२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

आफैं झुक्किन्छन् सरुभक्त

जिङ्रिङ्ङ परेको कुमसम्म आउने केश, ठूलो निधार, अघिल्तिर केशविहीन तालु, पातलो फ्रेमको चस्मा, कमिज र पाइन्ट। केही समयअघिसम्म साहित्यकार सरुभक्तको हुलिया यस्तो थियो। हिजोआज उनीसँग लामो केश गायब छ। 'इन्फर्मल' पहिरनमा उनलाई देख्न गाह्रो छ।

 कालो टोपी, दौरा सुरुवाल र कोट वा कहिलेकाहीँ सर्ट–पाइन्टमाथि कोट। उनलाई अहिले यस्तै पहिरनमा भेटिन्छ। हरेक ठाउँमा उनी आफ्नो बदलिएको 'गेटअप'बारे रमाइलो विवाद भोगिरहेका छन्। धेरैले सुरुमै नचिन्दा अप्ठ्यारो महसुस गर्छन्।

भेट्ने शुभचिन्तकलाई ठम्याउनै गाह्रो। ऐनामा अनुहार हेर्दा उनी आफैं झुक्किँदा रहेछन्। 'आफ्नै नजरमा म नयाँ भएको छु। अप्ठ्यारो महसुस भइरहेको छ,' उनले भने, 'आफैंलाई कुनै अपरिचित, बिरानोजस्तो भेट्छु। कुनै साथीसँग भेट हुँदा नजिकै पुगेर कोट्याउनुपरेको छ।'

गत भदौ ६ मा बुबाको देहावसानपछि उनले केश मुण्डन गरे। बुबाको काजकिरिया सकेर १५ औं दिनमा उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिको सपथ लिन काठमाडौं आए। अचम्म त, उनलाई मनोनयन गर्ने समितिका एक मन्त्रीले चिन्दै चिनेनन्। प्रधानमन्त्री कार्यालयमा सपथ ग्रहणका पुग्दा तत्कालीन संस्कृतिमन्त्री भीम आचार्यले 'सरुभक्त जी खै त?' भन्दा उनी चकित परेछन्। 'मन्त्री, सचिवलगायत उपस्थितलाई चिन्न धौधौ पर्योे,' सरुभक्त भन्छन्, 'चिनिराखेको अनुहार भए पनि केश मुण्डन गरेको, कालो टोपी, दौरा सुरुवालमा रहेकाले आफंै परिचय दिनुपरेको थियो।'

शुभचिन्तकहरू कुलपतिको पदभार ग्रहणका लागि उनले केश मुण्डन गरेको बु‰दा रहेछन्। उनको स्पष्टीकरण छ– कुलपति हुनुसँग केशको कुनै सम्बन्ध छैन। र, उनको इच्छा छ– भविष्यमा सबैले चिनेको सरुभक्त उही पूर्व स्वरूपमै फर्कनेछ।

उनी पनि लामो जिङरिङ्ङ केशभित्रै पाउँछन्, सरूभक्तको वास्तविक स्वरूप। 'अहिले धेरैलाई चिन्न गाह्रो परेको छ। मेरो एक खालको आवरण थियो,' भन्छन्, 'बाध्यतावश त्यो परिचय अहिले मसँग छैन।'

लामो केशको सोख र स्वतन्त्र जीवन बिताउँदै आएका उनी जिम्मेवार पदमा आइपुगेका छन्। धेरै जनासँग भेटघाट गर्नुपर्छ। उनी जहाँ पुग्छन्, पहिरनबारे चर्चा चलिहाल्छ। 'दुईथरी विचार आएको छ,' उनले सुनाए, 'कतिपय साथी पुरानै सरुभक्तमा फर्कनुपर्छ भन्ने सल्लाह दिन्छन्। अर्काथरी नयाँ गेटअपले सुहाएको बताउँछन्।'

भारतका वैज्ञानिक डा. एपिजे अब्दुल कलामले ११ औं राष्ट्रपति हुँदा पनि केश नकाटेको प्रसंग सुनाउँदै उनले भने, 'बुबाप्रतिको सम्मान र संस्कारको निरन्तरताका लागि केश काटेको हुँ। कुलपतिमा नियुक्ति हुनुचाहिँ संयोग पर्योि।'

१० वर्षअघि प्रज्ञा प्रतिष्ठानको प्राज्ञ भइसकेका उनले त्यस बेला लामै केशमा दौरा सुरुवाल लगाएर पदभार ग्रहण गरेका थिए। दौरा सुरुवाल पहिले पनि लगाउँथे उनी। प्राज्ञ भएकै बेला 'मालतीमंगले' नाटक लिएर कलाकार टोलीको नेतृत्व गर्दै उनी अमेरिका पुगेका थिए। 'त्यस बेला राष्ट्रिय पोसाक लगाएको थिएँ,' उनले सम्भि्कए, 'आफूलाई फरक महसुस हुन्छ। कहिले बाध्यता, कहिले स्वेच्छाले लगाउनुपर्छ।'

नेवारी परम्परामा व्रतबन्ध नगरेसम्म केश नकाट्ने चलन छ। उनी परिवारका पाँच भाइ र दुई बहिनीमध्ये जेठो छोरा हुन्। बाल्यकालमा आमाबुबाले व्रतबन्धसम्म केश लामै राखिदिएको उनले बिर्सेका छैनन्। आफूले केश पाल्नुलाई उनी बाल्यकालीन मनोविज्ञानका रूपमा पनि लिन्छन्।

जिम्मेवार ग्रहण गरेपछि पहिलेको स्वतन्त्रता गुमेको महसुस उनमा छ। 'पदीय आचरण र दायित्व निर्वाहले स्वतन्त्रता खोसिएको छ, तर यो पनि फरक जीवन भोगाइ नै हो,' उनी भन्छन्।

लेख्यो, पढ्यो, मन लाग्दा घुम्न निस्कियो– उनको आफ्नै दैनिकी थियो। अहिले समयमै उठ्नु, खानु, नियमित कार्यालय धाउनु उनको दिनचर्या बनेको छ।

कुलपतिको जिम्मेवारी सम्हालेको तीन महिना भयो। दिनदिनै जिम्मेवारी बढिरहेको छ। यहीबीच सिर्जनकर्मलाई कसरी निरन्तरता दिने, उनका चिन्ता छ। दैनिक दुई–तीन घन्टा लेखपढमा बिताउने गरेका उनले हालै 'विरुपाक्ष र देश' लघुकथा संग्रह प्रकाशन गरे। 'बांगाटिंगा धर्साहरू' संस्मरण र 'नेपालेश्वर' महाकाव्य प्रकाशोन्मुख छन्। 'अब छिट्टै उपन्यास लिएर आउँदै छु,' उनले भने।

प्रकाशित: २६ मंसिर २०७१ २२:३४ शुक्रबार