यसबाट स्पष्ट हुन्छ– नेपालसहित सिंगो दक्षिण एसियामा मानव सभ्यतायुक्त राज्यव्यवस्था विश्वका अरू द्वीप र देशभन्दा धेरै पहिले विकसित भएका थिए। यस विषयका अरू प्रमाण हेरौं। त्यसबेला कृषि र अन्न उत्पादनको अवस्था कस्तो थियो?
'हे ऋत्विक् हो! हलो जुवा आदि खेतीका हतियार तयार गर। गोरु नारेर खेत जोत। खेतीका निम्ति बालीका अनेक उत्तम प्रजाति विकास गर। ... सजिलैसँग बाली ओसार्ने रथ बनाओ। ... शत्रुबाट सुरक्षित फलामले बनेका शस्त्रास्त्रले सुसज्जित, सुदृढ नगर निर्माण गर।' (ऋग्वेद १०।१०१।३,७,८)
मन्त्रस्रष्टा र द्रष्टा ऋषिहरुका मुखबाट यस्ता सन्देश प्रवाहित गर्ने ऋग्वेदको युग कति पुरानो थियो त? सर्वविदित कुरा हो– रामायण युगभन्दा यजुर्वेद युग १७ पुस्ताअगाडिको थियो। रामको युगबारे तीन दशक अन्वेषणमा बिताएका सुप्रसिद्ध शोधकर्ता डा. राम अवतारले आफ्नो कृति 'जहँजहँ राम चरण चलिजाहिँ' मा दिएको विवरण यस्तो छ– वाल्मीकि रामायण, बालकाण्ड, सर्ग १८ को श्लोक ८ र ९ मा राम जन्मको ग्रहस्थिति बताइएअनुसार त्यसको अत्याधुनिक अन्तरिक्ष विज्ञानअनुरुप गणना गर्दा रामको जन्ममिति ई.पू. १० जनवरी ५११४ ठहर हुन्छ। त्यसमा ईसापछि अहिलेसम्मको २०१५ वर्ष जोड्दा रामको जन्म आजभन्दा ७१२९ वर्षअघि भएको देखिन्छ।
राम, लक्ष्मणआदि चारै भाइले अयोध्याबाट जनकपुर आएर सीरध्वज जनककी छोरी सीता रामले र भरत–लक्ष्मण आदिले सीरध्वज जनकका भाइहरुका छोरी विवाह गरेका थिए।
सीरध्वज जनकभन्दा १७ पुस्ताअघिका देवरात जनकका राजगुरु याज्ञवल्क्य थिए। उनले यजुर्वेद प्रणयन गरेका थिए। त्यस समयभन्दा पहिलेको युग हो– ऋग्वेदयुग। नेपालको मिथिला जनपदको स्थापना देवरात जनकभन्दा पाँच पुस्ताअघिका मिथिजनक र उनका पुरोहित गौतम ऋषिको संयुक्त प्रयासबाट भएको थियो।
यस इतिहासलाई गहिरिएर हेर्दा हाम्रो देश नेपालको प्राचीन बौद्धिक स्तर कति उन्नत थियो भन्ने स्पष्ट हुन्छ। सीरध्वज जनकको राज्यसीमा हिमालदेखि गंगा नदीसम्म थियो भन्छन् रामायण र पुराणहरु।
त्यसबेला 'नेपाल' को तलहट्ठी (तराई) को नेतृत्वले निर्माण गरेको त्यो राज्य धेरै पछिसम्म टिक्न सकेन। सीरध्वज जनकपछिको ३२ पुस्ताको कृति (कराल) जनकको उद्दण्डताका कारण मिथिला राज्य छिन्नभिन्न भयो।
त्यसपछिको इतिहासमा लिच्छविकालका राजा मानदेव र अंशुवर्माको समयले विशाल नेपाल निर्माण गरेको थियो। त्यसको सीमा मेचीदेखि गण्डकीसम्म फैलिएको थियो। पश्चिम नेपालको खस–मल्ल राज्यका सभ्यता र संस्कृतिका अवशेष देख्दा हामी आफ्नो इतिहासप्रति गर्व गर्छौं।
यस्तो गौरवमय इतिहास बोकेको नेपाल। विश्वका प्रथम २५ भौतिक तŒवका विवेचनकर्ता कपिल मुनि र मानव इतिहासका अद्वितीय व्यक्तित्व गौतम बुद्ध जन्माउने यो देश आदिम वर्गवादविहीन, शैवसंस्कृतिका योग, तन्त्रशास्त्र, शस्त्रास्त्र, नाट्यशास्त्र आदिका आविष्कारक, शैवसंस्कृतिका प्रशंसक र अनुयायी हामी तर ...!
प्राकृतिक सौन्दर्य र सम्पदाको असीम भण्डारमा बसेका हामी! २५ सय वर्षपहिलेका बुद्धलाई विश्वले सम्मान गर्छ। उनको महान ज्ञान विश्वव्यापी रुपमा उत्तरोत्तर प्रभावशाली हुँदै गएको छ। त्यही ज्ञानले संसारका सबै राष्ट्रलाई पञ्चशीलको सिद्धान्त अंगाल्न प्रेरित गरिरहेको छ।
यस्तो अद्भूत इतिहासको प्रवाहमा जन्मेका नेपाली सन्ततिहरुको अहिलेको स्थिति कस्तो छ त? 'वसुधैव कुटुम्बकम्' भन्ने पूर्वजहरुका वर्तमान सन्ततिहरुको बुद्धिको गोरेटो कतातिर जाँदैछ त?
हिमालदेखि गंगासम्मको राज्यसञ्चालन गर्ने हाम्रा पूर्वजहरुका सन्ततिहरुमै राज्यको लोभ त्यागेर विश्वव्यापी ज्ञान प्रसारण गर्ने बुद्ध भूमिका हामी बासिन्दाहरु। आफू नांगै बसेर संसारका मानिसलाई जातपातको संकीर्णताबाट मुक्त गर्ने शिवको मुलुकमा अहिलेका नेता भनिने कतिपय व्यक्तिको चेतना र व्यवहार कस्तो छ त?
१५ सय वर्षअघि नेपालको राज्य सीमा मेची र गण्डकी पुर्या्उने लिच्छवि राजा मानदेवका गोत्रज, वंशज मानिने श्रेष्ठ थरका कतिपय 'नेता' आफूलाई 'नेवा राज्य चाहिएको' क्या गजब क्रान्ति गर्न खोज्दैछन्!
मध्ययुगमा गोरखपुरतिर आएका मल्ल सन्ततिमध्येका केही बुद्धिजीवी र नेताका दृष्टिमा नेपाललाई विशाल राज्य बनाउन थालेको यक्ष मल्लको अभियान सहज ऐतिहासिक प्रवृत्तिअनुरुप थियो या विस्तारवादी? यसबारे किन मौन छन् उनीहरु?
बागमती उपत्यकाका तीन मल्ल राज्यमध्ये दरबारी द्वन्द्वले छ महिनामा छवटा राजा फेर्ने ललितपुर तीन राज्यकै सीमा परस्पर मिचामिच हुँदा काटाकाट चल्ने ऐतिहासिक घनचक्कर! बाइसे र चौबिसे भनिने राजा–रजौटाहरुका अनवरत युद्धहरुमा एक–एक पक्षमा खुँडा, खुकुरी बन्चरा लिएर बेठीबेगारीका रुपमा लाम लागेर युद्धमा होमिनुपर्ने बाध्यता! दक्षिणपूर्वका तीन सेन राज्यको आपसी कटाक्षको स्थिति।
त्यस्तो जटिलतम ऐतिहासिक स्थितिमा भारतभर जम्कन लागेको अंग्रेजी सामाज्यवाद। उसले नेपालको अवस्था बुझी आक्रमणको पूर्वतयारी निम्ति पठाइएका इसाई पादरीहरुको सञ्जाल।
त्यस्तो भीषण ऐतिहासिक परिवेशमा एउटा सानो गोर्खा राज्यका युवा नायक पृथ्वीनारायणको संकल्प र विभिन्न जातजातिको संगठनको माध्यमबाट पृथ्वीनारायणले लिच्छविकालको स्थितिमा जस्तै नेपाललाई पुर्यापउने संकल्प गरे र त्यसअनुसारको संगठन बनाई अघि बढे। उनले बागमतीका तीन मल्ल राज्य मात्र होइन, विशाल नेपाल निर्माणको दृढ संकल्पमा आफ्ना मावली र ससुराली राज्यसमेत गाभ्दै गए।
ठीक त्यही बेला सिंगो भारत हत्याउने अभियानमा नेपालमाथि समेत आक्रमणमा आएका साम्राज्यवादी अंग्रेजी जासुस र सेनालाई उत्ताना जरा लगाई तिनका शस्त्रास्त्रसमेत हात पारे। त्यस अभियानलाई महाकाली सीमासम्म पुर्याजउन बहादुर शाहलगायत विभिन्न जातजातिका वीरहरुको ऐतिहासिक भूमिका रह्यो। महात्मा गान्धीभन्दा पहिले साम्राज्यवादका पखेटा काट्ने महान् वीर थिए, पृथ्वीनारायण, बहादुर शाह भक्ति थापा, अमरसिंह आदि।
फेरि पछाडि फर्केर हामीले इतिहासको मूल्यांकन गर्नुपर्छ। वैशाली र गोरखपुरतिरबाट आएका लिच्छवि र मल्लहरुले नेपाल जितेर राज्य चलाउनु गौरवशाली हुने? उनीहरुका सन्तानले थाम्न नसकेर पचासौं टुक्रामा विखण्डित राज्य–रजौटाहरुको एकीकृत नेपाल बनाउने वीरता गलत हुने?
सिंगो विश्वकै मानव इतिहासले देखाएको कुरा हो, ढुंगेयुगदेखि विस्तृत राज्यको युगसम्म र कबिलातन्त्रदेखि संयुक्त राष्ट्रसंघको युगसम्मको इतिहास सरसल्लाह र दान–दातव्यले बनेको होइन। अनेक कबिलातन्त्र र राज्य–रजौटाहरुका पारस्परिक झगडा युद्धदेखि विश्वयुद्धसम्म मानव सभ्यता र संस्कृतिको विकासक्रममा स्वाभाविक घटना हुन्। तिनकै अनुभवको परिणामस्वरुप मानवजाति संयुक्त राष्ट्रसंघसम्म पुग्न सक्यो।
सिंगो नेपाल एकीकरणको अभियान चलाउने र साम्राज्यवादी आक्रमणलाई परास्त गरी हामीलाई मेची–महाकालीबीचको, प्राकृतिक सम्पदाले भरिएको भूमि र राज्य दिएर जाने पृथ्वीनारायण शाह, बहादुर शाहलगायत सबै जातजाति र क्षेत्रका वीर र बुद्धिमान जनताको साझा रगत र पसिनाका बलिदानलाई हाम्रो अभिवादन!
जातिवादी, क्षेत्रवादी संकीर्णता बोकेर पुर्खाको इज्जत फाली जगत हँसाउने गरी पछाडि नफर्कौं। विदेशी नेता पशुपतिमा श्रीखण्ड चढाएर मीठा भाषण गरी लट्ठ पारेर नेपाली नेताहरुबाटै ताली खाने, अनि एकडेढ वर्ष नबित्दै नेपाली जनतालाई विखण्डित मनस्थितिमा पुर्यापएर नाकाबन्दीको जघन्यता प्रदर्शित गर्ने प्रवृत्तिप्रति जागरुक बनौं। जातिवाद र पृथक्तावादको संकीर्ण मनोवृत्तिबाट माथि उठौं। राष्ट्रिय स्वाभिमानलाई सगरमाथाजस्तै उठाएर नेपाली जनताको एकतालाई सुदृढ तुल्याउँ।
प्रकाशित: २४ पुस २०७२ २१:५६ शुक्रबार





