प्रहरीका अनुसार बालिकाको बलात्कारपछि हत्या भएको देखिन्छ। ‘पीडित बालिकाको सुरुको अवस्था हेर्दा यौन हिंसाको सिकार भएको अनुमान छ,' प्रहरी निरीक्षक रामनाथ घिमिरेले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्र बारदातबारे यही हो भन्न सकिन्छ।'
सीमावर्ती रक्सौलकी ती बालिका चार वर्षदेखि कलैया–७ स्थित मामाघर बस्दै आएकी थिइन्। बारा प्रहरीले घटनामा संलग्न आशंकामा एक दर्जनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
पछिल्लो समय बारामा महिला–बालिकामाथि यौन हिंसाका घटना बढिरहेका बेला बिहीबार अकालमा यी बालिकाले ज्यान गुमाइन्। बिहीबारको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोबाटै प्रहरी निरीक्षक ददिराम न्यौपाने संयोजकत्वको तीन सदस्यीय टोली बारा आइपुगेको छ।
चैत २० गते पनि सिंहासनी–६ की १७ वर्षीया किशोरी सरिताकुमारी महराको घरमै शव फेला परेको थियो। प्रहरीले सुरुमै उनको जबर्जस्तीपछि हत्या भएको जनाएको थियो।
पोस्टमार्टम रिपोर्टले सरिताको पेटमा तीन महिनाको गर्भ रहेको खुलायो। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ती किशोरीको स्थानीय अजय साहसँग प्रेम सम्बन्ध थियो। पेटमा बच्चा आएपछि उनले साहलाई विवाहका लागि दबाब दिँदै आएकी थिइन्।
अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक घिमिरेका अनुसार पटक–पटक बिहे गर्न दबाब दिएकाले साहले नै प्रेमिकाको हत्या गराएको हुनसक्छ। महराको हत्यालगत्तै साहलगायत परिवारै गाउँबाट भागेकाले प्रहरी अनुसन्धान निष्कर्ष नजिक छ।
भदौ अन्तिम साता पनि एक किशोरीको यौन हिंसाबाटै हत्या प्रयास भएको थियो बारामा। बेलुकाको खाना खाएर माथिल्लो तल्लामा सुतेकी निजगढ–१ की १४ वर्षीया ती किशोरीलाई अज्ञात व्यक्तिले घरनजिकै मकैबारीमा पुर्याएर बलात्कारपछि हत्या प्रयास गरेको थियो।
भोलिपल्ट बिहान मकैबारीमा नग्न अवस्थामा फेला परेकी ती किशोरीको कन्चटमा धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते अवस्थामा भेटिएकी उनी काठमाडौंमा एक महिना लामो उपचारपछि खतरामुक्त भइन्।
भदौ २५ गते प्रस्टोका हरपुरकी लालमा खातुनको आफ्नै पति र घरका सदस्यले हत्या प्रयास गरेका थिए ।
घाँटीमा डोरीको पासो लगाएर हत्या गर्नै लाग्दा लालमाले चिच्याएर ज्यान जोगाएकी थिइन्। हल्ला सुनेर भेला भएका छिमेकीले उनको अचेत अवस्थामा उद्धार गरेका थिए।
हत्या प्रयासको अभियोगमा बारा प्रहरीले खातुनका पति अजमोद्दिन देवान, ससुरा जयनुल हक देवान र सासू सहजा खातुनलाई पक्राउ गरेको थियो।
त्यसको पाँच दिनअघि भदौ २० गते बिहीबार हरपुरटोलकै फिरोज अन्सारीकी २२ वर्षीया पत्नी मफुजन खातुनको ओछ्यानमै शव भेटियो। उनको हत्या आशंकामा बारा प्रहरीले सासू नुरवानी खातुनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
भदौ १९ रघुनाथपुर–८ जोतपुरमा जयप्रकाश सहनीकी कान्छी पत्नी रबरीदेवीको शव घरमै शंकास्पद अवस्थामा फेला परेको थियो।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यी सबै घटनाका प्रकृति कि त यौन हिंसा थिए, कि घरेलु।
बाराका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्की जिल्लामा आपराधिक मानसिकताबाट प्रेरित व्यक्ति र समूहबाट बालिका तथा महिला यौन हिंसाको सिकार हुने गरेको र पछिल्लो समय यस्ता घटना बढेको बताए। यस्ता घटना हुन नदिन सर्वसाधारणलाई सजग बनाउने अभियान थालिएको उनले जानकारी दिए।
‘बालिका र महिलालाई यौन हिसाको सिकार हुनबाट बचाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त अभियान थालेका छन्,' उनले नागरिकसँग भने, ‘अन्जान व्यक्तिसँग बोलचाल, घुमघाम गर्न नदिन जिल्लावासीलाई सुसूचित गर्ने कार्यक्रम ल्याएका छौं।'
शंकास्पद र आपराधिक मानसिकताका व्यक्तिलाई नियन्त्रणमा लिन छुट्टै सुरक्षा टोली परिचालन गरिएको उनले बताए।
प्रकाशित: २९ चैत्र २०७० २२:३२ शनिबार





