३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

'कन्फ्युजन'मा तन्नेरी

कन्फ्युजन अर्थात् अन्योल । यो गरूँ कि त्यो गरूँ ? यहाँ जाऊँ कि त्यहाँ जाऊँ ? यस्तै–यस्तै अन्योलमा छन् आजका तन्नेरी । आज के गर्ने ? भोलि के बन्ने ? भविष्यमा के हुने ? खास गरी आफ्नो करिअरलाई लिएर उनीहरू चिन्तित छन् । थुप्रैलाई प्लस टू सकाएपछि अन्योल हुन्छ– अब के गर्ने ? विदेश जाने कि नजाने ? जाने हो भने खाडी मुलुक जाने कि युरोप या अमेरिका ? तन्नेरीका यावत् 'कन्फ्युजन'लाई केलाइरहेका छन्, अनिल यादव

दृश्य १ः काठमाडौँ, चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसअगाडि तीनजना विद्यार्थी आइतवार दिउँसो कलेजबाहिर मस्त गफिइरहेका थिए । उनीहरूबीच हुँदै थियो करिअरको कुरा। 'म त विदेश चाहिँ जान्न यार, यतै केही गर्छु,' समूहका एक भन्दै थिए । 'भाइ, छोरी मान्छेको नेचर र छोरा मान्छेको फ्युचर थाहा हुँदैन । धेरै कन्फिडेन्ट न हो । भोलि के हुन्छ, हुन्छ ? कसलाई थाहा ?' अर्को साथीले तत्काल जवाफ फर्काए ।

IMG 5321 copy

दृश्य २: काठमाडौँ, पुतलीसडकस्थित ब्रिलिएन्ट एजुकेसन कन्सल्ट्यान्सीबाट सोमवार शैक्षिक परामर्श लिएर सिँढीबाटै ओर्लंदै थिए दुई युवती । 'अब तँ त अस्ट्रेलिया जाने भइस् । म त एक्लै हुने भएँ,' अस्ट्रेलिया जाने तयारीमा रहेकी युवतीलाई उनीसँगै रहेकी साथीले बिलौना गरेको शैलीमा भनिन् ।

'के गर्ने यहाँ बसेर काम छैन, जे छ उतै छ,' तत्काल जवाफ आयो। 'तँ त जसोतसो अस्ट्रेलिया पुग्लिस् । अब मेरो करिअर चाहिँ के हुने हो ? थाहा छैन,' साथीले फेरि निराशाजनक कुरा गरिन् ।
'तँ यति राम्री छेस्, बरु हिरोइनतिर ट्राई गर् न,' ती युवतीले ठट्टा गरिन् । 'बन्नु छैन मलाई हिरोइन–सिरोइन । फ्युचर भा'को भे' कलाकार किन जान्थे अमेरिका ?' साथीले जवाफ फकाईन् ।

दृश्य ३ः काठमाडौँ, गौशालास्थित 'द रिभर ओभरसिज'मा सोमवार विदेश जान लागेका र जाने पक्का भइसकेकाहरूको भीडभाड थियो । दुबईको रोजगारीका विषयमा बुझ्न मोरङबाट आइपुगेका सुरेश शिवाकोटी त्यहाँ भेटिए । उनको साथी आएका थिए, काठमाडौँमै बसेर प्लस टू पढिरहेका महेन्द्र श्रेष्ठ ।'यहाँ बसेर केही गर्न सकिएन । भाइ तिमी चाहिँ केही गर है,' सुरेश महेन्द्रलाई सम्झाउँदै थिए ।
'दाइ, हाम्रो पनि पारा त्यही हो । कमर्स पढेर यहाँ पनि केही गरिएला जस्तो छैन् । ढिलोचाँडो हामी पनि जाने त्यही खाडी नै हो,' महेन्द्रको जवाफ थियो ।

०००

राजधानीका तीन फरक स्थानमा देखिएका यी दृश्यमा एउटा समानता थियो– करिअरबारे अन्योल । तीनटै दृश्यमा भेटिएका तन्नेरीका कुरा जताबाटै सुरु भए पनि टुंगिन्थ्यो, 'करिअर'मा पुगेर । यी तीन दृश्य त प्रतिनिधि उदाहरणमात्र हुन् । गाउँ–शहर, क्याफे–रेस्टुरेन्ट, स्कुल–कलेज जहाँसुकै होस्, त्यहाँ भेटिने तन्नेरीहरू कि त करिअरको कुरा गरिरहेका हुन्छन् कि त प्रेम सम्बन्धको । उनीहरूसँग 'कन्फ्युजन'को ठूलो भकारी भेटिन्छ । 'म के बन्छु' र 'मेरो करिअर कहाँ पुगेर टुंगिएला'भन्ने प्रश्नको जवाफ अधिकांश तन्नेरीहरू खोजिरहेका भेटिन्छन् ।

कन्फ्युजन नै कन्फ्युजन

समाजशास्त्रका स्नातकोत्तर सर्वेश खत्रीले भर्खरै लोकसेवा आयोग पास गरे । अझसम्म उनको करिअरले 'कन्फ्युजन'कै सामना गरिरहेको छ । कहिलेसम्म कन्फ्युजन ? 'पहिला जागिर पाउने बेलासम्म कन्फ्युजन भन्थेँ,' उनको जवाफ नै 'कन्फ्युज्ड' छ, 'जागिर पाइसकेपछि कहिलेसम्म भन्नु ?' उनलाई एसएलसी पास गरेपछि के पढौँ भन्ने कन्फ्युजन भयो । 'धेरैतिर हात हाल्ने लाइसेन्स' बन्छ भन्दै मानविकीको प्रमाणपत्र लेभलको अध्ययन थाले । बीए पास गरे । विदेश जाऊँ कि यतै केही गरौँ भन्ने भयो । 'कन्फ्युजनकै बीच एमए पास गरेँ,' धादिङ घर भएका सर्वेशले भने, 'सरकारी जागिर खाऊँ भनेर लोकसेवातिर लागियो । सोचेजस्तो नहुँदा अहिले पनि कता जाऊँ भन्ने नै छ ।' कैयौँ पटक नासुको परीक्षा दिए । पार लाउन सकेनन् । दुईपटक अधिकृतको परीक्षा उनका लागि फापेन । पछिल्लो लटमा खरिदारमा नाम निस्कियो । तर, उनको चित्त बुझेकै छैन ।

भक्तपुरका दिनेश बर्तौला इन्जियर हुन् । 'म पनि कन्फ्युजनकै बिरामी हुँ,' कुराकानीको सुरुमै आफ्नो रोगको लक्षण सुनाइहाल्छन् उनी, 'प्लस टू सकेर पत्रकारिता पढ्ने सपना थियो । बुबाको दबाबले इन्जिनियरिङ पढियो । इन्जिनियरिङ सकेर विदेश जाने सपना बुने । यसमा पनि परिवारकै कचकच । यही कन्फ्युजनले बेरोजगार भएर हावा खाइराछु ।' उनी पारिवारिक दबाबलाई आफ्नो अन्योलको मुख्य जड ठान्छन् । 'अहिले परिवारले देशमै केही गर्नुपर्छ भन्छ,' उनले भने, 'तर, देशमा के गर्नु ? विदेशको मोह त्याग्नै सकिन्न । अर्काकोमा जागिर खाऊँ भन्दा भनेको जस्तो तलब पाइँदैन । आफ्नै फर्म खोलौँ डुब्ने डर छ । साथीहरू विदेश गएर कत्रो प्रगति गरिसके । आफ्नो भने हालत खराब !'

अंग्रेजीमा मास्टर डिग्री सकाएर बिहान प्लस टू र दिउँसो माविमा पढाउँदा पनि सन्तुष्ट छैनन्, पोखराका सुशील थापा । अब उनी पैसा कमाउने सपना देखेर विदेश जान खोज्दै छन् । 'कहिले बिहे गरिहालौँ कि भन्ने सोच पलाउँछ, कहिले घर फर्केर गाउँकै स्कुलमा सेवा गर्ने कि भन्ने लाग्छ,' उनी तर्कना सुनाउँछन्, 'कहिले काठमाडौँ जाऊँझैँ हुन्छ । लोकसेवा पनि पढौँ कि भन्ने सोचिराछु ।'

तन्नेरीहरू आफ्नो करिअरका विषयमा 'कन्फ्युज्ड' हुनुको दोष यहाँको शिक्षा प्रणालीलाई दिन्छन्, एसोसिएसन अफ युथ अर्गनाइजेसन्स, नेपाल (आयोन) का अध्यक्ष ब्रबिमकुमार केसी । 'हामीकहाँ किताब रट्ने÷रटाउने भन्दा दायाँबायाँ सोच्न फुर्सद छैन । पढेर सकिएपछि के गर्ने ? टुंगो छैन,' उनी भन्छन्, 'जता पनि जान सकिन्छ भन्ने सोचले स्पेसलाइज्ड गरेर पढ्ने भन्दा पनि जनरलाइज्ड गर्ने चलन छ । जस्तोः मानविकी पढेको विद्यार्थीले जेमा पनि भिड्न पाउँछ भन्ने मानसिकता छ । लोकसेवाका जुनसुकै पदमा लड्न पाइन्छ भन्ने सोचिन्छ । अनि, सोचेअनुसार भएन भने कता जाऊँ कता ?' उनीसँग सहमत छन् मनोविद् केदार पन्त । 'हामी युवालाई भविष्यका आधार भन्छौँ,' सुदूरपश्चिमाञ्चल क्याम्पसका उपप्राध्यापक पन्त भन्छन्, ' तर, तिनै कथित भविष्यका आधार युवा आफ्नो भविष्य देखेर अलमलमा परिरहेका छन् । हामीले शिक्षित बेरोजगारमात्र जन्माइरहेका छौँ । यो सब हाम्रो गलत शिक्षा नीतिका कारण हो । यसलाई नै परिवर्तन गर्नुको विकल्प छैन ।' पढेर के गर्ने ? भन्ने अन्योलमा रुमलिइरहेका विद्यार्थीलाई 'काउन्सिलिङ' गर्नु जरुरी रहेको उनको तर्क छ ।

भविष्य सोचौँ कि रुचि रोजौँ ?

आफ्नो सानैदेखिको रुचि र लक्ष्यलाई भेटिसकेका युवाहरूमा पनि भविष्यबारे सोचौँ कि रुचि रोजाँै ? भन्ने 'कन्फ्युजन' छ । आफ्नो रुचिको क्षेत्रबाट जीविकोपार्जन गर्न नसकिएला कि भन्ने भय जो उनीहरूमा हुन्छ । यस्तै एक उदाहरण हुन्, आरआर कलेजमा अंग्रेजीमा मास्टर्स पढिरहेका रौतहटका रञ्जितकुमार सहनी । उनी गायक पनि ह्ुन् । सरकारी जागिर खान उनले लोकसेवा आयोगमा दुईपल्ट फरक–फरक पदमा कोसिस गरिसके । कहिले लिखित त कहिले अन्तर्वार्तामा फ्यालिए । तर, पनि उनी निरन्तर कोसिस गरिरहेका छन् । भन्छन्, 'मेरो करिअर पनि अलमलमै छ । यही काममा सीमित हुन्छु भन्ने नै छैन । गीत नि गाउँछु, लोकसेवा नि लड्दै छु । परिस्थितिले मलाई कहाँ डो¥याउँछ ? थाहा छैन ।' उनको खास रुचि त गायन नै हो । 'तर, जीवन सुरक्षित गर्नलाई सरकारी जागिर चाहिन्छ । संगीत त साथमा छँदै छ,' उनको तर्क छ ।

काभ्रेका उत्सव रसाइलीको सानैदेखिको रुचि र लक्ष्य हो, पत्रकारिता । काठमाडौँमा बसेर उनी अहिले त्यही गरिरहेका छन् । तर, आरआर कलेजमा पत्रकारिता विषयमै स्नातक गरिरहेका उनी यतिबेला विदेश जाने ध्याउन्नमा छन् । 'आफूले सोचेको काम गर्छु भनेर मात्र नहुने रैछ,' उनी भन्छन्, 'घरपरिवार र भविष्यका बारेमा सोच्दा विदेश जानैपर्छ । बरु चार–पाँच वर्ष कमाउने अनि आएर पत्रकारिता गर्ने । त्यही सोचिरा'छु ।'

यता जाऊँ कि उता ?

महाभूकम्प गएयता पहिलोपल्ट राजधानी आइपुगेका झापाका सञ्जय दंगाल आइतवार सुन्धारास्थित भत्केको धरहरानजिक निकै चिन्तित अवस्थामा भेटिए । उनको चिन्ताको कारण उही करिअर थियो । जापान जाने तयारीमा रहेका उनी अन्तर्वार्ता दिन भनेर काठमाडौँ आएका रहेछन् । तर, अझै जापान जाने कि नजाने भन्ने दोधार अवस्थामा उनी थिए । '१२ लाखजति लगानी हुने रैछ । ५०–६० हजार त खर्च भइसक्यो,' उनले भने, 'त्यही भएर दोधारमा छु । लगानी उठाउन नसकेर धेरै डुबेको सुन्छु । आफू त गरिब मान्छे, ऋण गरेर जानुपर्छ । त्यो पनि डुब्यो भने के गर्ने ? बरु लगानी पनि खासै नलाग्ने, कमाइ पनि बढी हुने भएकाले कोरिया पो जाऊँ कि भन्ने पनि लागिरा'छ । कता जाऊँ, कता ? सोच्नै सकिरा' छैन । ' उनी प्लस टू नसकाई विदेश जान लागेका रहेछन् । भने, 'यहाँ पढेर केही गर्न सकिँदैन । त्यसैले बेलैमा सोच्नुपर्छ ।'

दंगालजस्ता थुप्रै तन्नेरी 'यता जाऊँ कि उता' भन्ने दोधारमा अड्किरहेका छन् । कहाँ जाँदा र के गर्दा करिअर सुरक्षित हुन्छ भन्ने प्रश्नको जवाफ उनीहरूले भेटेका छैनन् । बाग्लुङकी कल्पना श्रीस पनि त्यस्तै एक पात्र हुन्, जो स्थायी शिक्षकको जागिर छाडेर अधिकृत लड्न भन्दै काठमाडौँ आइपुगेकी छिन् । स्नातकमात्र पढेकी उनी स्नातकोत्तर सुरु गरौँ कि भन्ने पनि सोच्दै छिन् । भन्छिन्, 'जिन्दगी दोधारै–दोधारमा बित्ने भो । ठ्याक्कै यही गरौँ भनेर कहिल्यै निर्णय गर्न सकिएन ।'

नेपालगञ्जका रूपेश विष्ट (२०) हेल्थ असिस्टेन्ट (एचए)पढाइ सकेर घरमै बसेका छन् । उनको दैनिकी पत्रपत्रिका किनेर 'भ्याकेन्सी' हेर्दैमा बित्छ । 'दैनिक पत्रिका किन्छु, कतै जागिर खुलेको छ कि भनेर सरसर्ती हेर्छु,' उनी चिन्तित छन्, 'युवावस्थाको महŒवपूर्ण समय पत्रपत्रिकामा 'भ्याकेन्सी' हेरेरै बित्न थाल्यो ।' उनले धेरै ठाउँमा आवेदन पनि दिइसके । कतैबाट पनि खुशीको खबर सुन्न पाएनन् । भन्छन्, 'नेपालमा पावर र पैसा हुनेले मात्र जागिर पाउने रैछ । अब विदेश जाऊँ कि यतै केही व्यवसाय गरौँ भन्ने सोचिरा'छु । निर्णय गर्न सकिरा' छुइन ।'

नेपालगञ्ज, कोरियनपुरकी प्रतीक्षा रानाभाट (१९) फुर्सद हुनासाथ दिमागमा करिअरकै कुरा खेल्ने गरेको बताउँछिन् । 'सबैलाई बेरोजगार देख्दा विदेशै हानिनुपर्छ कि जस्तो लाग्छ,' उनी भन्छिन्, 'तर, विदेशमा पनि गाह्रै हुन्छ भन्ने सुन्दा यतै केही गरौँ कि जस्तो पनि लाग्छ ।'

करिअर ? बालै भएन !

गाउँ–शहरमा यस्तो जमात पनि छ, जो आफ्नो करिअरका विषयमा अनभिज्ञ छ । कतिपयलाई त चिन्ता पनि छैन । काठमाडौँ, कमलपोखरीमा रहेको किस्ट कलेजमा स्नातक सुरु गरेका चाबहिलका समय श्रेष्ठलाई आफ्नो भविष्यमा 'के बन्छु' भन्ने नै थाहा छैन । बीआईएम पढिरहेका उनी भन्छन्, 'करिअरको बारेमा सोचेकै छैन ।' चाबहिलकै जेनिश राईलाई पनि भविष्यबारे चिन्ता छैन । भन्छन्, 'जति सकिन्छ त्यति पढ्ने हो । आजको चिन्ता लिने हो, करिअर–सरिअर बालै भएन ! ' गौशाला बस्ने रमेश मगरलाई पनि अहिले भविष्यबारे सोच्ने फुर्सद छैन । 'आमाबुबासँग पैसा माग्ने हो । कलेज जाने हो । खेल्ने हो, रमाइलो गर्ने हो,' उनी भन्छन्, 'करिअर होइन्, टाइम म्यानेज गर्न नसक्नु चाहिँ ठूलो टेन्सन हो ।'

भविष्यमा के गर्ने भन्दा पनि अहिले के गर्ने भन्ने सोच तन्नेरीहरूमा बढी पाइएको धरानस्थित सगरमाथा कलेजका प्राचार्य मोहन श्रेष्ठ बताउँछन् । 'अहिलेका युवाहरू कसरी पैसा हात पार्ने ? कसरी रमाइलो गर्ने जस्ता टेन्सन बढी लिइरहेको पाइन्छ,' उनी भन्छन् ,'भविष्य कसरी बनाउने भन्ने सोच उनीहरूमा ज्यादै कम छ । यो भविष्यका लागि राम्रो लक्षण होइन ।'

कुहिरोको काग

पोखरा, छोरेपाटनकी झुमा थापा आफूलाई 'कुहिरोको काग'को संज्ञा दिन्छिन् । 'के गरौँ, कता जाऊँ, कन्फ्युजनमा छु,' बीएको परिक्षा दिएर बसेकी उनी अलमलिएकी छिन्, 'जागिर खाऊँ कि भन्ने लाग्छ । फेरि, जागिर खाएपछि फ्रि नभइएला कि भन्ने डर पनि लाग्छ । पढाइ र जागिर दुवै खाँदा गाह्रो हुन्छ भन्छन् । के गरौँ, गराँै ?'

पहिले करिअर, अनि बिहे

करिअरको चिन्ता ललितपुर, जावलाखेलका सुभम अधिकारीलाई पनि छ । किन ? भन्छन्, 'गलफ्रेन्ड पहिले करिअर बना अनि मात्र बिहे गरौँ भन्छे । टेन्सन भइसक्यो । नेपालमा जागिर गरौँ, भनेजस्तो पाइँदैन । विदेश जानै मन लाग्दैन ।' नेपाल इन्जिनियरिङ कलेज भक्तपुरमा पढिरहेकी १९ वर्षीया निकिता उप्रेतीमा पनि करिअरलाई लिएर चिन्ता छ । 'हाम्रोतिर चाँडै विवाह गरिदिने चलन छ,' उनी भन्छिन्, 'कतै आमाबुबाले मेरो पनि चाँडै विवाह गरिदिने हो कि भन्ने डर लाग्छ । मलाई भने आफ्नो खुट्टामा उभिन सक्ने भएपछि बिहे गर्ने सोच छ । त्यही भएर आफूले सोचेजस्तो बन्न सक्छु कि सक्दिनँ भन्ने विषयमा धेरै सोच्छु ।'

अवसर नहुँदा डिप्रेसन

तेह्रथुमबाट अध्ययनका लागि तीन वर्षअघि धरान झरेका समिर लिम्बू अवसरको खोजीमा भौँतारिरहेका छन् । पढ्न भनेर आएका उनी साथीको लहैलहैमा लाहुरेमा पनि भिडे । 'दुईपल्टसम्म ट्राई गरे । तर, असफल भए,' उनले दुःख पोखे, 'एकातिर पढाइ पनि बिग्रियो, अर्कोतिर असफलता । घरबाट सधैँ पैसा माग्न पनि लाजमर्दो भइसक्यो । केही काम गरूँ भन्छु, कामै भेटिँदैन् । म त पुरै डिप्रेस्ड भइसकेँ ।'

यता स्वदेशमा पर्याप्त अवसर नहुँदा थुप्रै तन्नेरी करिअरबारे सोच्दासोच्दै 'डिप्रेसन'को शिकार हुने गरेको नेपालगञ्ज शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. टनवीर अहमद खान बताउँछन् । पढाइ अनुसारको रोजगारी नहुनु, बेरोजगार हुनु, गरिबी, घरको वातावरण असन्तुलित हुनु, साथीभाइको तुलनामा आफूले जिन्दगीमा सफलता हात पार्न नसक्नु जस्ता कारणले युवाहरूमा मानसिक रोग देखापर्ने गरेको उनले बताए । 'विशेष गरी युवाहरूमा यस्तो रोगको लक्षण देखापर्ने गरेको छ,' उनी भन्छन्, 'शिक्षण अस्पताल कोहलपुरमा दैनिक मानसिक समस्याका बिरामी ३० देखि ४० जना आउने गरेकोमा ७० प्रतिशतभन्दा बढी युवा नै हुन्छन् ।'

पढाइप्रति वितृष्णा

पढेर पनि भनेजस्तो काम र दाम नपाउने भन्दै केही तन्नेरीमा यतिबेला पढाइप्रति वितृष्णा देखिन्छ । ललितपुरस्थित इन्टरनेसनल कलेज अफ हस्पिट्यालिटी म्यानेजमेन्टमा अध्ययन गरिरहेकी सुजाता प्रजापतिलाई पनि त्यस्तै भइसकेछ । भनिन्, 'जति पढे पनि यहाँ जागिर पाइँदैन । कामका लागि विदेशै जानुपर्छ होला । तर, त्यहाँ गएर पनि राम्रो काम पाइने हो कि होइन ? चिन्ता छ ।'

गाउँघरमा पढेलेखेका बेरोजगार दाइ–दिदीहरूलाई देखेर तन्नेरीहरूमा पनि 'पढेर के हुन्छ र ?' भन्ने मनोभाव पैदा भइरहेको मनोविद् केदार पन्त बताउँछन् । करिअरप्रति 'कन्फ्युजन' हुने धेरैजसो तन्नेरी विदेशिने गरेको आयोनका अध्यक्ष ब्रबिमकुमार केसी बताउँछन् । 'तन्नेरी विदेशिँदा देशलाई राम्रो वा नराम्रो के हुन्छ ? अर्को सवाल होला,' उनको बुझाइ छ, 'तर, युवा विदेशिनु भनेको ऊ स्वयंका लागि उचित होइन ।' उचित सल्लाह दिने मान्छेको अभावका कारण पनि तन्नेरीहरू अल्मलिने गरेको उनको तर्क छ । भन्छन्, 'बाटो देखाउने नै कोही नभएपछि बीच बाटोमै अलपत्र पर्नु स्वाभाविकै हो । बाटो देखाउनेभन्दा यहाँ त अलमल्याउने धेरै छन् । किशोरावस्थाको संक्रमणकालीन समयलाई सहज व्यवस्थापन गर्ने सीप सिकाउने कमै छन् । यसमा ठूलाबडा भनिएकाहरूबाटै सहयोग आवश्यक छ ।'

प्रकाशित: १४ फाल्गुन २०७२ २३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App