३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

जोगीमाराका नपुरिने घाउ

जीवनका रङहरू मेटिँदैन रहेछन्, कहिल्यै। सिउँदोमा फक्रेका गुराँसलाई नियतिको क्रुरताले चुँडी लगे पनि फेरि फक्रिँदो रहेछ गुराँस, सिउँदोमा। नृशंसताको खुकुरीले सोœयाम्मै पारे पनि फेरि पलाउँदा रहेछन्, बाँसघारीमा टुसाहरू। ठूलै आँधीहुरीले छिन्नभिन्न पारे पनि जीवनका खुसीहरूमा कहाँ हार्दो रहेछ र मान्छे! आँसुको पोखरीबाट पनि बाँकटे हान्दै जीवनको इन्द्रेणी किनारमा उभिन पुग्ने रहेछ— मान्छे।जीवनको यही सत्यानुभूति गरेँ मैले यसपटक। जब पुगेँ धादिङ जोगीमाराका गैरीगाउँ, जयपुरी, सतिभञ्जयाङ, ओस्राङ र हेक्राङ गाउँहरूमा। यी तिनै गाउँ हुन्, जहाँका १४ वर्षदेखि ६० वर्षसम्मका मानिस जीवन गुजाराको अभागी यात्रामा २०५८ मा पुगेका थिए कालिकोटको कोटवाडामा। विमानस्थल बनाउन गएका ती निरीह मजदुरहरू राज्यसत्ताका आँखामा माओवादी ठहरिए। फागुन १२ गते जोगीमाराका १७ जना र अन्य १८ जना गरी ३५ जनालाई एकै घानमा पारियो ठहरै। जीवनको सीमान्त सुख र दुई छाकको जोहो खोज्न गएका ती मारिए निर्ममतापूर्वक। स्वजनहरूले न सास पाए, न पाए लास नै।
यो घटनाको चार महिनापछि यिनै गाउँहरूमा पुगे— पत्रकार मोहन मैनाली। तिनले प्रियजन र आफन्त गुमाएका यही ठाउँका दुःखी मनुवाहरूको कारुणिक मनोदशा र द्वन्द्वले चिराचिरा पारेको तिनको जीवनको अवस्थालाई विभिन्न समाचार माध्यमबाट सार्वजनिक गरे। लगत्तै जोगीमाराका जिउँदाहरू नाामक वृत्तचित्र बनाए र देखाए। त्यसपछि उनले कोटवाडा पुगेर त्यहाँको पनि जीवन्त रिपोर्टिङ गरे। जोगीमारामा संसारकै ध्यान गयो। जोगीमाराको भाग्यमा परेको द्वन्द्वको घाउले सिंगो देशलाई स्तब्ध पार्योा।
घटनाको १४ वर्षपछि २०७१ को अन्तिमसम्ममा देशको परिस्थितिमा आमूल परिवर्तन आइसकेको थियो। माओवादीको भीमकाय जनयुद्ध सत्ता र सडक हुँदै संविधानसभाभित्र सीमित भइसकेको थियो। एउटा कहिल्यै नसकिने संक्रमणकालमा फसेको झैं देखिदैथ्यो देश। यही बेला धेरै ढिलो गरेर पत्रकार मैनालीको नियात्राको किताब आयो बजारमा— मान्ठा डराएको जुग। त्यो किताबले १४ वर्षअघि पुर्यारयो स्मृतिलाई। त्यसमाथि चर्चा–परिचर्चा भए। प्रकाशक फाइनप्रिन्टले किताबमाथि टिप्पणी लेख्न भन्यो। लेख्नेहरूलाई लेखककै मार्गदर्शनमा घुमाउने नयाँ परिकल्पना सार्वजनिक गर्योण। हामीले लेख्यौं, छानियौं र रोज्यौं जोगीमारा नै। हामी हेर्न चाहन्थ्यौं, दुःखको आयु। चाहन्थ्यौं हेर्न, द्वन्द्वका घाउहरूमा बसेको खाटा वा त्यसको गहिराइ।
गएको जेठ २४ र २५ गते हामी थियौं, जोगीमाराका तिनै ठाउँहरूमा। लेखक मोहन मैनाली, प्रकाशक अजित बराल, पाल्पाली साहित्यकार पूर्ण ढेंगा मगर र म।
तिनै मानिसका बीचमा, जसले गुमाएका थिए प्रियजन। तिनका मार्मिक अनुभूतिले छोइएर। तिनका जीवनको उतारचढावले भिजेर। तिनका बीचमा देख्यौं हामीले— सुक्दै गएका आँसुको हुग्दीखोला। देख्यौं— शिशिरपछि पलाएका पालुवा र बादलले घेरिएकै सही, रातपछिको घाम।
चितवनका पत्रकार रमेशकुमार पौडेल समेतको एक टोली जोगीमाराका दुई वटा स्कुललाई जस्तापाता र अन्य राहत सामग्री पुर्यामउन जाँदै थियो। हामीले उनीहरूकै गाडीमा लिफ्ट पायौं गैरीगाउँसम्म। त्यहाँ हामीले भेट्नु थियो, बेलबहादुर श्रेष्ठलाई जसका जेठा छोरा राजकुमार कालिकोटमा मारिएका थिए। बेलबहादुर भेटिएनन्। हामीले कुरा गर्यौंर, उनकी कान्छी बुहारी र तिनका नानीहरूसँग। राजकुमारको हत्यापछि जसोतसो सम्हालिएको त छ घर, तर छैन व्यवस्थित। राजकुमारकी आमाको छोराकै सुर्ताले ज्यान लियो। बेलबहादुरले अर्को बिहे गरे तर उनको स्थायित्व छैन। कहिले चितवन, कहिले धादिङ। राजकुमारकी श्रीमतीले अर्कै घरबार गरिन्। किशोर छोराहरू अमृत ११ र भीष्म आठ कक्षामा पढ्दै छन्। अमृत भने भौंतारिइरहेका छन्, यहाँत्यहाँ। ढलेको हैन तर हल्लिएको रहेछ यो घर। 
गैरीगाउँबाट उकालै उकालो गएर बास बस्न पुग्यौं, जयपुरीको सानो होटलमा जसको आँगनसँग जोडिएको थियो एउटा चौतारी। चौतारीमा उभिएको थियो बूढो समीको रूख। अलिपल्तिर थियो, मुस्किलले भलिबल खेल्न पुग्ने मैदान; जहाँ ओर्लंदो साँझको धूमिल प्रकाशमा नानीहरू फुटबल खेल्दै थिए। छेउमाथि लहरै पाल। राति वरपरका सबै त्यही पालभित्र सुते। मोहन, दुर्गा र म होटलकै पालिमुनि सुत्यौं। अजितचाहिँ आँगनमा। 
साँझमा घरघरमा कतै सोलारको टुकी र कतै टर्चलाइट बलेका थिए। हामीले भने मोबाइल फोनले काम चलायौं। गाउँभरि नै बिजुलीको तार अड्याउने काठका पोल देखिए पनि कतै बिजुली थिएन। वैशाख १२ गतेदेखि नै भुइँचालोले पोल बंग्याएको भनी लाइन काटिएको थियो। भुइँचालोलगत्तै काठमाडौंमा युद्धस्तरमा काम गरेको भनेर स्याबासी खान खोज्ने विद्युत प्राधिकरण राजधानी मुन्तिरको गाउँको अँध्यारोमा कति निरपेक्ष छ भन्ने कुरा देखिएको थियो यहाँ। 
२५ गते बिहानै सुरु भयो फेरि उकालोको यात्रा सतिभञ्जयाङलाई गन्तव्य बनाएर। त्यहाँ भेट्नु थियो हामीले अमरबहादुर थापा, ज्ञानबहादुर विक र तिनका परिवारलाई। दुई घन्टाको उकालो काटेर भञ्याङ पुगेपछि एउटा दोकानमा खाना खाएर फेरि उकालो चढ्न सुरु गर्दा गर्मीले आफ्नो यौवन देखाउन थालिसकेको थियो। अलिकता उकालो, अनि तेर्सो र फेरि लामो ओरालोपछि पुग्यौं, अमरबहादुरको घरमा। संयोगवश त्यहीँ भेटिए, ज्ञानबहादुर विक पनि। 
अमर र उनकी जहान धनमायासँग भलाकुसारी गर्यौंर। तिनका जीवनका दुःख उस्तै थिए। माइला छोरा हिमबहादुर खेतीपाती र मजदुरी गर्छन्, कान्छा होमबहादुरलाई जेनतेन कक्षा १२ सम्म पढाए। छोरी बबिताको बिहे गरिदिए, दुई नातिना भइसकेका छन्। दुवै छोरा आम नेपाली बेरोजगार युवाले जस्तै पासपोर्ट बोकेर अरब जान म्यानपावर कम्पनी धाइरहेछन्, तर छैन उनीहरूसँग प्रतिव्यक्ति डेढलाख रुपैयाँ। भुइँचालोले चिरा पारेको घरको पिँडीमा बसेर कुरा गर्दा अमरबहादुरले जेठा छोरा भीमबहादुरको वियोगलाई आँखामा प्रतिविम्बित हुन दिएनन्, तर आमाको मन न हो धनमायाको आँखा रसाइहाल्यो।
अमरबहादुरकै घरमा कुरा ज्ञानबहादुरसँग कुरा गर्यौंल। उनका छोरा टेकबहादुर र सानुलाई निलेको थियो, कोटवाडा हत्याकाण्डले। ज्ञानबहादुर अरू गाउँलेसँगै आइसीआरसीको पहलमा कोटवाडा पुगेका थिए। त्यहाँ छोराहरू अन्तिमपटक उभिएको धर्तीको माटो छोएका थिए। तिनमाथि भएको निरावृत नृशंसताको कथा सुनेका थिए। अश्रुपुरित आँखाले छोराहरूको सामूहिक चिहान चिहाएर फर्किएका थिए।
ज्ञानबहादुरकी एउटी बुहारी सहयात्री खोजेर जीवनको क्षितिज खोज्न हिँडिन्। एउटी बुहारी छोरी हुर्काएर बसेकी छन्। उनकी छोरी सुशिला नौ कक्षामा पढ्छिन्। ज्ञानबहादुरकी कान्छी छोरी १२ कक्षामा। कान्छा छोरा पुसबहादुरको बिहे गरिदिए उनले पाँच वर्षअघि नै। दुई जना नाति पनि पाइसके उनले कान्छाबाट। कान्छाले दुई वर्ष रेडक्रसमा काम गरे। अहिले खेतीपातीमा सघाइरहेछन्। दुई छोराको झल्को आउँदा जहान बुद्धिसरा जब रुन्छिन् भावविह्वल भएर, ज्ञानबहादुर भन्छन्— नरोऊ, नरोऊ, बाँसको घारीमा बाँसै उमि्रयो। दुई भाइका ठाउँमा दुई भाइ नै आएका छन्। किन पीर गर्छ्यौ?
ज्ञानबहादुरसँग छुट्टिएपछि फेरि सुरु भयो मध्यदिनको प्रचण्ड गर्मीमा ठाडे ओरालोको यात्रा। हामी ओस्राङ गाउँ हिँडिरहेका थियौं, जहाँ भेट्नु थियो थुप्रै चेपाङ परिवारलाई। बाटैमा भेटियो तीन दिनअघि खुलेको गोइराङ निमावि। भुइँचालोले चर्काएको स्कुलमा असुरक्षित लेखिएको स्टिकर टाँसिदिएका थिए तर विद्यार्थी कक्षाकोठामै पढिरहेका थिए। अस्थायी टहरा बनाउनलाई कतै जमिन थिएन। हामीले ३० वर्षदेखि यहाँ पढाइरहेका महोत्तरीका हेडसर सत्यनारायण मिश्रसँग कुराकानी गर्यौं्। स्कुलको सिमित स्रोतसाधन र दुःखका कुरा सुन्यौं। असाध्यै झ्याम्मिएका सानासाना नानीहरू कुर्चीमा बसिरहेका हेडसरको पाखुरामा झुन्डिन्थे, टाँसिएर उनलाई झुरुप्पै घेर्थे र घरि उनको मुखमा त घरि हामीलाई हेर्थे। हेडसर र नानीहरूबीचको यति मायालु सम्बन्ध मैले जीवनमा पहिलोपल्ट यही देखेँ। 
स्कुलबाट निस्केपछि हामी फेरि ओरालो लाग्यौं। बाटाभरि भेटिइरहे भुइँचालोले चर्काएका, हुरीले छानो उडाएका घर, असिनाले खाएको मकैबारी र आफ्नै पारामा बनाइएका पालवाला टहरा। मौन उदासीले घोचिरहेको लामो ओरालो यात्रापछि पुग्यौं ओस्राङ, कोटवाडामा मारिएका शेरबहादुर प्रजा र कुम्ले प्रजाको घरमा। आँगन जोडिएको थियो यी दुई घरको। घरमा भेटिइन् शेरबहादुरकी भाइबुहारी जालमाया प्रजा र उनका नानी। कुम्लेको घरमाभने चार जना साना नानीमात्र थिए। 
कालिकोटमा मारिनेमा सबैभन्दा वृद्ध थिए, ६० वर्षीय चित्रबहादुर प्रजा। उनकी जहान सुकमाया रुग्ण अवस्थामा भेटिइन्। जेठा छोरा गोविन्द र माइला छोरा हरि छुट्टिएर बसेका छन्। कान्छा छोरा सिमेन्ट उद्योगमा काम गर्छन्। चार छोरीहरूमा दुईको बिहे भइसक्यो। चित्रबहादुर घरबाट अन्तिमपटक निस्कँदा वर्ष दिन पनि नपुगेकी सिकिस्त बिरामी कान्छी छोरी र साहिँली नौ कक्षामा पढ्दै छन्। भुइँचालोले घर ध्वस्त छ। दुःखको समुद्र उस्तै छ, उनको जीवनमा।
त्यही भेटिइन्, कुम्ले प्रजा र रामबहादुर प्रजाका श्रीमतीहरू क्रमशः कमनमाया र बेलीमाया। कमनमाया १५ वर्षमा र बेलीचाहिँ २३ वर्षमा विधवा भएका थिए, १४ वर्षअघि। लोग्ने बितेपछि देवरले भाउजूलाई जीवनसाथी बनाउन सक्ने प्रजाको परम्पराअनुसार निश्चित समय र प्रक्रियापछि यिनका सिउँदोमा माथि लेकको गुराँस फेरि फुलेको थियो। ठेला परेका हातका दुब्ला नाडीमा राता चुरा फेरि बजेका थिए। 
लेखक मैनालीलाई चिनेपछि तिनले १४ वर्षअघिको अप्रिय घटना सम्भि्कए होलान्। तिनका अनुहारमा उदासी त छाएथ्यो तर त्यति सघन थिएन, जसले हराउन सकोस् आशाको यात्रालाई। जीवनको मुस्कानलाई।
कमन र बेलीले जीवनको सानो कालखण्डमै धेरैधेरै दुःख भोगिसकेका छन्। यिनीहरूलाई जीवनका चुनौतीसँग पौठेजोरी खेल्ने कला थाहा छ। कमनको पहिलो लोग्नेपट्टिका दुई सन्तान हुर्किसकेका छन्। पछिल्लोका चार सन्तान भने सानै छन्। तिनलाई पढाउनुछ र देखाउनुछ जीवनको बाटो। बेलीकी जेठी छोरी काठमाडांैमा पढ्छिन् ११ कक्षामा। छोराचाहिँ गाउँमै आठ कक्षामा। 
कोटवाडामा मारिएका मध्ये दुई परिवार बसाइँ सरिसकेका रहेछन्। दुई छोरा गुमाएका शंखबहादुर गुरुङसँग भेट हुन सकेन। उनी सदरमुकाम गएका रहेछन्। कोही चितवन त कोही काठमाडांै। त्यसैले फर्कने निष्कर्षमा पुग्यौं हामी। फर्कनुअघि मालिका प्राविदेखि उत्तरको सालको जंगलयुक्त थुम्कोमा, जहाँ गाउँलेहरूले कालिकोटमा मारिएकाहरूको सम्झनामा स्मारक बनाएका थिए।
स्मारकको अवलोकनपछि स्कुलमा जम्मा भएका गाउँलेसँग बिदा मागेर हामी ओरालो लाग्यौं। दुई घन्टाको निरन्तर ओरालोपछि पुग्यौं, हुग्दी किनार। त्यसपछि एक घन्टामा नौपटक खोला तर्दै हुग्दीको किनारैकिनार हिँडेर पृथ्वी राजमार्गमा हुँदै हुग्दी खोलाको पुलनेर निस्कियौं। राजमार्गमा पुग्दा अस्ताचलको घाम डुबिसकेको थियो तर झरिसकेको थिएन अँध्यारो, पृथ्वीमा। 
नझरोस् दुःखको अँध्यारो हुग्दीको यो सेरोफेरोमा फेरिफेरि। नमिसियोस् हुग्दी त्रिशूलीमा— लिएर सिउँदोको गुराँस, चुराका टुक्रा र अनाथहरूको भविष्य। यही कामना गर्दै मनमनै हामी छुट्टियौं। लेखक–प्रकाशक काठमाडांैतिर। म बुटवलतिर। 
मध्यरातभन्दा अघि नै म पुगिसकेको हुनेछु आफ्नो घरभित्र। मनमा एउटा प्रश्न भने उठिरहन्छ— भुइँचालोले खण्डहर बनाएका र चर्किएका घरबाहिर थोत्रा पाल टाँगेर बसिरहेका, अनेकन दुःखले डसिएका, द्वन्द्वले चिथोरिएका जोगीमाराका जिउँदाहरू कहिले पस्न सक्लान् आफ्ना घरभित्र ढुक्क भएर? कहिले पुरिएला द्वन्द्वले दिएको घाउ?
काठमाडौंको नाकैमुनि द्वन्द्व, गरिबी, प्राकृतिक प्रकोप र समग्र राज्यको उपेक्षाले आहत यी गाउँबस्तीका दुःखीको घाउमा खाटा त बसेको छ तर निको भएको छैन। यिनलाई घाउ दिएको राज्यले कहिले माग्ने हो माफी?

प्रकाशित: ११ असार २०७२ २१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App