खुला खड्गप्रसादका व्यक्तित्वबारे यत्रो चर्चा जरुरी नहुनुपर्ने हो । तर, शक्तिको चुचुरोमा बसेर समतातर्फ अघि बढ्न खोजेको समाजलाई बलजफती पछिल्तिर घिसार्न खोज्ने उनको दुष्प्रयत्नको प्रतिवाद जरुरी छ । त्यसैले यो लेख आफैँमा रहस्यको उद्घाटन वा नयाँ सत्यको उत्खनन् होइन । बरु प्रतिवादको सामान्य प्रयास हो ।
खड्गप्रसादको सफल कृपातन्त्र
नेपाली समाजमा कृपादाताहरूको कमी छैन । कृपापात्र हुनेको घुइँचो पनि उल्लेख्य छ । कसैको कृपापात्र नभई बाँच्ने छुट लिन चाहनेहरू हर्दम संकटमा हुन्छन् । समाजको यो चित्र सग्लै कुनै संगठनमा प्रस्ट देख्न सकिन्छ भने त्यो नेकपा एमाले हो । आफ्ना केही हजार कृपापात्रहरूको सुखसयलका लागि नै एमाले अध्यक्ष खड्गप्रसाद प्रधानमन्त्री भएका हुन् । जो उनका कृपापात्र हुन रुचाउँदैन, तिनलाई उनको शासनमा बाँच्न कठिन हुन्छ । जस्तो, उनको शासनमा बाँच्न कठिन छ भूकम्पपीडितलाई ।
चिसोले कठ्यांग्रेर कतिको ज्यान गयो । मधेशीपन नछोडेका मधेशीलाई उनको शासनमा बाँच्न गाह्रो छ । संविधान सच्याऊ भन्दा ५३ जनाले ज्यान गुमाए । आफ्नो पहिचान प्यारो मान्ने जनजातिलाई, दलनको विरोध गर्ने र आफ्ना अधिकार नधकाई माग्ने दलितलाई, आफ्ना दुःखलाई मजाक बनाएको नसहने नागरिकलाई, पितृसत्तालाई चुनौती दिने महिलालाई उनको शासनमा जिउन कठिन छ । त्यसो त एमालेमै रहेका राज्यसत्ताप्रति आलोचनात्मक चेत राख्ने सानो पंक्तिलाई समेत खड्गप्रसादको शासन बेहोर्न सकसपूर्ण छ । बाँकी जति छन्, कि खड्गप्रसादका कृपा बाँड्ने कृपादाता छन् वा कृपा प्राप्त गर्ने भाग्यमानी पात्र छन् । तिनले उनका स्तरहीन गालीलाई ऋचा सम्झन्छन् र लहडी आश्वासनलाई राजनीतिक दर्शन ।
खड्गप्रसादको कार्यकारी अधिकारलाई दोहन गर्न पल्केका केही कृपापात्रहरूले यो संकटलाई आफ्नो अनुकूल प्रयोग गरेका छन् । तस्करीमा संलग्न तिनै छन् । दोब्बर मूल्यमा सामान बेचेर रातारात करोडपति हुने तिनै छन् । तिनीहरूको ध्याउन्न आफ्ना आफन्त र संगठनका आफ्ना कार्यकर्ताका कृपादाता हुनु हो । खड्गप्रसाद नेतृत्वको संगठनमा रहेका कृपादाताहरूसँग सम्बन्ध बनाउन सक्ने सामान्य कार्यकर्ता, पत्रकार, वकिल, र एनजीओकर्मीका समेत सुविधाहरूमा सहज पहुँच हुन्छ । प्रहरी अधिकृतहरू ग्यासका सिलिन्डर र तेलका जर्किन बोकेर पहुँचवालाका घरमा पुगेका दृश्य सामान्य बनेका छन्, शहरमा ।
पसिना बगाएर खानेहरूलाई साबिक मूल्यमा सामान खरिद गर्न नै अप्ठ्यारो छ । दोब्बर बढाएको भाउमा खरिद गरेर जीविका चलाउन ऋण काढ्नुपर्छ । त्यस्ता दुःखीलाई ब्याजमा पैसा दिने सुदखोरहरूको जमात पनि धेरैजसो खड्गप्रसाद र उनले थेगेको व्यवस्थाबाट पोषित कृपापात्रहरू नै हुन् । त्यसैले साबिक मूल्यमा खाना पकाउने इन्धन खरिद गर्न केही दिनको हाजिर माया मारेर लाइनमा लाग्नेहरूलाई बाँच्न कठिन भयो । गाडीको ढोकामा झुन्डिएर काममा जाने आउनेहरूको जीवन धरापमा प¥यो ।
त्यस्ता जोखिममा बाँचेकाहरूलाई दिन खड्गप्रसादसँग केबल मधेशविरोधी राष्ट्रवादको पुडिया छ । सतहमा चमकदार देखिने अस्वस्थ पुडियाको सस्तैमा विज्ञापन गरिन्छ, ठूला पत्रिकाका ब्यानर न्युज र सम्पादकीयहरूमार्फत । सजिलै बिकाउ बन्न सफल यो पुडिया पचाएर नै हो, अहिलेसम्म मानिसहरू खड्गप्रसादका फाल्तु ठट्टामा हाँसिरहेका । नत्र, यत्रो दिन बितिसक्दा आक्रोशको पारो यति मत्थर हुने थिएन ।
अर्थात्, डिपोबाट सहज वितरण हुनुपर्ने इन्धन र अन्य उपभोग्य सामग्रीहरू प्रशासन संरक्षित तस्करका हातमा पु¥याएर उपभोक्तालाई मधेशविरोधी राष्ट्रवादमा भुलाउन खड्गप्रसादको कृपातन्त्र आजका दिनसम्म सफल छ ।
मण्डले राष्ट्रवाद र भयग्रस्त माक्र्सवादीहरू
हिजोसम्म बागी विचार राख्ने वामपन्थी लेखक र स्वघोषित माक्र्सवादीहरूमध्ये आज कोही मौन छन्, कोही खड्गप्रसादका कृपापात्र हुन लालायित देखिन्छन् । यी दुवैथरी प्रगतिशीलहरू राष्ट्रवाद मक्किएला भन्ने भयबाट हदैसम्म ग्रस्त छन् । हिजो पञ्चायतविरुद्ध लडेकाहरू आज त्यही पञ्चायतको प्रेतले मृत्युवरण गर्ला भनेर त्रस्त हुनु आफँैमा टिठलाग्दो विडम्बना हो ।
संविधानमा खोट गनेर नसक्ने छ । त्यसको अध्ययन गर्ने सयौँले ती खोटहरू प्रस्ट भाषामा सयौँ पटक भनिसकेका छन् । सयौँ पाना तिनै खोटहरूका व्याख्यामा खर्चिएका छन् । त्यस्ता कमजोरी भएकामा सच्याउन तयार हुनुपर्छ भनेर हिजो संविधान बनाउने महेश आचार्य र नारायणकाजी श्रेष्ठहरू आफँै भन्दै छन् । संविधानको उचित संशोधन गरेर हाम्रा मागहरूलाई सम्बोधन गर भनिरहेका मधेशीहरूलाई चर्को घृणा गर्ने र दबाउने काममा उद्यत भइरहँदा खड्गप्रसाद भने उही पुरानो मण्डले राष्ट्रवादको बेसुरा राग अलापेर बसिरहे । क्रान्तिकारिताको पगरी गुथेका एक थरी प्रगतिशीलहरू त्यही आलापमा सुर मिलाउँदै महेन्द्रीय राष्ट्रवादको तबला ठोकिरहे ।
ती महान् माक्र्सवादी आत्माहरूलाई भारतबाट ठूलो डर छ । भारतका बाबुजीहरूबाट ती सधैँ त्रस्त रहन्छन् । हिजो तिनै बाबुजीका कृपापात्र बनेर परिवर्तनको सारा प्रक्रिया ध्वस्त बनाउन उद्यत खड्गप्रसादबाट भने उनीहरू ढुक्क रहन्छन् । तिनमा सन्देह गर्नु, भारतीय बाबुजीहरूको पक्षपाती हुनु हो भन्ने राष्ट्रवादी भ्रम पाल्नुमा उनीहरूलाई अहिले सुविस्ता छ । त्यसो त त्यही सुविस्तामा रमेर लेख्नु वा बोल्नुमा अहिले फाइदा पनि छ । कृपापात्र हुनुको फाइदा छ, सामाजिक सञ्जालमा लोकप्रिय हुनुको फाइदा छ ।
सडकमा ओर्लेर संविधान सच्याऊ भनेर चिच्याइरहेका मधेशीलाई तिनै भारतीय बाबुजीहरूका बफादार नोकर करार गर्नुमा तिनलाई आनन्द आउँछ । त्यसरी आनन्दित भइरहन भारतले लगाएको र मधेशी नेतृत्वले प्रयोग गरेको नाकाबन्दीले पनि सघाएको छ । त्यसैले हिजो तिनै भारतीय बाबुजीले छरेका दाना खाएर मोटाएका उसका भक्तले आज उसले भनेको नमानेर नै यो अप्ठेरो सिर्जना गरेको हो भन्ने साहस देखाउँदैनन् कथित माक्र्सवादी लेखकहरू । उसले भनेको नमान्नुको कारण पनि उही मधेशीलाई अधिकार दिनुपर्छ भन्ने भयले नै हो । यति सत्यको सामना गर्दा एकैसाथ माक्र्सवाद र राष्ट्रवाद ढल्छ भन्नेमा सशंकित हुन्छन् उनीहरू ।
मधेशीका जायज मागहरू पूरा गरेर उनीहरूलाई विश्वासमा लिनु र त्यही विश्वासको बलमा दुईपक्षीय सम्बन्धलाई सम्मानजनक अवस्थामा पु¥याउनुको साटो नाकाको अवरोधलाई आफ्ना कृपापात्रहरूको अवैध धन सोहोर्ने उद्यममा परिणत गर्ने क्रम जारी राखेका छन् खड्गप्रसादले । यो सत्य कसैबाट छिपेको छैन । सतहमा प्रकट यो सत्यलाई स्विकार्नु साटो कथित माक्र्सवादी चिन्तकहरू विखण्डनकारी राष्ट्रवादको लगाम लगाएर खड्गप्रसादको तबेलामा नारिनमा बढ्ता सुखानुभूति गर्छन् ।आखिर यो पनि उनको कृपातन्त्रको सफलता नै हो ।
अन्त्यमा,
खड्गप्रसाद कविता बुझ्दैनन् । कारण, कविताले लाखौँ मानिसका दुःख र सम्मानजनक जिन्दगी बाँच्ने तिनको अभिलाषालाई सस्तो मजाक बनाउँदैन । बरु कविताले त तिनै दुःखलाई प्रभावकारी र खँदिलो अभिव्यक्तिमा ढाल्छ । त्यसैले खड्गप्रसादलाई होइन, बरु उनैले कथेको भ्रमपूर्ण राष्ट्रवादको लगाममा बाँधिएर सत्यलाई स्विकार्न नसकेका तिनै लेखक, चिन्तक, र कविहरूलाई स्मरण गर्दै फैज अहमज फैजको एक टुक्राः
गर आज तुझ से जुदा हैं तो कल मिलेंगे
ये रात भर की जुदाई हैं तो कोई बात नहीं
गर आज शिखर पे है दुश्मन का भाग्य तो क्या
ये चार दिन की खुदाई तो कोई बात नहीं
जो तुझ से वफा का प्रण पक्का रखते हैं
रात, दिन की व्यथाओं का उपचार रखते हैं ।
प्रकाशित: १२ माघ २०७२ ०२:०० मंगलबार





