। विदेश यात्राको दौरानमा उनलाई रेडिमेड कपडा नै सजिलो लाग्छ। फुर्सदको समयमा त बुटिक छँदै छ।
जाडो समयमा पनि आफू स्टाइलिस नबन्ने उनी बताउँछिन्। ‘जाडो न्यानो कपडा मिलाएर लगाउने हो भने त्यही आकर्षक देखिन्छ,' उनी भन्छिन्, ‘हाम्रो पनि घरपरिवार छन्। मिडियामा ‘त्यहीखालका' फोटो नआओस् भन्नेमा सचेत छु।' फेसनेबल हुने होडमा पातला र छोटा पहिरनको पक्षमा आफू नरहेको ऋचा बताउँछिन्। 
अहिलेको पुस्ता फेसनप्रति धेरै सचेत हुन थालिसकेको उनको बुझाइ छ। डे्रस डिजाइनर उत्तिकै उत्पादन हुन थालेकोमा खुसी छिन्, उनी। ‘थर्मकोट, कोट राम्रोसँग मिलाएर लगाउन सकिन्छ,' उनी भन्छिन्, ‘जाडोमा पनि स्टाइलिस नै देखिने हो तर जाडो नसहने गरी।'

प्रकाशित: ४ पुस २०७१ २३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App