४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

बाघको छाला र हाड सहित भारतीय नागरिक पक्राउ

महेन्द्रनगर–बाघको छाला र हाडसहित शुक्रवार कञ्चनपुरमा एक भारतीय नागरिक पक्राउ परेका छन्। कञ्चनपुरको चाँदनी गाविस–५ नर्सरीबाट भारतीय नागरिक ४० वर्षीय दुलाल मण्डल पक्राउ परेका हुन्। भारत उत्तरप्रदेशको पिलिभितका मण्डललाई सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले चाँदनीको नर्सरी बाधँबाट पक्राउ गरेको हो।


अनुसन्धान टिमका संयोजक प्रहरी नायव निरीक्षक विरेन्द्र जोहारीका अनुसार मण्डलवाट १८ किलो हाड तथा ११ फिट ४ इन्च लामो बाघको छाला बरामद गरिएको छ। उक्त बाघ केही दिन अघि मात्र भारतको पिलिभितस्थित जंगलमा औषधी प्रयोग गरी मारेको मण्डलले बयानका क्रममा बताएको सई जोहारीले बताए। 'नेपाली तस्करसित मिलेर छाला र हाड चीन पुर्यातउने तयारी गरिरहेका थिए' जोहारीले भने, 'चिनियाँ व्यापारीसित १२ लाख ५० हजारमा बिक्री गर्ने योजना बनाएका रहेछन्।' मण्डलसंगै अन्य तीन जनाको समूहले छाला र हाड तिब्बत पुर्याडउने योजना बनाएको खुलेको छ। 'अन्यको खोजी गरिरहेका छौं' संयोजक जोहारीले भने।

मण्डल नेपाली तस्करसित मिलेर भारतबाट बाघका छाला र हाड चीनतर्फ ओसारपसार गर्दै आएको स्रोतले बतायो। 'नेपाली र भारतीय तस्कर मिलेर लामो समयदेखि तस्करी गर्दै आएका थिए' स्रोतले भन्यो। प्रहरीको अनुसन्धान टोलीले पक्राउ गरेका मण्डल तथा बरामद गरेको छाला हाड शुक्रवार नै जिल्ला वन कार्यालयलाई बुझाएको छ। 'बरामद सामान हामीले चाँडै शुक्लाफाँटा बन्यजन्तु आरक्षलाई बुझाउँछौं,' जिल्ला वन अधिकृत पशुपति प्रसाद कोइरालाले भने। अभियुक्त मण्डललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारबाही उनले बताए।

प्रकाशित: २ माघ २०७१ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App