यी हुन्, भक्तपुर थिमिका ६६ वर्षीय हरि पोटर ‐प्रजापती)। छ दशकदेखि गिलो माटोलाई चाहेजस्तो आकृति दिन सके पनि आफ्ना सन्तानलाई सोचजस्तो आकार दिन नसकेको उनको पहिलो गुनासो हो।
भूकम्पले उनको घर आधा भत्काएको छ। नाकाबन्दीले व्यापारमा आधा घाटा लाग्यो। उमेर आधाभन्दा बढी घटिसक्यो। उनको आवश्यकता भने दोब्बर बढेको छ। ती सबै पूरा हुन अब कुनै जादुबाट मात्र सम्भव छ। तर उनी रोलिङले रचेकी जादुयी पात्र ह्यारी पोटरजस्तो शक्तिशाली छैनन्।
सिंगो जीवनचक्र घुमाउँदा पनि उनको जीवनले फन्को मार्न सकेन। 'पिताजीले बनाएको यही पुरानो घरमै सीमित रहेँ,' उनी सुस्केरा हाल्छन्, 'कालो, अँध्यारो कोठा र चिसो माटोबाट अझै मुक्ति पाउन सकिएन।'
लामो समयसम्म यो पेसाले न उनको समस्या हल गर्यो , न त पेसाबाट उनी नै अलग हुन सके। 'चक्रले मलाई समायो कि मैले चक्रलाई समाएँ,' माटो र जीवनको चक्रीय खेलबारे उनी बोले, 'त्यो अझै थाहा पाउन सकेको छुइन।'
आफूले पढ्न नसके पनि सन्तानलाई चाहेजस्तो पढाउने उनको धोको थियो। त्यही भएर उनले जवानीमा जोर लगाएर चक्र चलाउन थाले। कति समय त चक्र बोेकेरै विभिन्न ठाउँ पुगेर भाँडाकुँडा पनि बनाए।
केटाकेटीलाई काँचो माटोको संज्ञा दिँदै तिनलाई भनेजस्तो आकृतिमा ढाल्न सकिने आम बुझाइ छ। माटोबाट आफूले चाहेजस्तो विभिन्न सिर्जना बनाउँदै आएका यी प्रजापतीले आफ्ना दुई छोरा र तीन छोरीलाई चाहेजस्तो पढाउन नसकेको बताए।
'उनीहरूलाई डाक्टर, इन्जिनियर बनाउन चाहन्थेँ,' उनले भने, 'तर पैसाको अभावमा त्यो सब सपनामात्रै रह्यो।'
पछिल्लो समय पेसा नै संकटमा आएको उनी सुनाउँछन्। त्यसै त सामान कम खपत हुँदै गएको समयमा नाकाबन्दीले थप समस्या निम्त्याइदियो। इन्धन अभावले गाडी कम चलेका छन्, गाडी नपाइएपछि माटो ल्याउन समस्या छ। अरू समयमा ट्र्याक्टरको दुई हजार पर्ने माटो अहिले चारदेखि छ हजारसम्म पर्छ,' उनले भने, 'महँगो माटोबाट बनाएको भाँडो बिक्री गर्न पनि समस्या छ।' घरमा ग्यास नहुँदा दाउरामा खाना पकाउनुपर्ने बाध्यता त छँदैछ, स्वास्थ्य चौकीमा औषधिसमेत अभाव भएको सुनाउँछन् उनी। 'पाखुरीमा बल भएसम्म चक्र चलिरहन्छ,' लामो लौरोले चक्का नचाउँदै उनले भने, 'चक्र चलेसम्म जीवन त उसै पनि चलिहाल्छ।'
हरि प्रजापतीका जेठा छोरा रामचन्द्र बुबाले सोचेजस्तो पढाउन नसके पनि बाल्यकालमा आफ्ना रहर भने पूरा गरेको सुनाउँछन्। करिब १० वर्षअगाडि ह्यारी पोर्टर सिनेमा हेरेका उनलाई सानो छँदा बुबा पनि जादुगरजस्तै लाग्ने सुनाए। 'माटोका सामान बेचेर हामीलाई खेलौना ल्याइदिनुहुन्थ्यो,' उनले सम्भि्कए, 'हाम्रा सानासाना आवश्यकता पूरा गर्नुहुन्थ्यो।'
एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि चाहिने पैसाको जोहो नहँुदा भने दुःख लागेको उनी सुनाउँछन्। 'माटोको यो पेसाले हाम्रा सबै आवश्यकता पूरा गर्न सक्दैनन् भन्ने बुझेपछि यो काम छाडेर अर्को काममा लागेको छु,' रामचन्द्रले भने। बुबाले सन्तानलाई पढाउने सपना पूरा गर्न नसके पनि उनले भने छोराछोरीको पढाइकै लागि फरक काम थालेका छन्। 'माटोको जादु हराउँदै गएको महसुस हुन थालेको छ,' थिमि चोकमा कफी पसल खोलेका उनले भने, 'त्यसैले फरक पेसा अँगालेको छु।'
थिमि नयाँबस्तीका ४८ वर्षीय हरिकृष्ण प्रजापतीको कथा पनि उस्तै छ। बुबाको काममा सहयोग गर्नुपर्ने बाध्यतामा उनले पढ्न पाएनन्। अरू साथीभाइ विद्यालय जाँदा उनी हिलो मुछिरहेका हुन्थे। फूलजस्तो उमेरमा उनी गमला बनाउँथे, आफू फुल्न नपाएको पीडाले भने उनलाई सताइरहेको छ। आफूले पढ्न नपाए पनि सन्तानले राम्रोसँग पढून् भन्ने उनको इच्छा छ।
त्यसैले उनी जोडतोडका साथ चक्र नचाउँदै छन्। उनले यही चक्रबाट तीन छोरी र एक छोराको पढाइ खर्च जुटाएका छन्। कक्षा १२ मा पढ्ने सबिनले माटोको कामको महत्व बुझेका छन्। उनले पढ्न चाहेको विषयमा यो कामले सहयोग पुर्याजएकाले उनी पनि बुबालाई फुर्सदमा सहयोग गर्छन्। 'सन्तानको पढाइ चलेकाले अहिलेसम्म मेरो चक्र चलेको सार्थक भइरहेको छ,' हरिकृष्ण भन्छन्, 'जब यी आवश्यकता पूरा गर्न सक्दिनँ तब यसको गति रोकिन्छ।'
भूकम्पले दिएको दुःख नसकिँदै नाकाबन्दीले निम्त्याएको सकसले माटोको व्यवसाय पनि चौपट हुँदैछ।
हरि र हरिकृष्णजस्ता थुप्रै प्रजापतीको साझा समस्या हो। बजारमा छ्यासछ्यास्ती प्लास्टिकका भाँडा पाइनु, सोचेजस्तो सहज तरिकाले माटो नपाइनुले उनीहरूको पेसा धरापमा परेको छ। घर नजिकैको खेतबाट माटो ल्याएर भाँडा बनाउने उनीहरू त्यसकै खोजीमा टाढा पुग्नुपर्ने बाध्यता छ।
भाँडा पोल्न चाहिने छ्वाली र काठको धुलो लगायतका इन्धनको समेत अभावले त यो पेसा 'नखाऊँ दिनभरको सिकार, खाऊँ त कान्छाबाउको अनुहार' भएको छ। प्लास्टिकको भाँडाको धेरै प्रयोग हुन थालेपछि माटोबाट बनाएका सामग्रीको बिक्री घटेको व्यवसायी बताउँछन्।
प्रजापती समाज पोर्टर स्क्वायरका अध्यक्ष रामबहादुर प्रजापतीका अनुसार पछिल्लो समय पेसालाई आधुनिकता दिन युवाहरू लागिपरेका छन्। भक्तपुर घुम्न आउने पर्यटकका लागि चाहिने माटाका बुट्टेदार सामग्रीमा उनीहरूको ध्यान गएको रामबहादुरले बताए। झन्डै दुई सय ५० घरधुरी रहेको यहाँका प्रजापती समुदायमध्ये एक सयजति हाल यो पेसामा संलग्न छन्। 'समयअनुसार आफूलाई परिमार्जन गर्दै लैजानेहरू टिकेका छन्,' उनले भने, 'यसबाट भविष्य नदेख्नेहरूले भने वैकल्पिक पेसा अपनाउन थालेका छन्।'
माटो खन्ने ठाउँ सबै घडेरीमा परिणत भए। नयाँनयाँ घर निर्माण भए। माटोको अभावले वैकल्पिक पेसातिर जान बाध्य बनायो।
माटोबाट गमला, घैंटा, धुपौरो, खुत्रुके, पाला, हाँडी, घ्याम्पो लगायतका सामग्री बनाउने प्रजापतीहरू यही चुनौतीका बाबजुत पेसाबाट पलायन हुँदैछन्। कतिपयले भने पेसालाई आधुनिकरण गरेर नयाँ रूप पनि दिन थालेका छन्।
भक्तपुर पोर्टर स्क्वायरका हरिसुन्दर प्रजापतीले पनि गिलो माटोमा थुप्रै सपना देखेका थिए। तर यो पेसाले आफ्नो सपना पूरा गर्न सकेन। थुप्रै सपना माटोमै मिलेको सुनाउँछन्, उनी। परम्परागत शैलीले पार नलाग्ने ठानेपछि पेसालाई आधुनिकता दिन उनी कस्सिए। घैंटा, घयाम्पोजस्ता परम्परागत सामानभन्दा पनि सेरामिकका आधुनिक सामग्री निर्माणमा जोड दिन थाले। 'पेसालाई समयअनुसार परिवर्तन गर्न सक्नु नै जादु हो,' उनले भने, 'यो माटोमा गरिएको यो जादुले सन्तानका सपनाहरू पूरा गर्ने विश्वास लिएको छु।'
प्रकाशित: २५ मंसिर २०७२ २०:१० शुक्रबार





