प्रमाणपत्र तहसम्म भोजपुरमै अध्ययन गरेकी भण्डारीले स्नातक विराटनगरबाट गरेकी हुन्। विद्योदय हाइ स्कुल (हालको विद्योदय उच्च मावि) एसएलसी उर्तिण भण्डारीले प्रमाणपत्र तह भोजपुर बहुमुखी क्याम्पसबाट गरेकी हुन्। घरमा भण्डारी राजनीतिक वातावरणको माहोलबाटै हुर्किएकी हुन्। उनको परिवारका हजुरबुबादेखि काकासम्म गाउँका प्रधानपञ्च, जिल्ला पञ्चायतको सदस्य थिए, जसले भण्डारीलाई बाल्यकादेखि नै राजनीतिमा लाग्न प्रेरित गर्यो। तर, एउटा गज्जबको संयोग चाँही के भने अधिकाँश उनका परिवार कांग्रेस आबद्ध भए पनि उनी भने कम्युनिष्टसँग नजिक भइन्। उनी पनि परिवारका सदस्य जस्तै कांग्रेसको राजनीतिमा लागेको भए आज यो ठाउँमा आउँथिन् आउँदिनन्थिन्, त्यो भन्न सकिन्न तर कम्युनिष्ट पार्टीमा लागेकी उनले आज देशकै सर्वाच्च पदमा निर्वाचित भएर पहिलो महिला राष्ट्रपति बन्ने सुनौलो इतिहास रचेकी छिन्।
विद्याले राजनीतिक यात्रा ०३५/३६ बाटै सुरु गरेकी थिइन्। तर पति मदन भण्डारीको दासढुंगा दुर्घटनामा परी निधन भएपछि उनी राष्ट्रिय राजनीतिमा चर्चामा आएकी हुन् भने यही काण्डबाट सक्रिय राजनीति पनि थालनी गरेकी हुन्।
भोजपुरको मानेभज्याङ गाविसमा जन्मेर हुर्केकी भण्डारीको अहिले गाउँमा परिवारका सदस्य छैनन्। गाउँको जग्गा बेचविखन गरेर मोरङको बाहुनी गाविस झरेका उनका भाईहरु अमेरिका छन्। भण्डारीका आमा र बहिनी सुशिला सुनसरीको चतरास्थित बृद्धाश्रमममा बस्छन्। अमेरिकामा रहेका उनका भाई र भण्डारीले आमालाई आफूसँगै राख्न अनुरोध गर्दा पनि आमा बृद्धाश्रममै बस्दै आएको भण्डारी निकट स्रोत बताउँछ। भण्डारी आफ्नो गृह जिल्ला कहिलेकाँही पार्टीले गर्ने कार्यक्रममा उपस्थिति हुने गरेकी थिइन्। संविधानसभाको दोस्रो निर्वाचनका बेला आफ्ना उम्मेदवारलाई जिताउनका लागि २०७० कातिक २३ गते भोजपुरको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उनि अन्तिम पटक भोजपुरमा आएकी थिइन्।
विद्योदय हाइ स्कुलमा पढ्नलाई सदरमुकाममा बस्न थालेपछि विद्याको नयाँ मानिसहरुसँग संगत हुन थाल्यो । त्यहीबाट उनि राजनीतिमा लाग्न थालेकी हुन्। जतिबेला देशमा पञ्चायती व्यवस्था थियो। गाउँमा एउटा पनि हाइस्कूल छैन, अस्पताल छैन, अनिकाल चलेको छ, मान्छेहरु भोक भोकै मरेको देखेकी विद्याको मनमा यो सब पञ्चायती ब्यवस्थाले हो भन्ने घर गरेको थियो । घरका अधिकांशले कांग्रेसी राजनीति गरेको देखेकी विद्या वामपन्थीहरूको समर्थन गर्न थालिन् र,कम्युनिष्ट राजनीतिमा सक्रिय भइन्। ५० को दशकबाट सक्रिय राजनीतिमा लागेकी उनले त्यसपछि लगभग कहिल्यै पछाडी फर्कनु परेन। भोजपुर आफैंमा विकट त्यसमाथि अभावग्रस्त त्यो मानेभन्ज्याङमा जन्मेकी छोरीले देशको प्रमुख पार्टीका एकजना बाबु समानका पुराना हस्तीलाई पराजित गर्दे शितलनिवासको यात्रा तय गरिन् ।
प्रकाशित: ११ कार्तिक २०७२ ०६:४४ बुधबार





