नेपाली राजनितिमा भरखर–भरखरै गणतन्त्रको घाम उदाए पनि कवितामा त उहिल्यैदेखि आएको हो गणतन्त्र। कविता राजनीतिक परिवर्तनभन्दा अघि नै हुन्छ भन्ने एक सामान्य प्रमाण हो यो। पहिला विचारकको मस्तिष्कमा सपनाको स्फुरण भएपछि त्यो आम मान्छेसम्म विभिन्न तरिकाले प्रसारित हुने हो। कवि विचारक पनि हो। अभिव्यक्तिको सबैभन्दा प्रभावशाली माध्यम भएकोले कविताले मानवीय सपनाको प्रसारण र त्यसको दिगोपनमा सहयोग पुर्यारउँछ। साहित्यका विभिन्न आन्दोलनहरूले पनि यही कुरा पुष्टि गर्छन्।
भलै संख्या थोरै थियो, तर नेपाली कविहरूले उहिल्यैदेखि विश्व चेतना बोकेर हिँडेका हुन्। विश्व चेतनाअन्तर्गत राजनीतिक परिवर्तनका सपना पनि थिए। ग्लोबको कुनै भूगोलमा अभ्यास भइरहेको राजनितिक व्यवस्थापनले हाम्रा अग्रजहरू पनि प्रभावित हुनु स्वभाविक थियो। जस्तै जटिल स्थितिमा पनि उनीहरूको यो विश्वास डगमगिएन। कविताको भाषा बदलियो तर आस्था बदलिएन। पछिल्लो कवि पुस्तासम्म परिवर्तनको चेतना हस्तान्तरण गर्न उनीहरूको संख्या जति थियो, काफी थियो।
कविहरू सपनाप्रेमी र सपना पूजक दुवै हुन्। केही भाट कविहरू छोडेर कविहरू जहिल्यै अमानवीयताको विरोध गर्छन् र सर्वोच्च मानवीय सपनाको रङले कविताको पेन्टिङ तयार गर्छन्। नेपाली कवितालाई गौर गरेर हेर्दा प्रजातन्त्र नआउँदै कविहरूले प्रजातन्त्रको सपना देखे। उनीहरू जेल परे, गोली खाए। सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमालले यही कालमा परिवर्तनका वजनदार कविता लेखे। आधुनिक नेपाली कविताका प्रणेता मानिने गोपालप्रसाद रिमालले बुद्ध र लेनिन जन्माउने सपना लेखे। कुनै रूपवतीसँग उद्देश्यमूलक सम्भोगपछि लेनिन जन्माउने उनको सपना गणतन्त्रको सपना नै हो।
सत्र सालमा प्रजातन्त्रको खेतमा राजा महेन्द्रले अम्ल वर्षा गराए पनि रिमालहरूले उमारेको परिवर्तनको बीउ मरेन। परिवर्तन अमर हुन्छ भन्ने कुरा कविहरूलाई थाहा थियो। यस कालमा गुमेको प्रजातन्त्रमात्र होइन राजतन्त्रकै विरुद्धमा विशेषतः देब्रे ढल्कुवा (अभि सुवेदीले चलाएको शब्द) कविहरूले पुष्ट र भरिला कविता रचना गरे। मिस्टर पर्फेक्सनिस्ट कवि भूपि शेरचनले सत्र सालमै राजा महेन्द्रले भिœयाएको कथित वसन्तलाई खोक्रो भनिदिए। सूर्यलाई सकीनसकी आकाशमा हिँडिरहेको चित्रण गर्दै परिवर्तनप्रति उदासिन मानिसहरूलाई 'पड्किसकेको सोडाको खाली बोतल' भनेर व्यंग्य कसे। उनको आशय वास्तविक वसन्तको खोजी थियो। परिवर्तन र मुक्तिको खोजी थियो। उनले वैश्विक चेतना बोकेको कविता 'हो चि मिन्हलाई चिठी'मार्फत अमेरिकी साम्राज्यवादी नीतिको उछित्तो काडे र भियतनामी जनताको स्वाधिनताको लडाईंमा आफू उभिएको कलात्मक हुंकार लेखे। यो कविता भियतनामी नागरिकहरूको स्वायत्ता र स्वतन्त्रताको पक्षमा छ। गणतन्त्रको पक्षमा छ।
राजनीतिले सेरेमोनियल किङको रटान लगाइरहँदा पनि कतिपय 'दाहिने ढल्कुवा' कविहरूले समेत गणतन्त्रको गीत गाए। कतिपय कविले राजतन्त्रसहितको लोकतन्त्रमा विश्राम पनि लिए। पटकपटक कविताको देब्रे हात व्यवस्थाको मुसलले थिचिएर थङ्थिलो भयो तर यसले गणतन्त्र लेख्न छोडेन। यस सक्रियताले सिर्जना क्षेत्र तरंगित भइरह्यो। कवि युद्धप्रसाद मिश्रले श्री नढलेका युवायुवतीलाई रक्तक्रान्तिको ज्वालामुखीमा बलिदानको लागि काव्यिक आह्वान गरिरहे। माओवादी जनयुद्धलाई कवितामार्फत उचाल्ने कवि कृष्णसेन इच्छुकको नृशंस हत्या भयो। पूर्णविराम हत्या हुनबाट बढो मुस्किलले जोगिए। कवि आहुतिले दलितका सम्पूर्ण आवाज कुल्चिने सत्तासँग सारा देशलाई किन गहुँगोरो अफ्रिका बनाइरहेको भनी आक्रोश लेखिरहे।
देब्रे मार्गी लेखकहरू खगेन्द्र संग्रौला, विमल निभा, विक्रम सुब्वा, श्यामल, हरिगोविन्द लुइटेल र मातृका पोखरेलले सामन्तवादको विरुद्ध 'गणतन्त्रवादी कविता आन्दोलन' नै चलाए, एकसट्ठी सालमा। यसले देशभरिका कविहरूलाई आन्दोलित पार्यो्। तेस्रो आयामेली कवि वैरागी काइँला र लेखक निनु चापागाईलगायत धेरै साहित्यकार उन्नाइस दिने जनआन्दोलनमा कवितासहित सडकमै ओर्लिए। हामीले पनि चितवनमा बीसौं हजार आन्दोलनकारी सामु मांसहारी रूखजस्तो राजतन्त्रविरुद्ध कविता सुनायौं। धेरै राजनीतिक उथलपुथलपछि पैंसठ्ठी सालमा देशमा साँच्चै गणतन्त्र आयो।
एक सचेत कविले परिवर्तनलाई अस्वीकार गर्न सक्दैन, बरु परिवर्तनको सान्दर्भिकता र सार्थकताबारे गहिरिएर अन्तरमन्थन गर्दछ। परिवर्तनले त विश्राम लिन्न तर परिवर्तन सधैं अधिकतम मानव हितमा हुन्छ, यसको कुनै ग्यारेन्टी हुन्न। यस्तो बेला कविको झन् गहिरो परीक्षण हुन्छ।
गणतन्त्र पूर्वका कविता र गणतन्त्रपश्चात्का कविताका भेद छुट्याउनु धेरै गाह्रो छ। गणतन्त्रले लामो समय लिइनसकेकाले र केही मुद्दामा विचारको तीव्र „ुवीकरण चलिरहेकाले कविताको भूगोल छ्यांग नहुनु स्वाभाविक नै छ। लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पनि देशमा असन्तुष्टिको हुस्सु पूरै फाटिसकेको छैन। एकातिर परिवर्तनले मानिसको जीवनमा कुनै सार्थक हस्तक्षेप गर्न नसकेको असन्तुष्टि बढ्दै छ भने अर्कोतर्फ संघीय गणतन्त्रको गलत अभ्यास भइरहेको गुनासो छ। जनजाति र मधेसका मुद्दालाई लिएर कविता फेरि „ुवीकृत भएको छ।
केही समीक्षक पोस्ट गणतान्त्रिक कालमा कविताले सांस्कृतिक चेतना बोकेर हिँडिरहेको कुरालाई ग्लोरिफाई गर्दै छन्। यस बुझाइमा केही समस्या छन्। संस्कृति व्यापक शब्द हो, यस्ता चेतनाका कविता त प्राथमिक कालबाटै लेख्न सुरु गरिए। जहाँसम्म जातीय सांस्कृतिक चेतनाको सन्दर्भ छ, यसको अंकुरण पनि गणतान्त्रिक काल आउनु धेरैअघि भएको हो। वैरागी काँइलाले प्रयोगशील कवितामा बलियोसँग लिम्बु मिथक र शब्दहरू चलाए। सांस्कृतिक कविता लेख्ने अहिलेका कविहरू उनलाई पनि सम्झौतावादी भएको आरोप लगाइरहेका छन्। जेहोस् उनले नै कलात्मक ढंगले सुरुवात गरिदिएको जातीय सांस्कृतिक लेखनलाई स्थापित गरिदिएको जस सिर्जनशील अराजकताका कविहरूले पाए। एकल संस्कृतिको दलनविरुद्ध उनीहरूले सांस्कृतिक वैविध्य र वैचारिक अनेकानेकका तर्कपूर्ण कुरा गरे। वञ्चनाका स्वरहरूलाई वाणी दिने साहित्य रचनामा उनीहरूले जोड दिए। अझ अघि बढेर कवितामा नश्लीयताबोधको समेत कुरा गर्न भ्याए। यस विषयमा कवि भूपाल राई अलिक फरक विचार राख्छन्। आफूले गरेको एकल जातीय संस्कृति विरुद्धको लेखनलाई भाइ पुस्ताका सिर्जनशील अराजक कविहरूले पछ्याएको दाबी छ उनको।
अहिलेका कवितामा जातीय सांस्कृतिक चेतना (विशेषतः किरात, राई, लिम्बु) बढी विस्तार भएको कुरा सत्य हो। तर कविताको ब्याडमा यस चेतनाको बीउ गणतन्त्र आउनुअघि नै तयार थियो। अहिले खेतमा गाँज हाल्दै छ यसले। गुण पहिल्यै थियो, मात्रामा परिवर्तन भएको छ। कवि श्रवण मुकारुङको 'पुरानो मानिस' यस चेतनाको बलियो कविता हो। जसरी खेतमा धानको, पहाडमा बतासको र समुद्रमा पानीको गन्धलाई मार्न सकिन्न, त्यसरी नै यस धरतीको पुरानो मानिसलाई कुनै हतियारले मार्न नसकिने बढो कलात्मक तर्क छ उनको। भूपाल राईको एक कविता छ, 'क्षेत्री क्ष'। वर्णमाला पढिरहेको कुनै बालकलाई क्षेत्री क्ष किन रौद्र रूपमा उभिएजस्तो लाग्छ? उनी प्रश्न गर्छन्। कवि शासकलाई सोध्छन्, किन हुन सकेन गुरुङ 'ग', तामाङ 'त', थारू 'थ', मगर 'म', राउटे 'र' र शेर्पा 'श'? प्रश्न अत्यन्त जायज छ। तर 'आवश्यक पर्दा देशै टुक्रिन पनि सक्छ, दुःखी हुनु पर्ने कारण देख्दिन' भनेर इटहरीको काव्य सम्मेलनमा बोल्ने बोल्ड कविले निर्माण गर्न चाहेको समावेशी वर्णमाला कतिपयलाई फेरि जातीय नै लाग्ला। देशको लागि विखण्डनको कुरा जुन रूपमा आएपनि दुःखदायी नै हुँदो रहेछ।
कविताको रफ्तार
गणतन्त्र कछुवा गतिमा छ, कविता रफ्तारमा छ। यसका विभिन्न कारण छन्। सात सालदेखि यताको पैंसठ्ठी वर्षमा तीव्र वेगमा जे जति आन्दोलन र परिवर्तन भए, त्यसले कविताको रफ्तारलाई तीव्र पारिदिएको छ। कविताले समय र समाज पनि बोकिहिँड्ने भएकोले कविताको यस्तो तीव्रता स्वाभाविक छ। विचारका नयाँनयाँ आविष्कार र प्रयोग भइरहेको विश्वग्राममा अहिलेका कविहरू सबैभन्दा जटिल वैचारिक जोखिममा पनि छन् र यसपछिका कविहरूको जोखिम अझै बढ्नेवाला छ। विज्ञानमा पो कोही स्टेफेन हकिन्सले थिअरी अफ एभि्रथिङको कल्पना गर्न सक्छ। कविता विज्ञानमात्र नभएकोले साहित्यमा यस्तो सूत्र पत्ता लगाउने सायदै कोही हकिन्स जन्मिएला!
सामाजिक सञ्जालहरूमा कविताको उपस्थिति बाक्लो छ। कवितासम्मको पाठकको पहुँचमा उल्लेख्य उन्नति भएको छ। प्रिन्ट मिडियाले नपत्याएका दुरदराजका कविहरू पनि सञ्जालमा कविता टाँसेर पाठकहरू आकर्षित गर्दै छन्। तर केही कवि परिवर्तनप्रति उदासीन देखिन्छन्। हेराक्लिटसको वाणी, 'परिवर्तन शब्दमात्र स्थायी छ, अरू हरेक कुरा परिवर्तनशील छन्' भन्ने कुराको सत्यता बु‰न उनीहरू उत्साहित देखिन्नन्। उनीहरूले बु‰न इन्कार गर्छन्, विकासको गाडीको ब्याक गियर हुँदैन। धुमधुम्ती पुरानो सत्ता सम्झेर रोइलो गर्छन्। यो कविताको पहिलो अति हो।
केही कवि प्राप्त सकारात्मक परिवर्तनप्रति पनि सधैं असन्तुष्ट र नकारात्मक नै देखिन्छन्। पहिलो अतिको विरुद्ध उनीहरू सधैं नकारात्मक हुनुपर्छ भन्ने दोस्रो अति पाल्छन्। अन्तहिन असन्तुष्टि र चरम नकारात्मकता उनीहरूको स्थायी आदत हो। यस्ता कविलाई पाठकले 'बर्सातको आश गरेका किसानहरूको लागि असिना बर्साउने बादल' मानिदिने खतरा छ। असिनाले बाली नष्ट गर्छ। मौसम बिग्रनुको कारण कहिलेकाहीँ असिना बर्सनु प्रकृतिको स्वाभाविक नियम हो तर सधैं असिना परिरह्यो भने किसानहरू भोकै मर्छन्।
हामीले राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनअनुसार कवितालाई जसरी पक्रिन खोजिरहेका छौं, यस पक्राइमा हाम्रा वैचारिक आस्थाकेन्द्रहरू छन्। दर्शन छ। स्वभाविक रूपमा राजनीतिक आस्था पनि छन्। राजनीति अघोरै सुन्दर कुरा हो, कविता राजनीतिबाट बिलकुल अछुतो हुनुपर्छ भन्नु घोर अराजनीतिक कुरा हो। कविता निरपेक्ष रहनु सम्भव छैन। तर कविताले कुनै अमुक गुट वा पार्टीलाई निरपेक्ष सत्य मानिदिँदा पनि समस्याहरू कहाँ छुमन्तर हुन्छन् र? साँचो हो कि कतिपय मुद्दामा पार्टी विशेषका कुरा पनि सही हुन सक्छन्। मलाई लाग्दैन कि कविताको प्रतिरोधी धारले कुनै कविलाई कुनै गुट वा दलको लगाममा हिँड्न आदेश दिन्छ। तब कविहरूले सधैं किन गुटको भजन गाउने? यस्तो विडम्बनापूर्ण स्थितिले स्वयं प्रतिरोधी धाराको हुर्मत काढ्छ भन्ने लाग्छ।
स्वस्थ तर्कलाई आधार नमानेर गुटको आधारमा कवितामाथि वैचारिक हिंसा चल्नु कविताको विपक्षमा छ। आफ्नो पार्टी निकटको हुँदैमा उसलाई महान् मानिदिने र पार्टी निकटको नहुँदा उसको खेदो खन्ने चलन गणतान्त्रिक होइन, घोर सामन्तवादी हो। केही रेडिमेड उत्तरको हतियारले प्रश्नहरू सकिँदैनन्। कोही पनि कवि कविताको संविधानमाथि रहेको प्रि–रिपब्लिक कालको ज्ञानेन्द्र शाह होइनन्।
केही कवि बेतोडले दौडिरहेको परिवर्तनप्रति अलमलमा छन्। उनीहरूले कविताप्रति एउटा सग्लो धारणा बनाउन खोज्दाखोज्दै परिवर्तनको अर्को ढकढक सुरु भइसकेको हुन्छ। यीमध्येका कैयौं कवि स्लिपिङ पिल्सको असरमा छन्।
यसको अर्थ 'कविहरूले कहिलेकाहीँ सोचमा अडिएर हेर्नु सधैं अनुचित हो' भन्ने होइन। कविताको चौतारोमा बिसाइरहेको कवि जहिल्यै मानसिक रूपमा निष्त्रि्कय हुँदैन। उसको विश्राम निष्त्रि्कयमात्र होइन, सक्रिय पनि हुन सक्छ। विश्रामको बेला कविले स्थितिवश आइलागेको अन्योल चिरेर अघि बढ्ने संकल्प गर्छ भने त्यो बढो प्रगतिशील कदम हो। अस्पष्ट भएर बतासझैं दगुरिरहनुभन्दा कोही कवि स्पष्ट नहोइन्जेल कहीँ अडिन्छ भने त्यो अपराध होइन। शारीरिक होस् वा मानसिक, लामो यात्रामा हिँड्दै गर्दा स्वाभाविक थकान पनि लाग्छ। चौतारीमा केही पलको लागि सुस्ताउनु यात्राको समापन होइन, बाँकी यात्राको लागि शक्ति सञ्चय गर्नु हो।
गणतन्त्रपछिको कविताको मूल संकट कविताको विविधताप्रति उल्लेख्य उदासीनता हो। मार्जिनलका आवाजहरू लेख्दालेख्दा कविहरूले केही रसहरूलाई नै मार्जिनल बनाइदिने हुन् कि? डर छ। वीर र रौद्र रस सम्राट बन्ने र अरू रस किनारीकृत हुने हुन् कि? यो पनि डर छ। कतिपय अर्थोडक्स मार्कसिस्टहरू कवितामा प्रेम लेख्ने कविहरूलाई अपराधी नै ठान्छन्। उनीहरूलाई यसका केही रेडिमेड उत्तरहरू कण्ठ छन्। उनीहरूलाई मालुम छ कि छैन, पत्नी जेनीलाई मार्क्सले सहरकी सबैभन्दा सुन्दरी युवती भनेर प्रशंसा गरेका छन्। अझ जेनीको नाममा कविता नै लेखेका छन् उनले।
जेनी! जिस्काउनका लागि तिमी मलाई सोध्न सक्छौ
किन मेरा गीतहरू जेनीलाई सम्बोधन गर्छन्
जबकि केवल तिम्रो लागि मेरो धड्कन तेज हुन्छ
जबकि मेरा गीतहरू केवल तिम्रा लागि उदास हुन्छन्।
कवि पाब्लो नेरुदाले प्रेमलाई कविताको सबैभन्दा व्यापक विषयवस्तु बनाए। उनले श्रमजीवि र दुःखीजनका प्रेमलाई प्राथमिकता दिएर लेखे, 'म तिम्रा खुट्टाहरू मात्र मन पराउँछु किनभने तिनीहरू पृथ्वीमाथि हिँडेँ, बतासमाथि र पानीमाथि; जबसम्म तिनीहरूले मलाई भेटेनन्।'
अहिलेको नेपाली कविता विश्वव्यापी पर्यावरणीय समस्याबारे पनि बिस्तारै बोल्न थालेको आभास हुन्छ। ग्लोबल वार्मिङको कारण रुसोले 'प्रेस्त्रि्कप्सन सहितको डाक्टर' मानेको प्रकृति खतरामा छ। मानिसको हातमा प्रकृति डिजेनेरेट हुने क्रम चिन्ताजनक रूपमा बढिरहेको छ। ओजन तहमा परेको छेदबाट मानिसले कल्पना गर्न नसकेका घातक विकिरणहरू चियाइरहेछन्। उच्च औद्योगिक विकास भएका राष्ट्रहरू गरिब देशका नागरिकहरूलाई मृत्यु उपहार दिने कुरूप कसरतमा मग्न छन्। जुनसुकै बहानामा पनि हाम्रा कविताहरू यो जल्दोबल्दो समस्याबारे मौन बस्नु हुँदैन।
क्रान्तिकारी रोमान्सले ग्रसित कविताहरूले मलाई उतिसारो उत्साहित गर्दैनन्। यी मार्काका कविता पढ्दा फिल्म टलकजंग भर्सेस टुल्केको पात्र बाबुसाहेब सम्झन्छु। बुख्याँचाले नमस्ते गरेन भनेर खुकुरी हान्ने र 'मुन्छे चिन्नी अर' टाइपका सधैं धम्क्याउने कविता लेख्ने। लु शुनले प्रसिद्ध कथा आह क्युको साँचो कथामा यही यथार्थ लेखेका छन्। राजनीतिज्ञ मोहनविक्रम सिंह यसलाई क्रान्तिकारी रोमान्सवाद भन्छन्। यथार्थतः क्रान्ति रोमान्स होइन, समयले सुम्पेको गहन जिम्मेवारी हो। क्रान्ति ध्वंसमात्र होइन नव निर्माण पनि हो। यसलाई सम्हालेर हाँक्न जानिएन भने अतिवाद जन्मिन्छ। भविष्य कसले पो जानेको छ र भन्ने प्रश्न आउला तर मलाई जानाजान दुर्घटनाको आमन्त्रण गर्नु जीवनको उद्देश्य हो जस्तो लाग्दैन। कविताको यात्रा उपयोगिताको यात्रा हो भने यसलाई न सजिलै यात्राको पूर्णविरामको रूपमा न बतासे दौडाइको रूपमा हेर्नु ठिक हुन्छ।
कुनैकुनै कविहरू दुःखी कानहरूको लागि चिहान खनेर मुक्तिका गीत सुनाएको भ्रम पाल्छन्। कविता र उनीहरूको व्यक्तित्वको बीचमा बाक्लो न बाक्लो पर्दा हल्लिरहेको देख्छु। सोच पूरै सामन्ती, कविता कडा क्रान्तिकारी। यी गह्रुँगा महŒवाकांक्षा र प्रभुत्वको लोभले थिचिएका नार्सिससहरू हुन्। सके यिनीहरूको मन गुटको मुखियालाई रिझाएर कमलादीको साहित्य भवनमा कुनै दिन राज गर्ने ध्याउन्नमा केन्द्रित हुँदो हो।
मैले सायद यथास्थितिमा रुँघिरहने कविताको घार त्यागिदिएँ। यो त्याग मेरो लागि सम्भवतः सजिलो थियो। सत्य हो, जीवनमा राम्रोमध्ये पनि 'बढी राम्रो' बाटो चुन्न धेरै कठिन हुन्छ। म हिँड्दाहिँड्दै कविताको जटिल मोड सम्मुख आइपुगेँ। दुई बाटोमा फाटेर हिँडिरहेका कविताका लस्करहरू नियालिरहेँ। देखेँ— एकातिर प्रगतिशील लेखक संघ नामक संस्था छ, जसका उद्देश्य अधिक जनकल्याणकारी छन् तर त्यहाँ प्रायः चिराचिरामा विभक्त वाम गुटको भजनकीर्तन गाएपछि मुखियाले क्रान्तिकारी कविको पगरी गुथाइदिनेहरूको दम्भ र अहंकार छ। (निसन्देहः त्यहाँ समयलाई प्रतिनिधित्व गर्ने केही सबल कवि लेखकहरू पनि छन्)। घरमुलीले गंगाजलले सुनपानी छर्किदिएर कब्जियतग्रस्त कविहरूलाई पनि पूर्णतः स्वस्थ र क्रान्तिकारी कवि घोषणा गरिदिने सामन्ती परिपाटी छ। अर्कोतिर यस्तो विसंगतिप्रति भद्र असहमति जनाएर दुःखीजनहरूको पक्षमा बलियो साहित्य रचना गर्ने खगेन्द्र संग्रौला, नारायण ढकाल, विमल निभा र श्यामलजस्ता कवि लेखकहरू छन्। उनीहरूलाई सामूहिकता विरोधी र अराजक लेखक भनेर मुख छाड्नेहरूको बोलवाला छ। मैले दोस्रो बाटोका लेखकहरू बढ्ता मन पराएँ।
काव्यिक सौन्दर्यको गहिराइ हाहाहुहु गरेर भेटिन्न। मेरो आस्थाका कविहरूको झैं मेरो सपना पनि अधिक मानवीय (सम्पूर्ण मानवीय सम्भव छैन) सिर्जना हो। म अझै गहिरोसँग कविताहरूको खास तागत बु‰ने चेष्टामा नै छु। विश्लेषण गर्दा कविताको एउटा चौतारोसम्म आफूलाई गतिशील कविहरूसँग नै यात्रारत पाउँछु। जब असिना बनेर बाली चुटिरहेका कवि साथीहरू देख्छु र उनीहरूलाई गुटगत आस्था नमिलेकै कारण अरूलाई घोर पश्चगामीमात्र देख्ने रोगले ग्रसित पाउँछु, जरुरी छैन कि म सधैं उनीहरूसँगै यात्रा गरिरहूँ। कविताले गणतन्त्र आउनु धेरै अघिदेखि मेरो सार्वभौमिकता र स्वायत्तता सिद्धान्ततः मसँग नै सुरक्षित भएको स्वीकार गरिदिएको छ। म त्यसको भरपुर उपयोग गर्न चाहन्छु।
प्रकाशित: २५ पुस २०७२ ००:०५ शनिबार





