५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

चटगाउँमा 'सरजमिन' को तयारी

चटगाउँ (बंगलादेश)- नेपाली नाटक टोलीसमेत सहभागी हुने बंगलादेशको 'नान्दिमुख अन्तर्राष्ट्रिय नाट्य महोत्सव'को विधिवत उद्घाटन भएको छ। शुक्रबार चटगाउँस्थित शिल्पकला एकेडेमीमा बंगलादेशका वरिष्ठ नाट्यकर्मीको एक समूहले मैनबत्ती बाल्दै महोत्सव उद्घाटन गरे। नेपालबाट सहभागिताका लागि आएको मण्डला थिएटरका कलाकारले पनि मैनबत्ती बाल्दै उद्घाटन सत्रमा सहभागिता जनाएका थिए।

बंगलादेशको चटगाउँमा रहेको नान्दिमुख थिएटरले स्थापनाको २५ वर्ष पूरा भएको उपलक्ष्यमा नाट्य महोत्सव आयोजना गरेको हो। उद्घाटन सत्रमा बोल्दै नान्दिमुख थिएटरका अध्यक्ष अभिजित सेन गुप्तोले संकटका बीच पनि लामो यात्रा तय भएकोमा आश्चर्य लागेको बताए।

'हामी सबैलाई थाहा छ, बंगलादेशमा नाटकमा लामो समय टिकिरहन कति गाह्रो छ। तर पनि थाहै नपाई २५ वर्ष पूरा भएछ। अब हाम्रा खुट्टा बलिया भएका छन्। हिजोसम्म बिस्तारै हिँडिरहेका थियौं, अब दौडन पर्छ,' गुप्तोले भने।

त्यसैगरी, बंगलादेशमा नाट्य आन्दोलनका अगुवा मानिने अताउर रहमानले बंगलादेशको नाट्य परम्परालाई फिल्म तथा टेलिभिजनले प्रभावित पार्दै लगिरहेको भए पनि नाटकमा विश्वास गरेर यसमा लागिरहनेलाई हौसलाको खाँचो भएको बताए। नाट्य महोत्सवले नाटकमा मात्र समर्पित कलाकारलाई उत्प्रेरकको काम गर्ने उनको भनाइ छ।

नौ दिन चटगाउँस्थित शिल्पकला एकेडेमीको मञ्चमा चल्ने नाट्य उत्सवमा चार देशका ९ नाटकले प्रस्तुति दिनेछन्। महोत्सवमा नेपाल, भारत, बंगलादेश र नर्वे गरी ४ देश सहभागी रहेको आयोजकले जनाएको छ। जसमध्ये भारतबाट ४, बंगलादेशबाट ३ नाटक सहभागी छन्। नेपाल र नर्वेले एउटाएउटा नाटक देखाउनेछन्।

नेपालबाट प्रतिनिधित्व गर्दै आएको मण्डला थिएटरको टोलीले प्रवीण खतिवडाको निर्देशनमा तयार भएको नाटक 'सरजमिन' देखाउनेछ। सो उद्देश्यका लागि नेपाली टोली बुधबार नै चटगाउँ आइपुगेको हो। टोलीको नेतृत्व गर्दै आएका कलाकार सोमनाथ खनालले नेपालको नाक राख्ने गरी मन्चन तयारी गरिरहेको बताए। उनले भने, 'अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाललाई सम्झनुको अर्थ यसभन्दा अघि बंगलादेशमा मन्चित नाटकले पारेको प्रभाव हो। फेरि पनि केही असर छाड्ने गरी मन्चन तयारी गरिरहेका छौं।' नेपाली टोलीले आइतबार यहाँको समयअनुसार बेलुकी ७ बजे 'सरजमिन' मञ्चन गर्ने कार्यक्रम छ।

चटगाउँबाहेक नेपाली टोलीले बंगलादेशकै जेसोरमा एक सो, राजशाहीमा २ सो र रंगपुरमा १ सो गर्ने कार्यक्रम छ। यसअघि गत शुक्रबार रंगपुरमा नाटक प्रस्तुत गर्ने कार्यक्रम रहे पनि राजनीतिक अस्थिरताका कारण रद्द गरिएको थियो। तर रंगपुरमा मेडिकल पढिरहेका नेपाली विद्यार्थीबाट नाटकको माग भएपछि आयोजकले रंगपुरमा फेरि मन्चनको तयारी गरिरहेको सोमले बताए। डिसेम्बर ६ तारिखमा रंगपुरमा 'सरजमिन'को अन्तिम सो हुनेछ।

पुष्कर शमशेरको चर्चित कथा 'परिबन्द'मा आधारित नाटकमा सोमनाथ खनाल, विजय बराल, बुद्धि तामाङ, उमेश तामाङ, विकास जोशी, संयोग गुरागाईं, रोहित पौडेल, रन्जना वली, बिनिता गुरुङले अभिनय गर्नेछन् भने अंकित खड्का र सिजन दाहालले पर्दापछाडि रहेर प्राविधिक काम सम्हाल्नेछन्।

प्रकाशित: १२ मंसिर २०७२ २१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App