२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

चियासँग पोलेको ढिँडो

बिहानको खाना ख्वाएर लमजुङको सुन्दर गाउँ पसगाँउका गुरुङ दिदी–बहिनीले परसम्म हामीलाई छोडन् आए। भुजुङतिर हिँडेका हामीलाई उनीहरूले खाजाका लागि सेलरोटी दिएका थिए। र, छुट्टिने बेला मिठा मिठा गीत पनि गाए।

लमजुङको योजना निर्माण क्रममा बेसीसहरबाट रमणीय स्थानहरू कुन्छा, जिता, दुराडाँडा, सोतीपसल, समीभञ्ज्याङ, दुईपिप्ले रम्घा, इशानेश्वर, चिसंखु, गिलुङ, घाम्राङ हुँदै हामी पसगाउँ पुगेका थियौं। बिहान गाउँलेसँग पर्यटन योजनाको छलफल भ्याएर हामी एउटा गाविसभरि फैलिएको विशाल भुजुङ गाउँ लाग्ने ध्याउन्नमा थियौं।

समीभञ्ज्याङको होमस्टेमा रात काटेपछि स्थानीयसँगको छलफलका लागि बिहानै दुईपिप्ले रम्घा झर्यौंङ। भूगोलविद् डा. हर्क गुरुङले दुइपिप्लेलाई नेपालको मध्यबिन्दुका रूपमा पहिचान गरेका रहेछन्। हामीसँगै टोलीमा रहेका विज्ञले जिआइएस प्रविधिबाट हेर्दा नेपालको मध्यबिन्दु दुइपिप्लेभन्दा अलिपर सिसाघाट नजिकै पर्छ भनी इसारा गरे। तनहुँ, लमजुङ र कास्कीको सिमा मादी नदीको तीरमा रहेको सिसाघाट पृथ्वी राजमार्ग निर्माण नहुँदा पोखरालगायत स्थानबाट काठमाडौं आउँदा बास बस्ने ठाउँ हो।

दुइपिप्लेमा नै स्थानीयसँगको अन्तरक्रियामा केही सहभागीले आदिकवि भानुभक्त मामाघर करापुटारबाट फर्किंदा दुइपिप्ले नजिकै मादीवारि चौतारीमा सुस्ताएको र मादीपारि घाँसीले घाँस काटेको देखेर प्रभावित भएका हुन् भन्ने जिकिर गरे।

भगवान् शिवको प्रसिद्ध मन्दिर इशानेश्वर रहेको करपुटारबाट हरित मार्ग हुँदै रमणीय र समृद्ध गिलुङसम्म जिप चढेर पुगेका थियौं। गिलुङबाट लोभलाग्दा हिमशृंखला र पर्वतमालाको मोहक दृश्य रसस्वादन गर्दै पसगाउँ पुग्दा पसिनाले लथ्रकै भिजेको शरीरमा गुरुङ समुदायको आतिथ्यले स्फुर्ति ल्याएको थियो। बेलुका हामीलाई खाना ख्वाउने दिदी–बहिनी हामीले खाना खाएर हातमुख चुठ्न नपाउँदै खाना खाईवरी नाच्न–गाउन तयार भइसकेका थिए।

भोलपल्ट बाघमारे नामक एक स्थानीयले रोचक व्यथा सुनाए। एउटा चितुवाले (स्थानीयले बाघ नै भन्छन्) बाख्राको घाँटीमा समातेपछि उनले बाख्रालाई पछिल्तिरबाट समातेर बचाएछन्। अझै चितुवाले झम्टने आँट गरेपछि बाँसको लठ्ठीले बेस्सरी बजाएछन्। घाइते बाख्रालाई बोकेर घर आउँदा त उनको गोठमा बाँधेको गोरुलाई त्यही चितुवाले आक्रमण गर्दै रहेछ। उनको रिसको सीमा रहेन, फेरि बाँसको लठ्ठीले चितुवाको ढाडमा एक दनक दिएपछि त्यो कुलेलम ठोकेछ। 'अब भेटेँ भने त्यसलाई म छाडदिनँ' भन्दै थिए बाघमारे। अन्य महिला हाँस्दै उनलाई केही सम्झाउँदै थिए, तर उनले सुनेनन्, व्यथा पोखेरै छोडे।

भुजुङ गाउँ नपुग्दै ठूलोपानीले हामीलाई नराम्रोसँग चुट्यो। बीचमा कहीँ ओत लाग्ने ठाउँ थिएन। मुसो भिजेसरी भिज्दै गाउँ मुन्तिर लघु जलविद्युत पावर स्टेसन पुग्यौं। त्यहाँ चिया पसल पनि रहेछ। आगो छेेउमा बस्दै पसलकी साहुनीले उमालेको तात्तातो रारा चाउचाउ खाएपछि बल्ल सास आयो। केही साथीको भोक मेटिएन र अरू केही छ कि भनेर सोधँे। उनले अरू केही छैन भनिन्।

एक जनाले अगेनाको डिलमा छोपेर राखेको भाँडो देखाएर 'त्यसमा के छ' भनी सोधे। बिहान पकाएको कोदोको ढिँडो रहेछ। उनी त गाईबस्तुलाई दिने कुरा गर्न थालिन्। भोकले छटपटाएको बेला एक जनाले तताएर खाने प्रस्ताव राखेपछि अर्काले भने, 'हैन, पोलेर खाँदा मिठो हुन्छ।' हो न हो भाँडोको ढिँडो भुंग्रो पस्न थालिहाल्यो। हामी पेट मिचिमिची हाँस्न थाल्यांै। ढिँडो तातेपछि केही साथीले मिठो मानीमानी रातो चियाको चुस्कीसँगै पोलेको ढिँडो खाए।

चाउचाउको सुपले आँत र आगोले आङ सेकेपछि भुजुङ गाउँको उकालो चढ्न लाग्यौं। सिमसिम पानी परिरहेकै थियो। गाउँ नजिकै पुगेपछि गाउँले फूलमाला, अबिर, घुम र न्यानो माया लिएर आए, हामी कृतकृत भयौं। गाउँ पुगिसकेपछि हामीलाई होमस्टेमा मिलाएर राखे। हातमुख धुने तातोपानी दिए। म बसेको होमस्टेको अगेनामा घ्युको ताइमा कोदोको सेलरोटी पाक्दै थियो। गुरुङ दिदीले थालमा तातो सेलरोटी राखिदिइन् अनि श्रीमान्ले मह। भुजुङको त्यो होमस्टेमा रहँदा खाएको कोदोको सेलरोटी र मह, आगोको न्यानो राप र आतीथ्य अद्धितीय र अविस्मरणीय थियो।

भोलिपल्ट बिहान स्थानीयसँग छलफल गर्यौं । सबै उत्साहित हुँदै भुजुङ र वरपरका पर्यटकीय आर्कषणको उत्साहसाथ वर्णन गर्दै थिए। एक जनाले नजिकैको झरनाको बेलीविस्तार लगाउँदै थिए, म उक्त झरनामा क्यानोनिङको सम्भावना बारेमा सोच्दै थिएँ। एक छिनपछि अर्काले त्यहाँ झरनाको पानीले बनाएका अनौठा शिवलिंग रहेको भन्दै तिनको महिमा सुनाए।

सन्तान नहुने दम्पतीले शिवलिंग दर्शन गरेमा सन्तान प्राप्त हुन्छ रे। उनका अनुसार भुजुङमा सरुवा भएर आएका एक स्वास्थ्यकर्मीका सन्तान रहेनछन् र उनले शिवलिंगको महिमा सुनेपछि स्वास्थ्यकर्मीका दम्पती दर्शन गर्न गएछन्। स्वास्थ्यकर्मीकी श्रीमतीलाई अलि बढी नै सन्तान चाहना भएकाले कसैले थाहा नपाउने गरी भोलिपल्ट सोही स्थानमा गएर शिवलिंग ल्याएर सिरानीमुनि राखिछन्। एक वर्षपछि त्यो दम्पतीका जुम्ल्याहा सन्तान भएछन्।

भुजुङको न्यानो माया र अलौकिक कथा श्रवणपछि चियाबारी अवलोकन गर्दै गुरुङहरूको पुरानो बस्ती घनपोखरा र घलेगाउँ हँुदै बेसीसहर झर्यौं ।

कसरी पुग्ने : काठमाडौं–बेसीसहर बसमा छ घन्टा। बेसीसहरबाट जिपमा साढे तीन घन्टामा भुजुङ। जिप पार्कबाट दुई मिनेट हिँडे भुजुङ गाउँ।

होमस्टे प्याकेज

भुजुङका २० घरमा होमस्टे सुविधा छ। ८५ जना एकैरात बस्न सक्छन्। सादा खानाको १६० र सुतेको प्राितबेड १०० रुपैयाँ। र, सांस्कृतिक कार्यक्रमको ३५ सय रुपैयाँ तिर्नुपर्छ।

सम्पर्क : ९८४६०८९९९७ तुलबहादुर गुरुङ, अध्यक्ष, सामुदायिक होमस्टे ।

प्रकाशित: २५ मंसिर २०७२ २२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App