पुलसँगै जोडिएको चिसापानी बजारमा दर्जनौं रेस्टुरेन्ट छन्। कतिपयले दर्शक तान्न माछा झुन्ड्याइरहेका हुन्छन्। जिउँदोभन्दा मारिएका माछा राम्रा देखिन्छन्। रेस्टुरेन्टवाला त्यहाँ पाइने सबै माछा कर्नालीकै भएको दाबी गर्छन्। कर्नालीमा गर्दी, कलोज, सहर, बामलगायतका माछा पाइन्छन्। तिनको स्वाद तिक्खर हुन्छ।
चिसापानी खाजा खाने जक्सन। बिहान र साँझ दालभात पनि पाक्छ। त्यहाँको मेनुमा फ्राई र ग्रेभी माछा पाइन्छ। माछा र मदिरा राम्रै खपत हुन्छ। फ्राई माछा प्लेटको डेढ सय रुपैयाँ पर्छ भने ग्रेभीको १० रुपैयाँ बढी। ‘कर्नालीको माछा मिठो हुन्छ,' उदय होटल एन्ड लज सञ्चालक अम्मरबहादुर भण्डारी भन्छन्, ‘त्यसैले चिसापानीको माछाले ख्याति कमाएको हो।'
बजारमा दिनहुँ कति माछा पाक्छ, अनुमान गर्न गाह्रो छ। त्यहाँका रेस्टुरेन्ट राति १० बजेसम्म खुल्छन्। बर्दिया राष्ट्रिय निकुञ्जले छेउछाउमा माछा मार्न रोक लगाएको छ। त्यसैले बजारमा पाक्ने सबै माछा कर्नालीकै हुन् भन्नेमा शंका गर्न सकिन्छ। पोखरीमा पालिएकै भए पनि ढंग पुर्याएर पकाउँदा मिठो हुन्छ। त्यसैले त त्यहाँ दिनहुँ भीड लाग्छ। नेपालगन्जबाट अढाई घन्टा र धनगढीबाट ३ घन्टा ड्राइभमा चिसापानी पुगिन्छ।
उखरमाउलो गर्मी छल्न अचेल कर्नाली किनारमा वनभोज खानेको भीड लाग्छ। चिसापानीमा बास बस्न होटल छन्। कर्नाली किनारमा सिद्धार्थ ग्रुपले दुई वर्षअघि सिद्धार्थ रिभरसाइड रिसोर्ट खोलेको छ। समूहका सदस्य कृष्ण न्यौपानेका अनुसार गर्मी छल्न धनगढी, महेन्द्रनगर र नेपालगन्जदेखिका नेपाली आउँछन्। एक रात बसेर फर्कन्छन्।
चिसापानीबाट बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसार र टिकापुरसम्म र्याफ्टिङ गर्न सकिन्छ। पुल मुन्तिर छाल छैन। शान्त नदी। पारिवारिक र्याफ्टिङ गर्न मिल्ने। दैलेख र भेरीपुलदेखि डुंगामा चिप्लिएर पर्यटक चिसापानी आइपुग्छन्। टिकापुर र ठाकुरद्वाराका होटल/रिसोर्टले प्याकेज बेच्छन्। चिसापानीमा माछा बेच्ने रेस्टुरेन्टमा सम्पर्क गरेर पनि र्याफ्टिङ गर्न सकिन्छ।
प्रकाशित: ५ वैशाख २०७१ २३:३८ शुक्रबार




