५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

क्षितिज हेर्दै किनारामा उभिएर

जेसुकै लेख्न परे पनि नहडबडाउने। नआत्तिने स्वभाव। बडो धैर्यका साथ खिपेर अक्षर लेख्ने अनि कसैको चियोचर्चो र खुराफाती गर्न पटक्कै नरुचाउने। साँच्चै अक्षर जस्तै सफा र दामी मनका पनि चित्रकार नै थिए- कृष्णभूषण बल।

म परेँ विगतको माझकिराँत कहलिएको भोजपुर छिनामखु नौलागाउँको थुलुङ राईको छोरा। कृष्णभूषण परे विगतमा पल्लोकिराँत भनेर कहलिएको पान्थर रविगाउँका बल तामाङका छोरा। हाम्रो भूगोल फरक, समुदाय फरक, परिवेश र चिन्तन फरक। तर दैवले कसरी छ्याप्पै मिलाइदिए, जन्म पनि एउटै साल। छैंठीका दिन पुर्पुरोमा भाग्य लेख्ने भावीले पनि जन्म दिने आमाको काख खोसिदिए। बाँकी जीवनयात्रा पनि लेखिदिएछन्— उस्ताउस्तै। एउटा बालकले एक्लै बामे सर्दै छिचोल्नुपर्ने कहालीलाग्दा अनिश्चित भविष्य। कहिले मावली घर। कहिले ठूलीआमा र फुपूको घर। कहिले पराईको घर। कहिले गाईभैंसीको गोठ र खोल्माहरूमा ओत लाग्दै किशोरबाट युवामा प्रवेश गर्दा हामी दुई बल्ल भेटिन पुग्यौं इलाममा।

२०२३ सालको पूर्वाद्धमा इलाम छोडेर राजधानी भित्रिएँ म। म हिँड्नुअघि नै झापाको दमक झरेका कृष्णभूषण अचम्मैसँग टुप्लुक्क भेटिन पुगे राजधानीमा। कस्तो संयोग— डेरा पनि सँगै टाँस्सिएको वल्लो र पल्लो घरमा। बिहान–बेलुका प्रायः नछुट्टिने। डेराअगाडि राम साहुको सानो चियाचमेना पसल। बेलुका सधैं त केको महिनावारीले पुग्ने र? तैपनि औंसीपूर्णे जस्तो रसपानको तलतल भने मेट्न पछि नपरिने। बरु भोकै सुत्न परोस्, त्यसमा दुःखमनाउ पटक्कै थिएन। कस्तो बेफिक्रीको विन्दास जिन्दगी!

घरबाट चुनदाम नआउने सानो जागिर। विद्यार्थीका अस्तव्यस्त कोठा। सधैं हतारिने मेरो अलि चटपटे बानी। कहिले राम्रा भएनन् मेरा अक्षरहरू। सधैं कुखुराले खोस्रेजस्तो किरिङमिरिङ। कृष्णभूषण आइरहन्थे कोठामा। मेरो छरिएका कथाहरूको दुर्दशा देखेर मनै थाम्न सकेनछन्। एक दिन त अचम्मै गरे हौ! मेरो नबुझेको अक्षरलाई सोध्दै घुँडा धसेर भकाभक्की साफी पो गरिदिन थाले। साथी भनेपछि हुरुक्कै हुने निश्चल, निष्कपट, हिउँदको माई नदीको सङ्लो पानीजस्तै थिए, कृष्णभूषण। त्यसैले होला जीवनको अन्तिम घडीसम्म पनि एक–अर्काको आङ कन्याएर छारो उडाउने काम गरेनौं, न त सीमा नाघेर एक–अर्कालाई बेलुन बनाएर फुक्ने काम गर्यौंक। झट्ट हेर्दा सतहमा नदेखिने र कसैलाई विश्वासै नलाग्ने समुद्रको गहिराइभित्र बगिरहने प्रवाहजस्तै थियो हाम्रो मित्रता।

साफी गरेका कथाहरूको संख्या दस पुगेछ। यतिले सानो कथा संग्रह पुग्छ। अब के गर्ने? सोचमग्न थियौं— कृष्णभूषण, मेरो साझा कोठे साथी केदारनाथ राई र म। कृष्णभूषणले बुद्धि झिके, 'अब के गर्ने नि, पुस्तक छाप्ने।'

तर कहाँ, कसरी कस्ले छाप्ने? न कुनै प्रकाशकसँग सम्पर्क छ, न आफैं छाप्न सक्ने औकात। जिल्लाबाट पढ्न र अवसरको खोजीमा राजधानी छिरेको अल्लारे ठिटाहरू भन्दा अर्को हैसियत थिएन हाम्रो।

यस्तो अन्योलको घडीमा केदारले फ्याट्ट जुक्ति झिके, 'होइन यस्तो पुस्तक छाप्ने त म काम गर्ने साझा यातायातको छेउको साझा प्रकाशन छ नि हौ।'

कृष्णभूषणले थपिहाले हौसला, 'हो हो, साझा प्रकाशनमा यस्तै पुस्तकहरू छाप्ने त हो।'

उनीहरूको सल्लाह र सुझाव सुनेर म फुरुंग भएँ। पुस्तक छापिन्छ भन्ने कुरामा साँच्चै ढुक्क पनि भएँ।

मेरो काम गर्ने जिल्ला कृषि शाखाको कार्यालय पनि पुल्चोक नजिकै थियो। पाण्डुलिपि बोकेर म साझा प्रकाशन पुगेँ। हाकिम थिए, क्षेत्रप्रताप अधिकारी। मैले बडो विनम्रताका साथ अनुरोध गर्दै प्रकाशनका लागि कथाको पाण्डुलिपि बुझाएँ। उहाँको अत्यन्तै शालीन व्यवहारले म निक्कै प्रभावित भएँ। मलाई सोर्है आना विश्वास भयो कि मेरो पुस्तक छापिन्छ।

छ महिना बित्यो, कुनै खोजखबर आएन साझा प्रकाशनबाट। अफिसबाट साझा प्रकाशन पुगेर सोधखोज गर्दा त केको छापिनु पुस्तक! मैले छ महिनाअगाडि दिँदा जहाँ राखेको त्यहीँ पो सकुशल छ, पाण्डुलिपि त। छाप्ने कुरा त परै जावस् कसैले दोहोर्याैएर छोएको वा पल्टाएर हेरेकोसम्म पनि लागेन। त्यति बेला मेरो कन्पारा कम तातिएको थिएन। रातो किताब र चे गोवाराको डाइरीले दिमाग भुटेर देब्रे पारेको मानसिक अवस्था! अरू थप भाटे कारबाही गर्न बल र आँट नपुग्ने निरीह थिएँ म। पाण्डुलिपि फिर्ता मागेर बलैले दाह्रा किट्दै ढोकाबाट बाहिर निस्किएँ। अनि छातीमा हात राखेर कसम खाएँ— अब कहिल्यै पनि यो साझा प्रकाशनको ढोकाभित्र छिर्दिनँ।

पुस्तक नछापेको आघातले विक्षिप्त मानसिकता बोक्दै पुल्चोकबाट साझा यातायात चढेर रत्नपार्क झरेँ। कहिले ठमेलको डेरामा पुगौं र कृष्णभूषणलाई मनको वह पोखेर हलुको पारौं भन्ने हतारोको बेला टुप्लुक्क भवानी घिमिरे दाइसँग पो जम्काभेट पर्योष! भवानी दाइ मेरो लागिमात्र होइन धेरैका लागि अभिभावक। भाग्यले जुराएको त्यो समय मैले खेर फाल्न चाहिनँ। क्षेत्रप्रताप अधिकारीको नाममा मुन्धुम फलाक्दै धूपधूँवार गर्दै मनको औडाहा भटाभट पोख्न थालिहालेँ। मेरो मानसिक अवस्था र बकबकाइलाई बडो गम्भीरताका साथ चुपचाप सुनिरहनुभयो भवानी दाइले। ढाडस दिँदै भन्नुभयो, 'साझा प्रकाशनले तपाईंको पुस्तक छापेन। चिन्ता नमान्नुस् भाइ! यो दाइले भानु प्रकाशनमार्फत छाप्छ। खोइ पाण्डुलिपि दिनोस्।'

दाइको कुरा सुनेर म अक्क न बक्क परेँ। मेरो अगाडि त साक्षात् ईश्वर नै मलाई वरदान दिनका लागि प्रकट हुनु भएझैं लाग्यो। एकै क्षणअगाडिको मेरो तातो रिस, जोस र छटपटी त हावा खुस्केको बेलुनझैं लल्याकलुलुक भएर दिमागै शून्य भयो।

यस्ता आँटिला, भरोसिला र युवापुस्तालाई उत्प्रेरित (प्रोत्साहित) गर्ने अग्रज थिए भवानी दाइ।

'क्षितिजलाई छुन खोज्दा' कथा संग्रह ०२५ सालमा भानु प्रकाशनबाट छापियो तर त्यो समय कृष्णभूषण विराटनगर गइसकेका थिए।

मेरो व्यक्तिगत विवरणमा पहिलो कृतिको रूपमा जब 'क्षितिजलाई छुन खोज्दा' देख्छु, तब मेरो जीवनलाई कायापलट गर्ने दुई सत्पात्रका अग्रज भवानी घिमिरे दाइ र मित्र कृष्णभूषण बललाई स्मरण गर्न पुग्छु। तिनले मेरो सिंगो जिन्दगी उभ्याउन जगमा ढुंगा, माटो र ‰यालढोकाका काम गरेका छन्। आज कसैले अरूको लागि यस्तो गर्न सक्छ? अहँ म पत्याउँदिन। र, आजको चाटुकारहरूबाट त्यो सम्भव पनि छैन।

'

इलाम बस्दा सौगातमा कविता छाप्दामात्र होइन काठमाडौं बस्दा नयाँ सन्देश साप्ताहिक पत्रिका (सम्पादक पुष्प थपलिया) मा फाट्टफुट्ट कविता छापिँदा अत्यन्त खुसी हुने कृष्णभूषणले ०२५ देखि ०५० बीच २५ वर्षको उर्वर तन्नेरी समयमा धेरैले नसोचेको, कल्पना नगरेको अग्रगामी छलाङ मारे, कविता लेखनमा। 'दाज्यू तिम्रो हात चाहिन्छ' (खण्डकाव्य, ०३४), 'भोलि बास्ने बिहान (कविता संग्रह, ०४१) जस्ता कृतिले नेपाली आधुनिक कविताको समसामयिक धारभन्दा अलि बेग्लै धारको थालनी गरे। राजधानीमा भूपि शेरचन, वैरागी काइँला, ईश्वरबल्लभ, तुलसी दिवस, वाशुशशि आदिको एकछत्र उपस्थिति माझ कृष्णभूषणले विराटनगरजस्तो फरक परिवेशमा बसेर आफ्नै ढर्रा र पूर्वेली पाराको लेखाइबाट दह्रो उपस्थिति देखाए। स्थापित हुन राजधानी नै ढुकेर बस्नुपर्छ भन्ने ढुकुवा प्रवृत्तिलाई त वागमतीमा नै सेलाए। जिल्ला–जिल्लामा बसेर लेख्ने सिमान्तकृतहरूका लागि पनि एउटा आदर्श भए, कृष्णभूषण।

कविता लेखनमा मात्र होइन, आचरण र व्यवहारमा पनि पक्का कवि नै थिए उनी। कवि गोष्ठीहरूमा विनानिम्तो एक बिटो कविता बोकेर पाठ गर्न तम्सिने तथाकथित ढुकुरे कविका माझ औपचारिक कुर्सीमा बस्न तछाडमछाड पनि कहिल्यै गरेनन्। पद र पुरस्कारका म्याराथन दौडमा भाग लिएर अरूलाई छिर्के लगाएर पछार्ने काम गरेनन्। यी सब गुटबन्दी र हुइँयाभन्दा पर बसेर उम्दा कविता लेखे। त्यो पनि कविताका नाममा कसिंगर जम्मा पारेर आफैंलाई पुर्ने पुस्तकको चाङ पनि लगाएनन्। औंलामा भाँच्दा सय छ बीसा कविता लेखे। जे जति लेखे जीवन र जगत्प्रति इमानदार भई गम्भीरतासँग मेहनत केलाएर लेखे। आफू बाँचेको वर्तमान र भोगेको विगतको धरातलमा टेकेर भोलिसम्म आफू बाँच्ने कविता लेखे। फुर्केर घमण्ड गरेनन्। पाखुरा सुर्केर पौंठेजोरी खेल्ने कविको परिचय पनि दिएनन्। यति सत्य हो— उनी पिउँथे, आफ्नै तलबभत्ता पिउँथे, भेटेका जति सबैलाई पिलाउँथे। ट्वाँके होइन भलाद्मीसँग आनन्दले पिउँथे। धीत मरिन्जेल पिउँथे। ल्याङफ्याङ हुने गरी जिउ छाडेर पिउँथे। त्यसपछि महिनांै दिनसम्म आफ्नै जन्मथलो रविका जोसमनी साधु फाल्गुनन्दको पक्का चेला हुन्थे। नपिउँदा साह्रै सज्जन एवं शालीन र आँखामा राख्दा नबिझाउने लालगेडी हुन्थे। आखिर किन के कारणले पिउँथे कृष्णभूषण? रमाइलोका लागि हो या कुनै असह्य पीडा भुल्न? अरूका सहानुभूति बटुल्न या आफ्नै आयु छोट्याउन? जे होस् कृष्णभूषणले लेखनलाई जस्तै रसपानलाई पनि गम्भीरतासँग लिए तर बाँच्नुपर्छ, अझ बाँचेर केही गर्नुपर्छ भन्ने कुरा सधैं बिर्सिए। कहिले र किन बिर्सिए? यो प्रश्न बाँच्नेहरूलाई छोडेर जवाफ भने आफ्नै जिन्दगीसँग लिएर गए। कठै मेरो साथी कृष्णभूषण!

राजधानीबाट विराटनगर झरेर उनले जागिर खाँदै कवितामात्र लेखेनन्। पेसेवर पियक्कड नामसँगै बदनाममात्र कमाएनन्? त्योभन्दा धेरै सुकर्महरू गरे। स्टाफ नर्स शोभा लामासँग प्रेम विवाह गरे। दुवै मिलेर विराटनगरमा आफ्नो थातबास जोडे।

'

०६४ मा म इलामको फिक्कलमै थिएँ। संगीतका गुरु कुशेश्वर राईले एक दिन फोन गरे विराटनगरबाटै, 'दाज्यू, यस वर्षको संगम संगीत सम्मान तपाईंलाई र अभिनन्दन फत्तेमान दाइलाई गर्ने निधो हाम्रो संगीतालयले गर्यो,। कृपया स्विकारिदिनुहोला। दुई हप्तापछि सम्मान वितरण समारोह हुन्छ। आइदिनुपर्योि।'

वीरेन्द्र सभागृह विराटनगर। सभापति कुशेश्वर राई, प्रमुख अतिथि थिए— भोजपुरमा जन्मिएका विराटनगरमा हुर्के/पढेका र काठमाडौं सरकारी जागिर खाएका पर्यटन मन्त्रालयका सहसचिव शंकरप्रसाद कोइराला। मञ्चमा आसीन पूर्वमन्त्री राधाप्रसाद घिमिरे, कृष्णभूषण बल, शिवशंकर थापा, देवीभक्त श्रेष्ठलगायत अभिनन्दित व्यक्तित्व गायक फत्तेमान राजभण्डारी र सम्मानित हुने म।

औपचारिक कार्यक्रमसहित सांस्कृतिक कार्यक्रम भयो। संगीतालयका भाइबहिनी र गुरुवाहरूले पनि आफ्ना कला प्रस्तुत गरे। दर्शकदीर्घाबाट फत्तेमान दाइको नामोच्चारण आइरह्यो। फत्तेमान दाइ र मैले पनि गीत नगाई धर पाइएन। दुई–चार वटा गीत गायौं। सभा विसर्जन भयो।

म फिक्कल फर्किन सुरसारमा थिएँ। देवीभक्त र शिवशंकरले फत्तेमान दाइ र कृष्णभूषण दुवैलाई विर्तामोड लाने ढिपी कसे। नभन्दै एउटै भ्यानमा चढेर हामी विर्तामोड आयौं र देवीभक्तको घरमा पाहुना भएर रात बितायौं। भोलिपल्ट विहान विर्तामोडमा एउटा रेकर्डिङ स्टुडियोलाई फत्तेमान दाइले उद्घाटन गरे। अनि विर्तामोड, चारआली बुधबारे हुँदै फत्तेमान दाइ, कृष्णभूषण र मँगै गएका पूर्ण लामा इलामको उकालो लाग्यौं। विराटनगर र झापाको गर्मी छोडेर कन्यामको चिसो खाँदै मेरो याक्सा घरमा पुग्दा दुवै प्रफुल्ल। घर वरिपरि चियाबारी, गोधुलीमा सिरसिरे बतास, मौसम र वातावरणबीच थप मुड तयारका लागि मैले स्थानीय जैविक (अर्ग्यानिक) 'कोदो पाइरन'को ग्यालन व्यवस्थाका लागि पूर्ण लेप्चा तैनाथ। खाद्य व्यवस्थापनमा जीवनलाई सघाउन पूर्ण लामा व्यस्त।

साँझको रमझम। 'कोदो पाइरन'को चुस्की। फत्तेमान दाइको कालजयी गीतको प्रस्तुति। कृष्णभूषणका सशक्त युगान्तकारी कविता वाचन। बेला–बेलामा म पनि यसो धुर पस्ने। साहित्य, संगीत र रसपानको फ्युजनमाझ दुई रात बसेर फर्किने मनस्थितिमा आएका दुई हस्तीहरू त्यति बेला छाँगाबाट खसे जतिबेला स्थानीय लिम्बुवानको अनिश्चितकालीन बन्द भन्ने खबर सुने।

दिनभरि चियाबारी डुल्यो, घर फर्कियो र सन्ध्याकालीन उही तालिका— पाँच लिटरको ग्यालन पिँधतिर घट्दै जाने क्रम। सात दिनमा दुई ग्यालन चट्। हातमा ग्लास लिएर कृष्णभूषण फत्तेमान दाइतिर हेर्थे, 'सुरुमा चाख्दा त पानी सर्बतभन्दा केही लागेन। रात छिप्पिँदै गएपछि त यो पनि छिप्पिँदो रहेछ। भरैभरै पो बिस्तारै करामत देखाएर उधुमै पार्योन गाँठे!'

'शुद्ध कोदोको पाइरिन पातलै हुन्छ। त्यो युरियासुरिया हालेजस्तो घाँटी, छाती र पेट पोल्ने होइन। अँ यो ठिकै छ,' फत्तेमान दाइ सही थप्छन्।

हप्ता दिन बित्यो बन्द खुल्ने लक्षण देखिएन। तर यो बन्द समयलाई मैले पनि राम्ररी उपयोग गरेँ या भनौं काठमाडौंदेखि फिक्कल बस्दासम्मका झन्डै चार दशक लामो आफ्ना सांगीतिक सिर्जनाहरूको गतिला स्रोता कवि कृष्णभूषण र गायक फत्तेमान दाइलाई बनाउने सौभाग्य पाएँ।

'तपाइँका गीतहरू पढ्दा गद्य कविताझैं लाग्छन्। जब लय, ताल र स्वरमा ती गाइन्छन्, सुनिन्छन्। ती पढ्दाभन्दा सयौं गुणा शक्तिशाली हुँदो रहेछ। मैले जीवनमा पहिलोपल्ट तपाईंको गीतहरू सुनेर त्यो शक्तिलाई स्विकारेँ,' कृष्णभूषणले यस्तो प्रतिक्रिया दिएका थिए।

फत्तेमान दाइ स्वयं संगीतकार–गायक। कृष्णभूषण संगीतका पारखी। विशिष्ट कवि। स्रोता। गीतका मर्म बु‰ने, र नै मलाई साह्रै माया गर्थे। तर देखिने माया गरेनन्। सबैलाई थाहा नहुन सक्छ— देखिने मायाले आफैंलाई कुनै समय बिझाउन सक्छ। अरूलाई नि बिझाउँछ। त्यस मानेमा बिझाउने माया अस्थायी हुन्छ। तर कृष्णभूषणले मलाई सधैं नदेखिने माया गरे। अन्तरआत्माबाटै गरे र जसका लागि फिक्कलबाट विराटनगर फर्केपछि उनले यसरी मेरो नाममा कविता लेखेर मिर्मिरे पत्रिकामा छपाए—

'मानौं कि उनले लेख्ने कलमको मसी पनि हरियो नै होस्

उनले कल्पना गरेको संसार पनि शान्तमय हरियो नै होस्।

किन वन मन पराउँछन् उनी र वनफूलमात्रै रोप्छन् आँगनभरि

कहाँ मन डुलाउँछन् उनी एकान्त बुद्ध खोज्छन् सधैं आँखाभरि

हाँसे फूल हाँस्छन् उनी, बोले जून बोल्छन् उनी

रोए भदौको झरी उनी अरूबेला त वैशाखै उनी

मेरै व्यथाको एउटा पाटो नै हुन् कि उनी

मेरै कथाको अर्को परिच्छेदको प्रतिविम्ब हुन् कि उनी

उनी नछोई स्पर्श गर्न सक्ने रसिक हुन्

सागरको गहिराइमा सधैं मोती टिप्न सक्ने उनी माझी हुन्

समयको वेगले जहाँ पुर्यातए पनि उनी सिर्जना हुन्

एकान्त हरियो डाँडामाथि सधैं विचरण गरिरहने उनी संगीत हुन्।

('हरियो संगीत रसिक'को अंश)

जीवनको उत्तरार्द्धमा यौवनकालका साथीसँग फेरि सँगै बसेर दुःखसुख साट्दै बस्ने अवसर सबैलाई जुर्दैन। तर यसरी नै बाँकी जीवन घरपरिवार छाडेर बिन्दास भएर बस्न पनि नसकिने। के गरौं कसो गरौं भन्ने बिलखबन्दमा थिएँ म। बिहान–बेलुका तारन्तार फोनका ताकेता घरबाट आउन थालेपछि त झनै आत्तिन थाले दुवै जना। संकटबाट पार लगाउन एउटा बुद्धि झिके पूर्ण लामाले, 'तल उत्तम कुमारको एम्बुलेन्स छ। एक जना बिरामी, एक जना रुँगाली अनि उपचारको लागि विराटनगर हिँडेको भनेर इमर्जेन्सी बत्ती बालेर हर्न बजाउँदै दौडाउने। कसले चेक गर्ने, कसले रोक्ने?'

फोन गरिहाले पूर्णले। नभन्दै पेट्रोल राखेर गुरुजीलाई पकेट खर्च बेहोर्ने सर्तमा एम्बुलेन्स मिल्यो। दुब्लो पातलो फत्तेमान दाइ बिरामी भएर सिटमा सुत्दा साँच्चिकै बिरामी देखिए, रुँगालु भएर मोटा कृष्णभूषण छेउमा नै बसे। एम्बुलेन्स हुइँकियो। साँझपख विराटनगरबाट कृष्णभूषण र काठमाडौंबाट फत्तेमान दाइ घर पुगेको टेलिफोन आयो अनि ढुक्क भएँ म।

मूलतः कवि नै भए पनि कृष्णभूषणको गद्य लेखाइ बेजोडकै थियो। कवितामा पाइने लय, ध्वनि, ताल र स्वाद प्रखर रूपमा गद्य लेखनमा देखा पर्दथ्यो। चालीसको उत्तरार्द्धमा राजधानीबाट निस्कने देशान्तर साप्ताहिकमा सुनाखरी लामा न्वारान गरेर भूमिगत रूपमा उनी आफंैले लेखेको 'सिमानबाट' भन्ने स्तम्भलाई उदाहरण मान्न सकिन्छ। सम्पादक किशोर नेपालको नाममा लेखिएको त्यो पत्रात्मक स्तम्भ निकै लोकप्रिय र चर्चित थियो।

'.

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली र स्थानीय विमल वैद्यको सक्रियतामा आयोजित साहित्यिक कार्यक्रम। काठमाडौं, सिलिगुडी, दार्जिलिङका साथै विराटनगरबाट कृष्णभूषणसहित खेम नेपाली, गण्डकी पुत्र, विवश पोखरेल, मधु पोखरेलको टोली आएर इलामको भट्टराई होटलमा रहेको थाहा पाएर भेट्न गएँ। सबै थकित थिए। गफ गरेर बस्ने समय पनि थिएन। आराम गर्नुहोस्, भोलि भेटौंला भनेर बिदा मागेर म फिक्कल फर्किएँ।

इलामपछि कर्फोकको कार्यक्रम। ०१० सालमा भएको लेखनाथ, सम, देवकोटा र अन्य साहित्यकारलाई स्मरण गर्दै कार्यक्रम सुरु भयो। आसन ग्रहणको क्रममा कृष्णभूषणको नाम उच्चारण भयो। तर उनी मञ्चमा जान तयार भएनन्। दर्शकदीर्घामा बसेर आफ्नै तालमा रमाइरहेका थिए। मैले मञ्चमा लान जोड गरेँ। मलाई यहीँ ठिक छ' भनेर झन् ढिपी कसेर बसे।

कार्यक्रम चलिरह्यो। कृष्णभूषण आफ्नै धुनमा रमाएर बसे। छिनछिनमा शुभचिन्तकहरूको आँखा र मन भने खिचिरहेका थिए, उनले। कार्यक्रम सकिएपछि कृष्णभूषणसहितको टोलीलाई बस्ने आग्रह गरँे। कसैले समर्थन जनाएनन् बरु विराटननगरसम्म पुर्यारएर फर्किने जिपको बन्दोबस्तका लागि आग्रह गरे खेम नेपालीले। काठमाडौंको टोली राधेश्याम लेकालीको नेतृत्वमा हुइँकिइसकेको थियो। गाडीमा चढ्नुअघि आपस्तमा बिदाइ हात मिलायौं।

कर्फोक क्याम्पसमा जहरसिं राईसँग गफ गर्दै गर्दा छेउमा रहेका खैरो झोलामा मेरो आँखा पर्यो । सोधखोज गर्दा होटलका दाइबाट थाहा भयो— विराटनगर जाने टोलीको रहेछ। मैले तुरुन्तै फोन गरें। खेमजीकोमा फोन लागेन। गण्डकीपुत्रले उठाए। मैले भनें, ''तपाइँहरूमध्ये कसैको झोला छोडिएको छ। पर्खिनुहोस्!''

फिक्कल नाघेर छिपेटार पुगी सकेको रहेछ गाडी। रोकेर हल्लाखल्ला गर्दा कृष्णभूषणको झोला छुटेको बुझियो। मैले जहरसिं भाइलाई अनुरोध गरें। भाइले एकजना सहयोगीलाई झोला भिराएर मोटरसाइकिलमा दौडाए।

सिलिगुढीबाट आउनुभएका साहित्यकार ज्ञानेन्द्र खतिवडा, लक्ष्मण श्रीमल र युवराज काफ्ले तीन साथीहरूलाई मैले मेरो फिक्कल याक्सामा लिएर गएँ। साँझपख रेडियो फिक्कलमा साथीका अन्तर्वार्ता र कविता पाठ भए। विराटनगरबाट फोन आयो। बोल्दै थिए कृष्णभूषण, 'मेरो मोबाइल गाडीमा नै छुटेछ, सोधिदिनुपर्योन।'

अब परेन फसाद! यति राति कहाँ खोज्नु त्यो गाडीको ड्राइभरलाई? सायद बाटोमा फिर्दै होला। अब के गर्ने?

एकै क्षणपछि फेरि फोन आयो, 'रसिक जी सरी! मोबाइल त खाटमुनि खसेको रहेछ।'

कृष्णभूषणसँग मैले गरेको अन्तिम संवाद सायद यही नै हो। त्यसको दुई हप्तापछि होला विराटनगरबाट भाइ जसराजले फोन गर्यो , 'दाजु, तपाईंको मित्र कृष्णभूषण बल रहेनन्।'

'होइन के भएर?' मेरो सास रोकिएलाजस्तो भयो।

'बिहान त राम्रै थिए रे, नुहाएर भित्र पसेको यसै भन्न सक्ने अवस्थै रहेन। 'हार्ट एट्याक' हो कि भन्ने शंका छ।'

मैले जसराजको बोली सुन्नै छोडेँ। म कर्फोक पो पुगेछु, जहाँ यथावत् कुर्सीमा बसिरहेका थिए— कृष्णभूषण। त्यहाँ उपस्थित मान्छेको भिड, घन्किरहेको माइकको ध्वनि, ती सबसँग कोही लेनादेना थिएन। कृष्णभूषण भने आफ्नै तालमा मग्नमस्त। अहिले लाग्छ— कृष्णभूषणको हंशले त्यही बेलादेखि यो सांसारिक माया मोहबाट निवृत्त भई मोक्षको बाटो तताउने अवसरको खोजीमा छटपटाइरहको थिएछ। जसको पूर्व जानकारीस्वरूप उनी आफ्नो आत्मा लेख 'विराटनगरमा हर्न प्लिज' मा भावकुताको गहिराइमा डुबेर आँसुका अक्षरले यसरी लेख्छन्—

'एक्लो छु, एक्लैमा एक्लै छु। हिजोसम्म मञ्जिल थिए, प्रकाश छोरा थिए, उनीहरू गएपछिका रातहरू कठिन भए, अत्यासलाग्दा भए। कति रातहरू त अझै मातिएँ, एक्लैमा रातहरू नराम्रा हुन्छन् भनेर मेरो साथी रसिकको श्रीमती नीरा दिदीलाई फोन गर्न खोजेको सम्पर्क हुन सकेन। रसिकले एक्लो जीवन गुहारेको मैले अनुभव गरेको छु। माया लाग्छ उहाँको मलाई। सम्भव भएसम्म माया गरिरहन्छु। हेर्नु नि, बारम्बार खोकी चलेर बाक्लो खकार बाथरुमको वाश बेसिनमा खोक्दै पोख्दैछु। पछि बूढो भएपछि बाथरुमसम्म पनि जान पनि सक्दिनँ होला। एक्कासि मृत्यु बोझ हुन्छ' बरु त्यो आजै भए हुन्थ्यो। मेरो जीवन संगिनी धेरै दिनसम्म रुन्थिन्, उनीहरूलाई असाध्य नै माया गर्छु अब उमेर गयो भन्ने गर्दछु। मेरो छोरा एकछिन रुन्थ्यो, मेरो छोरी धेरै दिन धेरै महिना रुन्छे। छोरा आइपुग्छ होला आँखा बन्दै गरेर मेरो लास उठाउँछ होला''

पढ्दापढ्दै भावुक भएछु। भूषणको अन्तिम घडी मृत्युबोधको पीडा मेरो आफ्नैजस्तो लाग्यो। मुटुमा गाँठो परेर आयो, आँखा रसाए। ढिलोछिटो कृष्णभूषणले लेखेको आफ्नो भविष्यवाणीजस्तै हो मेरो जिन्दगी पनि।

आज कृष्णभूषण छैनन्। तर म छु। मेराबारेमा उनले लेखेको कविता छ। भूषणजस्तै भोलि म पनि नरहूँला। भनौं हामी दुवै रहन्नौं। तर यो 'हरियो संगीत रसिक' कविता रहन्छ। हाम्रो सम्बन्धको दसीप्रमाण यही कविता हो भोलि। मैले लेखेको साक्षी पनि यही लेख हो भोलि। आखिर मान्छे मरेपछि पनि बाँच्ने भनेको त उसले गरेको सुकर्मले बोकेको ओजन र आयतनभरि मात्र हो।

देशमा एकतन्त्रीय राणा शासन हुँदा नै जन्मियौं कृष्णभूषण र म। राणा शासनको अन्त्यसँगै स्कुल जान थाल्यौं। ०१५ सालको संसदीय चुनाव देख्यौं। प्रजातन्त्रलाई नख्खु र सुन्दरीजेलमा भोटे ताल्चा लगाउने ०१७ साल पनि भोग्यौं। अनि पञ्चायतकालमा जागिर खाँदै आ–आफ्नो विधामा लेख्यौं, गायौं। जनमत संग्रह, सडक कविता आन्दोलन हुँदै पञ्चायतलाई आर्यघाटमा सेलायौंं। बहुदलको जन्ती, माओवादीको जनआन्दोलन, राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको सूर्य उदाएको नेपाल पनि देख्यौं। ३ असोज ०७२ मा गणतन्त्र नेपालको नयाँ संविधान घोषणा भयो। म छु, यो खुसी बाँड्ने बहुसंख्यक नेपालीहरू छन्, तर दुःखको कुरा मेरो आत्मीय मित्र कृष्णभूषण छैनन्।

यसरी भाग्य र कर्मले उस्तै भोगाइ, उस्तै कथा उस्तै देश, उस्तै परिवेश दिएर पनि जीवनको अन्तिम घडीमा आएर नियतिले हामी दुईलाई त्यो महासागरको दुई किनार बनाएर बेग्लाबेग्लै बाटो रोजायो। म वारि किनारमा उभिरहेछु, हिजो पल्लो किनारैकिनार क्षितिज ताकेर हिँडेको कृष्णभूषण फेरि फर्केनन्। अब कहिल्यै कहिल्यै फर्कंदैनन भन्ने सम्झँदा आहत हुन्छु। ०२३ सालमा 'क्षितिजलाई छुन खोज्दा' मेरो कथा संग्रह साफी गरिदिने मेरो साथी कृष्णभूषण, लाग्छ— जुन क्षितिजलाई छुन खोजिरहेको थिएँ म, त्यो क्षितिज त मभन्दा पहिले नै कृष्णभूषणले भेट्टाए। छोए। हात मिलाए। अँगालोमा बाँधिएर सधैं क्षितिजमा समाहित भए। म भने आज मेरो जन्मदिनको दिन पनि त्यो क्षितिजलाई छुन खोजिरहेछु। लाग्छ, त्यो क्षितिज मेरो छुवाइभन्दा धेरै टाढा छ टाढा'!

प्रकाशित: १७ पुस २०७२ २३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App