३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

पीडितको सहमतिले कारबाहीमा अप्ठेरो

काठमाडौं- भूकम्पपछि अवैध मानव ओसारपसार बढे पनि अवैध ओसारपसारमा पीडितकै सहमति हुँदा कारबाहीमा जटिलता देखिएको छ। अपरिचितले आफूलाई गैरकानुनी रुपमा लगिरहेको जानकार हुँदाहुँदै परिवारसमेत उनीहरुकै साथमा रहँदा कारबाही प्रक्रिया अगाडि बढाउन अप्ठेरो भएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सवेन्द्र खनालले बताए।भूकम्पपछि बालबालिका र युवतीको अवैध ओसारपसार रोक्न प्रहरीले नाकाको जाँचपड्तालमा कडाइ गरी जोखिममा परेकाको उद्धार गर्ने गरे पनि अनुसन्धानमा पीडितकै परिवारजनबाट असहयोग हुने गरेको खनालले बताए।

भूकम्प प्रभावित १४ जिल्लाबाट उपत्यकाका काठमाडौं, ललितपुरमा अवैध रुपमा बालबालिका ल्याउने, युवतीलाई वैदेशिक रोजगारीको प्रलोभनमा प्रतिबन्धित देश र भारतको कोठीसम्म पुर्यालउने घटना बढेपछि प्रहरीले उपत्यका भित्रिने र बाहिरिने बालबालिका र युवतीमाथि प्रहरीले सतर्कता अपनाइरहेको महाशाखाका प्रहरी अधिकारी बताउँछन्।

महिला तथा बालबालिका मन्त्रालय र केन्द्रीय बालकल्याण समितिका पदाधिकारीसँग समन्वयमा अवैध ओसारपसार र बेचबिखनको जोखिम कम गरी नियन्त्रणमा प्रहरीले काम गरिरहेको छ।

भूकम्पबाट धनजन गुमाएकाले परिवारलाई केही आर्थिक सहयोग हुने आशामा अभिभावकले नै बालबालिका र किशोरीलाई जानाजान दलाललाई सुम्पेर जोखिम मोल्ने प्रवृत्ति बढेको खनालको दाबी छ।

'विपतपछिको मुख्य चुनौती नै बालबालिका र युवतीको अवैध ओसारपसार र बेचबिखन नियन्त्रण गर्नु हो,' आइतबार महाशाखामा आयोजित अन्तर्क्रियामा खनालले भने, 'प्रहरीले यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गर्दा पीडित र उसको परिवारबाटै असहयोग हुँदा कारबाही गर्न अप्ठ्यारो छ।' विभिन्न जिल्लाबाट अनुमति नै नलिई ल्याइएका बालबालिका किशोरीलाई तत्काल अभिभावकको जिम्मा लगाउँदासमेत अनुसन्धानको पाटोमा नकारात्मक असर परेको उनको तर्क छ।

बालबालिका उद्धारसँगै तत्काल अभिभावकको जिम्मा लगाउने र अभिभावकले अनुसन्धानमा प्रहरीलाई असहयोग गर्ने प्रवृत्तिले यस्ता गतिविधिमा सक्रिय व्यक्ति र समूहमाथि पूर्ण अनुसन्धान गर्न अप्ठेरो भएको बताउँदै उनले यी सबै पाटोको पूर्ण अनुसन्धान नभएसम्म नियन्त्रण प्रयास प्रभावकारी हुन नसक्ने बताए।

म्यानपावर कम्पनी निगरानीमा
वैदेशिक रोजगारीको प्रलोभनमा युवालाई सरकारले प्रतिबन्ध लगाएको देशमा लैजाने र दिल्ली भन्दै अन्य देश लगेर जोखिमपूर्ण काममा लगाउने प्रवृत्ति बढेपछि महाशाखाले दलालकेन्द्रित विशेष प्रहरी अप्रेसन सुरु गरेको छ।

शनिबारमात्रै प्रहरी र अध्यागनका केही कर्मचारीको मिलेमतोमा दिल्ली जान भन्दै इराक हिँडेका ४ महिला र ४ पुरुषलाई प्रहरीले विमानभित्रैबाट नियन्त्रणमा लिएको थियो। 

एसएसपी खनालले वैदेशिक रोजगारी सम्बन्धी काम हुने सरकारी कार्यालय, वैदेशिक रोजगारी सम्बन्धी काम गर्ने संस्था र उनीहरुले युवतीलाई बाहिर लैजान प्रयोग गर्ने हवाई र स्थलमार्गमा प्रहरी निगरानी बढाएको बताए।

'जुनसुकै सर्तमा पनि अवैध ओसारपसार स्वीकार्य हुन्न,' उनले भने, 'यस्ता गतिविधिमा संलग्न संस्था र व्यक्तिमाथिको निगरानी बढाइसकेका छौं।'

प्रकाशित: ६ असार २०७२ १९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App