२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

नगरकोटीको बुढो बाघ

दिनको ठीक पौने तीन बजे पुतलीसडक मोबाइल बजारअगाडि पेटीमा भेटिए कुमार नगरकोटी। गत भदौ २९ गते झोलाभरी 'मोक्षान्तः काठमान्डु फिभर' बोकेका नगरकोटीले प्रश्न गरे, 'मिस्टिका पढ्नुभयो?''छैन', मैले भनें, 'अबको पालो मिस्टिकाको छ।' फेरि अर्को प्रश्नको झटारो– 'मोक्षान्त पढ्नुभयो?' 'त्यो पनि छैन।'

'ल लिनुस्', झोलाबाट मोक्षान्त निकालेर दिँदै नगरकोटीले भने, 'आजै प्रेसबाट निस्केको यो चौथो संस्करण हो।' सामान्य गफगाफपछि छुट्टिएर घरमा पुग्नासाथ मोक्षान्त पल्टाउन थालें।

रत्न पुस्तक भण्डारले ०६७ सालमै पहिलो पटक प्रकाशन गरेको मोक्षान्तः काठमान्डु फिभर ०७२ सालमा चौथो संस्करणका रुपमा प्रकाशित हुन भ्याएछ। आवरण पेज हेरें, अघि बाहिर भेटिएका नगरकोटीको सक्कल र आवरण पेजको सामान्जस्यताले मलाई एकछिन रनभुल्लमा पार्योा। बिस्तारै पुस्तकका पाना पल्टाउन थालें। कुमारले १५ वर्ष लगाएर लेखेका १२ वटा कथाको संग्रह मोक्षान्तमा प्राडा गोविन्दराज भट्टराईले २ वर्ष लगाएर १३ पेजको भूमिका लेखेछन्। त्यसले कथाभित्र छिर्न प्रोत्साहित गर्यो ।

नगरकोटीलाई फर्केर हेरें–बिन्दास साहित्यिक ट्यापे जो मृत्युसँग जोरी खोजेर बाँच्छ, ब्रह्माजीको सृष्टिबारे खुलेर लेख्छ। परम्परावादी सोचले जकडिएको समाजसँग डराउँदैन र समाजले लुकाएको नामकरण उदांगो पार्न लजाउँदैन। कथामा कुमारलाई पढ्दै जाँदा मदिरामा कक्टेल र बिरुवा कलमी गरेजस्तै साहित्यमा भाषा संस्कृतिको तीव्र 'हाइब्रिडिकरण' गर्न माहिर रहेछन् कुमार। उनको अध्ययन सुपठित विज्ञ र व्यापक विश्वसँग जोडिएको छ। उनका कथामा अनेक देशका भाषा र इतिहासका पात्र भेटिन्छन्। कलात्मक स्वरुपमा कल्पना प्रस्तुत गर्ने क्रममा कतिपय ठाउँमा कुमार आफैं पात्रका रुपमा उभिएका छन्। उनी आफ्नो लेखनबाट जीवनका रहस्य देखाउन चाहन्छन्। सृष्टिचक्रमा मानव अस्तित्वबारे बुझाउन चाहन्छन्। जीवनमृत्युको रहस्य पत्ता लगाउन आतुर छन्।

कथाभित्र कुमार अत्यन्तै असंगत, विपरीत र विरोधाभाषयुक्त छन्। उनका कथा पढ्दै जाँदा नाटक हेरेजस्तो लाग्छ। हामी सबै आत्माका अपभ्रंश रुप हौं, माउसुलीमा अमृता भन्छिन्, 'कुनै पनि मृत्यु असामयिक हुँदैन, मृत्यु सधैं सामयिक र सापेक्षित हुन्छ।'

कथामा नारी–पुरुष बीच यौन छ, यौनमा बास्ना आउँछ, अनि बास्ना जीवको जन्ममा परिणत हुन्छ र मृत्युपछि त्यो जीवको अन्त्य हुन्छ। मरेपछि माउसुलीकी पात्र बोल्छे, 'मेरो लोग्नेको त्यो गनाउने लास पोल्न लगाएर फर्के।' कथामा कुमारले भनेका छन् : वास्तवमा प्रेम गर्ने निहुँमा हामी वस्तु खोज्दै हिँड्छौं– स्तन, पुतली र ओठहरू।

कुमार नगरकोटी उर्फ मोक्षान्त, फोसिल र मिस्टिका। नगरकोटीले सृष्टिको भण्डारखाल पाठेघरभित्रबाट यो संसारमा आउने बाटोदेखि फेरि सृष्टिका सर्जक रातो घुम्टोभित्रका नवजोडी अनि आफ्नै सिर्जनाका लागि ठाउँ खाली गरेर जाने सेतो कात्रोमा बेरिएका लासलाई समेत नांगेझार पार्न छोडेनन्, आफ्ना सिर्जनामार्फत्।

आफूले आर्जन गरेको विश्वकलाको सम्यक ज्ञान कलामा मिसाएर प्रस्तुत गर्नु नै लेखकको अलौकिक क्षमता हो भन्दा फरक नपर्ला। मानिस यतिबेला जरा उखेलिएको वृक्ष हुँदैछ। जीवनको निरन्तरता तर संस्कृति र जीवन चेतना मलिन हुँदै गएको वर्तमान अवस्था चित्रण गरेर उनले भनेका छन्, 'जन्म जीवनको सुरुवात होइन र मृत्यु जीवनको अन्त्य पनि होइन। एक सचेत सांस्कृतिक मान्छे आफ्नो मांस, रक्त र वीर्य अर्को पुस्तालाई हस्तान्तरण गर्छ।' कुमारका संवाद एवं प्रस्तुतिमा इतिहास, भूगोल, मानवशास्त्र, साहित्य सिर्जना, जीवन, जगत, प्रेम र भ्रमको मिश्रण पाइन्छ। समाजको मानमर्यादा र भद्र शब्द जञ्जालबाट माथि उठेर कुमार प्रश्न गर्छन्– मान्छेको यात्रा शून्यदेखि शून्यसम्म रहेछ, तर किन मान्छे आफ्नो अस्तित्व रहुन्जेल यति धेरै हल्ला गर्छ?

उनी कथाका पात्रमार्फत् पाठकलाई सम्झाउँदै भन्छन्– सुखको खोज त्यागिदेऊ, दुःख कतै छैन, हामीमा केवल भय छ। म, मेरो र मलाइ भन्ने भाव समस्या हो। सत्य संस्थागत हुँदैन। शब्दद्वारा सत्यसम्म पुग्न सकिँदैन।

हिन्दु शब्दको मोहबारे कुमार भन्छन्– शब्दको उपयोगिता बुझ्न छाडेर शब्दमै झुन्डिएर आत्महत्या नगर। शब्दको पार्थिव शरीर जलाएर मौन बस्नु नै मुक्ति हो।

शब्दं शरणं गच्छामी।

मौनं शरणं गच्छामी।।

प्रेमको भूगोल, इतिहास र अर्थशास्त्र भैदिएको भए मान्छे आज यति भिखारी हुने थिएन। प्रेम र भ्रम खुला रुपमा पस्कने क्रममा एउटा अव्यवस्थित शहर 'काठमान्डुको चित्रण गर्दै लेखक भन्छन्, 'भिरंगी अनि एड्सग्रस्त पुरुषहरूले सम्भोग गरी फ्याँकिदिएको वृद्ध वेश्याजस्तो मेरो यो कंकाल सहर।'

उनी संवेदना, अनुभूति, विचार, भावना र आत्मा बिक्री हुँदैन भन्छन्। तर हामी देखिरहेका छौं, खुँखार बिक्रेताहरू केमात्र बिक्री गर्न तयार छैनन्। अस्तित्वको पाठेघरभित्र नवजात भविष्य खोज्दै नगरकोटीले भनेका छन्– अहंकार, द्वेष, घमण्ड, प्रेम र घृणा जीवित हुँदाका लक्षण हुन्। यी सबै एकैछिनमा धुँवामा मिसिन्छन, मृत भएपछि।

जे होस् कुमारका कथा कहिल्यै पुराना लाग्दैनन्। चौथोपटक छापिएर बजारमा आउँदा पनि उनका कथामा वासी गन्ध आउँदैन। मलाइ लाग्छ उनका पछिल्ला कृतिभन्दा १५ वर्ष लगाएर लेखिएका कथाहरूको संग्रह 'मोक्षान्तः काठमान्डु फिभर'मा 'बाघ बुढो र स्याल तन्नेरी' उखानले ठाउँ पाएको छ। उनका पछिल्ला कृति 'तन्नेरी स्याल' हुन् भने मोक्षान्तः कथासंग्रह 'बुढो बाघ' हो।

प्रकाशित: २४ पुस २०७२ २३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App