७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

प्रेममा पैसाको चुरीफुरी

प्रेमको पवित्रता, उच्चता र महानतामाथि यति धेरै लेखिएका र बोलिएका छन् कि अब यसबारे केही भन्न सायदै आवश्यक छ । तर, विडम्बना के छ भने प्रेमको खाँट्टी प्रतीक गरिबको झुपडी होइन, ताजमहल भइदिन्छ । हामी यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ हाम्रा दुःखसुख पैसाले निर्धारण गरिदिन्छ । मायालु हुन माया गर्ने मुटु हुनुमात्रै पर्याप्त छैन, बगलीमा पैसा हुनु पनि जरुरी छ। आजको निर्मम सत्य यही हो । भ्यालेन्टाइन्स डे अर्थात् पिरती दिवस नजिकिँदै गर्दा अनिल यादवले शहरको प्रेम ज्वरोमात्रै मापन गरेका छैनन्, प्रेममा घुसेको पैसाको चुरीफुरी पनि अवलोकन गरेका छन्।आइरिस साहित्यकार अस्कर वाइल्डको चर्चित भनाइ हो यो । जमाना बदलिसकेको छ । एक सय वर्षभन्दाअघि उनले भनेको यो भनाइजस्तो 'आर्दश प्रेम' कमै देखिन्छ । दृश्य या अदृश्य रूपमा होस्, समाजमा हुने अधिकांश प्रेममा यतिबेला पैसाको उपस्थिति अनिवार्य भइसकेको छ । 'अहिले त पैसा नभई केही हुँदैन,' मानवशास्त्री प्रा.डा. ऋषिकेशराज रेग्मी भन्छन्, 'पैसा नभई प्रेम नै नहोलाजस्तो भइसक्यो । प्रेमी–प्रेमिकालाई रेस्टुरेन्टमा लाने र ड्रिंक्स गराउने चलन भइसक्यो । प्रेम त फेसनको रूपमा विकास हुन थालिसक्यो ।'

नो मनी, नो लभ !

'आहा, कति राम्रो !'

काठमाडौँस्थित सुन्धाराको काठमाडौँ मलमा रहेको एक पसलमा राखिएको ओभरकोट आफूसँग रहेका एक युवकलाई देखाउँदै थिइन्, एक युवती । 'ह्या, अहिले छोड्देऊ,' ती युवक पन्छिन खोज्दै थिए । शुक्रवारकर्मीले यो दृश्य नियालिरहेको थियो । बुझ्दैजाँदा उनीहरू प्रेमी–प्रेमिका रहेछन् । अहिले आफूसँग पैसा नभएको भन्दै पन्छ्याउन खोजिरहेका ती युवकलाई युवती फकाइरहेकी थिइन् । जति फकाउँदा पनि युवक मानेनन् । उनीसँग पैसा नभएको जस्तो देखिन्थ्यो । युवती सन्किएर हिँडिन् । 'पैसा नहुनेले त लभ नगरे नि हुने रहेछ,' सानो स्वरमा भन्दै गुनगुनाउँदै ती युवक युवतीको पछि लागिरहे ।
IMG 7322 copy
यतिबेला गाउँ–शहरमा यस्ता दृश्य अनगिन्ती देखिन्छिन् । साँच्चै, पैसा नहुनेलाई प्रेम गर्न कठिन भइसक्यो त ? यसमा सहमत छन्, नेपालगञ्जका सचिन आचार्य । 'लभ त अब एड्भान्स्ड भइसक्यो,' काठमाडौँस्थित मैतिदेवीमा बसेर मार्केटिङको काम गरिरहेका उनी भन्छन्, 'प्रेमी र प्रेमिकाबीच हुने हरेक गतिविधि आधुनिक र अत्यावश्यक भइसके । अब त पैसाबिना प्रेम सम्भव छैन । पैसा भयो भने गर्लफ्रेन्ड त छानी–छानी पाइन्छन् ।' एक खेलाडीको प्रेममा परेका उनी पैसाबिना प्रेमलाई सुखद बनाउन नसकिने बताउँछन् । 'खुशी पार्नका लागि गर्लफ्रेन्डलाई घुमाउन लानै प¥यो । त्यो खाउँ, यो खाउँ भन्छ, पूरा गरिदिनैपर्यो,' उनी भन्छन्, 'यतिले मात्र पुग्दैन, कहिलेकाहीँ मुभी हेराउन लानुप¥यो । गिफ्ट किन्दिनुप¥यो । अनि, दिनमा दुई–तीनपल्ट रिचार्ज हालेर टाइम–टाइममा फोन गर्नु त अनिवार्य नै हो ।'

काठमाडौँ शहरमै यस्तो जमात पनि छ, जो प्रेमदेखि टाढा हुन चाहन्छ । काठमाडौँस्थित लाजिम्पाटमा बसेर विज्ञान विषय अध्ययन गरिरहेका २१ वर्षीय पुष्पराज डाँगी 'प्रेम त पैसा हुनेहरूले गर्ने हो' भन्ने ठान्छन् । 'कोठाको भाडा तिर्न मुस्किल पर्छ । लभ गर्ने पैसा कहाँबाट ल्याउनु ?' रोल्पाबाट पढ्नका लागि राजधानी छिरेका उनी भन्छन्, 'गर्लफ्रेन्ड भएपछि रिचार्ज कार्ड किन्नेदेखि उपहार र रेस्टुरेन्टमा लाँदालाँदै पैसा सकिन्छ । यो सब साथीहरूको देखेरै अघाइसकेँ । एकातिर पढाइ पनि बिग्रने, अर्कोतिर लभको टेन्सन ।' काठमाडौँ, कोटेश्वरमा बस्ने जनकपुरका रिङछेन लामा पनि प्रेमदेखि टाढै भाग्छन् । 'नो मनी, नो लभ'– हलिउड गायक डेभिड ग्वेटाको गीतबाटै उनी जवाफ फर्काउँछन् ।

पैसै भिलेन

काठमाडौँस्थित लगनखेलकी अनु सिंहको बुझाइमा प्रेम सफल बनाउन पैसा अनिवार्य छ । उनी यो निष्कर्षमा त्यसै पुगेकी होइनन् । आफ्नो पहिलो प्रेममा 'दाइजो' भिलेन भइदिएपछि उनको धारणा परिवर्तन भएको हो । 'मलाई लाग्थ्यो पैसा नै सबथोक होइन,' क्यास्पियन भ्याली कलेजमा अध्ययन गरिरहेकी उनी भन्छिन्, 'तर, मेरो पहिलो प्रेम पैसाकै कारण टाढियो । अहिले मलाई लाग्छ 'पैसाबिनाको प्रेम सफल हुँदैन ।' उनले चार वर्षदेखिको आफ्नो प्रेम सम्बन्ध आफूले थाहै नपाई टुटेको बताइन् । 'क्यारमबोर्ड खेल्दाखेल्दै जोडिएको हाम्रो सम्बन्ध बिनाकारण टुट्यो,' उनले बिलौना गरिन्, 'हेटौँडाको एउटा होस्टेलमा इन्चार्जका रूपमा कार्यरत थियो । टाइम–टाइममा मलाई भेट्न आइरहन्थ्यो । 'व्यापार गर्छु' भनेर गाउँ गएको थियो । तर, फर्किएन । दाइजो धेरै पाउने भएपछि अर्कै युवतीसँग बिहे गरेको उसको साथीबाट थाहा पाएँ । साँचो माया गर्थें । त्यो घटना सुनेको पाँचछ महिनासम्म त रुँदै दिन बित्यो ।' आफूभन्दा सात वर्ष जेठो युवकसँग प्रेम गरेकी उनी यतिबेला 'सिंगल' छिन् । भन्छिन्, 'अब त कोही केटामा विश्वास लाग्दैन । लभसभ नगर्ने । एरेन्ज म्यारिज नै गर्ने हो ।'

खोज्न थालियो 'सुनबुढी–सुनबुढा'

कुनै युवकको मुखबाट 'सुनबुढी' र युवतीबाट 'सुनबुढा' भनेको सुन्नुभयो भने अचम्म नमान्नुहोस् । गाउँ–शहरमा यतिबेला प्रेमका मामिलामा प्रयोग हुन थालेका शब्द हुन् यी । काठमाडौँस्थित बानेश्वरमा बस्ने रमेश राई (नाम परिवर्तन) यो मामिलामा अगाडि रहेछन् । उनकी प्रेमिका एक सपिङ मलमा काम गर्छिन्, उनी मोबाइल पसल चलाउँछन् । 'यो आइफोन चाहिँ त्यही 'सुनुबढी'को गिफ्ट हो,' आइफोन देखाउँदै उनले भने, 'एकदमै माया गर्छे । जे भने त्यही किनिदिन्छे । आफ्नो तलब पनि मलाई नै राख्न दिन्छे । यस्तो गर्लफ्रेन्ड कहाँ पाउनु ?' थुप्रै साथीहरू आफूलाई पनि यस्तै 'सुनबुढी' मिले हुने भनेर डाह गर्ने गरेको समेत उनले सुनाए । 'बिहे गर्ने कुरा त्यस्तै हो, लभ गर्न चाहिँ छोड्नु हुँदैन,' भविष्यबारे उनको छोटो जवाफ छ ।

'प्रेम र पैसा एकअर्काका परिपूरक हुन,' ओएसएसपी कलेज काठमाडौँमा अध्ययन गरिरहेकी पुष्पा श्रेष्ठको स्पष्ट मान्यता छ, 'प्रेम गर्न पैसा चाहिन्छ ।'

'आदर्श प्रेमले मात्र जीविका चल्दैन,' काठमाडौँ, चाबहिलकी पवित्रा खड्का भन्छिन्, 'प्रेमलाई भव्य र सफल बनाउन पैसा चाहिन्छ, चाहिन्छ ।' काठमाडौँ, बानेश्वरमा बसेर फोटोग्राफरको काम गरिरहेका कमल प्रसाई अहिलेको प्रेममा 'गिफ्ट' अनिवार्य भइसकेको बताउँछन् । 'गिफ्ट दिँदा प्रेम धेरै गरिन्छ भन्ने त होइन,' उनको अनुभव छ, 'तर, त्यही गिफ्ट दिँदा गर्लफ्रेन्ड खुशी हुन्छे । आफ्नो प्रेमलाई खुशी बनाउन पैसा अनिवार्य रहेछ ।'

मानवशास्त्री प्रा.डा. ऋषिकेशराज रेग्मी पनि प्रेममा 'पैसावाल'को खोजी हुन थालेको बताउँछन् । 'केटीहरूकै कुरा गर्ने हो भने पनि 'को धनी छ' त्यसलाई रोज्ने चलन देखिइसक्यो,' उनी भन्छन्, 'बाटोमा दुईजना युवतीको कुरालाई ध्यान दिएर सुन्ने हो भने त्यहाँ पनि पैसाकै कुरा भइरहेको हुन्छ । थुप्रै रिसर्चले पनि देखाइसकेका छन्– 'पैसावाल' भएकै भरमा कसैले बिहे गर्छ भने त्यो दिगो हुँदैन । त्यस्तो प्रेमलाई म साँचो प्रेम ठान्दिनँ ।'

'स्तर' बाधक

भनिन्छ, प्रेममा स्तरले फरक पार्दैन । धनी र गरिबले फरक पार्दैन । तर, समाजमा भइरहेका प्रेममा उनीहरूको 'स्तर' पनि बाधक भइरहेको छ ।

साहित्यकार क्रिस्टोफर मार्लोले भनेका थिएँ, 'पैसाले प्रेम किन्न सक्दैन, तर तिम्रो 'बार्गेनिङ पोजिसन'लाई सुधार्छ ।' उनको जस्तै विचार छ कोटेश्वरका सविन दंगालको । उनी तीन वर्षदेखि एक जनजाति युवतीसँग गहिरो प्रेममा छन् । उनकी गर्लफ्रेन्ड धनाढ्य परिवारकी छोरी हुन्, उनको भने स्थायी घर छैन । 'ममी पैसा कमाउन कुवेत पुग्नुभएको छ । बुबा चियापसल चलाउनुहुन्छ । म सामान्य जागिर खान्छु,' २४ वर्षीय उनले भने, 'एउटा स्थायी घर छैन । जग्गा किनेका छौँ, बनाउन बाँकी छ । यता प्रेमिका 'बिहे गरौँ' भन्छे । उनलाई म यति गरिब छु भन्ने पनि थाहा छैन । कसरी गरौँ बिहे ?' सविनलाई 'अन्तरजातीय प्रेम' भएकोमा डर छैन । डर छ त विपन्न भएकोमा । 'उनलाई भगाएर लाने एउटा घर पनि छैन,' उनले चिन्ता गरे, 'त्यही भएर आफ्नो स्तरलाई उकास्न विदेश जान खोजिरहेको छु । प्रेमिकालाई पनि विदेश गएर आएपछि बिहे गर्छु भनेर फकाइरहेको छु ।'

धान्नै गाह्रो 'प्रेम'

अचेल प्रेममा 'डेटिङ' अनिवार्य भइसकेको छ । 'डेटिङ' पहिलेजस्तो खोलाको डिल, खुल्ला ठाउँ, सडक र स्कुलमा मात्र सीमित छैन । शहरका तन्नेरीहरूको डेटिङस्थल त रेस्टुरेन्ट, क्याफे र होटल भइसके । 'प्रेमलाई त अब धान्नै गाह्रो भइसक्यो,' कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेकी गीता बस्नेत भन्छिन्, 'प्रेमलाई फेसन र टाइमपासका रूपमा लिन थालिएको छ । अनुहार र पैसा हेरेर माया गर्न थालिएको छ ।' उनले आफ्नो साँचो प्रेम टुटेको बताइन् । 'प्रेममा पैसाको उपस्थिति हुँदो रहेछ,' उनको अनुभव छ, 'आफ्नो प्रेमीलाई भेट्न जाँदादेखि घर फर्कंदासम्म धेरै खर्च हुन्छ । उसको 'हालखबर' सोध्न पनि फोनमा खर्चै गर्नुपर्छ ।' काठमाडौँस्थित चाबहिलका धीरज पौडेल पनि अहिलेको आधुनिक प्रेमलाई धान्न गाह्रो भएको बताउँछन् । 'मेरी गर्लफ्रेन्ड पोखरामा छे । महिनामा एकपल्ट भेट्न जानैपर्छ,' उनले सुनाए, 'म एजुकेसन कन्सल्ट्यान्सीमा काम गर्छु । तलब १५ हजार हुन्छ । उसलाई भेट्न जाँदै सकिन्छ । नजाँदा छोड्ली भन्ने डर, जाँदा धान्नै गाह्रो ।'

मानवशास्त्री रेग्मी समाजमा हुने ९० प्रतिशत प्रेम पैसामुखी भएको बताउँछन् । 'अहिले त प्रेमको पनि पैसाको आधारमा किनबेच हुन थालिसक्यो,' उनी भन्छन्, 'पैसाकै आधारमा सेक्सको किनबेच पनि भइरहेको देखिन्छ । पहिलेको जस्तो परम्परागत र शुद्ध प्रेम नै हुन छाडिसके जस्तो छ । यो एकदम गलत संकेत हो । यस्ता प्रेम सफल पनि हुँदैनन् । यिनले समाजलाई बिगार्छन् मात्रै ।'

प्रकाशित: १ फाल्गुन २०७२ ००:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App