वार्तालापमा मग्न जोडीहरू अचेल धेरै देखिन्छन् यहाँ । नारायणगढ बजारको नारायणी नदी किनारमा घण्टौँ बिताउने युगल एकदुई होइन प्रशस्तै भेटिन्छन् । सौराहा, मेघौली, जगतपुर क्षेत्रमा पनि यस्ता दृश्य देखापर्छन् । उनीहरूका लागि भ्यालेन्टाइन्स डे एउटा ठूलो उत्सव हुन सक्ने सम्भावनाको ख्याल राखेर नै होला चितवनमा त्यस दिन ठाउ–ठाउँमा कार्यक्रम हुन लागेका छन् ।
चितवन निकुञ्जको जंगलसँग जोडिएको सौराहा वन्यजन्तु अवलोकनका लागि मात्रै नभएर सूर्यास्तको दृश्य हेर्नका लागि पनि प्रख्यात छ । विश्वका विभिन्न देशका पर्यटक ओइरिने यो ठाउँमा भ्यालेन्टाइन्स डेमा भने प्रेमी–प्रेमिकाको भीड लाग्ने गर्छ । सौराहामा रहेका रेस्टुरेन्ट व्यवसायीहरूको संस्था रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) ले यो अवसरमा फुड फेस्टिभल आयोजना गरेको छ ।
रेबानले १० वर्षअघि पहिलोपटक एक दिनको फुड फेस्टिभल आयोजना गरेको थियो । यो पटक माघ २८ गते सुरु भएर फागुन ३ गतेसम्म अर्थात् पाँच दिन फुड फेस्टिभल आयोजना गरेको छ । भ्यालेन्टाइन्स डेको व्यापकता बढ्दै गएको यसले पनि देखाउँछ । यो अवसरमा युवायुवतीमात्रै होइन सबै उमेरका व्यक्तिलाई सौराहामा जमघट गराउने रेबानको तयारी छ ।
'हाम्रो फेस्टिभल कुनै खास उमेरका वर्गप्रतिमात्रै लक्षित छैन । बालक, युवा प्रौढ सबै रमाउने छन्,' रेबान सौराहाका अध्यक्ष राजन भट्टले भने । भूकम्प र नाकाबन्दीले निकुञ्ज घुम्न आउने पर्यटक ह्वात्तै घटेका छन् । फुड फेस्टिभलले पर्यटक आवागमनमा योगदान पु¥याउने उनको भनाइ छ ।
युवायुवतीका रुचिका गीतसंगीत र परिकारदेखि सौराहा फुड फेस्टिभलमा बाल उद्यान, भजन चुड्का र रतौली प्रतियोगिता सम्पन्न हुने छ । त्यसैले फेस्टिभलले आन्तरिक र विदेशी पर्यटकलाई यो बेलामा सौराहा तान्ने भट्टले बताए । पाँच दिनमा फेस्टिभल हेर्न एक लाख मानिस आउने अपेक्षा आयोजकको छ ।
फेस्टिभलमा होटल रेस्टुरेन्टमा छुटको घोषणासमेत भएको छ । भट्टका अनुसार खाना, बस्नदेखि घुम्नसम्म १५ प्रतिशत छुटको व्यवस्था भएको छ । फेस्टिभल परिसरमै होटल बुकिङको सुविधा रहेको भट्टले बताए । हात्ती वा जीप चढेर जंगल घुम्न चाहनेले पनि यो बेलामा छुटको फाइदा लिन सक्ने छन् ।
सौराहामा एक रात बसेको र खाएको एक जोडीको न्यूनतम खर्च २५ सय रुपैयाँ हुने रेबान अध्यक्ष भट्टले जानकारी दिए । सौराहा क्षेत्रमा सयभन्दा बढी होटल छन् । होटलहरूले आ–आफ्नो सेवाको स्तर अनुसारको भ्यालेन्टाइन्स डे प्याकेज सार्वजनिक गरेका छन् ।
सौराहामात्रै नभएर निकुञ्जसँग जोडिएको पटिहानी, जगतपुर, मेघौली क्षेत्रसम्म भ्यालेन्टाइन्स डेको अवसरमा चहलपहल बढेको छ । निकुञ्ज बाहिर भरतपुर नारायणगढ, रत्ननगर क्षेत्रका होटलले पनि यो बेलामा विभिन्न खालका कार्यक्रम आयोजना गर्दछन् । नारायणगढको खुला नारायणी किनार पनि प्रेम जोडीहरूको भीड हुने क्षेत्र हो ।
इन्धन समस्याले गत वर्षको जस्तो धेरै ठाउँमा कार्यक्रम यो बेला भने छैनन् । तर, संकटमा परेको पर्यटनलाई उकास्न सक्ने अवसरका रूपमा लिएर भ्यालेन्टाइन्स डेमा सौराहामा भने कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको रेबान अध्यक्ष राजन भट्टले बताए ।
प्रकाशित: ४ फाल्गुन २०७२ ०१:५३ मंगलबार





