२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २०:७ अपराह्न
अन्य

अनुहार होइन, एजेन्डा प्रमुख

नेपाली कांग्रेसले १३ औँ महाधिवेशनपछि लिने नीति र कार्यक्रमबारे सर्वत्र चासो देखिन्छ। संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले बदलिँदो परिस्थितिमा लिनुपर्ने नीतिबारे थुप्रै सल्लाह–सुझाव पनि पाइसकेको छ। कांग्रेसमा आस्था राख्ने र कांग्रेस इतरका विश्लेषकहरूले अबको कांग्रेस कस्तो हुनुपर्छ? भन्दै निरन्तर सुझाव दिइरहेका छन्। तर, कांग्रेसभित्र भने नीतिभन्दा पनि पार्टीको नेतृत्व तहमा कसरी पुग्ने होडबाजीमै सबैको ध्यान केन्द्रित छ।महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले नीतिगत बहस ओझेलमा परेको नेताहरू बताइरहेका छन्। महाधिवेशनका क्रममा नीतिगत विषयमा साह्रै कम चर्चा गरिएको र नेतृत्वको छिनाझप्टीमा मात्र समय खर्चिएको भन्दै पार्टीको आलोचना पनि भइरहेको छ। पार्टीलाई वैचारिक रूपमा नयाँ चुनौतीहरूसँग पौँठेजोरी खेल्न सक्ने बनाउनुपर्छ भन्दै पार्टीभित्र बहस चलाउने नेताहरू यो बेला ओझेलमा परेका छन्। कांग्रेसले महाधिवेशनका बेला नयाँ नेतृत्वसँगै नीति तथा कार्यक्रममा पनि आफूलाई बलियो बनाउन बृहत् छलफल गर्न सक्थ्यो। नयाँ संविधान जारी भइसकेपछि देखिएका नयाँ चुनौतीलाई पार्टीले कसरी सम्बोधन गर्ने भन्ने विषयमा महाधिवेशन प्रतिनिधिहरूको बीचमा छलफल गराएर निष्कर्षमा पुग्न सजिलो हुन्थ्यो। तर, कांग्रेसले यसतर्फ कुनै चासो दिएको देखिएन।

परिवर्तनलाई आत्मसात् गरेर नयाँ चुनौती समाधानका लागि तयारी गर्नुपर्ने कांग्रेसभित्र पार्टीले स्वीकार गरिसकेको र संविधानले संस्थागत गरेका विषय उल्टाउनुपर्ने तर्क गर्नेहरू पनि छन्। पारिवारिक विरासतको राजनीतिमार्फत कांग्रेसको महत्वपूर्ण पदमा पुग्न प्रयासरत, कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका पुत्र शशांकले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता संविधानले संस्थागत गरेका परिवर्तनका एजेन्डालाई कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताएका छन्। बीपीले ४० वर्षअघि राष्ट्रिय मेलमिलाप र राष्ट्रियताबारे व्यक्त गरेको विचारलाई उल्लेख गर्दै पुत्र शशांकले कांग्रेसका दिवंगत सभापति गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले लिएका निर्णयमा १३ औँ महाधिवेशनमा छलफल गर्नुपर्ने र पुनर्विचार गर्नुपर्ने विवादास्पद तर्क अघि सारेका छन्। त्यतिबेला बीपीले राजा राष्ट्रियताको संरक्षक हुने र राजाबिना राष्ट्रियता नरहने भनेका थिए। देश अहिले गणतन्त्र भइसकेपछि पनि पुत्र शशांक भने राष्ट्रियता कमजोर भएको भन्दै पिताको पुरानो नीति पार्टीले फेरि बोक्नुपर्ने तर्क गरिरहेका छन्। कांग्रेसभित्र अहिले पनि परिवर्तनविरोधी शक्तिहरू मजबुत छन् भन्ने यो पछिल्लो प्रमाण हो। बीपीपुत्र शशांक सभापतिका प्रत्याशीहरू रामचन्द्र पौडेलको प्यानलबाट महामन्त्री उम्मेदवार बनेका छन्। गत आइतवार बसेको केन्द्रीय समितिको बैठकले १३ औँ महाधिवेशनमा पेस गर्ने नीति तथा कार्यक्रम पारित गर्दै कांग्रेसले महाधिवेशनपछि सम्पूर्ण ध्यान संविधान कार्यान्वयन र मुलुकको आर्थिक विकासमा लगाउने प्रतिबद्धतासमेत जनाएको छ। संविधान संशोधनमार्फत सीमांकनलगायत बाँकी विषय सम्बोधन गर्न अग्रसरता लिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

बीपीको मेलमिलाप नीतिको सहारा लिँदै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता नरुचाउने नेता कांग्रेसभित्र थुप्रै छन्। केबी गुरुङ, खुमबहादुर खड्काजस्ता नेताहरू हिन्दू राष्ट्रको पक्षमा लबिङ गरिरहेका छन्। कांग्रेसले परिवर्तनलाई आत्मसात् गर्ने हो भने पार्टीभित्रका परिवर्तनविरोधी खेमालाई किनारा लगाउँदै अघि बढ्नुपर्छ। महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले पार्टीले आत्मसात् गरेका परिवर्तनका एजेन्डालाई हुबहु लागू गर्नुपर्छ। नेतृत्वमा पुग्नका लागि सबैलाई समेट्ने र यता पनि ठिक्क र उता पनि ठिक्कको दोगला शैली नेतृत्वले लिने हो भने कांग्रेसले परिवर्तनको बेग थेग्न सक्दैन।

यो महाधिवेशनपछि भागबण्डामा चलिरहेको कांग्रेस एक ढिक्का भएको महसुस कार्यकर्ताले गर्न पाउनुपर्छ। सभापतिका उम्मेदवार रामचन्द्र पौडेल पार्टी बचाउन आफूले जित्नुपर्ने तर्क गरिरहेका छन्। उनीबाहेक अन्य नेता शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला सभापति भए भने पार्टीलाई अन्य दलमा विलय गराउने वा विघटन नै गराइदिने जसरी जतिखेर पनि पार्टी बचाउन 'म आउनुपर्छ' भन्नु उनको हतास मानसिकतामात्र हो। सभापतिका जति पनि आकांक्षी छन्, उनीहरू कसैले पनि 'पार्टी यसरी चलाउँछु, परिवर्तित सर्न्दभमा राष्ट्रिय मुद्दाहरूमा मेरा दृष्टिकोण यी–यी हुन्' भन्न सकेका छैनन्। त्यसैले 'म नहुँदा पार्टी सखाप हुन्छ' भनेर रोइलो गरेकै भरमा नेतृत्वमा कोही पुग्छ भने त्यो कांग्रेसका लागि शुभ नहुन सक्छ। त्यसैले महाधिवेशनमा भाग लिन देशका कुनाकाप्चाबाट आएका कार्यकर्ताले नेताको अनुहार हेरेर भन्दा पनि उनीहरूले अघि सारेका एजेन्डा हेरेर नेतृत्व चयन गर्नुपर्छ। अब पनि यो पक्ष र ऊ पक्षमा विभाजित भएर मतदान गर्ने हो भने नेतृत्व छान्नलाई भएको निर्वाचनको कानुनी मान्यतामात्र स्थापित हुनेछ। त्यसले एक ढिक्का सबल कांग्रेस निर्माणमा सहयोग पुर्या उँदैन।

प्रकाशित: २० फाल्गुन २०७२ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App