५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

जमिम साह हत्यामा संलग्न पूर्व डिएसपी चन्दको बयान भएन

काठमाडौं–सञ्चार उद्यमी जमिम साह हत्या संलग्न रही पक्राउ परेका नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक जगदीश चन्दलाई प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको छ। समय अभावका कारण आज उनको बयान हुन सकेन।

 

बैतडी जिल्ला दशरथचन्द नगरपालिकाका स्थायी बासिन्दा ४६ वर्षीय चन्दलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गए राति नयाँबानेश्वरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो।

महाशाखाले चन्दलाई महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएपछि परिसरले आज अदालतमा प्रस्तुत गरेको हो।

dsp

पक्राउ पूर्व डिएसपी चन्द

परिसरका प्रवक्ता विश्वराज पोखरेलका अनुसार चन्द यसअघि नै ज्यान मार्ने मुद्दा र कर्तव्य ज्यान मद्दामा अदालतबाट फरार अभियुक्तको रुपमा रहेकाले आज अदालतको जिम्मा लगाउने तयारी गरिएको थियो।

अदालतमा वयान हुन नसकेपछि चन्दलाई आज परिसरमै फिर्ता ल्याइएको छ। उनलाई पुनः भोलि वयानका लागि लगिने प्रवक्ता पोखरेलले जानकारी दिए।

स्पेस टाइमका सञ्चालक जमिम साह होटल याक एण्ड यतिको हेल्थ क्लबबाट पानी पोखरीस्थित घर फर्कदै गरेको अवस्थामा २०६६ माघ २४ गते लाजिम्पाटस्थित फ्रेन्च राजदूतावास अगाडि मुख्य सडकमा पुग्दा मोटरसाइकलमा आएका दुई व्यक्तिमध्ये पछाडि बस्ने व्यक्तिले जमिम साह चढेको ना१च २१५१ नं को पजेरो मित्सुबिसीमा गोली प्रहार गरेका थिए।

गोली प्रहारबाट घाइते भएका साहलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो।

गोली प्रहारमा संलग्न व्यक्तिलाई सामान जुटाउनेदेखि, बस्ने, भगाउनेसम्मको कार्यमा चन्दले भूमिका खेलेको प्रतिवेदन प्रहरीले तयार पारेको थियो। रासस

प्रकाशित: १३ असार २०७२ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App