इन्टरनेटको बढ्दो प्रयोगसँगै यसले सिर्जना गर्ने मानसिक समस्यालाई अलग्गै रोगको रूपमा स्वीकार गर्ने वा मानसिक रोगकै एक अंशका रूपमा लिने भन्नेमा विज्ञहरूको बीचमा विवाद छ। तर, विश्वमा इन्टरनेट एडिक्सन डिसअर्डर महामारीका रूपमा फैलिँदै गएको देखिन्छ। इन्टरनेट एडिक्सनलाई कम्पल्सिभ इन्टरनेट युज, इन्टरनेट ओभर युज, टेक्नोलोजी एडिक्सन आदि नामले चिनिन्छ। सन् १९९५ मा इभान गोल्डबर्गले इन्टरनेट एडिक्सनबारे साइन्स फिक्सन लेखेपछि यसका बारेमा विज्ञहरूले थप अध्ययन र अनुसन्धान गर्न थालेका हुन्।
इन्टरनेट एडिक्सनको कुरा गर्दा सबैभन्दा भयावह रूपमा रहेको साइबर सेक्स एडिक्सन हो। इन्टरनेटमा उपलब्ध हुने पोर्नोग्राफी हेर्नेको संख्या दिन प्रतिदिन बढ्दो छ। यसैगरी साइबर रिलेसनसिप एडिक्सन पनि उत्तिकै देखिन्छ। फेसबुक, भाइबर, विभिन्न किसिमका च्याटमार्फत रिलेसनमा रहने र त्यसैमा रमाउनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ। आफ्नो वास्तविक परिचय र उमेर लुकाएर नयाँ–नयाँ साथी बनाउने र त्यसैमा घण्टौँ समय बिताउनेहरू पनि धेरै छन्। नेट कम्पल्सन जसमा इन्टरनेटमार्फत जुवा खेल्ने, सपिङ गर्ने र इन्टरनेट गेम खेलिरहनु पर्ने लत लाग्ने हुन्छ। यसैगरी इन्फर्मेसन ओभरलोड गर्नुपर्ने मानिसहरू पनि हुन्छन्। जसलाई जुन विषयमा सामान्य जानकारी नहुँदा पनि उसको प्रोफेसनल जीवन राम्रोसँग चलिरहेको हुन्छ। उसले अनावश्यक सूचना इन्टरनेटमार्फत संकलन गर्न थाल्यो भने पनि यो इन्टरनेट एडिक्सन हो। इन्टरनेट गेमिङ डिसअर्डरले चाहिँ अलग्गै रोगका रूपमा मान्यता पाइसकेको छ।
इन्टरनेटको सर्वसुलभ उपलब्धताका कारण यसको दुरुपयोग पनि बढ्दै गएको छ। इन्टरनेटको प्रयोग आफ्नो कन्ट्रोलमा हुने भएकाले पनि यसमा गोपनीयता कायम हुन्छ। कसैसँग साइबर रिलेसनसिपमा रहेको कुरा अर्को व्यक्तिले सजिलै थाहा पाउने सम्भावना निकै कम हुन्छ। इन्टरनेटको प्रयोगले व्यक्तिमा एक्साइटमेन्ट आउने भएकाले पनि यसको प्रयोग दिन प्रतिदिन बढिरहेको छ।
विश्वमा इन्टरनेट एडिक्टको संख्या कति छ भनेर बृहत् अध्ययन हुन बाँकी नै छ। तर, विभिन्न देशका विश्व विद्यालयहरूले गरेका विभिन्न अध्ययनले इन्टरनेट एडिक्टहरू बढिरहेका देखाएको छ। चीनमा गरिएको एक अध्ययनमा १३ देखि १७ वर्ष उमेरका करिब २० प्रतिशत बालबालिकामा इन्टरनेट एडिक्सन भइसकेको पाइएको थियो। पश्चिमा देशहरूमा गरिएको अध्ययनमा ५ देखि १० प्रतिशतलाई इन्टरनेट प्रयोग गरेकै कारण विभिन्न समस्या देखिएको पाइएको थियो। इन्टरनेट एडिक्सन भएकामध्ये ८६ प्रतिशतलाई यो सँगसँगै अन्य रोग जस्तै डिप्रेसन, नशालु पदार्थ सेवन तथा चिन्ताको रोग पनि हुने गरेको पाइएको छ। कोरियाको कुल जनसंख्यामध्ये ७० प्रतिशतले अनलाइन गेम खेल्ने गरेको तथ्य अनुसन्धानबाट पत्ता लागेको छ। जसमध्ये १८ प्रतिशतमा इन्टरनेट एडिक्सन भएको पाइएको थियो। इन्टरनेट एडिक्सन भएकाहरूको वैवाहिक जीवन, पढाइ, रोजगारी सबैतिर नकारात्मक असर परिरहेको हुन्छ। नसुत्ने, एग्रेसिभ हुने, आवेशमा आउने स्वभाव देखाउँछन्। रिसाउने, एक्लोपन महसुस गर्ने, आत्मविश्वासको कमी हुने र उदासीपनतिर लाग्ने समस्या देखिन्छ। इन्टरनेटमा गेम खेल्दाखेल्दै मरेको र मारेका घटना पनि छन्। विभिन्न किसिमका साइबर क्राइम पनि इन्टरनेट एडिक्सनकै परिणाम हुन्।
प्रकाशित: १६ माघ २०७१ ०८:५२ शुक्रबार





