विश्व नम्बर दुई फेडेररलाई बेल्जियमका स्टेभ डार्किसलाई पराजित गर्न ८० मिनेट लाग्यो। १७ पटकका ग्रान्डस्लाम विजेता फेडेररले ६–१, ६–२, ६–१ को सेटमा जित निकालेका थिए।
३३ वर्षे स्विट्जरल्यान्डका फेडेरर २००४ देखि २००८ सम्म विजेता बनेका थिए भने २००९ मा उपविजेता भए। उनले अब जर्मनीका फिलिफ कोल्चरेइबरसँग खेल्नेछन्।
'प्रायजसो यस प्रतियोगितामा मैले राम्रो सुरुआत गरेको छु,' फेडेररले भने, 'यसको कन्डिसनसँग म सदैव रमाउँछु। बल, कोर्टको स्पिड र यहाँको वातावरण मलाई राम्रो गर्छ।'
तेस्रो वरीयाताका मरेले फ्रान्सका एड्रिन मन्नारिनोसँग पहिलो दुई सेट गुमाएर पनि तेस्रो चरणको यात्रा पक्का गरे। २०१२ का विजेता मरेले आर्थर आसे रंगाशालामा ५–७, ४–६, ६–१, ६–३, ६–१ को सेटमा जित हात पारे। मरेले अन्तिम १६ का लागि ब्राजिलका थोमज बेल्लुसीसँग प्रतिस्पर्धा गर्नेछन्।
२८ वर्षे मरेलाई पहिलो चरणमा निक किर्गोसलाई हराउन पनि ४ सेटसम्म खेल्नुपरेेको थियो।
पूर्व नम्बर एक तथा २००१ का विजेता अस्ट्रेलियन हेविट दुई सेट जिते पनि खेलमा फर्किन नसक्दा प्रतियोगिताबाट बाहिरिएका छन्। ३४ वर्षे उनी अस्ट्रेलियाका बर्नान्ड टोमिकसँग ६–३, ६–२, ३–६, ५–७, ७–५ को सेटमा पराजित भए। उनले जनवरीमा हुने अस्ट्रेलियन ओपनसँगै टेनिसबाट संन्यास लिनेछन्।
'मलाई प्रतियोगिताम अझै अघि बढ्छु भन्ने लागेको थियो,' हेविटले भने, 'निकै प्रतिस्पर्धात्मक रह्यो, विषेशतः अन्तिम सेट मेरो पक्षमा आउँछ जस्तो लागेको थियो।'
पाँचौं वरियाताका स्विस खेलाडी स्टान वावरिन्का दक्षिण कोरियाका चुङ हेइनलाई ७–६(७/२), ७–६(७/४), ७–६ (८/६)ले हराउँदै तेस्रो चरणमा प्रवेश गरेका छन्।
ब्रिटिसकी ९७ औं वरीयताप्राप्त जोहान्ना कोन्टाले विम्बल्डनकी उपविजेता गार्बिन मुगुरुजालाई हराउन युएस ओपेनमा महिलातर्फ कीर्तिमानी लामो समय लिइन्। कोन्टाले ७–६(७/४), ६–७(४/७), ६–२ को जित निकाल्न ३ घन्टा २३ मिनेट समय लगाइन्। यसअघि २०११ मा अस्ट्रेलियाकी समन्था स्टोसुरले नाडिया पेट्रोभालाई हराउन लगाएको समय सबैभन्दा लामो थियो।
प्रकाशित: १८ भाद्र २०७२ २०:४४ शुक्रबार





