'आज निकै प्रफुल्ल देखिनु भएको छ नि' पत्रकारले प्रधानमन्त्रीलाई सोधेका थिए 'आज सहमति हुने नै भयो?' जवाफमा प्रधानमन्त्रीले भने 'आशा गरौं संबिधान आउँछ, सबैकुरा मिल्छ।' ६ प्रदेशको सिमाना मोटामोटी टुंगिएको नेताहरुले बताएका छन्। नागरिकता र धर्मका बिषयमा देखिएको विवाद टुंग्याउने अन्तिम प्रयासमा शीर्ष नेताहरुको बैठक जारी छ।
स्राेतका अनुसार विशेष समितिका निर्णयहरुको प्रतिबेदन तयार पार्न कार्यादलमा रहेका केही सदस्यहरुको बेग्लै गोप्य बैठक बसिरहेको छ। शीर्ष नेताहरुको बैठकमा सहभागी एक नेताले नागरिकन्युजसँग भने 'करिव सहमति भयो, अब हस्ताक्षर गर्न मात्रै बाँकी छ।' ति नेताको भनाई छ 'आज जसरी पनि सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको छ।'
संबिधान सभाको बैठक आइतबार १ बजेका लागि डाँकिएकोमा पुनः समय परिवर्तन गरि आजै साँझ ६ बजे बैठक बस्ने सूचना दिइएको थियो। पछि फेरी समय फेरेर ८ बजेका लागि बैठक डाँकिएको छ। भोलिका लागि डाँकिएको संबिधान सभाको बैठकको समय फेरिएर आजै साँझ डाँक्नुलाई सहमति हुने संकेतको रुपमा लिइएको छ।
यसैबीच फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले तराई जिल्ला, झापा, मोरङ सुनसरी र कैलाली कञ्चनपुर पहाडमा मिसाए सहमति पत्रमा हस्ताक्षर नगर्ने बताएका छन्। गच्छदारको भनाई उद्धृत गर्दै फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले भने, विवादीत जिल्ला पहाडमा मिसाइए सहमति पत्रमा हस्ताक्षर गर्दिन।'
प्रकाशित: २३ श्रावण २०७२ ०५:१७ शनिबार





