३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

इटहरीमा निलको सातौं सलुन

इटहरी- हेयर स्टाइलिस्ट निल डेभिड कटुवालले इटहरीमा आफ्नो सलुनको नयाँ शाखा खोलेका छन्। स्थानीय इटहरी मलमा 'निल डेभिड्स सलुन एन्ड एकेडेमी'को शुक्रबार कलाकार सरोज खनाल र गौरी मल्लले उद्घाटन गरेका हुन्।

सलुनको उद्‍घाटन गर्दै अभिनेता सरोज खनालले निल डेभिडको मिहेनत र लगनशीलताको तारिफ गरे। 'मानिस सफल र लोकप्रिय हुन डाक्टर र इन्जिनियर नै बन्नुपर्छ भन्ने छैन, जुन काम गरे पनि त्यसमा आफू लगनशील हुनसक्यो भने मानिस सफल हुनसक्छ,' खनालले थपे, 'छोराछोरीलाई डाक्टर र इन्जिनियरमात्र बनाउन खोज्ने समाजमा कपाल काट्ने पेशा अपनाउनु निकै चुनौतीपूर्ण छ, यो चुनौतीलाई सामना गर्दै बेग्लै पहिचान बनाउन सकेकोमा निल डेभिडजीलाई बधाई दिन चाहन्छु।'

दुई सयभन्दा बढीलाई रोजगार दिनु र सयौंलाई सिप सिकाउनु निलको उपलब्धि भएको अभिनेत्री गौरी मल्ले बताइन्। 'सानो आकारमा सुरु गरेर अहिले ठाउँठाउँमा शाखा खोल्नसक्नु भनेको ठूलो सफलता हो, निलको सलुनले आधुनिक युवायुवती र स्टाइलिस बन्न चाहनेलाई सन्तुष्टि दिन सकेकोले नै यस्तो भएको हो,' गौरीले भनिन्।

आफ्ना छोराछोरीलाई आफ्नो होइन उनीहरुकै इच्छानुसार पेशा वा क्षेत्र रोज्न दिनुपर्ने सुझाव निल डेभिडले कार्यक्रममा सबैलाई दिए। उनले आफूलाई स्वतन्त्रपूर्वक काम रोज्न दिने आफ्ना आमाबुबाप्रति कृतज्ञता व्यक्त गरे।

'विदेशमा पुरुषले समेत महिलाको कपाल काट्न मिल्छ भने नेपालमा किन सकिँदैन, त्यहीभएर मैले नेपालमा पनि यस्तोखाले सलुन सुरु गरेको हुँ,' निलले भने।

गायिका चन्दा खड्काद्वारा सञ्चालित उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ इटहरीका महासचिव दिवस पोखरेल र होटल व्यवसायी संघ इटहरीका केन्द्रिय सदस्य रविन गौतमले शुभकामना दिए भने स्थानीय गायक दीपक बराइलीले राष्ट्रियगीत सुनाए।

झापा लक्ष्मीपुर निवासी निलको यो नेपालभित्रको सातौं सलुन हो। अरु शाखामा जस्तै इटहरीको सलुनमा समेत महिला र पुरुष दुवैको कपाल काटिनुका साथै प्रशिक्षण पनि दिइन्छ। नेपालभित्र काठमाडौं, बिर्तामोड, विराटनगर र इटहरी तथा भारतमा सिलिगुडी, दार्जिलिङ र सिक्किममा समेत निल डेभिडको सलुन बिस्तार भइसकेको छ।

प्रकाशित: २ फाल्गुन २०७२ ०१:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App