नेपाली भाषामा बनाइएको नयाँ व्याकरणले 'जोईपोइ, लोग्नेस्वास्नी र पतिपत्नी'लाई जोडिएर बस्न दिएको छ। श्रीमान् र श्रीमतीलाई जोडिएर वा टाँसिएर बस्न रोकेको छ। 'भक्तपुर र कान्तिपुर' जोड भन्छ र 'ललित पुर' नजोड भन्छ। एउटा शब्दलाई एउटा डिकामा लेख्नुपर्छ। समास भएर बनेको शब्द नयाँ शब्द हो। त्यसलाई एउटै डिकामा लेख्नुपर्ने चलन छ।
परम्परागत व्याकरणशास्त्रले हामीलाई त्यही सजिलो कुरो सिकाएको छ: समास भएर बनाइएका व्युत्पन्न शब्दलाई एकै डिकामा जोडेर लेख। पुरानो व्याकरणले 'दुई–दुई अक्षर भए जोड, एकातिर दुई अक्षर र अर्कातिर तीन अक्षर वा लिपिचिह्न भए नजोड' भन्दैन।मामा र ससुरा दुई जना हुन् भने त्यहाँ समास गरिँदैन। 'मामा र ससुरा आए।' भनिन्छ, 'मामाससुरा आए।' भनिँदैन र भन्न हुँदैन। कर्मधारय समास हुँदा दुइटा शब्द जोडिएको देखिए तापनि एकै जनालाई बुझ्नुपर्छ। द्वन्द्व समास हुँदा दुई जनालाई बुझ्नुपर्छ। एकछिन हामी कर्मधारय समासतिर लागौँ। मामा+ससुरा अथवा मामा भईकन ससुरा=मामाससुरा। मामा=आमाका दाजु अथवा भाइ। ससुरा=लोग्नेको बाबु अथवा स्वास्नीको बाबु। मामाससुरा=लोग्नेका लागि स्वास्नीका मामा र स्वास्नीका लागि लोग्नेका मामा। 'मामाससुरा' भन्नाले हामी एकै जनालाई बुझ्न सक्छौँ। 'भानिजभाइ' भन्नाले हामी भानिजलाई अथवा भाइलाई नबुझी फुपूबाट जन्मिएको र आफूभन्दा उमेरले कान्छो केटोमान्छे भनेर बुझ्दछौँ। मितिनीदिदी=दिदीकी मितिनी, मितिनीबहिनी=बहिनीकी मितिनी, मितिनीफुपू=फुपूकी मितिनी, मितिनीआमा=आमाकी मितिनी आदि शब्दबाट हामी एक–एक जनालाई बुझ्दछौँ। यस्तै अवस्था अन्य शब्दमा पनि देखिन्छ। दुइटा नाता जोडिएर नयाँ नाताका शब्दहरू बन्दछन्। यस्ता शब्दहरू नेपाली भाषामा दर्जनौँ पाइन्छन्।
अब हामी द्वन्द्व समासतिर लागौँ। दाजु र भाइ=दाजुभाइ। यहाँ दाजु भिन्दै हो र भाइ भिन्दै हो। 'दाजुभाइ' शब्द सुन्नेबित्तिकै हाम्रा मन–मस्तिष्कमा दुईजना आइपुग्छन्। 'दाजुभाइ' भन्ने शब्दको विग्रह 'दाजु र भाइ=दाजुभाइ' हुँदा दुवै जना स्पष्टसँग देखिन्छन्। 'दाजु अथवा भाइ=दाजुभाइ' भन्ने विग्रह गर्दा वक्ताले दाजु अथवा भाइमध्ये एकजनालाई बुझेको हुन्छ। श्रोताले चाहिँ दाजु र भाइ दुवैजना भन्ने बुझेको हुन्छ। आमाबाबु (आमाबाबु=आमा र बाबु) को असाध्यै मिल्ती छ। भन्ने वाक्यमा आमा र बाबु दुई जना स्पष्ट देखिन्छन्। तिमी आमाबाबु (आमा अथवा बाबु)लाई लिएर आऊ। भन्दा आमा अथवा बाबुमध्येका एकजनालाई लिएर आऊ भनिएको हुन्छ। श्रोतामध्येका कसैले आमालाई र कसैले बाबुलाई लिएर आउँछन्। जुन समस्त शब्दले दुई भिन्नलाई बुझाउँछ, त्यो समस्त शब्दमा द्वन्द्व समास भएको हुन्छ। दिदीबहिनी, दाजुबहिनी, भातिजाभतिजी, मामामाइजू, फुपूफुपाजु, देवरदेवरानी, शिक्षकशिक्षिका, ज्वाइँससुरा, ज्वाइँजेठान, देवरानीजेठानी आदि शब्दबाट दुई–दुईजना भन्ने बोध गरिन्छ। यसरी दुई वा दुईभन्दा धेरैको भिन्नभिन्न बोध गराउने शब्दलाई समास नगर्दा पनि खासै फरक पर्दैन। द्वन्द्वसमास अनिवार्य समास होइन। दिदी र बहिनी भन्नु अथवा 'दिदीबहिनी' भन्नु एकै कुरा हो। तर मीतजेठाजु, मामाससुरा, फुपूससुरा, भानिजभाइ, जन्तरेदाइ जस्ता दुई थरी नाता जोडिएर बनेको नयाँ नाताबोधक शब्दको समास गर्नै पर्छ र त्यसरी समास गरिएका शब्दलाई एकै डिकामा लेख्नुपर्छ नत्र अर्थको अनर्थ आउन सक्छ।
प्रकाशित: ११ मंसिर २०७१ १२:५७ बिहीबार





