हुन त यो कथाकार होइन, कथाकारले जन्माएको पात्रले दिएको परिभाषा हो भन्न पनि सकिन्छ। तर संग्रहका सबै कथा पढेपछि थाहा हुन्छ— कथाकारको प्रेमसम्बन्धी आफ्नो मान्यता योभन्दा पृथक् छैन।
प्रसूनका पात्रहरू प्रेमका परम्परागत मान्यतालाई सकार्ने खालका छैनन्। न गीत, न जंगल, न पानी। बादल पनि चाहिँदैन तिनलाई। भेट्नेबित्तिकै प्रेम भइहाल्छ। रिस उठे त्यो टुटिहाल्छ। पाठकलाई कथामा हराउन लगाउने यो एउटा पृथक् स्वाद हो।
विचित्रका प्रेमपात्र छन्, कथाहरूमा। पहिलो कथा ‘ड्यानियल बुरेल' सामाजिक सञ्जालमार्फत नेपाली पार्वतीसँग जोडिएको अन्तर्राष्ट्रिय प्रेमी हो। महाको ठग हुन्छ त्यो। तर नेपाली पार्वती उसको साइबर प्रेममा लठ्ठिएर सर्वस्व त्याग्न गइरहेकी हुन्छे। तर त्यस्तो ठगीचाहिँ भइसकेको हुँदैन। पाठकको चासोलाई सम्बोधन गर्दै पार्वती भन्छे, ‘पाठकवृन्द! त्यसपछि केके भयो, थाहा छैन। होस खुल्दा म हस्पिटलको साइकियाटि्रक वार्डमा थिएँ।'
गजबको छ, एउटा सम्पादक। उसलाई यौनकथा नै चाहिएको छ। त्यो पनि महिला कथाकारबाट। कथाकार आँटिली छ। ‘त्यसैले कसैसँग नबोली आफ्नो कोठामा गएँ। बत्ती थिएन, कम्प्युटरमा लेखूँ भने। कपी र पेन्सिल लिएर यौनकथा लेख्न बसेँ।' यत्तिको साहसी कथाकार सजिलै कहाँ पाइन्छ। तर त्यो यौनकथाको अन्त पनि झगडामा समाप्त हुन्छ। ‘वरिपरि' शीर्षकको यो कथा पढ्न मन लाग्छ।
संग्रहको सबैभन्दा लामो कथा हो, ‘आधाआधी'। स्तरीय कथा पनि हो यो। समलिंगी चेत भएकी केटा हुन चाहने आधार नाम गरेकी लेस्बियन केटीको सपना, चाहना, प्रेम, यौन, कुण्ठा र पीडाको राम्रो चित्रण छ, कथामा। प्रेम, अँगालो, चुम्बन, सेवा केहीले पनि केटी साथीलाई फकाउन नसकेपछि, ‘आधार रिसाई। झर्की। आँखाभरि आँसु लिएर गई।'
‘रामलाल' एउटा आत्मिक प्रेमको कथा हो। मुख्य पात्रको नाम म हो। उसले रामलाललाई यसरी चिनाउँछे, ‘मचाहिँ धनीकी छोरी र रामलाल दराई गरिबको छोरा।' मास्टरलाई बुझाउने फिस तिर्न नसकेपछि रामलालले स्कुल छाड्छ। परिवारिक काममा लाग्न बाध्य हुन्छ। धेरै लामो अन्तरालपछि रामलाल र म पात्रको भेट हुन्छ। म पात्रको बिहे भइसकेको हुन्छ। रामलाल हिरासतमा हुन्छ। म पात्रले जरिवाना तिरेर रामलाललाई छुटाउँछे। तर ‘त्यसको भोलिपल्ट रामलाल गाउँमा देखिएन। त्यसपछि ऊ कहिल्यै पनि गाउँमा देखिएन। ऊ बेपत्ता भयो। कहाँ गयो? मर्योो/बाँच्यो? अहिलेसम्म कसैलाई थाहा छैन।'
‘भोज' कथामा भिन्नभिन्न विधाका साहित्यकारहरू मातेर झगडा गर्छन्। एउटा प्रसंग, ‘तिमी के फुर्ती गर्छौ? तिम्रो पचास हजार शब्दको एउटा उपन्यास भन्दा मेरो पाँच सय शब्दको कविता शाश्वत र कालजयी छ। बजारमा सबभन्दा बढी बिक्ने त परिवार नियोजनका अस्थायी साधन हुन्। के ती सामान बिक्यो भनेर फुर्ती गर्ने?'
‘तिम्रोे लोग्ने र म' शीर्षकथा त हो। तर सम्प्रेषणको हिसाबले ‘वरिपरि' या ‘रामलाल'जति शक्तिशाली छैन।
संग्रहको सबैभन्दा मार्मिक कथा हो, ‘एउटा पुरानो कथा'। ७० वर्ष लामो प्रेम बोकेर बाँचेका छन्, दुई अबोला वृद्धवृद्धा। ‘अब यो दुःख केही समयलाई मात्र हो। शरीर क्रमशः शिथिल हुँदै गएको छ। अब मलाई ब्रह्मलीन हुनुबाहेक अर्को केही आकांक्षा छैन नानी।'
तपाईंहरूलाई नमज्जा लागेन?
‘एक हरफ जिन्दगी' दोस्रो लामो कथा हो। मोह, प्रेम र मातृत्व समाहित यो कथामा दार्शनिक चेतको पुट पनि पाइन्छ। ‘मान्छेको प्रकृृति नै होला, जे छैन त्यसैको पछि लाग्ने। नभएको कुराको मोहमा अल्भि्कने।' सार्वत्रिक स्वतन्त्रताको माग राख्ने म पात्र कुमारी अवस्थामै गर्भवती हुन्छे। एउटा नयाँ सन्तानको अनुहार सम्भि्कएर ऊ खुसी हुन्छे। तर परिवारका अरूको त कुरै छाडौं, आफूलाई जन्म दिने आमाका लागि पनि ‘कुमारी आमा' परिचय सह्य हुँदैन। त्यसैले म पात्रले ‘फेरि काठमाडौंमा फ्ल्याट लिएर एक्लै बस्न थालेँ' भनेपछि कथा टुंगिन्छ।
प्रसून राम्रो सम्भावना बोकेकी कथाकार हुन्। उनको लोभलाग्दो पक्ष हो भाषा। वाक्य छोटा छन्। छोटा वाक्यहरूबाट सम्पूर्णता सम्प्रेषण काम निकै जटिल हो। विषयको छनौटमा पनि उनी, ‘जसले जेसुकै भनोस्, मलाई चासो छैन' भन्ने मान्यता राख्ने कथाकारका रूपमा उपस्थित भएकी छन्।
प्रकाशित: ४ असार २०७२ १९:४९ शुक्रबार





