भारतीय राज्य उत्तर प्रदेशको लखिमपुर भन्ने ठाउँमा छेडखानीको एउटा अनौठो मामिला सामुन्ने आएको छ। छोडखानीको शिकार कुनै महिला नभई कुखुराकी पोथी बनेकी छे।
छिमेकीको कुखुराको भालेले आफ्नो घरमा पालेको पोथीलाई जिस्काएको र दुर्व्यवहार गरेको भन्दै एक दम्पती प्रहरीकोमा गएपछि उजुरी टिप्ने प्रहरीलाई सुरुमा त विश्वासै लागेन।
'छिमेकीको भालेले हाम्रो घरको पोथीलाई जिस्क्याएर हैरान पार्योै, कारबाही गरिपाउँ,' यस्तो व्यवहोराको निवेदन लिएर आउने दम्पतीलाई देखेर प्रहरी अधिकारी आरके यादव सुरुमा त छक्क परे। 'भरे बुझ्दा उनीहरू जिस्किएका होइन रहेछन्। केही बेर गम खाएर प्रहरी अधिकारीले पोथी जिस्क्याउने भालेमाथि कारबाही गर्ने बताएपछि सो दम्पती आश्वस्त भएर घर फर्कियो,' समाचारमा भनिएको छ।
कुखुरापालन गर्दै आएका ईश्वरदीन र उनकी पत्नी रामगुनी यस्तो गुनासो लिएर प्रहरीकोमा पुगेका थिए। 'हामीले करिब आधा दर्जन पोथी पालेका छौँ। हाम्रा पोथी जब खोरबाट बाहिर निस्कन्छन्, तब छिमेकीले पालेको भालेले उनीहरूलाई छेडखानी गर्ने गर्छ,' उनीहरूले उजुरीमा उल्लेख गरेका छन्। आफ्नो भालेलाई सम्हालेर राख्न छिमेकीलाई भने पनि उनले नमानेपछि थुप्रैपटक छिमेकीसँग हात हालाहाल भइसकेको समेत उनीहरूले बताएका छन्। प्रहरीले ईश्वरदीन दम्पतीलाई छिमेकीलाई सम्झाएर भालेलाई तह लगाउने आश्वासन दिएको छ।
प्रकाशित: २ माघ २०७१ ०१:३७ शुक्रबार





