कोहलपुर– तराईलाई अलग्गै र स्वतन्त्र राज्य बनाउन माग गर्दै आएका सिके राउतका कार्यकर्ताले नेपाल सीमा क्षेत्रका भारतीय बजारमा नेपाल विरोधी प्रचार गर्दै भारतीय नागरिकलाई भड्काउन अभियान तीव्र बनाएका छन्।
उनीहरुले भारतीय बजार रुपैडिहा, बाबागन्ज, नानपारालगायत क्षेत्रका बजार, बस्तीका पसल पसल, घरघर र चोकचोकमा नेपाल विरोधी गतिविधिसहित भारतीय नागरिकलाई उक्साहाट गराउन पर्चापम्पलेट बाँडिरहेका छन्।
भारतीय नागरिकलाई नेपाली पहाडी नागरिकविरुद्ध उठ्न र मधेश अलग राज्य दिलाउन आफूहरुलाई सहयोग गर्न पर्चामा आग्रह गरिएको छ। उनीहरुले पहाड र मधेशी विरोधी भावाना बढाउन इतिहासलाई बङ्ग्याएर भ्रामक तर्क र विचारसहितका पर्चापम्पलेट बाँड्ने अभियान व्यापक बनाएका छन्। सिके राउत समर्थक कार्यकर्ता परिचालन गरी मधेस आन्दोलनलाई जोडेर पहाडी विरोधी भावना बढाउने काम भइरहेको छ। उनीहरुले भारतीय नागरिकलाई सम्बोधन गर्दै र तराइ आन्दोलनमा साथ दिन आग्रह गर्दै सिके राउतको नाम उल्लेखित दुई पाना विज्ञप्ती बाँड्दै झुठो प्रचार गरिएका छन्। उनीहरुले पहाडी समुदायका कारण मधेश सुडान, रुवाण्डाजस्तै जातीय युद्धमा जाने निश्चित रहेको, डेढ करोड मधेशी समुदाय बिहार, युपीलगायत भारतमा शरणार्थी हुने, उत्तरी पहाडी समुदाय खुल्ला सीमा रहेको मधेसमा आउने क्रम बढेको, नेपाल उत्तर कोरियाजस्तै कम्युनिष्ट राष्ट्र बन्दै गएको, मधेसको हिंसाले भारतीय नागरिकसँगको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक र पारिवारीक सम्बन्धमा नरसंहार हुने भन्दै मधेस स्वतन्त्र राज्यको लडाइमा सहयोगको गर्न आग्रह गरिएको छ। उनीहरुले पर्चा पम्पलेटमा नेपालमा अहिले राष्ट्रपति, सभामुख, प्रधानमन्त्री, गृहमन्त्री र रक्षामन्त्री कम्युनिष्ट भएको भन्दै उसले तेस्रो देशको शक्ति ल्याएर सीमामा विदेशी मिशायल, युद्ध ट्याङ्कर राख्न सक्ने उल्लेख छ। सिके राउतका कार्यकर्ताले पर्चा, पम्पलेट र भारतीय नागरिकलाई भेटेर मधेसमा बाढी, आगलागी, शीतलहर, आपतविपत्तमा भारतीयले सहयोग गरेको भन्दै मधेस स्वतन्त्र राज्य आन्दोलनमा पनि सहयोग गर्न आग्रह गरिएको छ।
पर्चा बाँडिरहेको अवस्थामा भारतीय रुपैडिहा बजारमा शुक्रबार भेटिएका स्वतन्त्र मधेश गठबन्धन बाँके जिल्ला संयोजक इरफान शेखले मधेश स्वतन्त्र राज्य र आन्दोलनमा सहयोगका लागि काम गरिएको बताए। उनले केही दिनदेखि देशव्यापी अभियानअन्तर्गत सिके राउतको निर्देशनमा भारतीय क्षेत्रमा मधेश आन्दोलनको यर्थाथ जानकारी दिन र अलग राज्यको आवश्यकताको बारेमा जानकारी दिएको बताए। दैनिक दर्जनौं सिके राउत समर्थकहरु भारतीय बजारमा नेपाल विरोधी गतिविधीमा सक्रिय छन्। उनीहरु चन्दा संकलन गरी दैनिक खर्च र मुनाफा पनि कमाइरहेका छन् । बिहान नेपालगन्ज बजारहुँदै भारतीय बजार, गाउँमा जाने र साँझ जिल्लातिर फर्कने गर्छन्।
पर्चा पम्पलेटमा गौतम बुद्ध, महात्म गान्धी र नेल्सन मंडेला अंकित तस्विर राख्दै भारतीय नागरिकलाई सहयोग गर्न उक्साइएको छ । मधेसमा भइरहेको पहाडी र मधेशी आन्दोलन, युद्धले भारतीय क्षेत्रमा असर गर्ने भन्दै सहयोगको आग्रह गरिएको प्रष्ट हुन्छ। उनीहरुले भारतीय बजारमा बेलायती अंग्रेजीले भारत छोडेपछि भारतीयलाई सम्मान, इज्जत मिलेको स्मरण गराउँदै मधेसी पनि नेपालीले पहाडीया शासनबाट मुक्ति चाहेको भ्रमपूर्ण तर्क विज्ञप्तीमा गरिएको छ।
अहिलेको संविधानले मधेसीका लागि केही नदिएको र तराइको सम्पदा, जलजमिन खास्ने खालको भएको भ्रम विज्ञप्तीमा सिर्जना गर्न खोजिएको छ । मधेशीलाई संविधानले स्थायी र स्वतन्त्र अधिकार नदिएकोले स्वतन्त्र राज्यपछि मधेशीलाई स्वतन्त्र अधिकार, नागरिकता, विदेशी र सुरक्षा नीति आफै लागू गर्नसक्ने भ्रम फैलाइएको छ।
भारतीय रुपैडिहा बजारमा सिके राउतका कार्यकर्ताले बाँडेका नेपाल विरोधी पर्चा। तस्विरः नागरिक
प्रकाशित: २५ पुस २०७२ ०२:४४ शनिबार





