श्रम, स्वप्न र संघर्षप्रतिको असीम अनुरागबाट तयार हुन्छ, कवि गिरीका कविताको बुनोट। यो सामाजिक विषमताको अनुभवलाई हृदयको आरनमा खारेर तयार भएको काव्यिक अभिव्यक्ति हो। आफ्नो कविता रचना प्रक्रियाबारे कवितामै बोल्छन् उनी–
म कविता
म जन्मिएँ उसका आवेगहरूबाट
उसका सुख–दुःख, प्रेम–घृणा
स्वप्न र सङ्घर्षहरूबाट
म उसको प्रथम भाषा
म जन्मिएँ
उसका जीवन्त रागहरुबाट
(परिचय)
यसरी जन्मिन्छ, अमर गिरीको आधुनिक 'मेटा पोइट्री'।
सिर्जनाको पक्षधरता, गतिशील जीवनको चाहना र लक्ष्यउन्मुख परिणति नै प्रगतिवादी कवि गिरीका काव्यिक मानक हुन्। त्यसैले उनका कवितामा सुन्दरताको प्रशंसा पाइन्छ। तिनमा रूपान्तरणको आकांक्षाले प्रेरित विम्बहरूले प्राथमिकता पाउँछन्। अनि, तिनमा सामूहिक चाहनाको उपादेयता देखिन्छ। वृक्षलाई केन्द्रमा राखेर उनले नरम संरचनामै पनि अति चित्ताकर्षक कविता रचेका छन्—
वृक्ष सुन्दर छ
किनकि
असंख्य कष्टहरूका बीच पनि
यो फुल्छ
र धर्ती
सुगन्धित हुन्छ
(वृक्ष)
उनका कवितामा राजनीतिका तिकडमहरूले लुछेका सामान्य मान्छेका सपनाहरूले स्थान पाएका छन्। राजधानीको स्वार्थपूर्ण सौदाबाजीले सीमानामा जनताले भोगका पीडाको गहिरो अनुभूति पाइन्छ। महाकाली नदीको बालुवा उडिरहने बगर र चाँदनी दोधाराको बिरानु लाग्ने भूगोलका दुःखहरूले जेठको घामजत्तिकै पोलिरहेछन्। तत्कालीन माओवादीका पक्षबाट लडेर हिँडेको तर गोली खाई अपहेलित बनेको पात्र दुःखीरामका चिन्ता र आक्रोश पनि छन्, यी कवितामा। असंख्य मानिसलाई आधारशिविरमै अलपत्र छाडेर सत्तामा आसीन खलनायकहरूले देशलाई बलात्कारको क्रीडाभूमि बनाएको अनि बारम्बार आफ्ना स्वप्नसँग जिस्किएको अनुभूति छ ती सबाल्टर्न पात्रहरूमा। बाँसुरी खोसिएर सुरविहीन बनाइएका नारीका चिन्ता र चासो पनि उनका कविताले समेटेका छन्।
शब्दहरू कविका हतियार हुन्। र, हतियारमा सान लगाउन चाहिन्छ उसमा विचारको दृढता। शब्दमा विचार उनेर सांस्कृतिक क्रान्तिमा सक्रिय हुनेका निम्ति प्राथमिक सर्त हुन्छ, शब्दप्रतिको विश्वास। कवि गिरीमा शब्दको सौन्दर्य चिन्ने क्षमता र तिनको सामर्थ्य पर्गेल्ने दक्षता दुवै छ। शब्दहरूकै संयोजनबाट एउटा स्वप्निल संसारको निर्माण हुन्छ भन्ने आत्मविश्वास यसरी देखाएका छन्, उनले—
शब्दका
हजारौं घोडाहरू चढेर
म निस्कन्छु यात्रामा
रचना गर्छु सपनाहरूको
एक नयाँ संसारको
(शब्द)
कविले नयाँ र सुन्दर संसारको रचनाका निम्ति चाहिने उज्योलोको जोहो पनि कवितामै गरेका छन्। कवि त्यही आभाकै मोहमा जीवनलाई चलाउँछन् र नवीन चिन्तनका आधारमा पृथक् सौन्दर्य सिर्जनाको प्रयास गर्छन्। यही चिन्तनले हो गिरीलाई समसामयिक कविहरूका बीचमा विशिष्ट बनाएको। उनी घामका हातहरूको प्रेरणा र घामले संकेत गर्ने सौन्दर्यका बारेमा लेख्छन्—
उसका न्याना हातहरूको कोमल स्पर्शमा
म चाहन्छु
एक नयाँ यात्राको थालनी गर्न
एक नयाँ इतिहास
एक नयाँ सौन्दर्यको रचना गर्न
उसको चौडा काँधमाथि बसेर
गाउन चाहन्छु म
एउटा अमर गीत
(घाम र म)
यसअघि नै 'घाम छेक्ने पहाड', 'तर पनि हामी जीवित छौं' र 'दुःसाध्य समय' जस्ता कविता संग्रह प्रकाशित गरिसकेका गिरी प्रगतिवादी सौन्दर्यशास्त्रका परिपक्व प्रयोक्ता हुन्। पहिला संग्रहका भन्दा 'शब्दहरूका बीचमा' का कविता पृथक् र अझ सुन्दर छन्। नेपाली समाजमा व्याप्त असमानताबाट व्यथित हुँदै पीडितलाई अधिकतम समानता, न्याय र सुखको खोजीमा अग्रसर गराउने मुक्तियात्रामा उनका कविता जागरुक छन्।
आफ्नो संस्कृतिको बास्नामा गर्व गर्दै अग्रगामी चिन्तनलाई प्रसार गर्ने दिशामा पनि उनका कविता निकै शक्तिशाली रहेका छन्। यी कविता पढेर पाठक विभेदमूलक सामाजिक संरचनाप्रति संवेदनशील हुन्छ र सुनिश्चित विचार निर्माण गर्छ। अनि कवि र कविताको सिर्जनशीलताको संरक्षण हुन्छ त्यस्तै जनसाधारणबाट, जसरी यो 'ग्लोबल भिलेज'को बजारीकरणबाट अतिक्रमित संस्कृतिको सुरक्षा केवल मौलिकता बोकेको इन्द्रेनी संस्कृतिका वस्तुबाट मात्र सम्भव हुन्छ। कविले उद्घोष गरेजस्तै छ अहिलेको बजारको युद्ध— कर्पोरेट बुद्धिजीवी भर्सेस मौलिकता प्रवर्द्धन गर्ने सामान्य मानिस। नेवाली खाजा चटामरीलाई विम्ब बनाएर विश्वबजारको प्रतिरोधी चेतना प्रकटित छ उनको कवितामा—
यस ग्लोबल दुनियाँमा
सत्तारुढ कुनै ठूलो मानिसले होइन
कुनै कर्पोरेट बुद्धिजीवी
कुनै एलिट नागरिकले होइन
मलाई बचाउनेछन् चटामरी र सामान्य मानिसले
मेरो सुगन्ध
तिनकै प्रतिरोधले
राख्नेछ सुरक्षित।
(चटामरी)
कृति : कविता
लेखक : अमर गिरी
प्रकाशक : याम्बुरी बुक प्वाइन्ट
पृष्ठ : १०४, मूल्य : १५०/–
प्रकाशित: २२ श्रावण २०७२ २२:५७ शुक्रबार





