९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्य

नयाँ जुनी

अघिल्लो शनिवार गएको महाभैँचालोले देशको रूप–स्वरूप, मन–मनस्थिति भत्काइदिएको छ। नागरिक हतास छन्, शोकाकुल छन्, मर्माहत छन्। यो प्रचण्ड दुःखको बेलामा जब कसैले मृत्युलाई जितेको खबर आउँछ, सारा देश हर्षविभोर हुन्छ। आशा मारिएका व्यक्तिहरूको चामत्कारिक उद्धार भएको छ। उनीहरूले नयाँ जुनी पाएका छन्। उनीहरूसँगै सिंगो देशले नयाँ जुनी पाएको छ। अम्मर जिसीले नयाँ जीवन प्राप्त गरेकाहरूसँग जीवन बुझ्न खोजेका छन्।...

पोहोर तलाउमा डुबेर तीन वर्षे छोरा बित्यो। 'हामीलाई हेरेर चित्त बुझाउनुस्' भन्दै आमालाई सम्झाउने दुई छोरीलाई पनि यसपालिको महाभैँचालोले चटक्क चुँडेर लग्यो। घरबास पुरिनु चानचुने कुरा थियो। आफ्नै मुटुका दुई टुक्रा छोरीलाई गुमाउने आमाबुवाले कसरी मन सम्हालिरहेका होलान्?

भक्तपुर, मूलढोकाकी मिना अवालकी एसएलसी दिएर बसेकी छोरी १७ वर्षीया रुबी र १० कक्षा अध्ययनरत छोरी १५ वर्षीया लक्ष्मीको भूकम्पले ध्वस्त भएको घरमा पुरिएर ज्यान गयो।

१२ नबज्दै गएको भूकम्प। सुरुकै हलचलले भग्नावशेष बनाइदिएको घरमा पुरिएर चिच्याउँदै जीवनको भीख मागिरहेका छोरीहरू। बाहिरबाट आँशुका सहस्र धारा बगाउँदै हारगुहार गरिरहेकी आमा।

'३ बजेसम्म कराइरहे छोरीहरू,' गला अवरुद्ध पार्दै मीना त्यो क्षण सम्झन्छिन्, 'अलिअलि सास हुने बेला निकालेर अस्पताल लग्यौँ। पाँच बजे सास फेर्न छोडे।' आफन्त र छिमेकीको उद्धार प्रयासले केही जोर चलेन। सरकारीलगायत अन्य उद्धार टोली समयमै पुगेको भए!

मूलढोकाकै संगीता अवालको परिवार तहसनहस छ। भत्किएको घरमा पुरिएका १० जनामध्ये चार जनाले ज्यान गुमाए। संगीताले पनि मुटुकै टुक्रो गुमाउनुपर्योए। भत्किएको घरभित्रै उनको पाँच वर्षीय छोरासँगै सासु, आमाजू र भाञ्जीको अन्त्य भयो। यस्तो महाविपत्तिले महासंकटमा पारिरहेको यो अवस्थामा उनी भने आत्तिएकी छैनन्। 'जाने त गइहाले। हामी बाँचेकाहरू अब भविष्यको चिन्ता गर्न थाल्नुपर्छ,' सम्हालिन खोज्दै छिन् उनी, 'बाँचेकाहरूतिर हेरेर जिउनुपर्ने देख्छु म।'

रुन त उनलाई पनि मन नलाग्ने कहाँ हो र! तर, रोएर मात्र के हुन्छ? मुटुमाथि ढुंगा राखेर बाँच्नुपर्ने अवस्था आइलाग्यो भन्दै संगीता यो संयुक्त परिवारलाई सम्हाल्ने प्रयत्नमा छिन्। उसो त संगीताले पनि 'अर्को जन्म' लिएकै हुन्। उनीलगायत परिवारका छ जना सदस्यलाई पुरिएको ठाउँबाट सकुशल उद्धार गरिएको हो। त्यसैले त उनी आफूले आफैँलाई हेरेर बाँच्नुपर्ने समय आएको बताउँछिन्। 'हामी सबैले नयाँ जुनी पाएका हौँ,' उनले भनिन्।

शोकाकुल यो टोलमा एउटा सुखद खबरले उज्यालो छरेको छ। टोलबासीको मुहारमा मन्द मुस्कान छाएको छ। टोलमा मात्र कहाँ हो र? यो खबरले देशैभरिका पीडितसम्म एउटा सुसमाचार सञ्चार गर्योु। अझ संगीता र मीनाजस्ता टोलकै पीडितहरूका लागि केही हदसम्म भए पनि मन बुझाउने आधार बन्यो।

ध्वस्त घरमा पुरिएकी १० वर्षीया सोनिया अवाललाई दुई घण्टापछि सकुशल उद्धार गरियो। आमाबुबासँगै छटपटाइरहेको टोललाई नै आश्चर्यमा पार्ने गरी २२ घण्टापछि उनै सोनियाका भाइ पाँचमहिने सोनिस मृत्युको मुखबाट थुतिए। यो खबरले देशैभरि खुशी छर्योन। सबैले आश मारिसकेको बच्चा सकुशल आमाको काखमा लुटपुटिन फर्किएको देखेर धेरैले आफ्नो घाउ भुले। मीना भन्छिन्, 'सोनिसका दिदीभाइ कस्ता भाग्यमानी! उनीहरूलाई नै हेरेर मन थाम्दै छु।' संगीताको भनाइले पनि उस्तै अर्थ राख्छ, 'हामी दुःखीले उनै दिदीभाइलाई हेरेर चित्त बुझाउनुपर्ने भएको छ। फेरि हामीले पनि त नयाँ जन्म नै लिएका हौँ नि।' उनी, उनका देवर, भाञ्जा, फुपू र बज्यैले पुरिएकै ठाउँबाट उद्धार भएर नयाँ जीवन पाएका हुन्।

देशभर उद्धार भएका हजारभन्दा बढीले मात्र नयाँ जन्म लिएका होइनन्। संगीताले भनेजस्तो हामी सबैले नयाँ जन्म पाएका छौँ। साढे १४ हजार घाइतेले पनि नयाँ जुनी पाएका छन्। बरु उनीहरूको उपचार र स्याहारमा दत्तचित्त भएर सघाउनुपर्ने बेला आएको छ।

भक्तपुर, दत्तात्रेयकी ३५ वर्षीया चण्डेश्वरी गाँइजुले पनि नयाँ जुनी पाएकी छिन्। महाभूकम्पले ध्वस्त भएको चारतले घरबाट ७५ घण्टापछि उनको उद्धार भयो। तर, दुःखको कुरो– अपांग चण्डेश्वरीमाथि अर्को वज्रपात परेको छ। उनको एउटा खुट्टा चल्दैन थियो। त्यही खुट्टालाई घरले झन् थिचिदियो। शरीरभरि चोट लागेको छ। उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याथइएकी उनलाई अस्पतालले चाँडो घर जान उर्दी जारी गरेको उनकी देउरानी कृष्णालक्ष्मीले दुखेसो पोखिन्। 'उहाँको पुरानो समस्या भन्दै अस्पतालले चाँडो घर जान भनेको भन्यै छ,' उनले दुःख व्यक्त गरिन्, 'घाइतेलाई उपचारको साटो यसरी घर लखेट्नु कहाँसम्मको न्याय हो?' कृष्णाको भनाइमा उनकी आमाजूले नयाँ जन्म पाइन्।

०००

काठमाडौँ, कपनस्थित साततले भवनबाट उद्धार गरिएकी ओखलढुंगाकी एलिना राई त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन्। भवनको सबभन्दा माथिल्लो तलास्थित चर्चमा प्रार्थना गर्दैगर्दा ७.६ म्याग्निच्युडले झड्काइहाल्यो। पाँच वर्षको छोरा उतिखेरै बिते। उनको खुट्टा, हात र कम्मरमा गम्भीर चोट लागेको छ। हातको अपरेसन भइसक्यो। श्रीमान् विदेशमा छन्। कुरुवा बसेकी भाञ्जी युनिसका अनुसार एलिनाको अवस्था अहिलेसम्म स्थिर हुन सकेको छैन।

'बाँचेको हरेक मान्छेले नयाँ जुनी पाएको हो,' शिक्षण अस्पतालको ईएनटी वार्डमै भेटिएका रामु चौधरी भन्छन्, 'तर, सबै पीडितले सजिलै तंग्रिन पाए जीवन जिउने केही उपाय खोज्न सक्थे।' उनी पनि भूकम्पकै घाइते आफ्ना भाञ्जा सरोजको उपचारका लागि अस्पताल आएका थिए। महाभूकम्पबाट पीडित मन तंग्रिन सरकारले हरेक क्षेत्रबाट सघाउनुपर्ने उनको माग छ।

ईएनटी वार्डको बेड नम्बर ११२१ मा सुस्केरा मात्र हालिरहेकी ५४ वर्षीया तारा रिजालले पनि नयाँ जीवन पाएकै हुन्। तर, उनी अरूका लागि बोझ भएर बाँच्न नपरोस् भनेर भगवान् पुकारिरहेकी थिइन्। उनका दुवै खुट्टा चलाउन नमिल्ने भएका छन्। दोलखा, चरिकोटकी उनी काठमाडौँ, हाँडीगाउँस्थित डेरामा थिचिएकी हुन्। छेउको अर्को घर ढलेर उनको कोठा भत्केको थियो। 'बिरामी थिएँ,' उनलाई पीडामाथि पीडा छ, 'गाउँका दुवै घर भत्केका छन्। यता मेरो हालत यस्तो छ। जुनी त नयाँ पाइयो। तर, दुःख पाइन्छ कि भन्ने डर लागिरा'छ।'

यस्तो ठूलो महाविपत्तिबाट आफ्नी आमाको उद्धार हुँदा खुशी नहुने कुन छोरो होला? काठमाडौँ, काल्धाराका वसन्त श्रेष्ठ ६८ वर्षीया आमा रम्बादेवीको पुनर्जन्म भएको भन्दै दंग छन्। हात र खुट्टा भाँचिएको अवस्थामा उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 'अहिलेसम्म त ठीकै छु बाबु,' बेडमा ...नारायण! नारायण!' पुकार्दै गरेकी रम्बादेवी बोलिन्, 'बाँच्न पाउँदा खुशी लागेको छ।' उनलाई १६ घण्टापछि छिमेकीले भत्किएको घरबाट बाहिर निकालेका थिए। 'म ड्युटीमा थिएँ,' वसन्तले भने, 'आमा भित्र च्यापिएको भन्ने सुनेपछि आशै मारिसकेको थिएँ।'

बाग्लुङका कृष्णप्रसाद शर्मा धरहराको सातौँ तलामा रहँदा भूकम्प गयो। उनी सँगै रहेका साढु दाइको घटनास्थलमै निधन भयो। तर, उनी दोस्रो तलासम्म झर्न सफल रहे। त्यहीँ पुरिएका उनलाई तत्कालै उद्धार गरियो। अहिले उनी ट्रमा सेन्टरमा उपचार गराइरहेका छन्। उनी अझै आत्तिएका छन्। मन स्थिर नभएको संकेत गर्छ, उनको हाउभाउ र कुराकानीबाट। 'मानसिक रूपमा सातौँ तलामै मरिसकेको थिएँ,' अपरेसनपछि उनले भने, 'यत्रो ठूलो दुर्घटनामा बाँचेको छु। नयाँ जुनी त पाएकै हुँ। अब सञ्चो हुन पो कति मुस्किल पर्ने हो?'

प्रकाशित: २८ वैशाख २०७२ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App