३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

कोशी पारीका चालिस दिन

देश भारतीय नाकाबन्दी र मधेश आन्दोलनको उभारसँग जुध्दै थियो। हरेक नेपालीका दिनहरु संकटपूर्ण तरिकाले गुजि्ररहेका थिए। यस्तै परिस्थीतिमा म भने यी यावत जोखिम वेवास्ता गर्दै देशको पूर्वी यात्रा गर्ने मोडमा थिए। फलतः म दशैंको टिका थापेर घर पर्वत कुश्माबाट थुप्रै असुरक्षा र कठिनाइहरुको सामना गर्दै निस्किए। करिब १४ घण्टा बस यात्रापछि पूर्वी सहर इटहरी टेक्ने अवसर प्राप्त गरें।

इटहरी उत्रेपछि भने मन रोमान्चक बन्यो। कारण मधेश आन्दोलनको ज्वार यता त्यस्तो नभएको त्यहाँ पुग्दा थाहा पाए। मैले यात्राको सेडुल इटहरीमा तयार गरँे। र, यात्राको आकार धरान हँुदै भोजपुरतर्फ मोडे। एक्लो भएकाले यात्रा कुनै चक्रवात जस्तो थियो। आफँै आफ्नो साथी थिए म। भोजपुर यात्राभर मैले देशमा भइरहेका विभिन्न घटनाक्रमहरुलाई पाठ एवम् समीक्षा गर्दै गए। कहिलेदेखि मधेश आन्दोलन सुरु भयो? कसरी ठगिए मधेसीहरु? मधेश र पहाड बिचको सम्बन्धका सहबास कसरी सकिए? संविधानमा नअटाएका विषय र उनीहरुका माग अधिकार के–के हुन? यी यस्तै मैले देखेका , देशमा भइरहेका डिर्स्कोस र संकथनहरु सुसेल्दै पहाडी बजार भोजपुर पुग्दा बसले १० घण्टाको यात्रा नापेको थियो।

भोजपुर बजार झर्ना साथ आकुल भए त्यहाँको सौन्दर्यले। अस्ताचलतिर लाग्दै गरेको घामछायाँको दोभानमा भोजपुर बजार मोहिनी आवृतिमा फैलिएको थियो। त्यस दिन मैले आफुलाई भोजपुर बजारमै बिसाए। भोलिपल्ट बिहान उठ्दा बजार झलमल्ल घाँमले सिगाँरिएको थियो। पारीपट्टीको ट्याम्के डाँडा घामको टहकले सुन्दर देखिन्थ्यो। वरिपरि पहाडी डँाडाहरुको उपस्थिती बीच केही उठेको भोजपुर बजार नजिकका पहाडबाट चिसो सिरेठो ओसार्दै थियो। बजारका दाँयाबायाँ गुजुमुक्क परेका बाक्ला बस्ती देखिन्थे। म भने भोजपुरलाई यति नजिकबाट नियाल्न पाउँदा दंग थिए। यी यस्तै प्रवाहका बिच भोजपुर बजारलाई छोडी म प्रसिद्ध ट्याम्के डाँडाको यात्रा तर्फ मोडिए।

टयाम्के पुग्नु पुर्व बाटोमा मलाई पिखुवा खोलाले स्वागत गर्योड। एउटा कुनाबाट बगिरहेको पिखुवा भोजपुरे स्रष्टा गणेश रसिकका गीतमा पोखिएको थियो।

...मेरी सिम्मा बताससँगै उडेर जाने हो कि ,

बगेरे जाने हो कि मेरी सीमा पिखुवासँगै।'

पिखुवा खोलामाथि टाँगिएको झोलुङ्गे पुलमा उभिएर मैले केही क्षण गीतका यी हरफहरुलाई स्मरण गरँे। त्यसोत पिखुवा थुप्रै कवि–लेखका सिर्जनामा अटेको छ। मैले पनि पिखुवालाई मनमा बगाउँदै अन्नपूर्ण दिल्पाको उकालो लागेँ।

उकालो नाकै ठोक्किने ठाडो थियो। करिब तीन घण्टा उकालो उक्लेपछि म अन्नपूर्ण दिल्पा पुगँे। बाटोमा स्थानीयहरु आ–आफनो हिउँदे कामधन्दामा व्यस्त थिए। क्रमशील दिल्पाबासीका अनेकन मेहनत र सीपहरु उनीहरुले फलाएका अलँैची, सुन्तला, अम्बा र अन्य कृषि उत्पादनमा देखिन्थ्यो। अपेक्षाकृत विकसीत चेतनाबाट प्रेरित थिए दिल्पावबासी। त्यसोत यस थलो थुप्रै बौद्धिक, धार्मिक, सिर्जनशील एवम् राजनीतिक प्रतिभाहरुको जन्मभूमि पनि हो। देशको सिर्जनशील मुलधारमा आफ्नो आधिपत्य जमाएका मुकारुङ परिवार यसै गाउँका हुन्। शिक्षा, स्वास्थ्य, स्थानीय संस्कार र परम्परामा धनि लाग्यो दिल्पा–नागीक्षेत्र। यसरी दिल्पालाई स्मरण गदैैै मैले त्यस दिन आफुलाई त्यहीँ विश्र्राम गरँे।

भोलिपल्ट म क्याम्पाडँाडा, अन्नपूर्ण नाँगीहँुदै चखेवाडाँडा पुग्दा चखेवा मध्यदिनको घाम तापिरहेको थियो। उभो शिरमा श्रृङ्खलाबद्ध उत्तिस र सल्लाका रुखहरुको ताज पहिरिएको चखेवा फाँटिलो बनि फैलिएको थियो। राज्य र स्थानीयले यसको सौन्दर्यलाई बुझ्न सक्ने र पूर्वाधारहरु खडा गर्दै लाने हो भने कति पर्यटक यसको सौन्दर्यरसपान गर्न आउँदा हुन्। यी यस्तै वाचाल जिज्ञासाहरु मरो मानासपटलभरि दौडिए। टयाम्केको फेदी चखेवालाई हाल मध्य पहाडी लोकमार्गले काटेको छ। सिङ्गो चखेवालाई ध्यान नपुर्याभइ बाटोको प्रवेश गराउँदा त्यसको प्राकृतिक स्वरुपमा नराम्रो असर परेको मैले देखेँ। यस्तो वातावरणीय विनास देख्दा मनमा हर्ष होइन विषमातले बास गर्यो । यस्तै रमाईला नरमाईला मिश्रित अनुभूति सङ्गालदै म केही घण्टाको दुरीमा रहेको मेलवा पोखरी पनि पुगेँ। त्यहाँ पुग्दा गोधुली सन्ध्याको आकाशे सौन्दर्यमा तैरिएको थियो मेलवा। केही क्षणको दर्शन भेटपछि म पुनः चखेवा फर्की त्यस रात मैले चखेवामै विताएँ।

भोलिपल्ट यात्रा टयाम्केतर्फ उक्लदै गयो। जतिजति टयाम्केको उकालो उक्ल्यो जाडो उति बढिरहेको थियो। यद्यपि टयाम्केको मनोरम दृष्यले लोभ्याइरह्यो। टुप्पामा पुग्दा वरिपरिको मोहनी वातावरणले गम्लङ्ग अङ्गालो हाल्यो। उकालो उक्लिदा पसिनाले निर्थुक्क भिजेको शरीरलाई केहीक्षण मैले चुली वरपरको स्याँठमा सुकाएँ। लगातारको हिँडाइले ज्यान गलेको थियो। टयाम्केडाँडाको पहाडी टाकुराबाट वरिपरि हेर्दा टाढा टाढासम्मका मनोरम दृष्यले मन अभिभूत हुन्थ्यो। पहाडी एवम् हिमाली डाँडा पनि हाँेचा लाग्थे टयाम्के चुलीबाट नाप्दा। पूर्व क्षेत्रकै मनोरम पहाडभित्र पर्ने टयाम्के चुली (तीन हजार १८ मिटर उचाई) बाट देखिने कञ्चनजंघा, ल्होत्से, मकालु या सगरमाथाका सौन्दर्य वर्णन कसरी गर्ने? मनै हर्ने खालका थिए। त्यस्तै सोलुदेखि खोटाङ, धनकुटा, मोरङ, सिरहा, सप्तरी, उदयपुर, सुनसरी एवम् भारतका सिलगुढी, दार्जिलिङसम्मका पहाडी दृष्य प्रत्यक्ष अवलोकन गर्न पाउँदा मन गद्गद् थियो।

हाल टयाम्केको विकासका लागि पूर्व पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री गोपाल किराँतीले ठूलो लक्ष्यका साथ काम गरिरहेका छन्। उनको सपनाले मूर्त रुप लियो भने टयाम्के देशकै एक पहाडी विशिष्ट गन्तव्य बन्नेमा दुईमत छैन।

त्यहाँबाट फर्केपछि म भोजपुरकै टक्सारबजार, सुन्तलेडाँडा पुगेँ। त्यहाँको प्राकृतिक दृष्यले मन अभिभूत भयो। भोजपुरबाट सुन्तलेडाँडा पुग्न पैदलयात्रामा तीन घण्टा लाग्यो। त्यहाँ पुग्दा मलाई मेरै पहाड गाउँ बागलुङ जैदीको सम्झनाले अधिर बनायो। सुन्तलेडाँडाबाट उत्तरी क्षीतिज नियाल्दा मकालु, कुम्भकर्ण र सगरमाथाका हिमाली दृष्यले मन चङ्गा बन्यो । भोजपुरका यी ठाउँहरुमा भेटिएका मानिस र उनीहरुले आफ्नो गाउँ ठाउँलाई पर्यटन, संस्कृति र विकासमा केही गर्नुपर्छ भन्ने सोचका साथ खेलेको परिवर्तनकारी प्रयासहरु विशेष र प्रशंसनीय थिए।

सुन्तलेडाँडा भ्रमण पछि यात्रालाई पुनः धनकुटातर्फ मोँडे। बाटोमा पर्ने अरुण नदी आसपासका प्राकृतिक दृष्यहरु विशेष थिए। धनकुटा हिले बजार पुग्दा बजार हतारमा मेलो सक्न व्यस्त किसान जस्तो देखिन्थ्यो। यो भोजपुर र धनकुटाको क्षेत्रीय बजार पनि हो। बजार वरपर मानिसको चाप बाक्लै थियो। मैले यात्रालाई पुनः गुराँसको राजधानी भनेर चिनिने तेह्रथुम, वसन्तपुर तीनजुरे मिल्के (टीएमजी) तर्फ मोडँे। त्यहाँ पुग्दा सुनिआएको गुराँसे वनले मन गुराँसमय बन्यो। गुराँसघारी गर्वमा कोपिला च्यापेर बसेका थिए। सोचँे– गुराँसयाममा यो वन क्षेत्रमा आफूले टेक्न पाएको भए मन कति वैंशालु वन्थ्यो होला? तर पनि टीएनजी वसन्तपुरको भू–दृष्य अवलोकन गर्दा मन शौभाग्यशाली थियो। गुराँसयाममा फेरी तीनजुरे आउने बाचा बाँधी टीएनजीलाई आफ्नो मनको सम्झना फूल उपहार चढाउँदै म त्यहाँबाट धरान भेडेटारतर्फ मोडिएँ।

धनकुटा र सुनसरीको सिमामा अवस्थित भेँडेटार पूर्वको नगरकोटका नामले पनि चिनिन्छ। पर्यटकको रोजगाइमा पर्ने यस स्थल त्यहाँ पुग्दा व्यस्त दिनचर्यामा थियो। भेडेटारबाट हेर्दा आकाशगङ्गा वादलको छालमा पौडिरहेझैं भान हुन्थ्यो। बाह्रैमास चीसो हुने भेडेटारको मौसम अतुलनीय छ। छिनछिनमा बदलिइरहने मौसमले यसको परिचयलाई विराट पारेको छ। भेडेटारपछि म नजिकैको दूरीमा रहेको नाम्जे होमस्टे पुगेँ। त्यहाँ पुग्दा गाउँलेको न्यानो आतित्यता पाइयो। यस गाउँ विश्वको ठूलो अमेरिकन संचार संस्था सिएनएनको गाउँ पर्यटन सूचीमा उत्कृष्ट भइ सुचिकृत छ। त्यसपछिको यात्रा सानो पहाडी बजार धनकुटा डाँडाबजार हुँदै ध्वजेडाँडातर्फ लम्कियो। गुजुधुम्म बसेको डाँडाबजार उद्ध र तेर्सा रेखाहरु कोरिएको क्यानभाष जस्तो थियो। त्यसपछि म धरानका बुढासुब्बा र आसपासका दन्तकाली, पिण्डेश्वर, विष्णुपादुका, पञ्चकन्या, बराहक्षेत्र आदि मन्दिरहरुमा पुगेँ। त्यस वरपरका ताजा दृष्य अझैपनि आँखामा अटेसमटेस गरी बसेका छन्।

धरान झर्दा बजारको सम्मोहन मोहनीमा मन अल्भि्कयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विशिष्ट पहिचान बोकेको गोर्खाली लाहुरेहरुको प्रमुख बासस्थान धरानका अनेकन परिचय छन्। विविध जाति, भाषा र संस्कृतिले सम्पन्न छ धरान। समग्र धरानलाई विविध जातजातिको साझा फूलवारी भन्दा पनि हुन्छ। न धेरै जाडो, न धेरै गर्मी यो धरानको वातावरणीय विशेषता हो। नगरभित्रका सफा, चिल्ला सडकमा टहलिएर हिँड्नुको मज्जा पनि विशेष हुने। म सहर भित्रका भूकम्प स्मारक तथा उद्यान पार्क, वि्रटिश गोर्खा स्मृति पार्क, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, श्रीजङ्गा पार्क, घण्टाघर पनि पुगेँ। जहाँ जता पुगे पनि धरानका सम्पदा स्थलहरुले मन लोभ्याउँथे। धार्मिक महत्व बोकेका गुम्वा, चर्च, मस्तिज धुपै्र छन् धरानमा। पर्यटकीय क्षेत्रको प्रवेशद्वार पनि हो धरान। यहाँबाट भेँडेटार, धनकुटा बजार, तेह्रथुम, वसन्तपुर, धनकुटा राजारानी आदि गाउँठाउँ पुग्न सकिन्छ। साथै धरानबाट तेह्रथुम, पाँचथर, संखुवासभा, खोटाङजस्ता जिल्लामा पदयात्राका लागि पनि यो गेट वे हो। हाल पहाडको फेदीमा अवस्थित धरान बजार भौतिक विकासले द्रुत गतिमा अगाडि बढेको छ।

धरान पछि आफूलाई झापातर्फ मोडेँ। यात्राकै बीचमा झापाका दोमुखा, बेतना घुमाइका यादहरु अझँै मनमा चिप्लेटी खेलिरहेका छन्। झापा घुमाइ पश्चात म भारतको सिलगुडी, दार्जिलिङ, खर्स्याङ, कालेबुङ, सिक्किमसम्मको यात्रा गर्न सकें। करिव दुइहप्ताको वेस्ट बंगाल घुमाइका अनुभूतिहरु पनि मनमा फरक गरी बसेका छन्। हरेक ठाउँमा पुग्दा त्यहाँको जीवन, परिवेश, भूगोल र प्रकृतिले सुखद अनुभूति दिन्थ्यो। यथाः उपल्ला पहाडी बस्ती घुम्दा देखिएका गरीवीका कथा–व्यथाले मनलाई उति नै दुखित तुल्याउँथ्यो।

यात्रालाई झापा पछि मैले इलामतर्फ मोडे। इलामका कन्याम, श्रीअन्तु घुम्दा मनले ...वाह! प्रकृति, वाह!! इलाम' भन्थ्यो। पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाएका यी स्थानमा मन वहलाउन पाउँदा, पाइला टेक्दा मन आफँैमा प्रफुल्ल थियो । हुस्सुको खास्टो ओढी सुतेको कन्यामको चिया वगान घुम्न म यस अघि पनि आएको थिए। यस पटक पनि कन्याम उही–उस्तै मायालु र दयालु मुद्रामा पाएँ। सफा सेतो तकियाझैं टाढा क्षितिजमा टाँगिएका हिमाली श्रृङखलाले यसको प्राकृतिक सौन्दर्यमा निखारता थपेका थिए। वरपरबाट बहिआउने शीतल हावाको स्पर्शले मनलाई ढक्ढक्याउँथ्यो। चिया वगानमा चियाका बोट छासिरहेका किसान, घुम्ने योजनामा त्यहाँ पुगेका पर्यटकहरुको लामले कन्याम लोभलाग्दो देखिन्थ्यो। त्यस्तै कन्यामबाट झण्डै दुई घण्टाको दूरीमा रहेको श्रीअन्तु (२ हजार तीन सय २८ मिटर) पुग्दा विहान सुर्योदयको दीप्तीले पर्वतगिरिहरु पहेंलपुर थिए। लाग्थ्यो कलिलो बालक सूर्यलाई हत्केलामै उवाऔं। आकाश फटाउँदै मोहनी रुपमा उदाउने सूर्यलाई एकटक हेरिररुँ लाग्ने। स्वच्छ वातावरण, चीसो हावापानीको यो ठाउँ अलैंची, अदुवा, अकवरे, अमलिसो आदि उत्पादनका लागि पनि प्रख्यात छ। उच्च डाँडामा रहको यस स्थलबाट दार्जिलिङ, मिरिक सिलगुडी लगायतका मनोरम दृष्य प्रत्यक्ष देख्न सकिँदो रहेछ। श्रीअन्तुसँग हाल सम्बन्ध जोड्न र सूर्योदय हेर्नै भनेर थुप्रै पर्यटक त्यहाँ पुग्दा रहेछन्।

हालै केही घरहरुमा सुरु गरिएको होमस्टे सेवा देख्दा श्रीअन्तु विस्तारै आर्थिक समृद्धिको बाटोतर्फ छलाङ मार्दै गएको अनुभूति हुन्थ्यो। श्रीअन्तुबाट पूर्व, पश्चिम र उत्तरका दृष्यहरु हेर्न लायक थिए। श्रीअन्तु पछि यात्रालाई मैले फिक्कल हुँदै इलाम सदरमुकाम इलाम बजारतर्फ माँेडे। लेप्चा भाषामा इलामको अर्थ ई–घुमाउरो र लाम–बाटो (इलाम–घुमाउरो बाटो) रहेछ। नागवेली बाटोले इलामको परिचय बोल्थ्यो। लेप्चा जाती इलामका पुराना बासिन्दा रहेछन। इलामको सौन्दर्यले चाहे स्वदेशी हुन् वा विदेशी नलोभिने को नै होला र? इलामका प्रायजसोः पर्यटकीय स्थलमा मोटर बाटो पुगेको पाइयो।

यात्रामा जति बाटो काटिन्थ्यो त्यति रमाइला दृष्यले स्वागत गर्थे। मैले पुर्वेलीको नयाँ सोच र चिन्तनलाई सलाम गरेँ। जहाँजता पुगे पनि स्थानीयहरु नयाँ समाज निर्माणको रचनात्मक विधि र तरिकालाई अवलम्वन गरी आफ्नो ठाउँ विकास गर्न कटिवद्ध थिए। योजनालाई ठाउँ र परिस्थिति अनुसार सुधार गर्न र उपयुक्त नीति तथा योजना बनाउने मामलामा खप्पिस लाग्यो उनीहरु। त्यस्तै शरद याम भएर होला प्रायःका घरआँगन शारदीय फूलहरुले सिँगारिएका थिए। लिपपोतले सफा सुग्घर थिए। बाटोघाटो मर्मतसुधारले चिटिक्क देखिन्थे। त्यसो त कतिपय ठाउँहरुमा पुग्दा मानिसहरुले विकासका कामहरुमा योजनाको दुरुपयोग, रकमको दुरुपयोग र भ्रष्टाचारको खेलो पर्याप्त हुने गरेको गुनासो स्थानीयहरुबाट सुन्नमा आउँथ्यो।

यात्रालाई इलामबजार हुँदै मैले उत्तरी जिल्ला पाँचथर र ताप्लेजुङतर्फ बढाएँ। लगातारको हिँडाइ पश्चात यात्रा पाँचथर सदरमुकाम फिदिम हुँदै तन्किँदै गयो। पाँचथरका पहाडी वस्तीहरु मनमोहक थिए। प्रायः गाउँका चेप र कुनाबाट मकालु, कञ्चनजङ्घा वा फोक्ताङलुङ हिमालका दृष्यहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्थ्यो। यात्रामा प्रायः सुन्दर गाउँवस्तीहरु भेटिन्थे। पहाडी यात्रा जहाँ जता पुगेपनि चीसो धुमधामकै लाग्यो। हुन त भर्खर शदर याम सकिएर जाडो मौसम सुरु भइसकेको थियो। बाटोमा थुप्रै गाउँवस्ती आउँथे र क्रमशः जान्थे। यात्राका बेला वरवर देखिएका, भेटिएका राँकेबजार होस् या पौवा साततात, चिम्थुला, इन्बुङ, चिलिङदेन वा पारीपारी देखिने गाउँवस्तीहरुको दृष्य सुन्दर थियो।

इलामबजारबाट हिँडेको करिब पाँचघण्टामा म पाँचथर सदरमुकाम फिदिम पुगेँ। हरेक दिनको यात्रा विशेष हुन्थ्यो मेरा लागि। नयाँ भान्सा, नयाँ बाटो, नयाँ मानिस, नयाँ भूगोल। यस्तै नयाँ–नयाँ अनुभूति हरेक दिन मनले ग्रहण गर्थ्यो। पहाडहरुका बीच केही खोँचमा बसेको फिदिम बजार सुन्दर लाग्यो मलाई। स्थानीयमा सामाजिक र राजनीतिक चेतनास्तर पनि अलिक बलियो पाएँ मैले। उत्पादन र आम्दानीका लागि पनि फिदिम वरपरको फाँट उर्वर रहेको स्थानीय बताउँथे। एक–डेढ घण्टाको दूरीमा प्रायः गाउँहरु जम्काभेट हुन्थे। जंगल, बुट्यानहरुको अस्तित्व बाक्लै देखिन्थ्यो बाटो वरपर। पाँचथर हरित लाग्यो। प्रायः ठाउँहरुमा सामुदायिक खेतीपातीको अभ्यास गर्न खोजिरहेका किसान देखिन्थे।

निरन्तरको यात्रा पश्चात् म ताप्लेजुङ सदरमुकाम फुङ्लिङ पुगेँ। त्यहाँ पुग्दा फुङ्लिङ बजार आफ्नो मौलिक पहिचानमा उभिएको थियो। कञ्चनजङ्घा हिमाल र पाथिभरा माताको छत्रछाँयामा अवस्थित फुङ्लिङ बजार केही वर्ष यता भने आगोको सिकारले अस्वेत बनेको खवर सुन्नमा आउँथ्यो। त्यहाँ पुग्दा पनि अघिल्लो वर्ष लागेको आगोको ट्याग पहिरेर डाँडाबजार उभिएको देख्दा मनले नमज्जा मान्यो। स्थानीयहरु पुनः निर्माणतर्फ जुटिरहेका थिए। त्यहीँ निस्पृह डाँडाबजारको अनुहार बोकेर म पाथीभरा माताको मन्दिरतर्फ लम्किँए। फुङ्लिङबाट झण्डै १५–२० मिनेटको उकालो उक्लिएपछि सुकेटार विमानस्थल र बजार आइपुग्यो। त्यहाँ पुग्दा साँझ टुप्लुक्क परेकाले त्यस रात मैले त्यहीँ विताएँ।

पाँचथर, ताप्लेजुङको यात्रा गर्दा प्रायः गाउँवस्तीमा मोटरबाटो, विजुलीबत्ती पुगिसकेको देखियो। रातमा वरीपरीका गाउँवस्तीमा विजुलीवत्तीको झिलिलिमी देख्न पाइथ्यो। वस्तीभित्रको गरिवी र अभाव त के थियो तर यी सुविधा देख्दा पाँचथर, ताप्लेजुङ सम्पन्न, शिक्षित सुविधायुक्त छ भन्ने बुझ्न यी दृष्यहरु काफी थिए। प्रायः गाउँहरु मध्यमवर्गीय हैसियतका जस्ता लाग्थ्यो। हाल मध्यपहाडी राजमार्गको प्रवेशले पनि पूर्वका गाउँघरहरुमा परिवर्तनका ढोका उघार्दै गएको देखिन्थ्यो।

भोलिपल्ट सुकेटारबाट नजिकै देखिने पाथीभर माताको मन्दिर उक्लन मलाई पुरै एकदिन लाग्यो। जव माताको समीप पुगँे। मन गद्गद् भयो। चुलीबाट उत्तरतर्फ हेर्दा कञ्चनजङ्घा, मकालु वा कुम्भकर्ण हिमालका दृष्यले मन सानो तिनो हिमाल बन्यो। त्यस्तै वरपरका गाउँघरहरुको वान्की कुनै सेन्दर चित्र जस्तो थियो। पाथिभरा भगवती मन्दिर प्राकृतिक सुन्दरता र धार्मिक महत्वले समेत विशिष्ट छ। ३७ सय ९४ मिटर उचाइमा अवस्थित मन्दिर बाह्रै महिना खुल्ला रहन्छ। प्रायः बाक्लो मात्रामा तीर्थालुहरुको उपस्थिति रहने यस मन्दिरमा स्वच्छ आत्माले दर्शन गर्दा पुण्य प्राप्त हुने र आफूले भाकल गरेका वा अपेक्षा गरिएका मनोकामना सिद्ध हुने जनविश्वास छ। देवी दर्शनका लागि नौरथा तिथि उत्तम हो भने यहाँ पुग्न असोज, कात्तिक र मङ्सिर महिनाको समय उत्तम रहन्छ। मन्दिर वरपरको क्षेत्र जैविक विविधतायुक्त भएकाले पनि त्यस वरपर विभिन्न गुँरासका रुखहरु एवम् अन्य बुट्यान र जीवजन्तुहरु बाटो वरपर पर्याप्त देखिन्छन्। जसले त्यहाँ पुग्ने हरेकको मन नलोभिइरहन सक्दैन। पाथिभरा पुग्नेहरुका लागि दुई कि.मि. तल मन्दिर फेदीमा खान, वस्नका लागि पर्याप्त होटल, लजहरु संचालित छन्।

मन्दिर दर्शन र घुमघाम पछि मैले यात्रालाई पुनः ताप्लेजुङ, फुङ्लिङतर्फ मोँडे। फुङ्लिङबाट ताप्लेजुङकै प्रसिद्ध पर्यटकीय स्थल ओलाङचुङगोला र कञ्चनजङ्घा बेसक्याम जाने फरक फरक बाटो छन्। ओलाङचुङगोला र कञ्चनजङ्घा वेसक्यामको यात्रा फेरि गर्ने बाचा गर्दै आफ्नो यात्रालाई मैले इलाम, झापातर्फ दोहोर्याुएँ। विदाइमा ताप्लेजुङ अवाक देखिन्थ्यो।

ताप्लेजुङको नागवेली बाटो, रमाइला तरेली परेका पहाडी धरातलले हरेक गाउँ गन्तव्य स्थल बन्न सक्ने संकेत गर्दथे। यसका लागि योजनावद्ध काम गर्नुपर्ने दायित्व सरकार र स्थानीय समुदायमा थियो। यस्तै कुरा मनमा खेलाउँदै म झापा झरें।

पूर्वका पहाडी वस्तीहरुमा प्रायः राई, लिम्वूहरुकै बाहुल्यता जमेको देखिन्थ्यो। अरु जात, समुदाय ती भू–भागमा पातलो उपस्थिति जनाइरहेका देखिन्थे। यात्रामा थुप्रै अप्ठ्यारा, सजिला बाटोहरु नापियो। जहाँ, जता पुगे पनि पूर्व समृद्ध लाग्थ्यो। झापा ओर्लेपछि मैले यात्रालाई इटहरी हुँदै सुनसरी, कोशी टप्पु बन्यजन्तु आरक्ष तर्फ मोँडे। कोशीटप्पु पुग्दा मन नरमाउने कुरै भएन। यस समय आरक्ष घुम्न उपयुक्त सिजन हो। आरक्ष खासगरी चरा अवलोकनका लागि प्रख्यात छ। यद्यपि त्यहाँ जङ्गली हात्तीदेखि पाटे बाघ, विभिन्न प्रकारका उभयचर पनि नभएका होइनन्।

कोशी नदीले ओगटेको आरक्षभित्रका सिरहा, सप्तरी र सुनसरी क्षेत्रका माझी–मलाह समुदायहरु यसै नदीमा परम्परागत रुपमा माछा मार्दै आफ्नो जीविका चलाउँदै आएको पाइयो। यो संख्या अहिले तीनहजार माथि छ। आरक्ष घुम्न विदेशी भन्दा स्वदेशी पर्यटक बढी आउने गरेको आरक्ष संरक्षण अधिकृत श्यामकुमार शाहले बताए। कोशी नदीमा डुङ्गा चढ्न पनि पाइन्छ। यसवापत आरक्षलाई दुई हजार दस्तुर तिर्नुपर्ने व्यवस्था रहेछ। आरक्ष नजिकै स्थानीयहरुले हालै होमस्टे सेवा सुरु गरेका रहेछन्। म त्यहीँ बसें। तर, आरक्ष वरपर सुविधायुक्त होटल वा रिसोर्ट भने नभएका होइनन्। दुइदिनको आरक्ष क्षेत्र घुमघाम पनि आनन्दकै रह्यो।

आरक्ष वरपरका समुदायको जीवन दैनिकहरु हेर्न र बुझ्न लायक छन्। तर मधेशमा बलिरहेको आगोको ज्वारले ती अदृष्य जस्ता लाग्थे। अनिश्चितकालीन वन्द, हड्ताल र कर्फ्युका कुरा दिनैपिच्छे उठिरहेका थिए। तराई दिनदिनै जटिल वन्दै थियो। यसैले मैले अब तराईका अन्य जिल्ला घुम्ने आँट र साहस गर्नु मुर्खतापूर्ण हुन्थ्यो। आजसम्म आइपुग्दा मेरो पैतलाले ४० दिनको यात्रा नापिसकेको थियो। यही समयरेखामा मनलाई सन्तोष महसुस गराउँदै मैले यात्रालाई पूर्णविराम लगाउने निश्चय गरें। यद्यपि मेरो मनमानसमा भने सिङ्गो पूर्वी नेपालमै थियो।

प्रकाशित: २३ माघ २०७२ ००:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App