उनीहरूलाई लोक बाबा, गुरु, महाराजजी आदि भनेर सम्मान गर्छ, श्रद्धा गर्छ, पूजा गर्छ। दुःखकष्ट र रोगव्याधिबाट छुटकारा दिलाइमाग्न मान्छेहरू उनीहरूका चरणमा भरोसासहित घोप्टो पर्छन्। तर, बाबा वा गुरु भनाउँदाहरूको नियत भने अर्कै हुन्छ। एड्सको उपचार गरिदिने, सन्तान दिलाइदिनेजस्ता हास्यास्पद दाबीका साथ लोकलाई उल्लु बनाइरहेका केही बाबाका नियत र यथार्थ खोतल्न खोजेका छन्, अम्मर जिसी र सुकृत नेपालले।
काठमाडौँमा 'महान् भगवान् रा गौहर शाही जी'का नाममा व्यापक पर्चा बाँडिएका छन्। पशुपतिनाथस्थित वनकाली, खुलामञ्च र जनकपुरको जानकी मन्दिरमा हुने कार्यक्रममा सहभागी भई उनै 'महान् भगवान्'को दर्शन पाउन सकिने प्रचार भइरहेको छ। पर्चामा लेखिएको छ, 'कल्की अवतारका महापुरुष प्रतिनिधि महाराज गुरु रा यूनुश अल गौहर (सतगुरु) ले मनुष्यको हृदयमा ईश्वरको मंदिन बनाउन सतनाम रा राम दान गर्नुहुनेछ र एचआईभी, एड्स, टीबी, पत्थरी, निःसन्तानलगायत सबै रोगको निःशुल्क आध्यात्मिक इलाज गर्नुहुनेछ।'
मेडिकल साइन्सले समेत निदान भेट्न नसकेको एचआईभी तथा एड्सको समेत सतगुरुबाट उपचार ! जिज्ञासाका लागि पर्चामै उल्लेख गरिएको कल्की अवतार फाउन्डेसन, कपन, आकाशेधारासम्म पुग्न खोजियो। कपनको भित्रपट्टि सुनसान गल्लीमा रहेको त्यो फाउन्डेसन भेट्नै मुश्किल पर्यो। छिमेकीहरू पनि यसप्रति अनभिज्ञजस्तै थिए। 'इन्डियन मूलका झोले जस्ता लाग्ने दुईचारजना केटाहरू पर्चा छर्दै मोटरसाइकलमा हुइँकिन्छन्,' एक छिमेकीले भने, 'उनीहरूको गतिविधि हेर्दा शंकास्पद लाग्छ।'
बाहिर नाम, निशान नभएको फाउन्डेसन कार्यालयमा पुग्दा त्यहाँ भेटिएका एक दुब्ला, अग्ला व्यक्तिले आफ्नो नाम अमरदेव बताए। तल्लो तलाको पूरै फ्ल्याट भाडामा लिएर पूजाआजाको व्यवस्था मिलाइएको छ। छेउमा थरीथरी पर्चा, पम्पलेटको रास लगाइएको छ। दुईजना युवती भान्सामा मोबाइल खेलाइरहेका थिए। अमरदेवले पूजाकोठामै आफ्नाबारे बताउन खोजे। उनका अनुसार महान् भगवान् शाहीजीको नेपालस्थित सम्पर्क कार्यालय तथा दर्शनस्थल हो यो। आफ्नो घर दिल्लीको चाँदनी चोक बताउने उनी भन्दै थिए, 'हामी आफ्नै लगानीमा निःशुल्क सेवा दिन नेपाल आएका हौँ। हरेक रोगको उपचार हुन्छ। सबैलाई शान्ति मिल्छ।'
अमरदेवले उपलब्ध गराएको एउटा पर्चामा लेखिएको छ, 'के तपाईं असाध्य रोगबाट पीडित हुनुहुन्छ ? जीवनमा अशान्ति र अपूर्णताको अनुभूति गर्नुहुन्छ ? भगवान्सँग प्रेम सम्बन्ध र दर्शन गाँस्न चाहनुहुन्छ ? सबै मानवका लागि निःशुल्क सेवा चौबीसै घण्टा उपलब्ध छ। महान् भगवान शाहीजी अन्तिम प्रेम अवतार हुनुहुन्छ।' भगवान्सँग अदृश्य साक्षात्कार गर्ने तरिका सिकाइएको छ। उपचारको विधि पनि उल्लेख छ। कुनै भाँडामा शुद्ध पानी लिएर प्रार्थना गर्ने अनि त्यो पानी बिरामीलाई खुवाएपछि रोग निको हुने दाबी पर्चामा छ। चन्द्रमा, सूर्य, महाशिवलिंगमा शाहीजीलाई देखाउँदै भ्रम फिजाइएका तस्बिर पर्चामा छन्।
अमरदेवका अनुसार शाहीजीकै प्रतिनिधिका रूपमा गुरुबा अनीलले यहाँ सत्संग र झारफुक गराउँछन् हरेक शनिवार। सयौँ व्यक्ति आफूहरूलाई भेट्न आइसकेको बताउने उनी खिन्नता व्यक्त गर्छन्, 'आउँछन्। जान्छन्। कोही टिक्दैनन्। यो नेपालीको कमजोरी मैले नोटिस गरेको छु।' नेपालीहरूमाझ विश्वासको खेती गर्न चाहने उनीहरू चारपाँच महिनादेखि यहाँ रहँदै आएको स्थानीयले बताए। अमरदेवले भने नेपालमा आफूहरूले दुई वर्षदेखि यस्तो पूजाआजा गराउँदै आएको दाबी गरे। बाबाको विश्वसनीयताबारे सोध्दा उनले भने, 'हामी अरूजस्ता ठग होइनौँ। निःशुल्क हुन्छ सबै कुरा।'
आफ्नै सम्पत्ति खर्चेर यो सबै 'सेवा' दिइरहेको बताउने उनी आफूहरूले अन्य कुनै काम नगर्ने बताए। एकैछिनमा एक महिलाले 'भैया साडी बन्यो' भनेर सोध्दा उनी हामीलाई बिदा गर्न खोज्दै थिए। बाहिर निस्केर छिमेकीलाई सोध्दा उनी त साडीमा सितार र बुट्टा भर्ने काम पो गर्दा रहेछन्। सुरुमा बाँडिएको हिन्दी र अंग्रेजी भाषामा लेखिएको पर्चा उपलब्ध गराएका ती छिमेकीले भने, 'विश्वासै लाग्दैन मलाई त। हेर्दै ठगजस्ता लाग्छन्।'
पर्चामा उल्लेख गरिएका तीनवटा नम्बरमध्ये एक नेपालीको हो। उनीहरू त नेपाली बोल्नै जान्दैनन्। नम्बर उल्लेख गरिएका ती नेपालीले आफूले धेरै कुरा बुझ्न बाँकी रहेको फोनमा भने। उनले त्यो फाउन्डेसनको लोकेसन पनि राम्रोसँग ठम्याइ नसकेको बताए। यसरी भारतबाट नेपाल छिरेका व्यक्तिहरूले यहीँका केही व्यक्तिलाई प्रयोग गरेर विश्वासको खेती फैलाउन खोजिरहेका छन्।
०००
पछिल्लोपटक भारतमा रामपाल बाबाको रहस्य खुलेपछि नेपालमा रहेका उनका भक्त वा चेला भनिएकाहरू चुपचाप छन्। पहिला त खुलेरै प्रचार गर्दै उनको प्रभाव नेपालमा पनि फैलाउन खोज्दै थिए उनीहरू। आफूप्रति आकर्षित गर्न भए÷नभएका गफ दिएर रंगिन पर्चा छापेर बाँड्दै थिए। काठमाडौँको सम्पर्क कार्यालय अहिले बन्द भएको बताइन्, आफ्नो नाम सरीता बताउने रामपालकी कट्टर भक्तले। एउटै सिरियलका पाँचवटा मोबाइल नम्बर र एउटा ल्यान्डलाइन नम्बर पर्चामा उल्लेख गरिएको छ। तिनैमध्ये एउटा मोबाइल बोकेकी छिन् सरीताले। विभिन्न नेपाली टिभी च्यानलमा रामपालका प्रवचन प्रसारण गरिन्थे। उनले नेपालमा पनि आफ्ना पक्षमा वातावरण बनाउन धेरै खर्चेका थिए। तिनै प्रवचन र पर्चाबाट प्रभावित भएर सयौँ नेपाली भक्तका धनी भइसकेका थिए रामपाल। नेपाल वान, साधना, भक्ति दर्शन र तराई टीभीमा रामपालको 'मंगल वचन' प्रसारण हुन्थ्यो।
यहाँस्थित रामपाल बाबाको आश्रम कहिले खुल्ला ? फोन जिज्ञासामा सरीताले भनिन्, 'उहाँको केस सुन्नुभएकै छ। उहाँलाई फसाइएको छ। यो भन्दा पहिला पनि फसाउने प्रयास गरिएकै हो। यो सबै नाटक रचिएको छ। यो नाटक सकिएपछि खुल्ला।' उनका अनुसार नेपालबाट बाबाको दर्शनका लागि हरियाणा गएका धेरै नेपाली घटनामा मुछिएका छन्। आफूले पनि १० पटक हरियाणामै दर्शन पाइसकेको उनले बताइन्। 'सत्यनारायण भगवान्लाई पुज्थ्यौँ। शास्त्रअनुसारकै काम गर्थ्यौँ। धेरै ज्ञान पाएका थियौँ,' उनले भनिन्, 'यस्तो बेलामा धेरै कुरा नगरौँ। खुलेको जानकारी पाउनुभयो भने आउनुहोला। शक्ति पाउनु हुनेछ।' आफू थाइराइडको बिरामी भएकाले उपचारका लागि रामपालको भक्त भएको र सुधार भइरहेको पनि उनले बताइन्।
फोन सम्पर्कमै आएका अर्का एक भक्तले यो घटनाले आफूहरू स्तब्ध भएको बताए। उनका अनुसार घटनापछि धेरैले यो पथ त्याग्दै छन्। 'यस्ता घटनाले सबै गुरुहरूको इज्जतमा दाग लाग्छ। नेपालमा त प्रायः इन्डियाकै गुरु छन्। सबै डराएका छन्,' उनले भने, 'तर, विश्वास भन्ने कुरा सजिलै बदल्न गाह्रो पर्दो रहेछ। मैले पनि केही सोच्नै सकेको छैन।'
०००
सन्तानहीनताको उपचार हुन्छ भनेर बाबाहरूकै शरणमा पर्दापर्दै 'सारा सम्पत्ति' गुमाइसकेका विराटनगरका जयराम खत्री ऋण तिर्नका लागि खाडी मुलुक जाँदै छन्। विगत तीन वर्षदेखि बाबा र गुरुबाहरूको भर परेर उनले छ लाख रुपैयाँ ऋण बोकिसक्दा पनि उनकी श्रीमती आमा बन्न सकिनन्। 'नेपालभरि मैले थाहा पाएजति बाबा भेटिसकेँ। कोही बाँकी छैनन्। कोहीले पैसा मागे। कोहीले श्रीमतीको शरीरै मागे। सबैले शोषण गरे। अब त यी बाबाले ज्यान लिने धम्की पनि दिन थाले,' उनले दुःख पोखे, 'ऋण तिर्न चुपचाप विदेश जाँदैछु।' कसले कति शोषण ग¥यो, उनले खुलाउन चाहेनन्। अब त उनी बाबा, गुरुबाजस्ता शब्द सुन्नै चाहन्नन्। उनी आक्रोशित छन्, 'सबै ठग हुन्। सबै चोर छन्। नेपालीलाई विश्वासमा पारेर लुट्न आएका हुन्।'
छोराको मानसिक सन्तुलन ठीक हुने आशमा पशुपति परिसरमा रहेका एक बाबाकहाँ वर्षदिन धाउँदा पनि काठमाडौँ, चाबहिलकी सुनीता श्रेष्ठलाई हात लाग्यो शून्य भयो। 'छोरा झन् धेरै बिरामी पर्न थालेको छ। लाखौँ गुमिसक्यो,' उनले भनिन्, 'कहाँ गएर भन्ने ? के गर्ने ? भेउ पाउनै सक्या छैन।'
पशुपतिमा उपचारको भ्रम
पशुपतिनाथमा बाबाहरूको बगालै छ। यहाँ उपचारका नाममा व्यापार भइरहेको छ। पशुपतिभित्रको राममन्दिरका 'ठूले बाबा'लाई भेट्न जाँदा उनी एकजना बिरामीलाई उपचारका लागि बाबा टेकबहादुर गिरीकहाँ 'रिफर' गरिरहेका थिए। बिरामीकै अगाडि टेकबहादुरलाई फोन गरेर भन्दै थिए, 'एकजना बिरामीलाई पठाइदिन्छु है।' उनले केही निश्चित रकम भने तिर्नुपर्ने शर्त राखे। आफूलाई एचभाईभी संक्रमण भएको बताउने पीडितलाई उनले विश्वास दिलाउन खोजे, 'मैले त्यहाँ पठाएका सबै रोगका सबै बिरामी सञ्चो भएका छन्। तपाईंको पनि सञ्चो हुन्छ।' उनले फोन नम्बर पनि दिए। त्यही नम्बरमा सम्पर्क गर्दा टेकबहादुरले भने, 'सबै रोग सञ्चो हुन्छ। सञ्चो भएपछि आफूलाई मन लागेको पैसा दिनुहोला।' पशुपति क्षेत्रमै भेटिएका बाबा मुरारीले पनि आफ्नो शरणमा परेर कडा साधना गरे जस्तासुकै रोग र चिन्ता निमिट्यान्न हुने आश्वासन दिए। 'मनले भेटी चढाए पुग्छ। मैले भनेजस्तो साधना गर्नुपर्छ। मेरो आत्मा खुशी भयो भने भगवान् खुशी भएर तपाईंलाई आनन्द हुन्छ,' उनले दाबी गरे।
पशुपतिमै 'उपचार' गर्न आएका रौतहटका रामलखन सोहरीले बाबाहरूले उपचारका नाममा आफूलाई 'भिखारी' बनाएको बताए। 'सास फेर्न गाह्रो हुने रोग छ। डाक्टरले धेरै पैसा लाग्छ भनेपछि उपचार गराउन सकिएन। सस्तैमा हुन्छ भन्ने सुनेर पशुपति आइयो। एक वर्षमा सबै सिद्धियो। भिखारी बनाएर पठाउने भए। पशुपति आएर जोगी भएर जाने भइयो,' उनले भने। उनका अनुसार बाबाहरूले जे पायो त्यही जडिबुटी खुवाउने गर्थे। जे मनमा आयो, त्यही गराउँछन्। कहिले योग, कहिले ध्यान, कहिले उपासना यस्तै–यस्तै। उनका अनुसार केही महिलालाई पनि ती बाबाले गोप्य कोठामा छुट्टाछुट्टै राखेर साधना गराउने गर्थे। यौनशोषणसम्म हुने गरे पनि भित्रै छिपाउने गरिएको आरोप लगाउँछन् रामलखन। 'बाबाको गतिविधिमा शंका लागेपछि म त अचेल जानै छोडेँ,' उनले बाबाको नाम भन्न चाहेनन्।
अघोरीको त्रास
नेपाली बृहत् शब्दकोशले अघोरीलाई यसरी परिभाषित गरेको छः अघोरपन्थी। नराम्रो वा जे पायो उही खाने, असत्ती।
अघोरी बाबाहरू भारतका विभिन्न धार्मिक क्षेत्रमा चर्चामा रहने गरेका छन्। केही अघोरी बाबाले पशुपतिलाई पनि आफ्नो आश्रय बनाउँदै आएका छन्। लामो समयदेखि पशुपतिमै बस्दै आएका चुनचुन नामका अघोरी बाबा १० वर्ष अगाडि बिते। उनको पूर्ण कदको मूर्तिसहित आश्रममा अहिले पनि चेलाचेलीहरूको चहलपहल भइरहन्छ।
गतवर्ष बितेका पागलनाथ अघोरी बाबा पनि चर्चामा थिए। 'मान्छेको मासु खान्छन्' भन्ने त्रास थियो। यो त्रास अहिले पनि कायमै रहेको पशुपतिका एक फुटपाथ व्यापारीले बताए। टीएन भनिने त्यागीनाथ अघोरी बाबा केही समयदेखि पशुपतिमा छैनन्। 'मान्छे खाने बाबा हुन्छन् भनेर मलाई वनकाली, मृगस्थली र राम मन्दिर वरपर जानै डर लाग्छ,' हरेक शनिवार पशुपतिमा पूजा गर्ने शिवभक्त हिरामाया थापाले भनिन्, 'हल्लामात्र हो कि साँच्चै हो, बुझ्नै सकेकी छैन।' अघोरी बाबाहरू जे पायो त्यही खाने र जे पायो त्यही गर्ने जंगली प्रकृतिका हुन्छन् भन्ने उनको बुझाइ छ।
आफूलाई अघोरीको चेला सुनील महाराजजी बताउने बाबाले स्पष्ट पार्न खोजे, 'अहिले यहाँ कुनै पनि अघोरी छैन। भक्त र चेलामात्र बाँकी छन्। अघोरी भन्नेबित्तिकै डराउनुपर्ने कुनै कारण छैन्। यो वाहियात हल्लामात्र हो।' उनले आफू कडा साधनाबाट अघोरपन्थमा लागेको बताए। 'तपाईं मांसाहारी हो भने सबको मासु खानुपर्छ। आफ्नो मासु खाएर आफैँलाई चिन्ने कर्म हो अघोरपन्थ। जबर्जस्ती होइन, प्रसादका रूपमा खाने हो,' उनले भने, 'संसारमा कुनै पनि कुरामा भेद गर्नु हुन्न भन्ने मान्यता यसमा हुन्छ। मरेको मान्छेमाथि बसेर साधना गर्दा जीवन चिन्न सकिन्छ।' मसानघाटको शिरानमा रहेको डरलाग्दो भैरव गुफामा बस्ने उनी आफ्नो बारेमा बताउन चाहँदैनन्। कलिलै उमेरका उनी प्रसादका लागि चाहिने मान्छेको मासु भारतको बनारसबाट आउने बताउँछन्। 'चाह्यो भने यहीँ पनि पाइन्छ नि। लाश पोल्दा उछिट्टिएको र बचेको मासुले पनि काम चल्छ। मसानघाटमा लाश पोल्नेसँग सम्पर्क गरे उनीहरूले जति पनि उछिट्याइदिन्छन्,' उनले भने, '१० वर्षअघि मैले अघोरी साधना गरेको थिएँ। मसँगै काठमाडौँका ३० जनाले पनि साधना गरेका थिए।'
वनकालीमा आफूलाई अघोरी बताउने दुईचारजना जोगीले त्रास देखाउँदै आएका छन्। कालो पहिरनमा हुने उनीहरू जे मन लाग्यो त्यही गर्ने र बोल्ने गर्छन्। आफूलाई अघोरी मोहन बताउने बाबा र उनका एक साथीले शुक्रवारकर्मीलाई समेत धम्क्याए। नशाले लट्ठिएका एकजना हिँड्दै गर्दा लडिहाले। मोहनका साथीले धम्क्याए, 'तिमी अघोरी बन्ने हो ? तिमी आफ्नै दिशा, पिसाब खान सक्छौ ? जे पनि खानुपर्छ। बल्ल भइन्छ अघोरी। अनि मिल्छ हाम्लाई जस्तो शक्ति।' उनले 'मेरो दिशापिसाव खान्छौ ?' भन्दै कचौरामा शौच गर्न तम्से। तर, मोहनले रोके। उनी आक्रोशित थिए, 'हामी पैसा दिन्छौँ। हाम्लाई कति किलो ल्याइदिन्छौ मान्छेको मासु ?'
पशुपति मन्दिर घुम्न आएका कीर्तिपुरका रामगोपाल महर्जन छेउमै तमासा हेरिरहेका थिए। उनले शुक्रवारसँग भने, 'यस्तै छाडा जोगीहरूले गर्दा पशुपतिको माहोल नै बिग्रिएको छ। यस्तालाई कसले होला तह लाउने ?' उनी अघोरीका नाममा त्रास देखाउने बाबाहरूलाई तह लगाउन नसके विकृति बढ्ने बताउँछन्। आफूलाई अघोरी बताउने यस्तै छाडा जोगीहरूले पशुपतिको पारिपट्टि रमिता देखाइरहन्छन्। तालतालका जोगीले आफूलाई अघोरी बताउँदै असभ्य गतिविधि गरिरहेका हुन्छन्। 'यस्ता अघोरी बताउने फोहोरी र विकृत जोगीहरूलाई पशुपतिबाटै लखेट्नुपर्छ,' रामगोपालले भने।
पशुपति क्षेत्रभित्रै रहेको चुनचुन अघोरी बाबाको आश्रममा गोरु, कुकुर, परेवा, बाँदरलगायत जनावर पालिएका छन्। आफूलाई बाबाको सहयोगी बताउने 'भुषाल मामा' र नाम बताउन नचाहने अर्का एकजनाले आश्रम रेखदेख गरिरहेका छन्। उनीहरूका अनुसार बिहान, साँझ बाबाको मूर्तिमा पूजा गरिन्छ। महिनामा एकपटक रुद्री पूजा हुन्छ। बाबालाई सम्झने भक्तहरू पूजाका लागि टाढाटाढाबाट आइरहने बताउँछन् भुषाल मामा। 'अघोरी आफैँमा नराम्रो होइन। बुझाइ गलत भयो,' उनले भने, 'संसार चिनाउने मान्छे हो अघोरी बाबा।' कुराकानीकै क्रममा हामी पत्रकार भएको जानकारी पाएपछि उनीहरूले 'पत्रकारलाई यहाँ निषेध छ' भन्दै बाहिर निकाल्न खोजे। लामो आग्रहपछि कुराकानी गर्न तयार भएका उनीहरूले स्पष्ट पारे, 'बाबाले पनि पत्रकार छिर्न दिनु हुन्थेन। हामी पनि बाबाकै चेला भएकाले त्यसै गर्छौं। हामीलाई प्रचारमा आउनुछैन। जे छ, यहीँ छ। जसले जे बुझे पनि हामीलाई वास्ता छैन।'
यही आश्रमको छेउमा रहेका पसलका सञ्चालकलाई उनीहरूका गतिविधि मन परेका छैनन्। उनले भने, 'बाबाका नाममा पागलपन देखाउनेहरूले पशुपतिको बेइज्जत गरिरहेका छन्। पसिना चुहाउन नसकेर विरक्तिएकाहरू यस्ता आश्रमका नाममा मनपरी गरिरहेका छन्। यस्तैलाई विश्वास गरेर धाउनेहरू पनि नालायकै हुन्।'
दागी बाबा
सन्त रामपाल
हालसालै प्रहरी फन्दामा परेका सन्त रामपाल विवादित बाबामध्ये अग्रस्थानमा छन्। कबीरपन्थी सम्प्रदायका सन्त उनी कबीरलाई ईश्वरका पनि ईश्वर मान्छन् र आफूलाई सन्त कबीरको अवतार बताउँछन्। मन्दिर दर्शन, मूर्तिपूजा, छुवाछूतलगायतलाई अस्वीकार गर्न आफ्ना अनुयायीलाई प्रेरित गर्ने उनी गायन र नृत्यलाई 'उच्छृंखल र व्यभिचारी कृत्य'को संज्ञा दिन्छन्। वेद, गीता, कुरान, बाइबल, गुरुग्रन्थलगायत विभिन्न धर्मका पुस्तकमा सन्त कबीरलाई प्रमुख ईश्वरको मान्यता दिएको जिकिर गर्दै आफूलाई तिनै ईश्वरको अवतार भएको उनको भनाइलाई लाखौँ अनुयायीले स्वीकार गरेका छन्।
सन् १९९९ मा 'सतलोग आश्रम' स्थापना गरेयता उनले आफूलाई रामादेवानन्दको नामले चिनाउन थाले। पेशाले इन्जिनियर यी ६३ वर्षीय बाबा अहिलेसम्म अनेक विवादमा फसेका छन्।
सन् २००६ मा उनी पहिलोपटक कानुनको फन्दामा परेका थिए। कबीरको आलोचना गर्ने आर्यसमाजका संस्थापक स्वामी दयानन्द सरस्वती र उनको किताब 'सत्यार्थ प्रकाश'लाई अनुशरण गर्नेमाथि जाइलाग्न आफ्ना चेलाचपेटालाई उक्साएका कारण उनले अदालतको धाउनु परेको थियो। आर्यसमाजका सदस्यसँगको झडपमा एक आर्य समाजीको मृत्यु भएपछि उनीमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेको थियो। जेलमा २२ महिना बसेपछि उनी धरौटीमा छुटेका थिए। त्यसयता उनले हत्या, भ्रष्टचार, माफियागिरीलगायत कैयौँ आरोप खेपिसकेका छन्। अदालतमा उनीबारे भएको ४२ वटा सुनुवाइमा उनले सहभागिता जनाएका छैनन्। प्रहरी प्रशासनबाट बच्न उनी लुक्दै हिँड्ने गर्थे। अन्त्यमा प्रहरीले उनलाई उनकै आश्रमबाट पक्राउ गरेको छ। उनीमाथि हत्या, राजद्रोह र अदालतको मानहानिलगायत आरोप लगाइएको छ। अधिकांश आरोप प्रमाणित हुनेखालका भएकाले उनले जेलजीवन बिताउनुपर्ने निश्चितजस्तै भएको टिप्पणी भारतीय अखबारले प्रकाशित गरिरहेका छन्।
अरूलाई सादगीपूर्ण जीवन बिताउन उपदेश दिने रामपाल आफैँ भने ज्यादै विलासीपूर्ण जीवन बाँच्ने गर्थे। उनको आश्रममा सुविधासम्पन्न स्विमिङ पुल, भव्य स्नानगृह, शयन कक्ष, उच्च प्रविधिको म्युजिक सिस्टम, आरामदायी पिङ फेला परेको छ। उनको आश्रमभित्र केही गोप्य कोठा रहेका र ती गोप्य कोठा केका लागि प्रयोग गरिन्छन् भन्नेबारे अझै खुल्न बाँकी छ। जग्गा बेचबिखन गर्दा किर्ते गरेको आरोपसहित उनीविरुद्ध अदालतमा बारम्बार मुद्दा दायर भइसकेको छ।
सन् २०१० र २०१४ बीच उनीविरुद्ध पक्राउ पुर्जी पटक–पटक जारी भएको थियो। उनी आश्रममा रहेको थाहा पाएपछि गत नोभेम्बर ५ मा प्रहरी उनलाई पक्राउ गर्न पुगेको थियो। तर, हतियारसहितका उनका अंगरक्षकले मानव साङ्लो बनाएर आश्रमलाई घेरा हाली प्रहरीलाई भित्र छिर्नबाट रोकेका थिए। तर, १८ नोभेम्रबमा प्रहरीले बल प्रयोग गरेर आश्रममा पसी रामपाललाई खोजेको थियो। त्यतिबेला रामपाल पक्राउ परेनन्। तर, आश्रमभित्र पाँच महिला र एक बालकको शव बरामद भयो। त्यसको भोलिपल्ट ४ सय ९२ समर्थकसहित प्रहरीले उनलाई पक्राउ गरेर उनीविरुद्ध हत्या, हत्या प्रयास गरेको, विभिन्न षडयन्त्र रचेको, गैरकानुनी रूपमा हतियार राखेको, मानिसलाई आत्महत्या गर्न प्रेरित गरेकोलगायत आरोप लागेको छ। पक्राउ पर्नुअघि उनी श्रीमती र चार सन्तानसँग आश्रममा बस्दै आएका थिए।
राम रहिम सिंह
शिख धर्मका गुरु राम रहिम सिंह देरा सच्चा सुधा (डीएसएस) नामक सामाजिक–अध्यात्मिक संगठनका संस्थापक हुन्। चेलाहरूले उनलाई सन्त गुरमित राम रहिम सिंह जी इन्सान भनी सम्बोधन गर्ने गरेका छन्। उनका भक्तको संख्या चारदेखि पाँच करोडजति भएको विभिन्न स्वतन्त्र अनुसन्धानले देखाएका छन्।
ऋनेक हत्कण्डा गरेर उनी विवादमा आउने गरेका छन्। उत्तराखण्डमा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उनले आफ्ना १५ सय भक्तले बाढीका कारण विधवा भएकासँग बिहे गर्ने घोषणा गरेपछि उनको चौतर्फी चर्चा भएको थियो।
सन् २००८ मा पहिलोपटक उनीमाथि कानुनी प्रश्न उठाइएको थियो। उज्वल नाकिम नाम गरेका एक व्यक्तिले सिंहको आश्रममा जाँदा अंगरक्षकलाई गुरु सिंहले एउटा भीडमाथि अन्धाधुन्ध गोली बर्साउन आदेश दिएको आफूले देखेको भन्दै अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेका थिए। गोलाबारीमा परी बाल्कर सिंह नाम गरेका एक व्यक्तिको निधन भएको थियो। तर, भरपर्दो प्रमाणको अभावमा उनी त्यतिबेला कानुनी फन्दाबाट जोगिएका थिए।
सिखहरूका सर्वोच्च धार्मिक गुरु गोविन्द सिंहको जस्तो पहिरन, आभूषण र हाउभाउमा उपस्थित भएर उनले एक समय आफूलाई गोविन्द सिंहको उत्तराधिकारीका रूपमा प्रस्तुत गरेका थिए। गोविन्द सिंहजस्तो भएर आफ्ना भक्तहरूलाई उनले 'अमृत पान'समेत गराएका थिए। उनले गुरु गोविन्द सिंहको अपमान गरेको भन्दै त्यतिबेला शिख समुदायमा ठूलो हंगामा मच्चिएको थियो।
एकपटक उनीविरुद्ध उनका एकजना भक्तले नै अदालतमा मुद्दा दायर गरेका थिए। आफ्नी पत्नीलाई गुरु सिंहले जथाभावी गर्न खोजेको र श्रीमतीको गोप्य अंगमा हातपात गर्नेलगायत यौन शोषणका काम गरेको आरोप ती चेलाले लगाएका थिए। गुरु सिंहबारे अदालतमा चलेको मुद्दाको फैसला हुने समय नजिकिँदै गर्दा आरोप लगाउने चेलाले अन्तिममा 'गुरु सिंहका दुश्मनले मेरी पत्नीलाई उहाँले बलात्कार गर्नुभयो र बन्दी बनाउनुभयो भन्ने आरोपसहित अदालतमा मुद्दा हाल्न मलाई दबाब दिएका थिए, त्यसैकारण मैले मुद्दा हालेको हुँ' भनी बयान परिवर्तन गरेका थिए। त्यसपछि गुरु सिंहले सफाइ पाएका थिए। बयान परिवर्तन गराउन गुरु सिंहले ती चेलालाई विभिन्न धम्की र लोभ देखाएको सर्वत्र चर्चा भए पनि यसलाई पुष्टि गर्ने विश्वस्त प्रमाण भने फेला परेन।
सन् २००२ मा उनीविरुद्ध पत्रकार राम चन्दर छत्रपतिको हत्या गरेको आरोपसमेत लागेको थियो। गुरु सिंहका कुकृत्यबारे कलम चलाउने उनलाई सन् २००२ को अक्टोबरमा गोली दागेर मारिएको थियो।
त्यस्तै भारतको सनसनी समाचार छाप्ने पत्रिका 'तहल्का'ले एउटा अनुसन्धानपरक रिपोर्ट प्रकाशित गरी गुरु सिंहको आश्रम 'बलात्कार र हत्या गर्ने अखडा' भएको र आश्रममा गैरकानुनी तरिकाले हतियार राखिएको भन्दै विभिन्न प्रमाण पेश गरेको थियो। त्यसपछि उनीविरुद्ध यस विषयमा पनि मुद्दा दायर गरिएको थियो।
उनीविरुद्ध आश्रमका ड्राइभर फकीर चन्दको हत्या गरेको आरोपसमेत लागेको थियो। तर, सीबीआईको विशेष अदालतले सन् २०१० मा प्रमाणको अभाव दर्शाउँदै उनलाई सफाइ दियो। उनीमाथि पुरुष अनुयायीलाई शारीरिक यातना दिएर नपुंसक बनाएको आरोपसमेत लागेको थियो। उनीविरुद्ध लागेका कतिपय मुद्दा अदालतमा अझै विचाराधीन छन्। पछिल्लो निर्वाचनमा उनले भारतीय जनता पार्टीलाई जिताउन आफ्ना अनुयायीलाई आह्वान गरेका थिए। आफूले समर्थन गरेको दल नै अहिले सत्तामा रहेकाले उनलाई अहिले हाइसञ्चो भएको टिप्पणी भारतीय अखबारले प्रकाशित गरिरहेका छन्।
आशाराम बापु
सन्त रामपालभन्दा अगाडि नै भारतका अर्का धार्मिक गुरु आशाराम बापु कानुनी फन्दामा परिसकेका छन्। उनले आफ्ना भक्तहरूलाई भक्ति योग, ज्ञान योग र कर्मयोग सिकाउँदै आएका थिए। भक्ति, कर्म र ज्ञानसम्बन्धी साधनाको दुरुपयोग गरेका कारण अहिले उनी जेलमा छन्।
सन् १९७० मा गुजरातमा आश्रम स्थापना गरेर उनले आफूलाई आशाराम बापुका रूपमा सर्वत्र चिनाउने काम गरेका थिए। भारतभरिमा उनको नाममा चार सय २५ जति आश्रम खोलिएका छन् भने उनका नाममा ५० वटाजति गुरुकुल सञ्चालित छन्। भारतसहित विदेशमा उनका लाखौँ अनुयायी छन्।
गुजरातका आध्यात्मिक गुरु आशाराम बापुले सन् २०१२ मा भारतीय राजधानी नयाँ दिल्लीमा गुडिरहेको बसभित्र एउटी युवतीमाथि सामूहिक बलात्कारपछि हत्या भएका सन्दर्भमा दिएको अभिव्यक्तिले विवाद निम्त्याएको थियो। 'बलात्कारीमात्र दोषी हुँदैन, बलात्कृत पनि दोषी हुन्छ। बलात्कृत हुन लाग्दा युवतीले बलात्कार गर्न खोज्नेलाई 'तपाईं मेरो आफ्नै दाजुजस्तो हुनुहुन्छ। बिन्ती मलाई छोडिदिनु' भनेर अनुनयविनय गर्दा के बिग्रिन्थ्यो ? यसले उनी बच्थिन, उनको इज्जत पनि जोगिन्थ्यो। एउटा हातले मात्र ताली बज्दैन।'
सन् २००० मा गुजरातको भैरवी गाउँमा रहेको आशारामको आश्रमले ६ एकड जमिन मिचेको भन्दै मारमा परेका किसानले आशारामविरुद्ध प्रदर्शन गरेका थिए। उनीविरुद्ध प्रशासनमा स्थानीयले रिपोर्ट लेखाएका थिए। मिचेको जग्गा खाली गर्न प्रशासनले दिएको आदेश अवज्ञा गरेपछि प्रहरीको सहयोगमा बुल्डोजर लगाएर अतिक्रमित भूमिका निर्माण गरिएका आश्रमका भवन भत्काइएको थियो।
आशाराममाथि तन्त्रमन्त्रको प्रयोजनका निम्ति गुरुकुलमा पढ्ने दुई बालकको हत्या गरेको आरोपसमेत लाग्यो। उनको आश्रम नजिकैको नदीमा ती बालकका शव भेटिएका थिए। हत्याको सीबीआई जाँच माग गर्दै भारतभरि उनको विरोधमा प्रर्दशन भए। प्रदर्शनमा ती बालकका अभिभावक पनि थिए। तर, प्रमाणको अभावमा दुई बालकको हत्या प्रसंग त्यसै सेलाएर गयो।
अन्ततः बलात्कारसम्बन्धी एउटा केसमा उनी पक्राउ परे। आश्रममा बस्ने एउटी १६ वर्षीय किशोरीमाथि यौन दुराचार गरेको आरोपमा उनी पक्राउ परेका थिए। खराब आत्माबाट मुक्ति दिलाइदिने नाममा उनले ती किशोरीमाथि यौन दुराचार गरेको आरोप लागेको थियो। ती किशोरीलाई कोठाभित्र बोलाएर बापुले जथाभावी गरेको आरोप लगाइएको थियो। ढोकाबाहिर किशोरीकी आमा छोरीलाई रुङेर बसिरहेको बेलामा उनले यस्तो कृत्य गरेको भन्दै त्यसको दुई दिनपछि किशोरीका अभिभावकले आशारामविरुद्ध मुद्दा दायर गरेका थिए। मेडिकल परीक्षणपछि ती किशोरीमाथि यौन हिंसा भएको पुष्टि भयो। तर, किशोरी आफ्नी छोरीजस्तै भएको आफूले त्यस्तो काम चिताउन पनि नसक्ने भन्दै आशारामले सन्देश पठाए। उनले भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले आफूलाई बदनाम गराउने उद्देश्यले बलात्कारको झुट्टो आरोपमा पक्राउ गरेको आरोप लगाएका थिए।
प्रहरीले उनलाई सोधपुछको लागि बोलायो। तर, उनले नसुनेझैँ गरे। सोधपुछका लागि नआएपछि उनलाई भारतीय दण्डसंहिताको सेक्सन ३४२, ३७६ र ५०६ अनुरूप यौनदुराचारलगायत आरोपमा पक्राउ गरियो।
प्रहरीले आफूलाई पक्राउ गर्ला भनेर उनी इन्दौरस्थित आफ्नो आश्रममा बसे। उनलाई पक्राउ गर्न पुगेका प्रहरी र घटनाको समाचार लेख्न पुगेका पत्रकारसँग आशारामका चेलाचपेटाको घम्साघम्सी प¥यो। अन्ततः १ सेप्टेम्बर २०१३ मा उनलाई पक्राउ गरियो।
आशाराम बापुका छोरा नारायण साई पनि आध्यात्मिक गुरु हुन्। बाबुसँगै उनलाई पनि यौन दुराचारमा लिप्त भएको आरोप लागेको थियो। प्रहरीले सोधपुछ गर्दा उनले आठजना महिला भक्तसँग आफूले सेक्स गरेको र एउटीबाट बच्चासमेत पाएको स्विकारेका थिए।
स्वामी नित्यानन्द
आध्यात्मिक प्रवचन दिन र ध्यान सिकाउनमा माहिर स्वामी नित्यानन्द सबैभन्दा बढी सुनिएका भारतीय गुरुमध्येमा पर्छन्। एउटा पत्रिकाले उनलाई संसारभरिका प्रभावशाली सय जीवित आध्यात्मिक गुरुको सूचिमा राखेको थियो। युट्युबमार्फत उनलाई डेढ करोडजति मानिसले सुनिसकेका छन्। उनका २७ भाषामा तीन सयभन्दा बढी अध्यात्मसम्बन्धी किताब प्रकाशित छन्।
सन् २०१० को मार्चमा भारतका धर्मगुरु स्वामी नित्यानन्दका चेलाचपेटा छाँगाबाट खसेझैँ भए। अरूलाई सदाचार र ब्रह्मचर्यको उपदेश बाँड्ने नित्यानन्दको अश्लील भिडियो क्लिप सार्वजनिक भएको थियो। सन च्यानल नामक टेलिभिजन च्यानलले उनको भिडियो प्रसारित गरेको थियो। भिडियो सार्वजनिक भएपछि नित्यानन्दले आफू समाधिको चरणमा उक्लिएको बेला त्यस्तो कृत्य भएको बताएका थिए। भिडियो सार्वजनिक गरेर आफ्नो व्यक्तिगत जीवनमा मिडियाले घुसपैठ गरेको आरोप उनले लगाएका थिए। स्पर्श र मसाजमार्फत मानिस समाधिमा पुग्ने विधि आफूले पछ्याएको भन्दै उनले चोखिने प्रयास गरेका थिए। तर, भक्तहरू यो कुरा मान्न तयार भएनन्। अन्त्यमा उनले भने, 'यौनसँग मलाई नजोड्नुस्। किनकि, म नपुंसक हुँ।'
नित्यानन्दकी भक्त आरती रावले आफूमाथि स्वामीले बलात्कार गरेको आरोप लगाएकी थिइन्। आरोपपछि प्रहरीले स्वामीको आश्रममा छापा मार्दा ठूलो मात्रामा कण्डम, ड्रग्स र गाँजा बरामद भएको थियो।
सेक्स भिडियो सार्वजनिक भएपछि उनीमाथि बलात्कार, अप्राकृतिक यौन, अपराध गर्ने षडयन्त्र, ज्यान मार्ने धम्की दिएको, ठगेको, जालसाझी गरेकोलगायत आरोपमा मुद्दा दायर गरिएको। तर, प्रहरी र अदालतमा उनी तारिख धाउन गएनन। जसकारण २१ अप्रिल २०१० मा हिमाञ्चल प्रदेशमा उनलाई पक्राउ गरियो। तर, डेढ महिनाजति पछि उनी धरौटीमा रिहा भए।
चन्द्रा स्वामी
चन्द्रा स्वामी भारतका विवादित तान्त्रिक हुन्। आफू सिद्धिप्राप्त शक्तिशाली तान्त्रिक भएको उनको दाबी छ। जैन धर्म मान्ने परिवारमा जन्मिएका उनी कालीका भक्त हुन्। भारतीय प्रधानमन्त्री नरसिंह रावको साथी भएकाले उनी भारतभरि चिनिन पुगे। त्यसपछि उनलाई विभिन्न विवादले थप चिनाउन मद्दत गर्यो।
राजनीति, व्यापार र अभिजातवर्गको जीवनलाई राम्रोसँग बुझेका उनले यी तीन क्षेत्रको जीवनमा बिचौलियाको कामसमेत गरे। यसैकारण उनी अनेक कानुनी झमेलामा समेत फँसे। अहिले उनी गुमनामजस्तै भएर जीवन बिताइरहेका छन्।
उनीमाथि आर्थिक अनियमिततामा संलग्न भएको विभिन्न आरोप लागेको छ। यस्तो एउटा आरोप प्रमाणित भएपछि भारतको सर्वोच्च अदालतले उनलाई जरिवाना तिराउने फैसलासमेत गरेको थियो। विदेशी मुद्रा सटही कानुनको उनले उल्लंघन गरेको भन्दै उनलाई १५ करोडजति जरिवाना तिराइएको थियो। त्यस्तै लन्डनको एउटा व्यापारीलाई एक लाख डलर ठगी गरेको भन्दै सन् १९८६ मा उनलाई पक्राउ गरिएको थियो।
आर्थिक गतिविधिमात्र होइन, उनको राजनीतिक गतिविधि पनि विवादमा पर्ने गरेको छ। उनी राजीव गान्धीको हत्यामा संलग्न भएको आशंकामा बीसीआईले अहिलेसम्म अनुसन्धान गरिसकेको छ। गान्धी हत्या छानबिन गर्न गठित कमिसनले यसमा उनको संलग्ताबारे सिंगै रिपोर्ट प्रकाशन गरेको छ। यसैका आधारमा सीबीआईले अनुसन्धान जारी राखेको छ। राजीव गान्धीको हत्या गराउन उनले आतंकवादीलाई आर्थिक सहयोग उपलब्ध गराएको आरोप कमिसनको रिपोर्टमा लगाइएको छ।
स्वामी जयेन्द्र सरस्वती
स्वामी जयेन्द्र सरस्वती ६९ औँ गुरु शंकराचार्य हुन्। चन्द्रशेखरेन्द्र सरस्वती स्वामीगलले उनलाई आफ्नो उत्तराधिकारी तथा ६९ औँ शंकराचार्य घोषणा गरिदिएका थिए। दक्षिण भारतीय राज्य तमिलनाडुका वासिन्दा हुन्। भारतको हिन्दू अभियानका उनी प्रमुख व्यक्तिमध्ये एक हुन्।
धर्म परिवर्तन रोक्न र मठमन्दिरमा बलि दिनमाथि प्रतिबन्ध लगाउन तमिलनाडु सरकारले विभिन्न कानुन बनाएको थियो। यसका लागि स्वामी सरस्वतीले लबिङ गरेका थिए।
सन् २००२ मा उनी ठूलो विवादमा फँसे। कामाक्षी मन्दिरमा भेटीका रूपमा चढेको सुनमा हिनामिना गरिएको भन्दै अडिटर राधाकृष्णनले स्वामी सरस्वतीलाई यसका लागि जिम्मेवार ठहराउन खोजेपछि सरस्वतीले अडिटरको हत्या गर्न गुन्डालाई सुपारी दिएको आरोप लागेको थियो। यो विषय अदालतमा पुगिसकेको छ। अदालतले यो मुद्दाको छिनोफानाो अहिलेसम्म गरेको छैन।
त्यस्तै तमिलनाडुको काञ्चिपुरममा रहेको एउटा मन्दिरमा चढेको भेटी हिनामिना गर्न सजिलो होस् भनेर उनले मन्दिरका व्यवस्थापक शंकरमानको हत्या गराउन अन्य गुन्डालाई सुपारी दिएको आरोपसहित सन् २००४ मा अर्को मुद्दा अदालतमा दायर भएको थियो। यद्यपि, यो मुद्दामा सरस्वतीले सफाइ पाइसकेका छन्।
तमिल भाषाकी साहित्यकार अनुराधा रामाननले आफूसँग सेक्स गर्न स्वामी सरस्वतीले कर गरेर दिक्क लगाएको भन्दै अदालतमा सन् २००४ मा मुद्दा दायर गरेकी थिइन्। सन् २०१० मा उनको निधनसँगै त्यो मुद्दा त्यसै बन्द भयो।
इच्छाधारी बाबा भीमानन्द
इन्छाधारी बाबाले अध्यात्ममा लिप्तभएबापत प्राप्त हुने आनन्द सांसारिक इच्छाको परिपूर्तिबाट हासिल हुने आनन्दभन्दा कैयौँ गुणा बढी हुन्छ भन्दै भक्तहरूलाई उपदेश छाँट्ने गर्थे। तर, उनी आफैँ चाहिँ जस्तोसुकै बाटोबाट भए पनि पैसा कमाएर आफ्नो इच्छा परिपूर्ति गर्दा रहेछन्।
सन् २०१० मा इच्छाधारी बाबाले अरूहरूको यौन इच्छा पूरा गरिदिने व्यवसाय सञ्चालन गरेको खुलासा भएको थियो। उनले वेश्यालयको ठूलै अखडा सञ्चालन गरेको र करोडौँको आम्दानी गर्ने गरेको खुलासा भएको थियो।
धनाड्य मानिसलाई एयर होस्टेस, क्याम्पस पढ्दै गरेका कलिला छात्रा, गृहणी सप्लाइ गर्ने गर्थे। यसो गरेबापत उनले दिनमा करिब दुई लाख ५० हजार भारु आम्दानी गर्ने गर्थे। यसबाट केही वर्षमै उनले २५ सय करोड भारु आम्दानी गरेको सार्वजनिक भएको थियो।
गुरु हुनुअघि पनि उनी दलाल थिए। महिलालाई वेश्यावृत्तिमा लगाएर कमिसन खाने गरेको आरोपमा उनलाई सन् १९९७ मा पक्राउ गरिएको थियो। जेलबाट निस्किँदा उनी जोगी भएका थिए र त्यसपछि उनले धर्मको बुर्को ओडेर वेश्यावृत्तिको धन्दा सञ्चालन गरेका थिए।
उनको पोल खुलेपछि प्रहरीले उनको आश्रममा छापामा मारेको थियो। छापामा मार्ने क्रममा पाँचवटा डायरी बरामद भएको थियो, जसमा पेशेवर यौनकर्मीका नाम, टेलिफोन नम्बर र उनीहरूको रेट लेखिएको थियो।