परिसरका अनुसार असोज ७ गते एकान्तकुनामा रहेको प्रशान्ति पेट्रोल पम्पका सञ्चालक र मेनेजर जनकराज पौडेल पक्राउ परेपछि इन्धन नाप्ने यन्त्र बिगारेर उपभोक्त ठग्ने कार्ययको रहस्योदघाटन भएको थियो। त्यसयता महानगरीय प्रहरी अपराध महाशाखा र परिसरको संयुक्त अप्रेसनमा थप ६ पेट्रोल पम्पमा भएको ठगी खुलेको हो।
परिसरका डिएसपी दयानिधी ज्ञवाली पेट्रोल पम्प, ग्यास डिपो, फुटकर विक्रेता र ब्यक्ति समेत कालोबजारीमा संलग्न रहेको बताउँछन्। उनका अनुसार कालोबजारी ऐन अन्र्तगत प्रशासनमा कारवाहीका लागि पुगेका घटनामा दोषीलाई ३० लाखसम्म धरौटी माग हुँदा समेत पम्प संचालक निरन्तर ठगीमा लागिरहेको अवस्था जिल्लामा छ।
प्रशान्ति पेट्रोल पम्पका संचालक पौडेलसँग प्रशासनले ३० लाख धरौटी माग गरेको थियो । उनी केही हप्ता पहिलेमात्र धरौटी बुझाएर रिहा भएका छन।
प्रहरीका अनुसार प्रशान्तिसँगै त्रिशक्ति पेट्रोल पम्प सानेपा, गायत्री देवी आयल स्टोर्स एकान्तकुना, युनिक फ्युल सेन्टर वालकुमारी, महालक्ष्मी विश्वकर्मा ट्रेडर्स चापागाउँ दोवाटोका पम्पबाट दैनिक लाखौ रुपैयाँ ठगिदै आएको थियो। ती पम्पले इन्धन मापक यन्त्र अनधिकृत रुपमा बिगारी आफू अनुकुल मापन गर्ने यन्त्र जडान गरेर भुक्तान गरिएको परिणाम भन्दा थोरै इन्धन उपभोक्तालाई वितरण गर्दै आएका थिए ।
प्रहरीले महालक्ष्मी पेट्रोल पम्पका संचालक शिव प्रसाद तिमल्सिना, त्रिशक्ती फ्युल सानेपाका संचालक युनुष प्रधान, युनिक फ्युल सेन्टर, वालकुमारीका संचालक गोपाल महर्जनलाई पक्राउ गरेर कारवाही गरिरहेको छ। प्रहरीले संचालक सहित यन्त्र जडान गरि उपभोक्ता ठगीमा मुख्य भूमिका निर्वाह गर्ने ऐयुव आलम, मिन्ट भन्ने हामिद हसन, नसिन सिद्धिकी भन्ने मुख्तर साह फकिर, महम्मद अवरार र शेख ईम्तियाज समेतलाई कारवाही गरेको छ।
ग्यासको सिलिण्डर लुकाएर कालोबजारी गर्ने जे. एस. स्टोरका संचालक सानेपाका विनय साह एकलाख धरौटीमा रिहा भए । यस्तै पेट्रोलपम्पमा मध्यरातमा ड्रममा डिजेल भर्दै गरेको अवस्थामा पक्राउ परेका पम्पका कर्मचारी कृष्णमणि ढुंगाना र रामहरि मिश्र जनही एकलाख २५ हजार र चालक दिपक पौडेल तथा सहचालक शिव पाण्डे एकएक लाख धरौटी बुझाएर रिहा भएका छन्।
प्रहरीले इन्धन अभावमा भएको कालोबजारी रोक्न पम्पमा निगरानी राख्दा वर्षौंदेखि हुँदै आएको उपभोक्ता ठगीको गोरख धन्दा सार्वजनिक भएको हो । परिसरका अनुसार कारवाहीमा परेका पेट्रोल पम्पका इन्धन मापन यन्त्रमा गुण तथा नापतौल विभागले जाँच गरी मुचुल्का उठाएर गरेका सिलबन्दी नै नबिगारी कम परिणाममा इन्धन वितरण भै रहेको थियो। 'सरकारी सिलबन्दी समेत सोही अवस्थामा फेला परेका घटना छन्, अनुसन्धान हुँदैछ' डिएसपी ज्ञवालीले भने ।
प्रकाशित: ११ मंसिर २०७२ २०:२७ शुक्रबार





