हिमालयको काखमा सेती, काली, कर्नाली र बूढीगंगा किनारमा महाभारतको लेकबाट उदारताको बिस्कुन छरेर सुन्दरताका फूल फुलाएर पिरतीको माला उन्न सिकाइरहेकै छ त्यो धराले। सुदूरपश्चिमेली लोक साहित्यको चर्चा गर्दा छुट्याउन नमिल्ने नाम हो स्व.देवकान्त पन्त। जसले २०३२ सालमा 'डोटेली लोकसाहित्य एक अध्ययन' नामक कृति दिए। उक्त कृति सुदूरपश्चिमेली लोकसाहित्यकै पहिलो कृति हुन गयो। २०३४ सालमा डोटेली भाषामै तयार पारिएको बेलु नामक गीती काव्य लिएर झुल्किए डोटी, बैरकोटका भक्तबहादुर बलायर। समाजमा देखापरेका बिकृति र बिसंगतीको यथार्थ चित्रण गरिएको उक्त कृति त्यतिखेर लोकप्रिय थियो। पछिल्लो समयमा सुदूरपश्चिमको लोकसाहित्यमा डा.जयराज पन्त, डा. बद्री शर्मा बिनाडी, वासुदेव भट्ट भाइसाब, मुक्तिनाथ शर्मा, पद्मराज जोशी प्रभात, वासुदेव पाण्डेय, दिव्येश्वरी जोशी, यज्ञराज उपाध्याय टिएन जोशी हरिकृष्ण कडायत लगायत थुपै्र सर्जक, अन्वेषक कलम चलाइरहेका छन्।
सेती महाकाली कर्नाली र भेरीसम्म गाइने र खेलिने(नृत्य गरिने) डेउडागीत लोक साहित्यको एउटा दरिलो हाँगो हो। बनपाखातिर लामो सास तानेर सुरिलो भाकामा गाइने नृत्यरहित गीत देखि जात्रा बिवाह र चाडपर्वमा गाइने नृत्ययुक्त गीतलाई डेउडा भनिन्छ। मात्र भाका फरक हुन्छन्। यसरी लामो सास तानेर गाइने गीतलाई ठाडी भाका भनिन्छ। खासमा डेउडाले डेढ(एक पुरा र अर्को आधी) भन्ने अर्थ दिन्छ। ठाडी भाका गाउँदा होस् या गोलबद्ध भएर पैतलीको चालमा खेल खेल्दा, एकपटकमा पहिला पुरा पंक्ति अनि त्यही पंक्तिलाई आधी गाइन्छ भने पैतलीको चाल पनि डेढ नै हुन्छ। त्यसैले भन्न सकिन्छ : वर्तुलाकार समूहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलीको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढंगले गाइने र खेलिने (नृत्य सहितको)गीत डेउडा हो। जसका शब्दशब्दमा जिन्दगी र जगतका आयाम र आलाप भेटिन्छन्।
डेउडा नृत्यमा जब दुइतिरका ड्यौडियाहरुको सवाल जवाफ सुरु हुन्छ तब छाउँछ मनमा एक प्रकारको रौनक। डेउडा गीत एउटै गोलबद्ध घेरामा खेलिने भए पनि दुई समुहमा बिभाजित हुन्छ। दुबै समूहमा एक एक जना प्रतिनिधि ड्यौडिया हुन्छन्। विगतमा ती दुबै जना प्रतिनिधि पात्रको शीरमा सेतो पगडी बान्न लगाइन्थ्यो र छाता ओढाइन्थ्यो। जुन उनीहरुको प्रतिभाप्रतिको सम्मान थियो। साथै दर्शकले चिन्ने संकेत पनि। स्पन्दनमा आदर्श निष्ठा र विश्वास उनेर अडिएको त्यस क्षेत्रको जनजीवन मानसपटलमा छचल्किरहन्छ कहिल्यै डेउडागीतका सुमधुर लय बनेर, कहिल्यै सम्झनाको सुन्दर बिहानी छरेर त कहिल्यै सेती, काली, कर्णाली र बूढीगंगाको उर्लदो दृश्य देखाएर। जब सुदूरपश्चिमेली संस्कृतिबारे चर्चा हुन थाल्छ तब कोमल मनका गह्रामा शरदको जूनले चियाइ रहन्छ, बैंसालु रहरहरू समुद्रको छालझैं तरंगित हुन थाल्छन्। कयौं चाडपर्वहरूले रैवार(सन्देश) पठाइरहेझैं लाग्छ। कयौं ड्यौडियाहरू स्मृतिको आँगनमा डेउडा खेल(नृत्य) जमाइरहेका हुन्छन्।
डेउडा मध्य तथा सुदूरपश्चिमेलीको सास हो भन्न मन लाग्छ किनकि बालकदेखि बृद्धबृद्धासम्म हरसासमा डेउडा हुन्छ। अ"गालोमा बा"धिएर यसले पैतली मिलाउन लगाएको छ र जीवनका आयामहरूले आत्मसात गरेका छन्। डेउडा गीत हाम्रा लागि विगतको पाठशाला पनि। आजका विश्वविद्यालयभन्दा बढी गरिमा बोकेको पाठशाला किनकि त्यतिखेर कसैले भनेका डेउडा गीतलाई मनन् गरेरै पनि जिन्दगीको गोरेटो तय गर्थे मान्छे। ती गीतले सत्य र यथार्थसंग अ"गालो कसेका थिए। सत्यता र यथार्थ ग्रहण गरेर जिन्दगी अघि बढाउनु नै शिक्षा हो। वायुवेगमा फैलिए झैं तुरुन्तै चारैतिर फैलिने डेउडा गीतका केही पंक्ति अहिलेका महान् चिन्तक र दार्शनिकका कोटसनझैं जनमानसको दिमागमा डेरा हाल्थे। मान्छेलाई संवेदनशील बनाएर माया, प्रेम, सद्भाव र भाइचारा लोभ लाग्दो किसिमले झल्काउ"छ डेउडा गीतले।
वन–जङ्गलमा बा"सुरीको धुनबाटै जिन्दगीका आलाप छरेर सन्तुष्टि बटुल्दै अभावमा पनि आनन्दको जिन्दगी जिउने कला सिकेका थिए त्यतिखेर मानिसले। तर आजका उच्च शिक्षा हासिल गरेकाहरूले त्यो मर्मलाई आत्मसातसम्म गर्न सकेका छैनन्। त्यस्तो प्रेमपूर्ण र आनन्द जीवन जीउने कला सिक्नु त धेरै परको कुरा भैसक्यो। हिजोआज डेउडा गीतका ती गहकिला बहुअर्थ दिने शब्दहरू धातु खिइएझैं खिईदै गइरहेको महसुस हुन्छ। डोटीका ह"स्स्वा कानो, चल्ले साइ (खण्टे खड्का), ठगी महरा, गगन बहादुर सा"उद, देउराम बलायर, गंगाराम बलायर, बाजुराकी झीरू, डमरी, अछामका भोरलङ स्वार, देवानन्द तिमिल्सिना र नामसरी, बझाङका गोबिन्द डिठ्ठा, बाका साउँद, दलबीर सिह, गुण्टे बुढा, गजे पुजारा, हरिमल, गोपि रावल, शंकरलाल थापा, मानवल बिष्ट, गिठू सिंह, अफिलाल सिंह, गिठे लुहार, बिर्कु कठायत, शोभान ओली, गोरे छ्यली, शेरबहादुर सिंह, धौली जस्ता ड्यौडियाहरूको डेउडाका हस्तीहरूको दुनिया अर्कै थियो।
ती ड्यौडियाहरूले भावपक्षलाई व्यञ्जना र लक्षणामा व्यक्त गर्दथे। दुई पक्षबिचको सवालजवाफको भावनात्मक लहरले सत्यता र यथार्थता समेटिएका शब्दहरूले त्यहा" प्रयोग भएका उपमा र उपमेयहरूले हजारौं मनको हा"सो र आ"सु समेट्थे। अवर्णनीय थिए ती पंक्ति जुन गाउँघरतिर मौखिक इतिहास बनेका छन्।
डोटीका चल्ले शाइ अर्थात खण्टे खड्का सुदूर पश्चिमका प्रतिभाशाली लोककवि थिए। डेउडा गीतका प्रतिनिधि। दुर्भाग्य उनले सिर्जना गरेका सबै गीत लिखित रुपमा आउन सकेनन्। केही चर्चित गीत गाउँघरतिर कहीकतै सुनिन्छन्। जस्तैः
कालो त कस्मिरा हुन्छ राजा लगाइ हाल्छ,
सेतो त हिउ खारो(तुसारो) हुन्छ खुट्टा खाइ हाल्दछ।
उनका कयौ सिर्जना उनीसँगै गए। अन्य ड्यौडियाहरु(डेउडा सर्जक)को पनि यही अवस्था भयो। डेउडा गीतको इतिहासमा नछुट्नु पर्ने नाम हो भागा। तर उनी कहाँ जन्मिन कसकि छोरी हुन केही थाहा छैन। उनी जस्तै गाउँ घुम्दै डेउडा गाउदै हिंड्ने महिलालाई फेरकल्ली भन्ने गरिन्थ्यो। पुरुष गायकलाई यस्तासँग सवालजवाफ गर्न हम्मेहम्मे पर्दथ्यो। भावपक्षलाई ध्यानमा राखी तुरुन्तै जवाफ फर्काउने अद्भुत क्षमता हुन्थ्यो यिनमा। त्यस्ता फेरकल्लीहरुले त्यो समयमा त्यो ठाउँमा जीवनको स्वतन्त्रता उपभोग गरेका थिए। त्यस्ताको जिन्दगीको उद्येश्य भन्नु नै गाउँ गर्खा घुम्दै डेउडा खेल खेल्नु र सवालजवाफमा जीत हात पार्नु हुन्थ्यो। त्यतिबेलै सुदुरपश्चिमका ड्यौडियाहरुले समाजमा देखापरेको धनि र गरिब बीचको असमानताप्रति गीत रचना गरे। मानवकल्याणका गीत गाए। अत्याचार बिरुद्ध गाए। परिवर्तनका लागि गाए।
कोइसँग बासमति चामल कोइसँग कोदे नाइ
कोइसँग सुनको हार कोइसँग पोते नाइ
पछिल्लो समयका मानवल बिष्टलाई त बझाङमा डेउडा सम्राट नै भनिन्थ्यो। करिब पाँच वर्ष पहिले खप्तडको मेलामा भेट्दा हरेक प्रश्नको उत्तर डेउडा गीतमै दिएका थिए उनले। दोस्रो पल्ट घरमै पुगेर धेरै कुराको जानकारी लिने बाचा गरेर फर्किएको थिएँ। दुर्भाग्य बझाङ जाने योजना बनाउदा बनाउदै मानवल यो धर्तीबाट बिदा भैसकेछन्। धर्ती छोड्नु भन्दा एक दिन अगाडी नै उनलाई आभाष भैसकेको थियो रे भोलि जाँदै छु भन्ने। उनले छोरालाई भनेका थिए रे 'भोली म तिमीहरुबाट बिदा हुन्छु। मेरो काजक्रिया नगर्दा नि हुन्छ तर सेती किनारामा बीचमा मेरो लाश राखेर गोलबद्ध ढंगले सबै मलामीलाई डेउडा खेल खेल्न लगाउनू अनि मात्र दाहसंस्कार गर्नू।'
उनको अन्तिम इच्छा अनुसार नै गाउलेले करिब दुई घण्टा जति डेउडा गीत गाएर दाहसंस्कार गरेछन्। यति सुनेपछि लोक साहित्यप्रतिको लगाव, माया र समपर्ण उनमा कति थियो भन्ने भनिरहनु पर्दैन। सुदूरपश्चिममा चिहानमा लाश राखेर डेउडा खेलेको यो पहिलो घटना नै हुनु पर्छ।
पछिल्लो समय पुराना वनपाखामा घन्किने र चाडपर्वमा गाइने सुदूरपश्चिमेली भाकालाई टपक्क टिपेर मिडिया मार्फत गुञ्जाउन लागि परे गायक गायिका। यसरी डेउडा रेकर्डिङ गर्ने क्रममा मध्य तथा सुदूरपश्चिममा पहिलो गायकका रूपमा देखा परे बझाङ चैनपुरका परिमल स्नेही। २०१६ सालमा एसएलसी पास गरेका स्नेहीको २०१५ सालमै जनकवि धर्मराज थापासंग चैनपुरमा भेट भएपछि उनीबाट पे्ररित भई २०१७ सालमा रेडियो नेपालको लोकलहरी कार्यक्रममा 'तेराघर पुगे" पहाणी बाबु' बोलको भदौरे गीत गाएको चिनारी पत्रिका सम्पादक एनके जोशीले स्नेहीसंग लिएको अन्तर्वार्ता र स्नेहीका सुपुत्र सत्यराज स्नेहीसंगको कुराकानीबाट मैले थाहा पाएको हुँ। त्यसै वर्ष उनले 'उदै देश मेरै माइत जानु भमरा बुबाका दाहिने कुम बस्नु भमरा' बोलको गीत रेकर्ड गरेका थिए। जोशीले छापेको अन्तर्वार्ता अनुसार स्नेहीका ६८ गीत रेडियो नेपालबाट र चारतारे क्लब, राष्ट्रिय नाचघर, म्यूजिक नेपाल, रत्न रेकर्डिङ आदिबाट ६२ गरी जम्मा १३० गीत रेकर्डिङ भएका छन्। उनले गाएका गीत मध्ये 'चरिमार्यो भृकुटी बर्माले कमाई खान्छु आफनै कर्मले' र 'ओहो सारसुवा ओहो सार सुवा किरमडी काफल ल्याउला सुवा' बोलका गीत निकै चर्चित छन्।
यसरी डेउडा रेकर्डिङको दुनियाँमा त्यसपछि २०२० सालमा जुम्लाका महाशङ्कर देवकोटा 'जुम्ला चन्दन नाथका 'हान् भैंसी किला हान्' बोलको गीतबाट देखा पर्छन। त्यस्तै २०२८ सालमा देखा पर्छन बैतडीका गोपालराम दमाई। डेउडा गीतको कुरा गर्दा मध्यपश्चिमलाई छुटाउ"दा अन्याय गरेको हुन जान्छ मसंग त्यस क्षेत्रको धेरै जानकारी नभएको हु"दा सुदूरपश्चिममै सीमित हुन पुगेको हु"। रचनाकार, वरिष्ठ मादलवादक प्रेमदेव गिरीसंगको फोनवार्ताका आधार अनुसार 'छ्याम्म छ्याम्म कतिका उकाला लागे छ्याम्म छ्याम्म, छ्याम्म छ्याम्म परालैका बीटा छ्याम्म छ्याम्म' बोलको चर्चित गीत २०३२ सालमा कबिता आले, गणेश रसिक, उर्मिला श्रेष्ठको स्वरमा रेकर्डिङ भएको थियो। प्रेमदेव गिरिकै संकलनका अन्य चर्चित गीतहरु हुन 'राता काला ऊनका डोरी चिर्पा दाउरा बाल्पा आगो भोटेका पालभरी गलबन्दीमा रातो धागा' ( गणेश रसिक, कुमार बस्नेतको स्वर), 'क्याट्ट किर्किटिका ट्याम्मै...........बउजु लर्की लरक्क घन्काउ मादलु' (राम थापा, कुमार बस्नेतको स्वर)मा रेकर्ड भएका छन्। त्यस्तै २०३१ सालमा अछामका प्रेम कुवरले 'ओ बाज झुर्म्यौली बाज' गीत रेकर्ड गरेका थिए।
त्यसैगरी सेवानिवृत्त भई साहित्यिक फा"टमा कलम चलाइरहेका प्राध्यापक श्रीधर पन्तको 'हेरदन्त बसिर गोसी मेरी नन्द' बोलको गीत २०३४ साल असार १० मा रेकर्ड भएको देखिन्छ। 'हिरालाल वौराना पकम बम' लगायत आधा दर्जन गीत प्राध्यापक पन्तका रेकर्डिङ भएका छन्। त्यसपछि 'ओ बाज झुर्म्यौली बाज' बोलको गीत लिएर देखा पर्छन बैतडीका जंुगे भट्टराई।
तत्पश्चात् २०४३ सालमा देखापर्छन् 'म आइगे बझाङका बाटा तु आइगै डोटी है ' बोलको गीत गाएर बझाङबाट नन्दकृष्ण जोशी र क्रमैसँग देखा पर्छन अछामबाट यज्ञराज उपाध्याय। बझाङवाटै नरेन्द्रराज रेग्मी, डडेल्धुराबाट भोजराज भट्ट बैतडीबाट अन्तराम बिष्ट, टेकराज अवस्थी, डडेल्धुराबाट मनोरथ खडायत, डोटीबाट दीपेन्द्र दाहाल, बाजुराबाट लालबहादुर थापा, प्रकाश थापा देखि पछिल्लो पुस्ताका चर्चित ठाडी गायक बझाङका हरिषचन्द्र कठायत, गोरखबहादुर थापा, अछामका राजाराम भाट, डोटीका हिरालाल ताम्राकार, भुवन दाहाल, देखि सूर्य बिरही साउँदसम्म।
गायिकामा प्राय विसं २०५० पछाडिमात्रै देखापरेका छन्। गायिकाहरूमा उत्कृष्ट स्वरकी धनी डिक्रादेवीको स्वरको जति प्रशंसा गरे पनि कमै हुन जान्छ। त्यस्तै दीपा धामी, कमलासिं मुस्कान, चित्रा पनेरू, पूर्णा जोशी, हरिना साउ"द, पवित्रा भण्डारी, सिन्धु मल्ल, चा"दनी मल्ल, राधिका हमाल, बिमला पन्त, माया अधिकारी निर्मला भण्डारी, संगीता शाह, शोभा सुनार, बिद्या तिमल्सिना, पुष्पा बोहरा हेमा मडै, लक्ष्मी पाली, निर्मला पाली, कुन्ती ठगुन्ना, शान्ति धामी, दीपा रोकाया लगायत गायिकाको ठूलो योगदान छ डेउडा रेकर्डिङमा। पूर्वतिरका गायिकामध्ये डेउडालाई अति माया गर्ने गायिका हुन् लोचन भट्टराई। जसले दर्जनौ डेउडा गीतमा स्वर दिएकीछन् जुन लोकप्रिय छन्। पछिल्लो समय इन्दिरा गुरुङ्ग, सर्मिला गुरुङ्ग, विष्णु माझी आदिले पनि स्वर भरेका छन्।
२०५० मा रेडियो नेपाल दिपायलबाट लोकगीत सम्मेलनमा 'बग्ने चौलानी का" जान्छइ वग्ाने पानी कैको माया मानी' बोलको गीत गाएर द्वितीय हुन सफल कमला सिंह मुस्कानले दुइ एल्वम निकाले पछि वर्षौ भइसक्यो। पुनः रेकर्डिङमा फर्केकी छैनन्। त्यतिखेर 'जन वासइ न्याउली चैतकी परदेशी धाउ"छ साइतकि' बोलको गीत गाएर तृतीय स्थान हासिल गर्न सफल कान्छा गायक हिक्मत बोहरा पुन गायनमा लागेको खबर सुनिएको छैन। यसरी हराएकाहरु दर्जनौं छन्।
यतिखेर डेउडा गीतको इतिहाससंग जोड्नुपर्ने हुन्छ विभिन्न मिडिया र कार्यक्रम सञ्चालकलाई। डेउडा रेकर्डिङ र प्रसारणमा सहयोग पुर्यानउने पहिलो मिडिया हो रेडियो नेपाल। जब रेडियोबाट डेउडा गीत बज्न थाले तब विस्तारै डेउडा संगीतले देश र विदेशमा पदचाप बढाउन थाल्यो। त्यस्तै अल इन्डिया रेडियोबाट निकै अघि स्वर घन्काएर सुदूरपश्चिम चिनाए परमिल स्नेहीले। सुरुदेखि नै डेउडा गीतको रेकर्डिङ र प्रशारणमा योगदान पुर्यादएको रेडियो नेपालले क्षेत्रीय प्रसारण सुरु गरेपछि सुर्खेत र दिपायलबाट अझ बढी डेउडा गुञ्जिन थाले। जसमा क्षेत्रीय प्रसारण सुर्खेतबाट ०५७ असार ९ बाट ओमप्रकाश जोशी, धिरेन्द्र चटौत र मुकुन्द भण्डारीले डोटेली भाषामा डेउडा सम्बन्धी कार्यक्रम 'हजारी माला' संचालन गरे र तिनकै आवाजमा रेडियोबाट डोटेली भाषामै समाचार प्रसारण हुनथाल्यो। मुकुन्द भण्डारी रेडियो नेपालको केन्द्रीय कार्यालयमा कार्यरत छन्। पछिल्ला दिनमा केन्द्रबाट 'भलासुकाली' कार्यक्रम संचालन गरेका थिए भुपेन्द्रजङ्ग शाही, सुरेश शाही र सम्पदा शाहीले।
एफएम रेडियो सञ्चालन पछि एफएम. रेडियोबाट पहिलो पटक डोटेली भाषामा २०५९ /०६० तिर डेउडा गीत कार्यक्रम 'सम्राइ' चलाएर राजधानीमा बसेका सुदूरपश्चिमेलीलाई एचविसि एफएमबाट सौंराइ लगाए डोटीका कृष्ण मल्लले। उनी हाल कान्तिपुर एफएम र हिमालयन टेलिभिजनबाट कार्यक्रम चलाउँछन्। यसरी डेउडा गीत प्रसारणमा पहलकदमी बढाएका र बढाइरनेहरुमा टेकबहादुर ऐर, रेशम चौधरी, टेकराज गिरी, नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, गोबिन्द रोस्यारा, डबल बोहरा, पूर्ण आचार्य, करन बानिया, दीपक संगम, शंकरसिं बिष्ट, सुदाम थापा, निर्मलकुमार भण्डारी तिरस्कृत, एनके जोशी लगायत छन्। अधिकांश एफएम र टेलिभिजनहरूले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।
हाल लाहुरेका टेप हराइसके। वन पाखामा घन्किने बा"सुरीको धुन स्टुडियोको कोठाभित्र कैद भएको छ। पूर्वका कयौं गायक गायिकालाई डेउडा गीतले मोहनी लगाएको छ। यज्ञराज उपाध्यायको 'राइझुमा', अन्तराम बिष्टको 'घोप्टे जु"ङा' र महेशकुमार आउजी र विष्णु माझीले गाएको 'सुदूरपश्चिम स्वर्गसरी' बोलको गीतले पछिल्लो पटक लाखौं श्रोतालाई मोहनी लगाएका छन्।
पुराना ड्यौडिया र अघिल्लो पुस्ताका केही गायक गायिकाले जुन गीत रचना गरे, गाए जुन ढंगले उपमा प्रयोग गरे भाव पक्षलाई शशक्त तुल्याए त्यो स्तर दिनानुदिन खस्कि"दै गएको छ। यसो हुनुको कारण मान्छे सहरमुखी, सुविधाभोगी हु"दै गयो, धन सम्पत्तिलाई बढी महत्व दिन थाल्यो, आफ्नो भाषा हल्काफुल्का बोल्न सकेता पनि असलीपन अथवा भाषाको गहिराई भुल्न थाल्यो। पाश्चात्य पप शैलीमा रूपान्तरित हुन थाल्यो। हाल आएर झुमा, रूपा, सुवा, तमी जस्ता दुई चार सुदूरपश्चिमेली शब्द मिसाएर गाइएका गीतलाई पनि डेउडा भन्न थालियो। यतिसम्म कि केही मिडियाकर्मीले त सुदूरपश्चिममा बोलिने भाषालाई समेत देउडा भाषा भन्न थालेका छन्। यसप्रति बेलैमा सचेत हुन सकेनौ भने हामीमा पुराना दिनकी गुगुल्टी(गथासो) लाग्नु सिवाय केही बाँकी रहने छैन।
महान् चिन्तक अल्बेयर कामूले भनेझंै सडकमा भीड बनेर बितिरहेको इतिहासका बीच केवल मानव हुनुको बोध हासिल भइरहनेछ। कला, संस्कृति, सभ्यता र भाषा मानव अस्तित्वको पहिचान हुन्। जुन पुर्खाका कमाइ हुन्। पुर्खाको कमाई नै हाम्रो पहिचान। त्यही पहिचान हाम्रो संस्कृति। यदि संस्कृति, सभ्यता, भाषा छैन भने मानव अस्तित्व खोक्रो र निरस हुन्छ। अन्त्यमा कल्पबृक्ष हाटेलमा डेउडाबारे कुराकानी क्रममा युवा उद्यमी अछामका रमेश रावलले सुनाएका यी दुई पंक्ति सम्झें :
बिजुली बर्माका देश यहाँ बिजुली काँ छ
तमी खोज्दा उहिलेकै जसो अहिले उसो काँ छ
प्रकाशित: २२ माघ २०७२ २२:०३ शुक्रबार



-600x400.jpg)

