१३ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

पहिलो दिन सञ्जयको अग्रता

धरान- सञ्जय लामाले पार ७० को निर्वाणा कन्ट्री क्लबको कोर्समा तीन अन्डर ६७ स्कोर गर्दै सूर्य नेपाल इस्टर्न ओपनमा पहिलो दिन अग्रता लिएका छन्। सूर्य नेपाल सेन्ट्रल ओपन २०१५ का विजेता लामाले सूर्य नेपाल गल्फ टुर २०१५–१६ अन्तर्गत तेस्रो प्रतियोगितामा स्थानीय व्यावसायिक गल्फर बलभद्र राई र शिवकुमार माझीलाई एक स्ट्रोकले पछि पारे।बलभद्र र शिवकुमार २ अन्डर ६८ स्कोसाथ संयुक्त दोस्रो स्थानमा छन्। नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ, भुवन नगरकोटी र एमेच्योर खेलाडी शुक्रबहादुर राई समान १ अन्डर ६९ स्कोरसहित संयुक्त चौथो स्थानमा छन्। त्यस्तै इभन पार ७० स्कोर गरेका धन थापा र थमबहादुर राई संयुक्त सातौं स्थानमा रहँदा १ ओभर ७१ स्कोरसाथ पूर्ण शर्मा र रवि खड्का १० औं स्थानमा छन्।

पाँच पारका तेस्रो र छैटौं होलमा इगल प्रहार गरेका सञ्जयले फ्रन्ट नाइन ५ अन्डर ३० को स्कोरमा पूरा गरे। पहिलो ९ होलमध्ये उनले आठौं होलमा पनि एक सट जोगाए। तर, ब्याक नाइनमा त्यो प्रदर्शनलाई निरन्तरता दिन नसकेका उनले ११ र १८ औं होलमा बुगी खेपे। ब्याक नाइनमा उनको स्कोर २ ओभर ३७ थियो।

बलभद्रले फ्रन्ट नाइनमा ३ ओभर ३८ को कमजोर प्रदर्शन गर्दा छैटौं होलमा मात्र बर्डी खेल्न सके। उनले दोस्रो, पाँचौं, सातौं र नवौं होलमा बुगी खेपेका थिए। ब्याक नाइनमा ५ अन्डर स्कोर गर्ने क्रममा उनले १२, १३ र १६ औं होलमा बर्डी खेले भने पार ४ को १४ औं होलमा इगल प्रहार गरे।

एमेच्योर शिवकुमारले फ्रन्ट नाइनमा इभन पार ३५ स्कोर गर्दा दोस्रो र छैटौं होलमा बर्डी तथा पहिलो र चौथो होलमा बुगी खेले। १०, १६ र १७ औं होलमा बर्डी प्रहार गर्नुका साथै १३ औं होलमा बुगी खेपेका शिवकुमारले ब्याक नाइनमा २ अन्डर ३३ खेले। पाँचौं र छैटौं होलको बर्डीविरुद्ध चौथो र आठौं होलमा बुगी प्रहार गरेका शिवरामले फ्रन्ट नाइनको स्कोर इभन पार ३५ मा राख्दा ब्याक नाइनमा १ अन्डर ३४ खेले। ब्याक नाइनका १५, १७ र १८ औं होलमा बर्डी खेल्नुअघि उनले १४ औं होलमा डबल बुगी खेपेका थिए।

पाँचौं, छैटौं र नवौं होलमा प्रहार गरेको बर्डीविरुद्ध पहिलो र तेस्रो होलमा बुगी खेपेका भुवनले फ्रन्ट नाइन १ अन्डर ३४ को स्कोरका टुंगाउँदा ब्याक नाइनमा इभन पार खेले। ब्याक नाइनका १०, १४ र १५ औं होलमा सट जोगाएका उनले ११, १६ र १७ औं होलमा सट खेर फालेका थिए।

अर्का एमेच्योर खेलाडी शुक्रबहादुरले फ्रन्ट नाइनमा २ अन्डर ३३ स्कोर गरे। उनले दोस्रो, पाँचौं, छैटौं र आठौं होलमा बर्डी प्रहार गरेका थिए भने पहिलो र नवौं होलमा बुगी खेपेका थिए। ब्याक नाइनमा तुलनात्मक कमजोर प्रदर्शन गरेका उनले १२ औं होलमा मात्र बर्डी प्रहार गरे। १० र १३ औं होलमा बुगी खेपेपछि उनको ब्याक नाइन स्कोर १ ओभर ३६ मा सीमित भयो।

पहिलो दिन बुधबार दुई खेलाडीले होल इन वान गरे। रामे मगरले पार ३ को आठौं होल तथा रमेश अधिकारीले ३ पारकै नवौं होलमा एकै सटमा बल होलमा छिराएका थिए।

२७ व्यावसायिक तथा २३ एमेच्योरसहित ५० गल्फर सहभागी प्रतियोगिताको शुक्रबार हुने अन्तिम चरणलाई बिहीबार शीर्ष २१ व्यावसायिकसँगै एमेच्योर खेलाडीको छनोट (कट) गरिनेछ। कुल ४ लाख ६७ हजार ५ सय रुपैयाँ पुरस्कारको प्रतियोगिता विजेताले १ लाख रुपैयाँ पाउनेछ भने दोस्रो हुनेले ६३ हजार तथा तेस्रो हुनेको भागमा ४५ हजार रुपैयाँ पर्नेछ। कटमा सफलता पाउने सबै व्यावसायिक खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन्।

प्रकाशित: ८ पुस २०७२ २१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App