किशोरकुमार गुरुङ, झवलिङ गुरुङ, विनोदकुमार श्रेष्ठ, देवराज पाण्डेय, नरेन्द्र डंगोल, कृष्णामाया स्याङ्तान र महेन्द्र ताङ्वे (गुरुङ) सदस्यमा चुनिए। बालकृष्ण चौलागार्इं र किशोर खत्रीले सदस्यमा उम्मेदवारी फिर्ता गरेपछि बाँकी ७ जना निर्विरोध भएका हुन्।
निर्वाचित अध्यक्ष गुरुङले खेल विस्तार, प्राविधिक जनशक्ति तयार र प्रतियोगिता आयोजनामा विशेष जोड दिइने प्रतिवद्धता जनाएका छन्। 'खेलको विकासका लागि एउटा पक्षमात्र सबल भएर हुन्न, त्यसका लागि समग्र विकास आवश्यक पर्दछ,' उनले भने, 'आउँदो चारवर्षे कार्यकालमा हामीले यिनै विषयमा बढी जोड दिनेछौं।'
त्रिभुवन आर्मी क्लबमा आर्चरीले प्रवेश पाइसकेको छ भने बाँकी दुई विभाग नेपाल पुलिस र एपिएफ क्लबमा पनि यसको प्रवेश गराउनेमा प्रयास थाल्ने गुरुङले सुनाए। 'खेलको विकासका लागि विभागमा प्रवेश अनिवार्य जस्तै हुन्छ। त्यस्तै जिल्ला पनि ११ बाट बढाएर कम्तीमा यो वर्ष १६ सम्म पुर्यागउने लक्ष्य छ,' उनले थपे, 'रेफ्रीको लागि कोर्स र जजका लागि सेमिनार आयोजना गर्नेछौं। त्यस्तै अहिले आउटडोर र इन्डोर दुइटा राष्ट्रिय प्रतियोगिता हुन्छन्, आउने दिनमा प्रतियोगिता संख्या पनि बढाउने छौं।'
अध्यक्ष गुरुङले यो वर्षबाट तीन चरणमा नेपाल आर्चरी कपको आयोजना गर्ने योजना सुनाए। 'वार्षिक आर्चरी प्रतियोगिता गर्नेछौं। एसिया कप र विश्वकपमा पनि सहभागिता सुरु गर्नेछौं,' उनले भने, 'यसअघि दुईपटक वर्ल्ड च्याम्पियनसिपको सहभागिता प्रयास सफल हुन सकेन। अब सन् २०१८ मा सहभागी हुने लक्ष्य छ।'
अर्को वर्ष हुने रियो ओलम्पिकमा पनि आर्चरीको सहभागितालाई पहल भइरहेको गुरुङले जानकारी दिए। 'ओलम्पिकका लागि आवश्यक ६३० स्कोरमध्ये एसियन च्याम्पियनसिपमा हाम्रा खेलाडी जितबहादुर मोक्तानले ६ सय ४२ स्कोर गरेका छन्,' उनले योजना सुनाए, 'रियो ओलम्पिकमा उनको सहभागिताका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) मार्फत पहल भइरहेको छ।'
अध्यक्षका अनुसार नेपालले दक्षिण एसियाली आर्चरी च्याम्पियनसिप आयोजना गर्नैपर्नेछ। 'पहिला बंगलादेश र दोस्रा भारतले आयोजना गरेका थिए। अब आयोजनाको पालो हाम्रो छ,' उनले भने, '१३ औं साग नेपालले आयोजना गर्दैछ। त्यसको छ महिनाअघि साफ आर्चरी गर्ने लक्ष्यसाथ तयारी थाल्नेछौं।'
तत्कालीन अध्यक्ष लक्ष्मण श्रेष्ठको २०७० असोज १३ मा मृत्यु भएपछि वरिष्ठ उपाध्यक्ष हरिध्वज तुलाचनले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। तुलाचनले भने यसपल्ट उम्मेदवारी दिएनन्।
अघिल्लो कार्यसमितिका १३ र ११ जिल्लाका गरी ३७ जनाले साधारणसभामा भाग लिएका थिए। सभामा कञ्चनपुर, मुस्ताङ, बाग्लुङ, पाल्पा, कास्की, काठमाडौं, दोलखा, मकवापुर, बाँके र ललितपुरका साथै केही क्लब प्रतिनिधिको सहभागिता थियो।
त्यसअघि एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले साधारणसभाको उद्घाटन गरेका थिए। सभाले निर्वतमान महासचिव गुरुङको प्रगति विवरण र कोषाध्यक्ष शैलेश कर्माचार्यको आर्थिक प्रतिवेदन पास गरेको थियो।
प्रकाशित: २३ पुस २०७२ २३:३५ बिहीबार





