३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

अमलेखगन्जको मिलाप

अमलेखगन्ज- अमलेखगन्जका भरत घले बजारटोलस्थित आफ्नै घरमा पत्नी गीता साहसँगै बसेर सन्तानको तस्बिर नियाल्दै थिए। जिल्लाको अर्को कुनामा सीमांकनमा असहमति र छुट्टै प्रदेशको माग गर्दै मधेसवादी दलको आन्दोलन चर्कंदै थियो। यही बेला भरत र मधेसी मूलकी गीता चार दशकअगाडि आफूहरूमाझ झाँगिएको पहाड–तराईबीचको प्रेमकथा सुनाउन थाले।


प्रेममा परेपछि भरतले गीतालाई २०३७ सालमा भगाएर राजधानी हिँडेका रहेछन्। त्यहाँ उनले एक वर्ष गुजारे। बुबाले पनि अन्तर्जातीय विवाह गरेकाले भरतको परिवारमा यो समस्या थिएन। तर साह परिवार भने अन्तर्जातीय विवाह स्वीकार्न तयार भएन। घले परिवारले गीतालाई बुहारीको रूपमा खुसीसाथ भिœयाए पनि साह परिवारले भने १० वर्षसम्म बोलाएनन्।

'अहिले यो सब सम्झँदा अचम्म लाग्छ,' गीताले भनिन्, 'त्यसयता दुवै परिवारमा सद्भाव छ, सबै खुसी छौं।'

जातीय अन्तर्घुलनको प्रभाव संस्कृतिमा समेत परेकाले पनि दुवै परिवार दंग भएका हुन्। दुवैले एक–अर्काको संस्कृतिलाई सम्मान गर्ने गरेका छन्। सँगसँगै उनीहरू कुनै पनि सांस्कृतिक पर्वमा रमाउँछन्। भरतका बहिनीहरू राखी लिएर माइत आउँछन् भने गीताका भाइ भाइटीका लगाउँछन्।

यसमा सबैभन्दा बढी खुसी गीता देखिन्छिन्। 'म त ल्होसारमा गुरुङसेनी बन्छु,' उनले हाँस्दै भनिन्, 'तीजमा पहाडिया अनि छठमा मधेसिनी।'

गीतालाई देशको राजनीतिबारे खासै चासो छैन। तर जिल्लामा भएका घटनाहरूले भने उनको मन पोल्छ। जो जोसँग झगडा भए पनि त्यसले उनको मन नराम्ररी कुँडिन्छ। उनले भनिन्, 'मधेसीलाई चोट लाग्दा भाइको याद आउँछ, पहाडियालाई केही भयो भने छोरालाई सम्झन्छु।' मधेसकी छोरी गीता र पहाडियाका छोरा भरतका दुई सन्तान छन्। दुवैमा पहाड–मधेसको मिश्रण देखिन्छ। आफ्नो सन्तानको अनुहारमा तराई–पहाड दुवै देखिने गीता सुनाउँछिन्।

भरतका बुबा हरिबहादुर घलेले पनि अन्तर्जातीय विवाह गरेका हुन्। वीरगन्ज–अमलेखगन्ज रेलसेवाको सुरुवातसँगै व्यवसायको सिलसिलामा उनी २००० सालतिर नुवाकोट लिखुबाट तराई झरे। होटल व्यवसाय सञ्चालन गर्ने क्रममा स्थानीय मनकुमारी थापासँग त्यसको पाँच वर्षपछि अन्तर्जातीय विवाह गरे। उनै हरिबहादुर र मनकुमारीको कान्छा छोरा भरत अहिले तराई क्षेत्रमा सामाजिक सद्भाव बढाउने काममा लागिपरेका छन्। 'हिमाल–पहाड–तराई, कोही छैन पराई,' उनले भने, 'गीताको माइती र म यही विचार बोकेर एक–अर्का समुदायलाई सम्झाउन, बुझाउन थालेका छौं।'
malati and laxmi
बाराको अमलेखगन्जकी मालतीदेवी साह पहाडी समुदायकी बुहारी लक्ष्मी श्रेष्ठसँग। चार वर्षअगाडि लक्ष्मीका पतिको मृत्यु भए पनि मालतीदेवीले उनलाई छोरीजस्तै गरेर राखेको बताइन्।


२००५ सालमा हजुरबुबाले गरेको अन्तर्जातीय विवाहको प्रभाव छोरा हुँदै नातिनीसम्म पुगेको भरत सुनाउँछन्। छोरीहरूले पनि अन्तर्जातीय बिहे नै गरे भने भरतका दिदीहरूले यसअघि नै अन्तर्जातीय विवाह गरेका रहेछन्। 'अब त घले जात नै हराउने हो कि भनेर चिन्ता पो लाग्न थाल्यो,' उनले हाँस्दै भने, 'त्यही बुझेर होला छोराले गुरुङसँग बिहे गरेको छ।'

भरतमात्र होइन उनको गाउँका धेरैले अन्तर्जातीय विवाह नै गरेका छन्। मेरो अगाडिपट्टिको घरमा तराईको भाइले पहाडी केटीसँग विवाह गरेको छ,' भरतले सुनाए, 'पछाडिपट्टिको मधेसीको घरमा उदयपुरकी चेली छिन्।' अमलेखगन्ज गाविसका थुप्रै ठाउँमा हुने गरेको अन्तर्जातीय विवाहले त्यहाँको सामाजिक, सांस्कृतिक कार्यमा सहिष्णुता झाँगिएको छ।

अमलेखगन्ज गाविसका सचिव विजयकान्त झा गाविसको १२ हजार जनसंंख्यामध्ये थुप्रैले अन्तर्जातीय विवाह गरेको बताउँछन्। 'आर्थिक वर्ष ०७१/७२ मा दर्ता हुन आएका ४० जोडीमध्ये १५ जोडीको अन्तर्जातीय विवाह भएको छ,' उनले भने, 'मधेसी–पहाडीदेखि मुसलमान–हिन्दु जोडी पनि बिहे दर्ताका लागि आउने गरेका छन्।' सरकारी कामको सिलसिलिमा बाहिर गइरहने झा अमलेखगन्जजस्तो सामाजिक माहोल अन्त नदेखेको सुनाउँछन्, 'जसले जोसँग बिहे गरे पनि यहाँ जात र रङकै आधारमा कसैले कसैलाई भेदभाव गरेको पाएको छैन।'

अजिज बने अजिउल्लाह

दुई दशकअगाडि अजिउल्लाह शेखले अमलेखगन्जस्थित तारा क्षेत्रीको घरमा सिलाई पसल खोलेका थिए। बजारमा दिनभर कपडा सिउने उनको प्रेम उनै तारासँग बस्यो। यो सम्बन्ध परिवारले स्विकारेन। अवस्था सहज हुने नदेखेपछि उनीहरू दुवैले घर छाडेर हिँडे। पछि क्षेत्रीतर्फका परिवारले बोलाएपछि उनीहरू खुसी हुँदै फर्किए। अहिले उनीहरू नौ वर्षीय छोरा साहिल र ११ वर्षीया मुस्कानका साथ रमाउँदै छन्।

'जात, धर्मभन्दा ठूलो माया हुँदो रहेछ,' ताराले भनिन्, 'अहिले मलाई तीज र इद दुवै प्यारो लाग्छ।' केही समयअगाडि इदमा रमाएकी उनी तीजको लागि माइती जाने तयारीमा छिन्। दुवै धर्मको संस्कार बुझेकी उनले हिन्दु–मुस्लिमकै माया पाएकी छिन्। माइतीतिर 'नमस्कार' भन्ने गरेकी उनी श्रीमान्का आफन्तको अगाडि 'सलाम वालेकुम' भन्ने गर्छिन्। 'नमस्कार र सलाम वालेकुम त मेरो मुखमै छ,' उनले भनिन्, 'मलाई यो दुवै भन्दा राम्रो लाग्छ।'

तारासँगको वैवाहिक सम्बन्धमा अजिउल्लाह पनि खुसी छन्। पहाडी समुदायको संगत बढ्दै गएपछि साथीहरूले उनको नाम नै फेरिदिए। सबैसँग मिलनसार अजिउल्लाहलाई साथीहरूले नयाँ नाम दिए— अजिज। जसको अर्थ हुन्छ, प्यारो।

अजिजका दाजु मुन्नाले पनि हिन्दु समुदायकी छोरीसँगै बिहे गरेका छन्। 'परिवारमा फरक धर्म र संस्कारमा जन्मिएका भेला भएका छौं,' उनले भने, 'म दसैंमा ससुरालीमा गएर भोज खान्छु, उहाँहरू पनि इदमा यहाँ आउँदा निकै रमाउनुहुन्छ।'

तराइको काखमा पहाडकी छोरी

उदयपुर कटारीकी लक्ष्मीदेवी श्रेष्ठले २०४७ सालमा अमलेखगन्जका धीरेन्द्र साहसँग बिहे गरिन्। फरक समुदायका युवकसँग बिहे गर्दा सुरुवाती दिनमा उनलाई समस्या आइलाग्यो। माइतीपक्षले नाक खुम्च्याए पनि बिस्तारै उनीहरूले सहज रूपमा लिन थाले। लक्ष्मी पनि मधेसी परिवारसँग घुलमिल हुन थालिन्। चार वर्षअघि धीरेन्द्रको निधन भयो। अहिले लक्ष्मी चार छोराछोरी र परिवारका अन्य सदस्यसँग बस्दै आएकी छिन्।

श्रीमान्को निधनपछि सासूले आफूलाई छोरीजत्तिकै माया गर्न थालेको उनी सुनाउँछिन्। 'यो मेरी छोरी हो। उनी साँच्चिकै लक्ष्मी बनेर आएकी छिन्,' सासू मालतीदेवी भन्छिन्, 'छोरो हामीसँग छैन तर यिनको मायाले छोराको याद मेटाउने गरेको छु।'

देवर र देउरानी पनि लक्ष्मीलाई खुबै सम्मान गर्छन्। 'हाम्रो लागि उहाँ आमाजत्तिकै हो,' देवर कृष्णले भने, 'हामी सानो छँदा हेरचाहमा आमासँगसँगै निकै काम गर्नुभयो।'

लक्ष्मीलाई मालतीको परिवारले दिएको सम्मानले छिमेकीसमेत प्रभावित भएका छन्। पूर्वी उदयपुरकी लक्ष्मी अहिले तराईको साह परिवारमा रमाएकी छिन्। उनलाई दुवै समुदायका मानिस प्यारो लाग्छ। 'मेरो श्रीमान् पनि पहाडी समुदायका मानिससँग खुबै मिलेर बस्नुहुन्थ्यो,' लक्ष्मीले भनिन्, 'मलाई पनि मधेसका मानिस आफ्नैजस्तो लाग्छ।'

अमलेखगन्जमा तराई र पहाडी समुदायका बीचमा मात्र होइन बाहुन–क्षेत्री, तामाङ–बाहुन, गुरुङ–साह लगायतका थुप्रै जोडी भेटिन्छन्। बानियाँ थरका युवकसँग बिहे गरेकी सोनिका तामाङ विवाहका लागि कूल होइन मन मिल्नुपर्ने धारणा राखिन्। उनका श्रीमान्का पाँच दाजु–भाइमध्ये तीन जनाले पनि तामाङसँगै बिहे गरेका छन्। 'सबैले एक–अर्कालाई माया र सम्मान गर्ने गरेका छांै,' उनी भन्छिन्, 'आ–आफ्नो पर्व सबैले मिलेर मनाउने गरेका छांै।'

अन्तर्जातीय बिहेको प्रभावले बढेको सद्भावकै कारण हुन सक्छ गाउँमा जातीय झैझगडा नहुने गरेको बताउँछन्, अमलेखगन्ज प्रहरी चौकीका सइ पदम बस्नेत। 'यो गाउँमा सबै समुदायका मान्छे रमाएर बसेका छन्,' उनले भने, 'यहाँको उदार समाज देख्दा खुसी लाग्छ।'

अन्तर्जातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोण पनि राम्रो छ। अन्य ठाउँको लागि यहाँको सामाजिक सम्बन्ध नौलो कुरा भए पनि यहाँको लागि यो सामान्य भइसकेको छ। 'पहिला–पहिला भागेर विवाह गर्ने चलन थियो,' २०४४ सालदेखि अमलेखगन्ज क्षेत्रको बारेमा जानकारी राखेका गाविस सचिव विजयकान्त झाले भने, 'पछिल्लो समयमा परिवारका सदस्य एक–आपसमा राजी भएरै अन्तर्जातीय विवाह गराइदिने चलन बढेको छ।'

अमलेखगन्जमा रेलवे सेवा बन्द भएसँगै यहाँका गोदामघर, गेस्टहाउस, पुरातात्विक महत्वको ढुंगेघारा अहिले जीर्ण हालतमा छन्। तर, रेलवे सेवाको सुरुवाती दिनहरूमा हरिबहादुर घलेहरूले सुरु गरेको अन्तर्जातीय प्रेम र सामाजिक सद्भावको बगैंचा अहिले फैलिँदो छ।

प्रकाशित: २५ भाद्र २०७२ २०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App