...
नेपाली समाजभित्र राजनीतिक चेतना निकै विस्तार हुँदै छ। चाहे त्यो जातीय पहिचान र अधिकारका लागि होस्, चाहे क्षेत्रीयताको सवालमा। साहित्य लेखनमा पनि यही चेतना घुस्दो देखिन्छ। २०५२ सालदेखि सुरु भएको माओवादी सशस्त्र युद्धको पृष्ठभूमि र ०६२/६३ को जनआन्दोलनको उभारसँगै मूलधारको लेखनबाट बाहिर रहेका भनिएका लेखकहरू आफ्नो पहिचान बोकेर टक्कर दिन आइपुगेका छन्। सुषुप्त रूपमा तीसको दशकदेखि नै लेखनमा देखिँदै आएको यसखाले जागरणलाई दोस्रो जनआन्दोलनले ह्वात्तै बढायो। जसमा पहिचानसहितको संघीयताको बहसले धेरै साथ दियो। उनीहरूको यस्ता लेखनमा सांस्कृतिक–जातीय पहिचान र आञ्चलिकताको अभिव्यक्ति प्रखर रूपमा पाउन सकिन्छ।
साठीको दशकभर त कविताबाटै पहिचानको मुद्दा हस्तक्षेपकारी रूपमा सतहमा आएको ठान्छन्, आख्यानकार राजन मुकारुङ। सुरुवाती चरणमा जातीय पहिचानलाई मात्रै उचाल्ने खालका आक्रोशपूर्ण कविता आए पनि पछिल्लो समय त्यो प्रगतिशील चिन्तनबाट प्रेरित रहेको उनको स्वीकारोक्ति छ। ‘आफ्नो सांस्कृतिक विम्ब, मिथक र लबजलाई प्रस्तुत गर्ने क्रममा ठाडो स्वर देखिएकै हो तर अहिले धेरै परिमार्जन र चेनतागत रूपमा विस्तारित भएको छ,' उनी भन्छन्, ‘पहिचानको मुद्दा संसारभर उठिरहन्छ। परम्परागत चिन्तन भत्काउनका लागि कलममार्फत विद्रोह गर्नु आवश्यकताको बोध पनि हो।'
साहित्यमा आफ्नोपनको फरक स्वादसहित पहिचान र नश्लचेत लिएर ०५६ सालदेखि ‘सिर्जनशील अराजकता' नामक आन्दोलन सुरु भयो, जसको एक सक्रिय अभियन्ता पनि हुन्, उनी। उक्त आन्दोलनले नश्लीय बोधलाई केन्द्रमा राख्यो। जसको लक्ष्य थियो– पहिचान वा अस्तित्व।
‘आर्य सभ्यता र हिन्दु दर्शनमा केन्द्रित नेपाली साहित्यको एकछत्र सत्तामाथि प्रहार गर्न हामी विचारात्मक आन्दोलन लिएर आयौं,' उनी आन्दोलनको पृष्ठभूमिबारे भन्छन्, ‘सुरुमै दुई दर्जन साहित्यकार यसमा जोडिन आइपुगे। सुरुमा ठाडो र आक्रामक लेखन पनि भए।' तर उनी यसलाई उत्पीडन र दमनविरुद्धमा आएको स्वाभाविक स्वर ठान्छन्।
किरात लिपि संरक्षक सिरिजंगा, फाल्गुनन्द, इमानसिंह चेम्जोङ हुँदै किराती मिथक र विम्बलाई वैरागी काइँलाले बीसको दसकयता कवितामा प्रयोग गर्न थाले। प्रयोगशीलताको रूपमा आए पनि त्यो सचेतनापूर्वकै आएको बताउँछन्, मुकारुङ। काइँलाको ‘अस्तित्वको दाबीमा साबातको बैला उत्सव', ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित' जस्ता कविताका मुन्धुमी लयको लेपन पाउन सकिन्छ। ‘उनको त्यो लेखनलाई मूलधारको साहित्यले स्वीकार्न बाध्य भयो,' मुकारुङ प्रस्ट्याउँछन्, ‘परम्परागत एकखाले लेखनमा फरक र विविधतापूर्ण स्वाद आयो। जसले साहित्यको समृद्धिमा एउटा इँटा थपेकै हो।'
मूलधारे साहित्यको केन्द्रले सुरुदेखि नै आफूहरूको लेखनलाई प्राथमिकता नदिएको गुनासो मुकारुङ र राईजस्ता जनजाति लेखकमा जति छ, तराई–मधेसका लेखकहरू पनि उस्तै पीडाबाट गुजि्ररहेको सुनाउँछन्।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा नाट्यकर्मी रमेश रञ्जन झा नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा ०१५ सालको संविधनमै उल्लेख गरिएकाले खसभाषी र यसका लेखक–सर्जकले मात्रै अवसर पाउँदै आएको बताउँछन्। ‘खस नेपाली भाषामात्रै उत्कृष्ट र अरू सब नबुझिने भन्ने जुन प्रवृत्ति वर्षौंदेखि हामीकहाँ छ, त्यो गलत हो,' उनको असन्तुष्टि छँदै छ, ‘त्यो दम्भ नत्यागी समग्र नेपालभित्रको भाषा साहित्यको उन्नति हुँदैन।' आफ्नो भाषिक, क्षेत्रीय पहिचानका लागि वर्षौंदेखि संघर्ष गर्दै आए पनि सन्तुष्ट हुने अवस्था बनिनसकेको उनी बताउँछन्। ‘भारतको राष्ट्रभाषा हिन्दी हो,' उनी उदाहरण पेस गर्छन्, ‘तर त्यहीँका बंगाली लेखक रवीन्द्रनाथ ठाकुरले विश्वप्रसिद्ध नोबेल पुरस्कार पाएको इतिहास साक्षी छ।'
तीसको दशकमा कविता लेख्दा भूपाल राईले जातिवादी कविको जुन आरोप सहनुपर्थ्यो, अहिलेका केही जनजाति कविलाई पनि त्यसखाले आक्षेप आइलाग्छ। ‘पहिचान भन्नेबित्तिकै जातिवाद हो भनेर बुझ्ने संकीर्ण सोचाइ भएकाहरू नाक खुम्च्याउँछन्,' पछिल्लो पुस्ताका कवि चन्द्रवीर तुम्बापो भन्छन्, ‘हामीले मात्रै राज्यको विभेदकारी नीतिविरुद्ध धावा बोलेका हौं, हाम्रो उद्देश्य आर्य सभ्यता र क्षेत्री–बाहुन लेखकमाथि प्रहार गर्नु होइन।'
पहिचान अरूको पनि
साहित्यको कुनै सीमा र भूगोल हुँदैन। आफूभन्दा भिन्न समाज–संस्कृतिमा भिजेर लेख्ने साहित्यकार पहिले पनि थिए। अहिले पनि आइरहेका छन्। विश्वेश्वरप्रसाद कोइराला आर्यमूलका हुन्, उनले २०२७ मा किरात संस्कृतिलाई समेत उजागर गर्दै ‘सुम्निमा' उपन्यास लेखे। तराई भावभूमिमा ध्रुवचन्द्र गौतम, विश्वेश्वरप्रसाद कोइराला, धच गोतामे, इस्माली आदि र पछिल्लो समय नयनराज पाण्डे, महेशविक्रम शाह, आन्विका गिरीहरूले लेखिरहेकै छन्। तिनका लेखनमा त्यहाँको सामाजिक, सांस्कृतिक, राजनीतिक उत्पीडन मुखरित भएको छ। मनु ब्राजाकीले त मैथिली भाषामै लेखिसकेका छन्। युग पाठकले तामाङ सांस्कृतिक मिथकमा आधारित ‘उर्गेनको घोडा' लेखेर थुप्रो चर्चा कमाए।
‘पहिचान भन्नेबित्तिकै सीमान्त वर्ग र उत्पीडनमा पारिएका समुदायको मात्रै होइन, पहिचान सबैको हुन्छ, हुनुपर्छ,' आख्यानकार मुकारुङ भन्छन्, ‘मूलधारमै रहेका र खसभाषी लेखकले पनि फरक समुदायका लागि लेख्ने सकारात्मक प्रयास भएकै हुन्।'
नाट्यकर्मी रञ्जन आफूहरूले बुझेको मधेसको पीडाबोध फरक क्षेत्रका साहित्यकारको लेखनमा आउन नसक्ने बताउँछन्। ‘कुनै समाज–परिवेशलाई आधार बनाएर लेख्नेहरू पपुलारिटीका लागि मात्रै हो कि त्यहाँको संवेदनासँग पनि अन्तर्घुलित भएका छन् भन्ने बुझ्न जरुरी छ,' उनी भन्छन्, ‘सिर्जनालाई क्षेत्र, जाति वा भूगोलले बाँध्नु हुँदैन तर पुरातन एकात्मक राज्यनीतिको पीडा हामीले जति अरूले भोगेका छैनन्।'
उनी प्रश्न गर्छन्, ‘भूपि, वैरागी काइँला वा श्रवण मुकारुङहरूले सुरुदेखि नै खस भाषामा नलेखी आफ्नो मातृभाषामा मात्रै लेख्दै आएका भए राज्यले उनीहरूलाई चिन्थ्यो होला? यत्तिको पहिचान र सम्मान पाउँथे होला?'
लेखक युग पाठकका अनुसार राज्यको एकात्मक नीतिकै कारण गैर खसभाषी वा सीमान्तकृत समुदायका लेखकहरूले साहित्यमा पहिचानको लडाइँ लडिरहेका हुन्। बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक नेपालमा एउटै भाषालाई मात्रै महत्व दिँदा अन्यभाषी वञ्चितीकरणमा पर्दै आएको पाठकको मूल्यांकन छ। ‘नेपाली साहित्य भन्नेबित्तिकै खस भाषा र हिन्दु संस्कृतिमा मात्रै आधारित लेखन होइन। समग्र देशको चित्र आउन हरेक जाति, भाषी र समुदायको लेखनलाई स्वीकार्नुपर्छ,' उनी भन्छन्, ‘जाति–जनजातीय लेखकहरू एकखाले माहोल सिर्जना गरेर आएका छन्। अहिलेको राजनीति र साहित्यमै पहिचान मुद्दा टड्कारो बनिरहेको छ।'
पाठकको ‘उर्गेनको घोडा'ले धेरै मात्रामा तामाङ समुदायको अवस्था झल्काउँछ। यसलाई उनी परम्परागत राजा–महाराजा केन्द्रित लेखनभन्दा फरक लेखन भएको बताउँछन्। ‘कथित मूलधारे साहित्यको बहिष्करणमा परेका समाज–संस्कृतिका लेखकले मात्र होइन हामीले पनि लेख्नुपर्छ भन्ने बोध भएपछि तामाङ इतिहासको अध्ययनमा लागेँ,' उपन्यास लेखनका रभनागर्भबारे उनले सुनाए, ‘आफूभन्दा फरक समाजमा भिजेर लेख्न सहज थिएन। तर, नयाँ स्वाद आउँछ भन्ने उद्देश्यका साथ उपन्यास जन्मियो।'
अरूको लेखाइमा लक्षित समुदायका लेखकजत्तिको भोगाइ नआउला तर एउटा ‘ऐना' आउनेमा विश्वस्त छन्, कवि भूपाल राई। ‘पहिचानको लेखनमा हामीमात्रै छैनौं, अन्य समुदायका लेखकले पनि यस मुद्दामा साथ दिन आइपुगेका छन्,' किरात एकेडेमीको अध्यक्षसमेत रहेका उनले भने। एकेडेमीले सामाजिक–सांस्कृतिक मुद्दा र उत्पीडिनको आवाज समेटिएको एउटा कृतिलाई हरेक वर्ष पुरस्कार पनि दिँदै आएको छ। ‘उर्गेनको घोडा'का लागि युग पाठक र ‘ब्रिटिश साम्राज्यका नेपाली मोहरा' कृतिका लागि झलक सुवेदीको उक्त पुरस्कार पाइसके। दुवै गैरजनजाति लेखक हुन्।
त्यसो त, बिपीको सुम्निमाले किरात सभ्यतामाथि प्रहार गरेको आरोप लगाउँदै २०५१ सालमा सुम्निमाका केहीप्रति जलाइयो पनि। कवि राई वा आख्यानकार मुकारुङ सुम्निमालाई किराती सभ्यताको पक्षमा लेखिएको भनेर स्वीकार्ने पक्षमा छैनन्। ‘राष्ट्रिय मेलमिलाप नीति'का खातिर लेखिएको उपन्यास थियो त्यो। मनोवैज्ञानिक रूपले पनि एकात्मक र हिन्दु सौन्दर्य शास्त्रकै पक्षपोषण गरेको पाइन्छ,' राई प्रश्न गर्छन्, ‘सुम्निमाको साटो सीतालाई नांगो रूपमा देखाइएको भए के त्यो मूलधारे साहित्यले स्वीकार्थ्यो?'
सुम्निमाले त्यो बेला आम किराती समुदायमा चोट पुर्यामए पनि समयको परिवर्तनसँग मूल्यांकन गरिँदै जानुपर्ने मुकारुङको भनाइ छ। ब्राह्मण नायक सोमदत्तसँग किरातहरूकी आराध्य देवी सुम्निमालाई नांगो रूपमा सम्भोग गराइएको देखाउनु न्यायपूर्ण नरहेको उनी बताउँछन्। ‘भानुभक्तको वधूशिक्षालाई पनि समयक्रमसँगै समीक्षा, विश्लेषण र पुनर्मूल्यांकन गर्न सकिन्छ। रामायणमा रामभन्दा शक्तिशाली देखिने हनुमान किन रामकै दास भए त? त्यहाँ पनि सामन्तवादी चिन्तन त हाबी रहेछ नि,' उनी भन्छन्, ‘वधूशिक्षा र सुम्निमामै अडिराख्ने होइन, समाकालीन वस्तुस्थितिको सापेक्षतामा पुनमूल्यर्ांकन नगरे विवाद झन् बढेर जाने देखिन्छ।'
लेखक पाठक पनि सुम्निमामा बिपीले किरात मिथक र संस्कृतिलाई राम्रोसँग देखाए पनि हिन्दु फ्रेमबाटै अभिप्रेरित भएको मूल्यांकन गर्छन्। ‘अन्य लेखक फरक जाति र समाजमा छिर्दा धेरै गम्भीर बन्नुपर्छ र त्यहाँको अन्तकर्थाको वास्तविक विम्ब ल्याउन सक्नुपर्छ,' उनी भन्छन्, ‘ध्रुवचन्द्र गौतमको ‘अलिखित'ले मधेसको मुद्दा त उठायो तर बढ्ता मधेसको विद्रुपीकरण भइदियो।'
मैथिली भाषामा लिखित उपन्यास ‘सङोर'का लेखकसमेत रहेका रञ्जनले उपन्यासको नेपाली अनुवाद ‘उमस'मा भनेका छन्– मधेस र मधेसी समाजमा घटित सामाजिक–राजनीतिक विद्रोहको कारण, विद्रोहको अराजक घटनामा रूपान्तरणजस्ता कुराको इमानदार अन्वेषणको प्रयास नेपाली भाषाका साहित्यकारबाट भएको देखिँदैन।
भाषिक दमन
नेपाल भाषाको स्वर्णकाल पनि थियो, मल्लकाल। पछि राणाहरू शासनसत्तामा पुगेसँगै नेपाल भाषामा लेख्ने–प्रकाशन गर्नेहरू दण्डित हुनुपर्योछ। नेपाल भाषाका सर्जक समेत रहेका शुक्रराज शास्त्रीले जेलनेल भोगे। नेपालभाषामै कविता छापेकोमा चित्तधर हृदयलाई छ वर्ष कैद र सिद्धिचरण श्रेष्ठलाई नेपाल भाषामै ‘वर्षा' कविता लेखेकोमा १२ वर्ष जेल सुनाइयो। १९९७ को प्रजातान्त्रिक आन्दोलनमा नेपाल भाषाकै साहित्य सर्जक फत्तेबहादुर सिंह पनि कारबाहीमा परे। उनलाई सर्वस्वसहित जन्मकैद नै सुनाइएको थियो।
मिथिला नाटक–साहित्यको संरक्षण गर्न ०३६ तिर जनकपुरमा मिथिला नाट्यकला परिषद् स्थापना भयो। तर खुल्ला रूपमा कार्यक्रम गर्न नाट्यकर्मीले ठूलो संघर्ष गर्नुपरेको थियो। त्यसअघि फाट्टफुट्ट नाटक लेखिए पनि मिनापपछि विचारात्मक र चेतनाका हिसाबले केही सफलता पायो। त्यसयता साहित्य लेखिरहँदा राज्यको एकभाषी नीतिका कारण पटक–पटक सिकार हुनुपरेको तीतो अनुभूति नाट्यकर्मी रञ्जनको सम्झनामा छँदै छ। नाटक स्वीकृत गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा सेन्सर गराएर मात्रै पास गराउनुपर्थ्यो। तराईमा मूलरूपमा नाटक–साहित्यमा मातृभाषा बलियो बनेर आयो। ‘त्यहाँका सर्जकले मातृभाषामा उत्कृष्ट सिर्जना गरिरहेकै थिए, तर मैथिली भाषा बुझ्ने मान्छे प्रशासनमा थिएनन्,' उनी भन्छन्, ‘सरकारविरुद्ध लेखिएको हो कि भन्ने शंका गरिरहन्थे। मैथिली बुझ्ने कर्मचारी नै थिएनन्।'
उनी त ‘नेपाली भाषा–साहित्य' शब्दमै एकात्मकता हाबी भएको तर्क गर्छन्। ‘नेपालभित्रका भाषा–साहित्यलाई जनाए पनि यो शब्दले खस भाषा र सोही समुदायका लेखकलाई मात्रै प्राथमिकतामा राखिरह्यो,' उनी भन्छन्, ‘मैथिली, भोजपुरी, राई, लिम्बू, तामाङ आदि भाषाभाषीको साहित्यले अझैसम्म पहिचान खोज्दै हिँड्नु विडम्बना बनेको छ।'
तराईका बसेर नाट्यकर्म गरिरहेका उनीजस्ता सर्जकले मात्रै होइन, पूर्वी पहाडको जनजाति समुदायका कवि भूपाल राईले पनि थुप्रै चुनौती सामना गर्नुपरेको छ। उनले ०४० सालतिर गीत लेखे–
‘यो तिम्रो माटो हो तिमीले टेकेको
यो तिम्रो आकाश हो तिमीले ओढेको
आमा यसरी कथा सुनाउँछिन्–
अघि बढ्नेलाई खुला बाटो छ
पछि अड्नेलाई मुरी माटो छ।'
रेकर्डका लागि गीत रेडियो नेपाल पुग्यो तर केही शब्दमा रातो लगाउँदै राईलाई भनियो– गीतमा केही शब्दमा जातीय गन्ध पाइन्छ, सुधार नगरेसम्म रेकर्ड हुन सक्दैन। ‘मैले त्यसका लागि डटेर लड्ने निर्णय गरेँ र सर्वोच्च अदालतको ढोका ढकढक्याउने बताएपछि मात्रै रेडियो नेपाल रेकर्ड गर्न सहमत भयो,' राई सुनाउँछन्।
त्यसयता उक्त गीत रेडियोले बजाइरहेको थियो। ०५४ तिर पूर्वी पहाडमा खम्बुवान मुक्ति मोर्चाका नामबाट आन्दोलन सुरु भयो। मोर्चाले राईकै गीतलाई त्यस बेलाको राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली' हटाएर स्कुल–स्कुलमा राष्ट्रिय गान लागू गरिसकेको रहेछ। धेरैपछि मात्रै थाहा पाउँदा राई चकित परे। रेडियो नेपालले सुइँको पाइहाल्यो। अन्ततः के चाहियो र! गीतमाथि नै बन्देज लाग्यो। दोस्रो जनआन्दोलनपछि मात्रै त्यो फुकुवा भएको उनी बताउँछन्।
त्यसो त, राज्यकै महत्वपूर्ण अंग न्यायालयले एकभाषी नीति लागू गराउन गरेको निर्णय साउन १८ ‘कालो दिन'का रूपमा इतिहासमा अंकित भइसकको छ। २०५६ मा काठमाडौं महानगरपालिकामा नेपाल भाषा, सप्तरीको राजविराज नगरपालिका र धनुषा जिविसले कामकाजका रूपमा मैथिलीलाई मान्यता दिने निर्णय गरे। सोविरुद्ध परेको रिटअनुसार सर्वोच्च अदालतले ‘नेपाल भाषा र मैथिली प्रयोग नगर्नू' भनी साउन १८ मा आदेश दियो। सोही दिनलाई आदिवासी जनजातिले कालो दिनका रूपमा लिँदै आएका छन्।
पञ्चायतकालभरि राज्यको स्रोत साधन खसभाषामै केन्द्रित भएको लेखक पाठकको बुझाइ छ। ‘नेपाल भाषा, मैथिली, भोजपुरी र अन्य भाषीले त्यो सुविधा भोग्न पाएनन्,' उनले भने, ‘मधेसी, आदिवासी, जनजाति, सुदूर कर्णालीबाट मूलधारसम्म आउनै पाएनन्, दिइएन। ‘च्यानल' मिलाएर आउनेले मात्रै अवसर पाएको देखिन्छ।' ‘कथित नेपाली भाषा'लाई जोड दिइएकाले अन्य सर्जक मातृभाषाबाट एकैचोटि खस/नेपालीमा हामफाल्नु सहज नभएको र सोही कारण प्रतिस्पर्धाबाट वञ्चित भएको उनले बताए।
‘अहिले पनि ठूला साहित्यिक कार्यक्रम राजधानी केन्द्रित र मुख्य सहरमा मात्रै हुन्छ,' उनले प्रश्न गरे, ‘सुदूर पश्चिम र कर्णालीसम्म जाने प्रयास किन गरिँदैन?'
सिर्जनशील अराजकतापछि ०५८/५९ देखि लेखनमा फरक धार भित्याउन पूर्वमा रंगवादी आन्दोलन जन्मियो। सोही आन्दोलनमा एक अभियन्ता कवि चन्द्रवीर तुम्बापो ‘मूलधार भनिने साहित्यमा जनजातीय मौलिकतामात्रै होइन सीमान्त क्षेत्रका अन्य समुदायको पनि आवाज नसमेटिएको' बताउँछन्। ‘इतिहासको कालखण्डमा बेलाबेला राज्यसत्ताले कोल्टे फेर्दा कुनै न कुनै वर्ग–समुदाय छायामा पर्छ,' उनी भन्छन्, ‘हामीले लेखिरहेको साहित्य सीमान्तकृत र मूलधारबाट किनारामा पारिएकाहरूको छाया लेखन नै हो।'
लेखक/साहित्यकार अभय श्रेष्ठ वर्षौंदेखि चल्दै आएको साहित्यको एकात्मक सत्ताबाट पछाडि पारिएका समुदाय, उत्पीडित वर्ग र खस भाषाको पहुँच नहुने वर्गका लेखक मारमा परेकै यथार्थलाई नकार्न सक्दैनन्। ‘त्यो वर्णश्रम व्यवस्थामा आधारित शोषणपूर्ण र विभेदकारी एकात्मकता भत्काएर अरूले राज गर्ने भनेको होइन। सँगै हात मिलाएर जाने भन्ने हो,' उनी भन्छन्, ‘त्यो एकात्मकताले खसभाषी बाहेकका लेखकलाई प्राथमिकतामा पारिएन। तसर्थ प्रतिपर्स्धा गर्न गाह्रो भयो।'
बहुल सौन्दर्य शास्त्र
संस्कृत नाट्यपरम्परामा आदर्श नायक हुनका लागि कुशल, कुलीन, विशिष्ट, धीरोदात्त ब्राह्मण/क्षेत्री, शास्त्रज्ञ आदि ज्ञानले सम्पन्न हुनुपर्ने उल्लेख छ। संस्कृत हुँदै नेपाली साहित्यमा विस्तारित नायकत्वको यसखाले परिभाषा बदल्न विशेषगरी जनजाति लेखक लागिपरेका छन्। फरक सौन्दर्य शास्त्र निर्माण निर्माण भए, भइरहेका पनि छन्।
०६६ मै किरात किराती सौन्दर्य शास्त्रको अवधारणा सार्वजनिक गरिसकेको किरात एकेडेमी मुन्धुममा आधारित सौन्दर्य शास्त्र निर्माणको क्रममा छ। ‘हिन्दु दर्शनमा आएका राम, सीता, कृष्णजस्तै हामी पनि आफ्नो संास्कृतिक मिथकका पात्रलाई लेखनमा स्थापित गराउने प्रयास गरिरहेका छौं,' एकेडेमी अध्यक्ष भूपाल राई भन्छन्, ‘हिन्दु सौन्दर्यशास्त्रलाई केन्द्रमा राख्दै आएको नेपाली साहित्यले विविधता स्वीकार्नैपर्छ। समृद्धितर्फ बढ्ने हो भने फरक स्वाद आउनैपर्छ।'
मूलधारे साहित्य ‘हिन्दु सौन्दर्य शास्त्र'को फ्रेममा रहेको बताउने उनी उक्त फ्रेम भत्काएमात्रै सबैको पहिचान भेटिने बताउँछन्। ‘हिन्दु सौन्दर्य शास्त्रमा आधारित नायकत्व र देवदेवीका मिथक विम्बको एकात्मक स्वरूप नभत्काएसम्म अन्य सांस्कृतिक चिन्तन ओझेलमै हुनेछन्,' उनले भने, ‘त्यसपछि मात्रै जाति–जनजातिका, पछाडि पारिएका समुदायका, उत्पीडित वर्गको वास्तविक दर्दले स्थान पाउनेछ।'
बहुभाषी, बहुसांस्कृतिक र विविध वर्गसमुदाय रहेको सानो देशको साहित्यमा आर्य सभ्यताको एकल वर्चस्व भएकाले नयाँपनका लागि पृथक सौन्दर्यशास्त्रको पनि आवश्यकता देख्छन्, उनी। ‘पुरातन मान्यता तोडेर सबैलाई समान स्थान दिनुपर्छ भन्ने हो,' उनी भन्छन्, ‘हामीले कहिले पनि जातिवादको कुरा गरेका छैनौं। जातीय मुक्तिका लागि लडेका छौं।'
कविता वा आख्यानमा मात्रै होइन पछिल्लो समय नेपाली सिनेमामा यसखाले नायकत्व हाबी हुँदै आइरहेका छन्। ‘अब नायकत्व होइन चरित्रमा ध्यान दिने बेला आएको छ,' आख्यानकार मुकारुङले उदाहरण पेस गरे, ‘चकलेटी, अग्लो र चुच्चो नाक भएको हिरो होइन दयाहाङजस्ता क्षमतावान् चरित्र पनि फिल्मका हिरो हुँदा रहेछन् भन्ने पुष्टि भइसकेको छ।'
पहिचानको मूलस्वर
दोस्रो जनआन्दोलनपछि नेपाल प्रज्ञा प्रतिष्ठानले नयाँ नियमावली बनायो। जसमा ‘नेपाली भाषाका साहित्य...' आदि भनिएको ठाउँमा ‘नेपालका साहित्य....' भनेर उल्लेख गरिएको छ। यो निर्णयपछि मात्रै नेपालभित्रका सबै भाषाका साहित्यलाई सम्बोधन गरिएको आभास भएको ठान्छन्, नाट्यकर्मी रमेश रञ्जन। ‘तर राज्यकै प्राथमिकताका एकेडेमी छैन, स्वयं भाषाका सर्जकको प्रविबद्धता र समर्पणले मात्रै अस्तित्व धानिँदै आएको तीतो यथार्थ हो,' उनी नयाँ भाषिक नीतिको खाँचो औंल्याउँछन्, ‘देश संघीय संरचामा जानुअघि नै नयाँ भाषिक नीति बने पछि समस्या आउँदैन।'
नेपाली भाषापछि धेरै बोलिने भाषा मैथिली हो। ०६८ सालको जनगणाले झन्डै १२ प्रतिशत मैथिलीभाषी रहको देखाउँछ। मैथिली आदिकवि विद्यापतिको समय १३औं शताब्दीको अन्त्यदेखि सुरु भएको साहित्य मल्लकालको अन्त्यसम्म देखिए पनि पृथ्वीनारायणको राज्य एकीकरणपछि नलेखिएको रञ्जन बताउँछन्। उनका अनुसार त्यो बीचको समय कुनै पनि मिथिला साहित्य लेखिएको पाइँदैन। शाहकालको अन्त्यसँगै सात सालपछि मात्रै पुनः लिखित साहित्य देखा परेका हुन्। ‘तराईको मुख्य केन्द्र जनकपुरको साहित्य परम्परा हेर्ने हो भने समृद्ध छ तर मूलधारे साहित्यमा त्यो ओझेलमै परेको पर्योन,' उनले भने, ‘सात सालअघिको समय मैथिली साहित्यका लागि ‘कालो समय' पनि हो।' खस भाषामा भन्दा उत्कृष्ट कृति मैथिलीमा लेखिँदै आए पनि मूलधारमा तिनले चर्चा नपाएको उनी गुनासो गर्छन्।
५० को दशकमा प्रगतिशील गीत–संगीतमार्फत पहिचानको खोज गरिए। ६० को दशकमा कविता शक्तिशाली भएर आइदियो। अहिले आख्यानमा कम र कविताम हस्तक्षेपकारी रूपमा पहिचानको मुद्दा नै मूलस्वर बनेर आएको देखिन्छ। ‘तर पहिचान भनेको जातीयतामात्रै होइन सामाजिक न्यायका लागि पनि हो,' आख्यानकार मुकारुङ भन्छन्, ‘माआवादी युद्धको जगमा भएको दोस्रो जनआन्दोलपछि पहिचानको लेखनले एउटा स्वरूप बनायो। चेतनाको स्तरमा वृद्धि भए पनि राज्य यस्ता लेखनलाई पाठ्यक्रममा समावेश गर्न हिचकिचाइरहेको छ।'
त्यसो त उनको उपन्यास ‘दमिनी भीर' २०६९ सालको मदन पुरस्कार नै पायो। यसलाई उनी आफ्नो आन्दोलनले जितेको ठान्छन्। ‘पहिचानको लडाइँ मूलधारे साहित्यले स्वीकार्न थालेको यसबाट पुष्टि हुन्छ,' उनी भन्छन्, ‘तर दमिनी भीरको जति चर्चा भयो त्योभन्दा बढी प्राज्ञिक बहस ‘हेत्छाकुप्पा'माथि भयो। हेत्छाकुप्पा पनि सीमान्त वर्गहरूकै उत्पीडनको स्वर थियो।'
वैरागी काइँलादेखि फाट्टफुट्ट सुरु भएको किराती सौन्दर्यलाई बिस्तारै श्रवण मुकारुङ, विक्रम सुब्बा, भूपाल राई, राजन मुकारुङ उपेन्द्र सुब्बा, हाङयुग अज्ञात आदिले विस्तार गरे। तिनका कृतिहरूमा सांस्कृतिक मुद्दा, पहिचान र विभेदकारी राज्यविरुद्ध आक्रोश मुखरित भएका छन्। मूलधारको साहित्यिक फ्रेमभन्दा भिन्न यलम्बर, सुम्निमा–पारुहाङ, तायामा–खियामा, हेत्छाकुप्पा, रुमुहाङ, बाखाम्मा, चाक्लुङ्धिमा जस्ता विम्ब र तिनका मिथकलाई पनि पछिल्लो समय अधिक प्रयोग गर्न थालियो।
नयाँ पुस्तामा जनजातीय सांस्कुतिक चिन्तनका साथ फूलमान बल, मुक्तान थेवा, राबत, चन्द्रवीर तुम्बापो, स्वप्निल स्मृति, हेमन राई, दुतेन्द्र चाम्लिङ, राजु स्याङ्तनहरू आइरहेका छन्। तिनका कवितामा, तामाङ वा किरत मिथक विम्ब, जातीय मुक्तिका कथा र समग्रमा आत्मसम्मानको भाव पाइन्छ।
त्यसअघि पनि पहिचानलार्ई केन्द्रीय स्वर बनाएर सगनु सुसारा, भवानी तावा, सन्त थलङ, प्रकाश थाम्सुहाङहरूले कविता लेखे।
तराई र विशेष मिथिला संस्कृतिमा आधरित लेखनमा रामभरोस कापडी, धीरेन्द्र प्रेमर्षि, राजेन्द्र विमल, श्यामसुन्दर शशि, धर्मेन्द्र झा, अमरेन्द्र झा आदि आइरहेका छन्। तिनले आफ्ना सिर्जनामा सीमान्त वर्गका पीडा, भाषागत वञ्चितीकरणको आवाज, मधेसको दुःख र मिथिला संस्कृतिलाई प्राथकिता दिइरहेका छन्।
नाटक र आख्यानभन्दा पनि पछिल्लो समय कवितामा पहिचानको स्वर मुखरित भएर आएको छ। राज्य नै पहिचानसहितको संघीयता र समावेशीकरणमा गइरहेको अवस्थामा साहित्यमा आएको यसखाले माहेलले समृद्धिमा ठूलो सघाउन पुर्यामउने ठान्छन्, लेखक अभय श्रेष्ठ।
कवि भूपाल राईले कविता सुरु गर्दैगर्दा कलममार्फत युद्ध लडिरहेको थिए– पहिचानको युद्ध। अहिले परिस्थिति फेरिएको छ, उनी एक्लै छैनन् सामूहिकताको स्वर संगठिन बनिरहेको छ। ‘राजनीतिक परिदृश्य फरियो। माहोल बनिरहेको छ,' उनी भन्छन्, ‘तर पर्याप्त भइहालेको छैन। परिष्कृत विचार आउन बाँकी छ। संख्या बढ्दै गएकाले गुणात्मकता त स्वतः आउने नै छ।'
रञ्जनले त आफ्नो उपन्यास ‘उमस'मा ‘एकजातीय, पर्वतीय, एकभाषीय चेतना, पात्र र परिवेशको साहित्यलाई मात्र नेपाली भाषाको आवरणमा मूलधारको साहित्य स्वीकार्न नसकिने' बताएका छन्।
बहुलताले भरिपूर्ण देशको ‘मूलधारे साहित्य'ले पनि आदिवासी–जनजाति, दलित, सीमान्तकृत, सुदू्र पश्चिमका लेखनलाई जति स्वीकार्योय उति साहित्यमा विविधता थपिने हो। भाषा, संस्कृति र वर्ग–समुदायको बहुलतापूर्ण सानो देशमा सबैको सहभागिता भएमात्रै साहित्यको साझा फूलबारी बन्न सक्छ। अनिमात्रै समग्र साहित्यले समृद्धि पाउँछ। नत्र स्वप्निल स्मृतिहरू कवितामार्फत यसरी नै राज्यविरुद्ध आगो ओकलिरहनेछन् :
...म बोल्छु/कराउँछु/गाली गर्छु/उफ्रिन्छु
सरकार सुने पनि नसुनेझैं गर्छ
तेरो भाषा बुझ्दै बुझिनँ भन्छ
...सायद,
सरकार बन्दुकको भाषामात्र बुझ्छ।
.................................
प्रकाशित: ५ पुस २०७१ ००:१८ शनिबार





