५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

'आउट, ज्योति आउट'

कैलाली- 'हट' लोकगायिकाको परिचय बनाएकी ज्योति मगर कैलालीमा आयोजित महोत्सवबाट मन चिसो पारेर फर्किएकी छिन्। पूरै ज्यान नछोप्ने सेतो टिसर्ट र कालो स्कर्ट लगाएर मञ्चमा उक्लेकी ज्योति जब गाउन थालिन्, दर्शकदीर्घाबाट विरोधका नारा घन्किन थाले।
छोटो पहिरनमा मञ्चमा देखेपछि परिवारसहित महोत्सव हेर्न आएका दर्शकले उनलाई 'आउट, ज्योति आउट' भन्दै विरोध गरेका हुन्। सुदूरपश्चिमको सांस्कृतिक मूल्यमान्यताको विपरीत पहिरनले यस क्षेत्रको अपमान भएको भन्दै दर्शकले कडा आलोचना गरेका हुन्। उद्‌घोषकले ज्योति मगरको नाम लिँदा स्वागतले ताली र सिटी बजाएका युवाले समेत उनको गेटअपको आलोचना गरे। विरोधस्वरूप कन्डमको बेलुन बनाएर उडाउन थाले। यसको जवाफमा ज्योतिले ठट्टा गरिन्, 'सभ्य भएर गोजीमै राखिराख्दा काम लाग्छ। एड्स सर्दैन।'
त्यसपछि महिला दर्शकले विरोधका आवाज तीव्र पारे। माहोल एकदमै अशान्त भएपछि चारवटा गीत प्रस्तुत गर्ने भनेर उद्‌घोषण गरिएकी ज्योतिलाई आयोजकले बीचमै रोके। उनको समर्थन र विरोधमा हुटिङ हुन थालेपछि कार्यक्रम माहोल शान्त गर्न प्रहरीलाई समेत हम्मे परेको थियो।
गायिका ज्योति मगरले भने उक्त ड्रेसअप आफ्ना लागि सामान्य भएको बताइन्। उनले शुक्रबारसँग कुराकानी गर्दै अरूभन्दा फरक देखिन यस्तो गरेको बताइन्। भनिन्, 'अरूभन्दा फरक देखिन चाहन्छु।' धनगढी पनि शहरी क्षेत्र नै भएकाले यस्ता ड्रेसअपको त्यति चर्को विरोध जायज नभएको उनको धारणा थियो।
पछिल्लो समय कला, संस्कृति र पहिचान जोगाउनका लागि भनेर प्रचार गरिने महोत्सवहरू कन्सर्टमा परिणत हुँदै गएका छन्। सुदूरपश्चिममा अझै लोकप्रिय देउडा गीत भए पनि आयोजकले निश्चित स्वार्थका लागि आफू अनुकूल अन्य कलाकार बोलाउने गरेको गुनासो छ। महोत्सवमा कलाकारलाई बोलाउने जिम्मा लिएका अब्बु ओझाले समितिको निर्णयअनुसार कलाकार बोलाउने भएकाले अहिलेका चर्चित कलाकारलाई बोलाएको बताए। उनले सुदूरश्चिम महोत्सवमा भाषा र पहिरनका बारेमा पहिल्यै जानकारी गराउने गरेको दाबी गरे।
सुदूरपश्चिमका महोत्सवमा आउने अधिक कलाकार त्यहाँको भाषा र संस्कृतिलाई महत्त्व नदिने खालका हुने भनेर दर्शकले गुनासो गरेका छन्। 'यो चाडपर्व हो, हामी सबै परिवारसँग आएका छौँ,' एकजना प्रौढले भने, 'यस्ताबाट हाम्रा छोराछोरीले के सिक्छन् ?'
धनगढी–७, देवहरियानिवासी मायाश्री गायिका ज्योतिको ड्रेसअपले सुदूरपश्चिमका चेलीहरूको अपमान भएको बताइन्।
सुदुरपश्चिमको कला, संस्कृति संवद्र्धन र स्थानीय उत्पादनको बजारीकरण भनेर नौ वर्षदेखि महोत्सव हुँदै आएको छ। तर, महोत्सव उपलब्धिविहीन हुँदै रमाइलोका रूपमा परिणत भएको व्यापक गुनासो छ।

प्रकाशित: ४ पुस २०७१ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App