प्राचीन मिथिलाको राजधानी जनकपुर धार्मिक पर्यटनको केन्द्र हो। यहाँका दर्जनौं ऐतिहासिक तलाउ तथा मठ मन्दिरलाई संरक्षण गर्न सके बर्सेनि लाखौं तीर्थालु भिœयाउन सकिन्छ।
करिब सवासय वर्षअगाडि मुगल शैलीमा निर्मित जानकी मन्दिरको पहिचान अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको छ। राजर्षि जनक, अष्टावक्र, यज्ञवल्क्य, विदेही सीताजस्ता विद्वान–विदुषीको जन्मभूमि रहेको जनकपुर विश्व हिन्दु समुदायको आस्थाको केन्द्र पनि हो।
अहिले पनि जनकपुर धार्मिक सहरका रूपमा प्रख्यात छ। 'भारतको मध्यप्रदेश, गुजरात र महाराष्ट्रबाट दैनिक ४ वटासम्म पर्यटक बस जनकपुर आउँछन्,' पर्यटन व्यवसायी नुतन झा भन्छन्, 'दैनिक ३ सय त भारतीय पर्यटकमात्रै यहाँ भित्रिइरहेका छन्।'
झाका अनुसार भारतमा जनवरी महिनामा गंगासागर यात्रा हुन्छ। त्यस क्रममा नेपालको पशुपतिनाथ मन्दिर र जनकपुर उनीहरूको भ्रमण प्याकेजमा अनिवार्य समेटिन्छ। जनवरीमा दैनिक ५ देखि ८ सय पर्यटक जनकपुर आउने उनी बताउँछन्।
'जनकपुरलाई धार्मिक पर्यटनको हब बनाउन सकिन्छ,’ जनकपुर गाइड एसोसिएसनका अध्यक्षसमेत रहेका झाले भने, 'यसका लागि मिथिला कल्चरल डान्स, भोजन र पहिरनलाई व्यवस्थित बनाउनुपर्छ।’ मिथिलाको सांस्कृतिक नृत्य झिझिया, जटजटिन र लोक नृत्यलाई व्यावसायिकता दिएर होटलमा प्रस्तुत गर्ने र म्युजियममार्फत मैथिली संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने उनी सुझाउँछन्।
'समयअनुसार मानिसको लवाइखवाइ हेरफेर भइरन्छ,’ अर्का पर्यटन व्यवसायी रूपेश सिंह भन्छन्, 'पर्यटकलाई आकर्षित गर्न मन्दिरको प्राकृतिक सजावट र पोखरीमा बोटिङ, डिलमा बगैंचा बनाउनैपर्छ।'
जलेश्वर, मटिहानी, धनुषाधाम, मणिमण्डप र कमला घाटलाई जनकपुरमा जोड्ने गरी स्तरीय सडक निर्माण हुने हो भने पर्यटकलाई २/३ दिनसम्म बसाउन सकिने झा बताउँछन्।
धनुषामा पनि होमस्टे लागू गर्न जनकपुर गाइड एसोसिएसन क्रियाशिल छ। भर्खरै धनुषाधाममा अन्तर्क्रियामार्फत स्थानीयवासीलाई होमस्टेका लागि जुट्न उत्प्रेरित गरेको छ। 'घरबास पर्यटन प्रविधिसम्बन्धी धेरै प्रक्रिया अगाडि बढिसक्यो,' झाले भने, 'केही दिनमै दर्ता गरी लागू गराउने तयारीमा छौं।’
जनकपुरमा पश्चिमा मुलकका पर्यटकलाई लोभ्याउने अर्को आकर्षण हो, मिथिला कला। जापानमा म्युजियमसमेत बनेको मिथिला कलाले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलै बजार ओगटेको छ। मिथिला क्षेत्रका महिलाले घरको कामबाट फुर्सद पाउनासाथ घरमै गर्ने पेन्टिङको महŒव उत्तिकै छ, जुन गोरा पर्यटकका लागि नौलो कोसेली हो। धेरै अशिक्षित महिलाले पनि यही कलामार्फत देशविदेश घुम्ने मौका पाएका छन् भने धेरैको मुख्य आयस्रोत नै मिथिला कला बनेको छ। यसलाई व्यवस्थित गर्न नेपालमा सरकारी स्तरबाटै ठूलो संग्रहालय निर्माण गरिनुपर्ने माग वर्षौंदेखि उठ्दै आएको छ। जापान, अमेरिका, बेलायतजस्ता शक्तिशाली मुलुकमा मिथिला कलाको महत्व बढी रहेको जनकपुर नारी विकास केन्द्र जनकपुरका प्रमुख सन्तोष मिश्र बताउँछन्।
'यहाँ आउने पर्यटक कतै केही नभेटेपछि नारी विकास केन्द्र आइपुग्छन्,' मिश्र भन्छन्, 'तर, उनीहरूले केन्द्रमा भन्दा पनि कुनै गाउँमा यस्तो दृश्य देख्न चाहन्छन्, हामी देखाउन सक्दैनौं।’ गाउँमै उत्पादन गर्ने सामग्रीको बजारीकरणमा राज्यले ध्यान दिनुपर्ने बताउँदै उनले थपे, 'यस्तो भयो भने ग्रामीण महिला आफ्नै घरको भित्ता पनि सिँगार्थे र विदेशी पर्यटकको मन जित्ने कलाको प्रवर्द्धन हुन्थ्यो।’
नेपालको ग्रामीण क्षेत्रमा हुने धार्मिक पूजापाठको अवलोकनकै लागि जनकपुरमा धेरै पर्यटक आउने गरेका छन्। धनुषाधाममै होमस्टे लागू गर्ने तयारी भइरहेको छ, तर त्यहाँ पुग्ने पर्यटकलाई २ दिनसम्म बिताउन त्यसअनुसारको आकर्षण भएन भने सफल हुँदैन। मिश्र भन्छन्, 'चितवनको सौराहामा हाती सवारी गरेजस्तै तराईमा भैंसी सवारी गराउन सकिन्छ। गाउँका महिलालाई सीपमूलक तालिम दिएर ग्रामीण संस्कृतिलाई अझ व्यवस्थित गर्दै पर्यटकलाई त्यसको भाव बुझाउन सकियो भने उनीहरू २/३ दिन अलमलिन सक्छन्।'
जनकपुरको जानकी मन्दिरमा दर्शन गर्न आउने पर्यटकलाई मिथिलाको कला, संस्कृति, मिथिला आर्ट, यहाँको खानपिन, नृत्य र गायनजस्ता क्रियाकलापमा सहभागी गराएर बढीभन्दा बढी समय बसाउन सकिन्छ। 'अब धार्मिक पर्यटन भनेरमात्रै हुँदैन,' मिश्र भन्छन्, 'व्यावसायिकता नअँगालेम्म स्थानीय ठाउँको विकास हुँदैन।' सम्भावित पर्यटकीय क्षेत्रको बरोबर प्रवर्द्धनका लागि राज्य स्तरबाटै पहलकदमी हुनुपर्ने पर्यटन व्यवसायी सुझाउँछन्।
शताब्दी पूरा गरिसकेको जानकी मन्दिरलाई पनि विश्वसम्दा सूचीमा दर्ता गराएर सोअनुसारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता उत्तिकै छ। पौराणिककालमा राम र सीताबीच विवाह भएको यो भूमिमा विवाह गरे सुखी दाम्पत्य जीवन प्राप्त हुने विश्वासलाई प्रचारको खाँचो छ। वर्षौंदेखि महन्तीय परम्पराबाट सञ्चालन हुँदै आएको जानकी मन्दिरलाई ट्रष्टमा परिणत गरी भौतिक सुन्दरता थप्नुपर्ने आवाज पहिलेदेखि न उठेको हो। खाँचो छ त, गुठी संस्थानको अधिनमा रहेका जग्गाको संरक्षणमा सरकारी अग्रसरता।
'जानकी मन्दिरलाई मात्रै व्यवस्थित गर्न सक्यौं भने वार्षिक लाखौं हिन्दु धर्मावलम्बीको पर्यटन गन्तव्य बन्न सक्छ, जनकपुर,' होटल व्यवसायी धर्मेन्द्र साह भन्छन्, 'यसका लागि जनकपुरको भौतिक पूर्वाधार विकासलाई महत्वका साथ अघि बढाउनुपर्छ।'
मिथिलाको संस्कृतिअनुसार रामजानकी विवाह महोत्सव, रामनवमी, जानकी नवमी, होली पर्वजस्ता महŒवपूर्ण कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिन्छ। 'वर्षैभरि पर्यटक लोभ्याइरहने वातावरण बनाउने हो भने राज्यले एकीकृत योजनासहित प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ,' साहको सुझाव छ।
प्रकाशित: ११ वैशाख २०७१ ०१:१६ बिहीबार





