९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

इरानीहरूको मोटरसाइकल प्रेम

दुबई- इरानमा इस्लामिक क्रान्ति भएसँगै जनताका धेरै इच्छा दबाइए, त्यसमा ठूला अमेरिकी वा जापानी बाइक चढ्न प्रतिबन्ध पनि एक थियो। तीन दशक लागेको प्रतिबन्धलाई केही खुकुलो बनाइँदै छ।जसले बाइकरहरू निकै खुसी छन्। यो महिना दर्जनभन्दा बढी बाइकर्सलाई नयाँ र पुराना मोडलका बाइकमा तेहरानको सडकमा निस्कने अनुमति दिइयो। खुला राजमार्ग हावासँग भालाकुसारी गर्ने राइडरको अभिलाषा अझै धेरै पर छ।

२ सय ५० सिसीभन्दा माथिको बाइक चढेर महिनामा एक दिन त्यो पनि तोकिएको सडकमा हुइँकिन इरानमा विशेष अनुमतिको आवश्यकता पर्छ। त्यसमा पनि महिलालाई बाइक चढ्ने अनुमति नै छैन। सन् १९७९ मा त्यहाँ रहेको राजतन्त्रलाई फालेर मुस्लिम राष्ट्र भएको घोषणासँगै पश्चिमा संस्कृतिलाई बढावा दिनै सबै विषयमा बन्देज लगाइएको थियो। सिया मुस्लिम मान्यताअनुसार महिलालाई मोटरसाइकल चढ्न बन्देज लगाइएको थियो।

ठूलो क्षमता भएको मोटरसाइकल बसिज, सादा पोसाकका सरकारी सुरक्षाकर्मीलाई मात्र चढ्ने अनुमति छ। उनीहरू शक्ति प्रदर्शन गर्नका लागि त्यही बाइकमा विभिन्न अवसरमा तेहरानको सडकमा परेड खेल्छन्।

अत्यन्तै कडा कानुनअन्तर्गत सरकारी अधिकारीले तेहरान मोटरसाइक्लिङ र कार रेसिङ एसोसिएसनसँग आबद्ध सदस्यलाई एसोसिएसनकै सिफारिसपछि मात्रै अनुमति दिन्छन्। एसोसिएसनका म्यानेजर मेरदाद हेम्मटियनका अनुसार धेरै सुरक्षा जाँचपछि त्यस्तो अनुमति पत्र प्रदान गरिन्छ।

बाइक चलाउने अनुमति प्राप्त गरिसकेपछि पनि प्रहरी र गृह मन्त्रालयका अधिकारीहरूले राइडरको गतिविधिलाई नियालिरहेका हुन्छन्।

'अब केही समयमा नै बाइकमा लगाइएको प्रतिबन्ध हट्नेमा हामी आशावादी छौं,' हेम्मटियानले भने, 'प्रतिबन्ध पुरानो भइसक्यो।'

सरकारसँग अनुबन्धित रहेको एसोसिएसन नै बाइकको आयतमा लाग्दै आएको १०० प्रतिशत करलाई ६ प्रतिशतमा झार्न कसरत गरिरहेको छ।

खासगरी अहिले सरकारी निकायमा कार्यरत कर्मचारीमाझ ठूलो बाइकको माग धेरै छ। किनकि उनीहरूलाई त्यो चढ्ने विशेष अनुमति प्राप्त गर्न पनि सजिलो हुन्छ। र, उनीहरू अमेरिकामा निर्माण गरिएको हार्ली डेभिडसन मोटरसाइकल खरिद पनि गर्न सक्ने हैसियत राख्छन्। इरानीयन

जो सम्भ्रान्त परिवारबाट आउँदैनन् उनीहरू सस्तो जापानी बाइक खरिद गर्छन्।

रोहानी परिवर्तन

इरानका राष्ट्रपति हसन रोहानीले सुरु गरेको परिवर्तनका कामले धेरैको जीवन सहज हुने आशा गर्न थालिएको छ। उनकै पहलमा लामो समयदेखि विवाद रहेको इरानको आणविक कार्यक्रम समाधान भएको छ। यसैसँग इरानलाई लगाइएको आर्थिक नाकाबन्दी पनि केही हटेको छ।

पश्चिमा शैली तेहरानको सडकमा देखिन थालेको छ। विश्वप्रसिद्ध फास्टफुडको चेन म्याक डोनाल्ड, म्यास डोनाल्डको नाममा राजधानी तेहरानको पोश एरियाको बजारमा देखिनुलाई त्यसैको उदाहरण मान्न सकिन्छ।

राजसंस्थाको पतनपछि भर्खरै केही कानुन खुकुलो बनाइएपछि धेरै इरानीहरुले जापान र युरोपमा बनेका लक्जरी कार पनि खरिद गर्न थालेका छन्।

अब केही समयमा नै अमेरिकी कार निर्माता जेनेरल मोटर्स र मोटरसाइकल निर्माता हार्लीको पनि स्थानीय डिलर खुल्नेमा इरानीहरू आशावादी छन्।

विश्वभरका व्यापारीहरू इरान छिर्न चाहन्छन्, किनकि त्यहाँका ८ करोड जनसंख्यामा रहेको मध्यम वर्ग नयाँनयाँ सामानको प्रयोग गर्न आतुर भएर बसेको छ। लामो समयको आर्थिक नाकाबन्दी खुकुलो हुँदै गएसँगै उनीहरूमा उत्साह थपिको हो। अन्तर्राष्ट्रिय जगत्सँग नयाँ सम्बन्ध विस्तारको क्रममा बेलायतको दूतावास तेहरानमा गत हप्तामात्रै पुनः खुलेको छ।

दुबईको मरुभूमि राजमार्ग

यता मोटरिङ एसोसिएसनले सरकारी प्रतिबन्ध सकेसम्म चाँडो हटाउनका लागि प्रयास गरिरहँदा बाइकरहरूले भने आफ्नो इच्छा पूरा गर्ने नयाँ उपाय खोजेका छन्।

उनीहरूको अमेरिकी हार्ली डेभिडसन मोहलाई त्यहाँकै बाइक निर्माता तोन्दर साहबले पूर्ति गरिदिएको छ। उक्त कम्पनीले कानुनी प्रावधानअनुरूप नै २ सय ५० सिसीका बाइकलाई हार्लीको ८ सय देखि १८ सय सिसीका बाइकको लुक दिने गरेको छ। कतिले दुबईबाट हार्लीको पार्टपूर्जा मगाएर त्यसलाई एसेम्बल गरी घरअगाडि सानका लागि राख्ने पनि गरेका छन्।

अहिले इरानका लागि अन्तर्राष्ट्रिय ब्रान्ड भिœयाउने एकमात्र स्रोत दुबईकै बजार हो। इरानमा धेरै अन्तर्राष्ट्रिय ब्रान्डको माग भएको हुँदा त्यस्ता सामग्री लुकाइछिपाइ इरान भित्रिने गरेका छन्।

दुबई समृद्ध इरानीहरूको बिदा मनाउने थलो पनि हो। जहाँ उनीहरू आफ्नो देशमा प्रतिबन्धित काम गर्नकै लागि पनि पुग्छन्। दुबईमा धेरै इरानी छन्, जसको हार्ली डेभिडसन बाइक छ।

एक इरानी बाइकर भन्छन्, 'इच्छा भएपछि उपाय धेरै हुन्छ। अहिलेलाई दुबईको मरुभूमि सही। कुनै दिन इरानकै सडकमा पनि दौडाउँछु।'

प्रकाशित: १ आश्विन २०७२ २१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App