यस्तो कथा सुन्दा चाख लाग्ने र अचम्म को रुपमा लिने गरिन्छ। पाँचथरको अमरपुरमा भने यस्तै घटना भएको छ। कानुनले वर्जित गरेको तथा प्रमाण नभएको घटनामा दुई जनालाई यस्तो गरिएको हो।
अमरपुरको एक गाउँमा बुहारीसँग शारीरिक सम्वन्ध राखेको आरोपमा कपाल मुण्डन गरी एक व्यक्तिलाई कालोमोसो तथा जुत्ताको माला लगाएर गाँउ निकाला गरिएको छ। छोरा विदेशमा भएको अवस्थामा बुहारीसँग शारीरिक सम्बन्ध राखेका भन्दै ५२ वर्षीय एक अधवैसे र ३९ वर्षीय महिलालाई स्थानीय गाउँलेले जुत्ताको माला लगाएर गाँउ परिक्रमा गराएका छन्।
बुहारीसँग अनैतिक सम्बन्ध राखेको अारोपमा गाउँलेहरूले ससुराको चारपाट मुण्डन गरी कालो मोसो दली जुत्ताको माला लगाएर मेची राजमार्गमा पर्ने भालुचोक बजार पुर्याइ छाडेका थिए। पीडित महिलालाई पनि कालो मोसो दलेर जुत्ताकोमाला लगाएर बजार ल्याएका थिए। दुवै जनालाई गाउँ निकाला गरेको मुचुल्का बनाई औँठा छाप गर्न लगाएको पीडित महिलाले बताइन्।
उनीहरुलाई बजारमा ल्याएपछि हेर्नेको भिड लागेको थियो। पीडितहरु नजिकको प्रहरी कार्यालयमा पुगेका थिए। दुवै जना प्रहरी चौकी आएपछि प्रहरीले उक्त कामा दोषी भएको आरोपमा पाँच जनालाई प्रक्राउ गरेको छ।
'घटना सुन्दै लाजमर्दो छ। विना प्रमाण आशंकाको भरमा यस्तो गर्नु जघन्य अपराध हो। दुनियाँलाई छक्क बनाउने घटना भएको छ' जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रविराज थपलियाले नागरिकन्युजसँग भने, 'कानुन हात लिनेलाई कारवाही हुन्छ।' पीडितले घटनामा दोषी देखाएकालाई प्रहरीले प्रक्राउ गरेको छ। उनीहरुलाइ अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको छ।
व्याक्तिगत रिसइवीका कारणले यस्तो घटना भएको पीडितको आरोप लगाएका छन्। प्रहरीले गाउँमा फर्किने वातावरण बनाइदिइने बताएसँगै पीडितहरु घर फर्किने तयारीमा छन्। 'हामिलाई यस्तो गर्नेलाई कारवाही होस् भन्ने चाहान्छौ। जुत्ताका माला लगाई कालोमोसो दलेर गाँउभरी घुमाएर वेइज्जत गरियो', पीडित महिलाले भनिन्। आफूहरुको त्यस्तो सम्बन्ध नभएको उनीहरुले दाबी गरे। २०/२५ जनाको समूहले भरुवा बन्दुक देखाएर स्थानीय निमाविमा लगेर कुटपीट गरेको पीडितले बताए।
अनैतिक सम्बन्धबारे यसअघि पनि उनीहरुलाई सम्झाएको गाँउलेले दाबी गरेका छन्। प्रमाण विना आरोप लगाउनु नुहुने इक्पेक्टर थपलिया बताउँछन।
'कानुन हातमा लिएर यस्तो गर्न कसैले पाउँदैन। दोषि नै भएपनि कानुनी उपचार खोज्नु पर्थ्यो' थपलियाले भने।
प्रहरीले स्थानीय मनकेशर तामाङ, समर तामाङ, दिलविर तामाङ, वर्ण तामाङलाई र नन्दकुमार तामाङलाई पक्राउ गरेको छ। उनीहरुलाई सार्वजनिक मुद्दा चलाउने तयारी भएको छ।
प्रकाशित: १ भाद्र २०७२ ०५:४६ मंगलबार





-600x400.jpg)