प्रतिष्ठान भवन पुनर्निर्माण गर्नु त परको कुरा भयो क्षतिग्रस्त भवन भत्काउने समेत आर्थिक क्षमता छैन। प्राज्ञ पदाधिकारी टहरोमै बसेर सानातिना गतिविधी सञ्चालन गरिरहेका छन्।
सरकारले पुनर्निर्माण गर्नुको साटो प्रतिष्ठानले भोगचलन गर्दै आएको जमीन अर्कै प्रतिष्ठानलाई दिन सुटुक्क निर्णय गरेर प्रतिष्ठानलाई विस्थापित गर्न लागेको छ।
पूर्वप्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा ललितकला प्रतिष्ठानले भोगचलन गरिरहेको २२ रोपनी जग्गामध्ये १५ रोपनी मन्त्रीस्तरीय बैठकले संगीत नाट्य प्रज्ञा प्रतिष्ठानलाई दिने निर्णय गर्योप। सरकारी निर्णयबाट ललितकला अन्यायमा परेको र संगीत नाट्य प्रज्ञा प्रतिष्ठानसँग रहँदै आएको सुमधुर सम्बन्ध पनि चिसिँदै जान थालेको छ। ललितकला प्रतिष्ठानले निर्णयविरुद्ध दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले निषेधाज्ञासमेत जारी गरेको छ। सर्वोच्चमा विचाराधीन मुद्दाको अन्तिम फैसला कुर्नुको अर्को विकल्प प्रतिष्ठानसँग छैन।
ललितकला प्रतिष्ठानको पृष्ठभूमि
दोस्रो जनआन्दोलनपछि समान कार्य र उद्देश्य भएकाले नेपाल ललितकला संस्था (नाफा)लाई नै ललितकला प्रज्ञा प्रतिष्ठानको स्वरुपमा ढालियो। नाफाको ऐतिहासिक पृष्ठभूमि भने यस्तो छ। कलाप्रेमी एवं कलाकार तत्कालिन युवराज वीरेन्द्रको आग्रहमा राजा महेन्द्रद्वारा सीताभवनको माथिल्लो तला र त्यसको हातामा जोडिएको २२ रोपनी जग्गा (जसलाई कलाकर्मीले उपवन नामकरण गरेका छन्) नाफालाई दिइएको हो।
कलाकार वीरेन्द्रको अध्यक्षतामा विसं २०२२ सालमा नेपाली कला र कलाकारको उत्थान एवं सिर्जनात्मक दक्षता अभिवृद्धि गर्दै हकहित र अधिकार संरक्षण गर्न नाफा स्थापना गरिएको थियो।
नाफा विसं २०२२ देखि विसं २०३४ सम्मको अवधिमा स्वतन्त्र निकायका रुपमा क्रियाशील थियो। नाफालाई रेखदेख र संरक्षण गर्न विसं २०३४ मा कमलादीस्थित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (हाल भाषा, साहित्य प्रज्ञा प्रतिष्ठान) अन्तर्गत राखिएको थियो। त्यहाँ ललितकलालाई साँघुरो घेरामा राखी विसं २०३४ देखि २०५१ सम्म सल्लाहकार परिषद र पछि कलाकौशल विभागले हेर्ने गरेको थियो।
प्रज्ञाले ललितकलालाई पृथक विधाका रुपमा उचित ठाउँ नदिँदा कलाक्षेत्रमा अनगिन्ति समस्या आउनु अस्वाभाविक थिएन। त्यसबेला नै कलाक्षेत्रमा विद्रोह र कलाकारबीच गुटबन्दीको प्रवृत्ति मौलायो। ललितकलाको छुट्टै एकेडेमी हुनुपर्ने आकांक्षा राख्ने कलाकार समूहले विभिन्न कारण देखाई राजकीय प्रज्ञा प्रतिष्ठानअन्तर्गत राखिएको नाफाका कुनै पनि गतिविधिमा सहभागिता नजनाउने प्रण गरेका थिए।
ललितकला प्रतिष्ठानका लागि संघर्ष
१२ वर्ष स्वतन्त्र रहेको नाफा प्रज्ञा प्रतिष्ठानअन्तर्गत खुम्च्याएर राख्नुमा राजासँग यसका लागि समय अभाव कारण एउटा र अर्को संस्थाकै हितका निम्ति त्यसो गरिएको आफूले सुनको वरिष्ठ कलाकार तथा प्राज्ञ ठाकुरप्रसाद मैनाली बताउ"छन्। तर त्यतिबेलै विभिन्न समूहमा विभाजित प्रौढ कलाकार र नयाँ पुस्ता दुवै नाफा ओझेलमा पर्नुका कारण यतिमात्र रहेको स्वीकार्न तयार छैनन्। उनीहरू कलाकारको गुटबन्दी र तत्कालीन प्रज्ञाका अधिकारीलाई नाफाको भूमिका सीमित पार्न जिम्मेवार ठहर्याकउँछ।
तत्कालिन प्रज्ञामा गाभिनु पूर्व नै नाफालाई स्वायत्त प्रज्ञा प्रतिष्ठान बनाउने बहस चर्केको थियो। त्यसताका केशव दुवाडी, लैनसिंह बाङ्देल, ठाकुरप्रसाद मैनालीलगायत कलाकार र प्रज्ञाबीच नाफालाई ललितकला प्रतिष्ठानमा रूपान्तरण गर्ने बहस पदलोलुप मानसिकताका कारण प्रज्ञाअन्तर्गत खुम्चिनु पर्योल।
स्वतन्त्र नाफाले कला विकासमा जति काम गरेको थियो प्रज्ञाको एउटा कोठामा सीमित भएपछि सिन्को पनि भाँच्न सकेन।
नेपाली कला इतिहासमा ललितकला प्रज्ञा प्रतिष्ठान गठन हुनुपर्ने आवाज तीन दशकपूर्व नै उठेको हो। उतिबेला चित्रकार चन्द्रमानसिंह मास्केको अध्यक्षतामा 'एकेडेमी स्थापनार्थ समिति' गठनपछि विसं २०४२ मा एक्सन कमिटी गठन भयो। कमिटी बनेपछि चित्रकार उत्तम नेपाली, बैकुण्ठमान श्रेष्ठ, किरण मानन्धर, मदन चित्रकार, शशी शाह र मुकेश मल्ललगायतले महत्वपूर्ण भूमिका निर्वाह गरे। कमिटीले पनि विसं २०४६ को जनआन्दोलनपश्चात् प्रतिष्ठानको मस्यौदा विधान संस्कृति मन्त्रालयमा बुझाएर झारा टार्ने कामबाहेक केही गर्न सकेन।
ललितकला प्रतिष्ठान स्थापना हुन नसक्नुमा केही अगुवा कलाकार पदको मोहमा राजकीय प्रज्ञा प्रतिष्ठानमा कला प्राज्ञका रूपमा जाने सम्झौता गर्नुका साथै देशको अस्थिर राजनीति थियो। यसबीच लामो संघर्ष तिलाञ्जली दिएर उत्तम नेपाली, शशी शाह, विजय थापा र ठाकुरप्रसाद मैनालीजस्ता वरिष्ठ कलाकार राजकीय प्रज्ञा प्रतिस्ठानस"ग जोडिएर त्यहाँ कुनामा सीमित कला विभागमा प्राज्ञ बने।
विसं २०६२–६३ को जनआन्दोलनपछि देशमा राजनीतिक परिवर्तन भयो। देश गणतन्त्र र संघीयतामा गएपछि ललितकला एकेडेमी स्थापनाको माग पूरा भयो। सरकारले तीन वटा एकेडेमी गठन गर्योत– ललितकला, संगीत–नाट्य र भाषा–साहित्य।
नक्सालस्थित नाफाभवन तथा यसले चर्चेको जमिनलगायत भौतिक सम्पत्ति ललितकला प्रतिष्ठानअन्तर्गत आउने निश्चित गरियो। प्राज्ञसभा गठन भयो। किरण मानन्धर कुलपति नियुक्त गरिए र त्यस सभाले चारवर्षे कार्यकाल पूरा गर्योर। त्यसपछि कुलपतिमा रागिनी उपाध्याय नियुक्त भइन्।
सर्वोच्चले गर्ने न्यायपूर्ण फैसला हामी सबैले शिरोधार्य गर्नुपर्ने भए पनि लामो समय क्रियाशील रहेर एकेडेमी नै बनिसकेको ललितकला प्रज्ञा प्रतिष्ठानको भौतिक सम्पत्ति संरक्षण गर्नु गराउनु हामी सबै कलाकारको दायित्व हो।
(लेखक कलाकार हुन्।)
प्रकाशित: २५ पुस २०७२ ००:०१ शनिबार





