नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले २०८२ सालमा प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेकाे छ।
प्रतिष्ठानका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलका अनुसार आउँदाे माघ १७ गते विराटनगरमा हुने विशेष समारोहमा उक्त पुरस्कारहरू समर्पण गरिँदै छ।
नरनाथ-नन्दकुमारी पोखरेल स्मृति पुरस्कार (रू. १५ हजार ) समालाेचक प्राडा गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएकाे छ। नेपाली भाषा, साहित्य, समालोचना, अनुवाद र प्राज्ञिक क्षेत्रमा गरेकाे याेगदानकाे कदरस्वरूप प्राडा भट्टराईलाई पुरस्कृत गर्न लागिएकाे हाे। उक्त पुरस्कार नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलले स्थापना गरेका हुन्।
त्यस्तै साहित्यकार डा. कौशिला रिसाललाई नन्दलाल दाहाल स्मृति साहित्य पुरस्कार (रु. १५ हजार) अर्पण गर्ने भएको छ। उक्त पुरस्कार मनमाया दाहाल र उनका छोराछोरीहरूबाट स्थापना भएकाे हाे। नेपाली कविता, समालोचना, बालसाहित्य र अनुसन्धानमार्फत नेपाली साहित्यको श्रीवृद्धिमा गरेकाे योगदानकाे कदरस्वरूप डा. रिसाललाई अर्पिने भएकाे हाे।
त्यस्तै साहित्यकार तारानाथ पोखरेलले मातापिताको स्मृतिमा स्थापना गरेको छमनादेवी रामप्रसाद पोखरेल स्मृति पुरस्कार (रु. ११ हजार) पाँच दशकदेखि लेखन, सम्पादन र कुशल संस्थागत नेतृत्व मार्फत नेपाली वाङ्मयको क्षेत्रमा गरेकाे योगदानकाे कदर गर्दै वरिष्ठ साहित्यकार मधु पोखरेललाई प्रदान गरिने भएकाे छ।
दिवंगत माधव पोखरेलका सन्तानहरूबाट स्थापित माधव-नर्मदा पोखरेल स्मृति साहित्य पुरस्कार (रु. ११ हजार) नेपाली मुक्तक साहित्यका एक समर्पित र विशिष्ट साधक शिव अधिकारी (इलामे जेठो) लाई प्रदान गरिने भएको छ।
नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाका सचिव मदन भण्डारीकाे अनुसार उक्त प्रतिष्ठानबाट गठित ५ सदस्यीय पुरस्कार छनोट समितिले पुरस्कृत व्यक्तित्वहरूकाे छनौट गरेको हो।
प्रकाशित: ३० पुस २०८२ ०८:२० बुधबार





