वैज्ञानिक आधार र तर्क नभएको कुनै पनि चिजप्रतिको विश्वास नै अन्धविश्वास हो। भूतप्रेत, बोक्सी, धामीझाँक्री, झारफुक आदिमात्र अन्धविश्वास होइनन्। कसैले हातमा ब्रासलेट लगाउँछ र यसका कारण उसको जिन्दगीमा फलिफाप हुन्छ भन्ने सोच्छ भने ऊ अन्धविश्वासी हो। बलिउडका थुप्रै सितारा अन्धविश्वासी छन्। कस्ता–कस्ता अन्धविश्वास धारण गरेका छन् त उनीहरूले ?
अमिताभ बच्चन

बलिउड हस्ति अमिताभ बच्चन क्रिकेट भनेपछि हुरुक्कै हुन्छन्। तर, उनी क्रिकेटका खेल लाइभ हेर्दैनन्। आफूले लाइभ हेरे आफूले समर्थन गरेको टिमको विकेट झर्छ र उसले हार्छ भन्ने अन्धविश्वास छ उनको। उनलाई श्रीमती जया र बुहारी ऐश्वर्याले स्कोर बताउने गरेका छन्।
शाहरूख खान

किङ खान ५५५ नम्बरलाई आफ्नो 'लकी चार्म' मान्छन्। उनीसँग थुप्रै कार छन् र तिनको नम्बर प्लेटमा अंकित छन्– ५५५। फिल्म 'चेन्नई एक्सप्रेस'मा उनले हाँक्ने मोटरसाइकलको नम्बर पनि ५५५ थियो।
सलमान खान

सलमानको हातमा ब्रासलेट टुट्दैन। बाबु सलिमले उपहार दिएको यो ब्रासलेट लगाएर उनले कैयौँ फिल्म खेलेका छन्। आफ्नो फिल्म इद पर्ववरिपरि रिलिज गर्दा फाइदा हुने अन्धविश्वास पनि पालेका छन् उनले।
आमिर खान

बेजोड अभिनेता तथा सामाजिक सक्रियतावादी आमिर खान क्रिसमसका बेला फिल्म रिलिज गर्छन्। यस पर्वले आफ्नो भाग्योदय गराउने विश्वास गर्छन् उनी।
करिना–सैफ जोडी
करिना कपुर र सैफ अलि खानको हट बलिउड जोडी कारको नम्बरमा अन्धविश्वासी छ। करिना ३ अंकलाई शुभ मान्छिन् भने सैफ ७ अंकलाई भाग्यशाली ठान्छन्।
कट्रिना कैफ

आफ्नो नयाँ फिल्म रिलिज हुनुअघि कट्रिना कैफ सुफी अन्त ख्वाजा मोइनुद्दिन चिस्तीको अजमेरस्थित दर्गामा प्रार्थना गर्न पुग्छिन्।
विद्या बालन
अभिनेत्री विद्या बालन पाकिस्तानी विशेष ब्रान्डको गाजललाई आफ्नो 'लकी चार्म' ठान्छिन्। हाशमी नामक उक्त गाजलमात्रै प्रयोग गर्छिन्। 'द डर्टी पिक्चर' हिट भएपछि अहिले रातो रङलाई उनी भाग्यशाली ठान्छिन्। यस फिल्ममा उनले रातो सारी पहिरेकी थिइन्। त्यसयता थुप्रै समारोहमा उनी रातो सारीमा देखिएकी छिन्।
अक्षय कुमार

अक्षय कुमारको अन्धविश्वास छ– आफ्नो फिल्मको रिलिजका बेला भारतमा बक्स अफिसमा चौपट हुन्छ। त्यसैले उनी यस्तो बेला भारतबाहिर हुने गर्छन्।
शिल्पा सेट्टी
अभिनेत्री शिल्पा सेट्टी क्रिकेट टिम राजस्थान रोयल्सकी मालिक्नी पनि हुन्। आफ्नो टिमको खेलमा उनी दुइटा घडी लगाउने गर्छिन्। अर्काे रोचक कुरा के भने जब विपक्षी टिम ब्याटिङमा हुन्छ उनी उपरखुट्टी लाएर बस्छिन्। र, आफ्नो टिमले ब्याटिङ गर्दा उनी सामान्य आसनमा हुन्छिन्।
बिपाशा बसु
आफ्नी आमाले सिकाएको परम्परा निर्वाह गर्दै बिपाशा बसु हरेक शनिवार कागती र हरियो सुन्तलाको झुप्पा किनेर कारमा राख्छिन्। यसो गर्दा अमंगल दूर हुने उनको अन्धविश्वास छ।
राकेश रोशन

निर्माता राकेश रोशनलाई अंग्रेजी अक्षर 'के'सँग औधी लगाव छ। आफूले निर्माण गरेको पहिलो फिल्म 'कामचोर', निर्देशन गरेको पहिलो फिल्म 'खुदगर्ज' देखि आजका दिनसम्म उनका फिल्मका नाम अंग्रेजी अक्षर 'के' बाट सुरु भएका छन्। उनको 'के' मोह यति गहिरो छ कि यिनले कुनै दिन आफ्नो नाम 'काकेश कोशन' राखे भने अचम्म नमाने हुन्छ।
प्रकाशित: २५ पुस २०७१ ०९:५३ शुक्रबार





