५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

गम्भीर आरोप, कमजोर अभियोग

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले तीन दिनअघि साजन गुरुङ र कारजोन गुरुङलाई सार्वजनिक गर्दै दुवैले प्रहरी कर्मचारीको सुराकी गरेको र हत्या योजना बुनेको गम्भीर आरोप लगायो।

धादिङका यी दुवैले सामाखुसीका गुन्डा नाइके कुमार घैंटेको इन्काउन्टरमा सहभागी प्रहरी कर्मचारीको दैनिक गतिविधि निगरानी गरी संवेदनशील सूचना संकलन गरेको प्रहरीको आरोप थियो। एक दिन अगाडि महाशाखाले नै सामाखुसीका पुराना गुन्डा साजन महर्जनलाई 'व्यापारी धम्क्याएर रकम असुलेको' आरोपमा पक्राउ गरेको थियो।

साजन गुरुङ २०७० माघ २४ मा धादिङमा मारिएका पहलमान तामाङ घटनाका अभियुक्तसमेत हुन्। सडक निर्माण गर्ने ठेकेदारसँग पैसा असुल्ने विषयमा एमाले र माओवादीबीच विवादमा साजनसहितको टोलीको धारिलो हतियार प्रहारबाट पहलमानको हत्या भएको मुद्दा जिल्ला अदालत धादिङमा रहेकाले महाशाखाले साजनलाई जिल्ला प्रहरी कार्यालय धादिङ पठाएको छ ।

प्रहरीको हत्या योजना बुनेको र व्यापारी धम्क्याएर रकम असुली गरेको गम्भीर आरोपमा पक्राउ परेका कारजोन र साजन महर्जन भनेे महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

महाशाखाले कारजोन पक्राउको कारणमा प्रहरीको हत्या योजना उल्लेख गरेको थियो। घैंटे समूहका सदस्यले इन्काउन्टरको बदला लिन प्रहरीको हत्या योजना बनाएको र त्यसका लागि प्रहरीको दैनिकी निगरानी गरी सूचना दिन कारजोन परिचालन गरेसँगै उनको साथबाट एसएमएस समेत फेला परेको दाबीअनुसार उनीमाथि सरकारी कर्मचारीको जासुसी गरेकोमा जासुसी ऐन र हत्या योजनाका कारण गम्भीर अभियोग आकर्षित हुन्छ।

प्रहरीको आरोपअनुसार साजनले जबर्जस्ती रकम असुलेको प्रमाण भए उनीविरुद्ध सार्वजनिक अपराध ऐनको साटो चन्दा ऐनलगायत अन्य कानुन आकर्षित हुन्छन्। तर, उनीहरूलाई सार्वजनिक गर्दा लगाएको आरोपअनुसार प्रहरीले दुवै जनाविरुद्ध अभियोग लगाएको छैन।

प्रहरीको हत्या योजनामा संलग्नताको आरोप लागेका कारजोन र संगठित अपराधमा संलग्न रहेको, व्यापारी धम्क्याएर रकम असुली गरेको आरोप लागेका महर्जनविरुद्ध प्रहरीले सार्वजनिक अपराधको अभियोग लगाएको छ। हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयसँग न्यायीक हिरासतको अनुमति लिँदा प्रहरीले सार्वजनिक अपराध ऐनका आधारमा अनुमति मागेको छ।

प्रारम्भमा गम्भीर प्रकृतिको आरोप लागेकाविरुद्ध किन सार्वजनिक अपराधजस्तो फितलो अभियोग किन लगायो प्रहरीले?

काठमाडौं प्रहरी परिसरका डिएसपी दिनेश आचार्यले महाशाखाबाट आएको पक्राउ प्रतिवेदनका आधारमा उनीहरूमाथि अभियोग तोकिने गरेको जानकारी दिए।

'महाशाखाको प्रतिवेदनमा जे समेटिएको हुन्छ, त्यसैको आधारमा परिसरले मुद्दा प्रक्रिया अघि बढाउने हो,' पक्राउ प्रतिवेदनसँगै समेटिने प्रमाणका आधारमा अभियोग तय हुने जानकारी दिँदै आचार्यले भने, 'उनीहरूका विषयमा समेटिएका प्रमाणले सार्वजनिक अपराधमात्रै आकर्षित हुने भएकाले त्यही अनुसार मुद्दा प्रक्रिया सुरु भएको हो।'

अपराध महाशाखाका प्रवक्ता एसपी प्रकाश अधिकारी दुवै घटना अनुसन्धानको चरणमा रहेकाले तत्काल जुन कानुन आकर्षित भयो सोही अनुसार प्रक्रिया अघि बढाइएको बताए।

'तत्काललाई सार्वजनिक अपराध ऐन आकर्षित हुने देखिएकाले त्यही अनुसार हिरासतमा राखेर अनुसन्धान अघि बढाइरहेका छौं,' अधिकारीले भने, 'अनुसन्धान क्रममा फेला पर्ने प्रमाणका आधारमा अभियोग परिर्वतन गर्न सकिन्छ।'

प्रकाशित: २६ भाद्र २०७२ १९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App